'रेलयात्रामा कोही चढ्छन्, कोही ओर्लन्छन्' | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘रेलयात्रामा कोही चढ्छन्, कोही ओर्लन्छन्’

‘संसार यस्तै हो ! मान्छेहरूको कुरा सुन्दा बहुलाइन्छ’



काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग मिलेर एमालेबाट विद्रोह गर्दै नयाँ पार्टी जन्माएका नेता नेपाल यतिबेला गम्भीर राजनीतिक परीक्षाको सामना गरिरहेका छन् । तर, ‘आँट सिद्धान्त’ को पक्षपाती भएका कारण उनी थाकेका छैनन् ।

खबरहबसँगको विशेष कुराकानीमा नेता नेपाल भन्छन्, ‘सँगसँगै हिँड्ने कतिपय मान्छे निराश भएर भागेका छन् । रोएका छन् । म त कहिल्यै पनि रोइनँ, चुनौतीको सामना गर्ने आँट गरेँ ।’

अहिले गणितीय हिसाबमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा खासै हस्तक्षेपकारी भूमिका खेल्न सक्ने स्थिति छैन । तथापि, यो पार्टीले प्रतिनिधिसभामा १० सिट र राष्ट्रियसभामा ८ सिटको प्रतिनिधित्व गर्दै आएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल अनवरतरुपमा १५ वर्ष नेकपा एमालेको शीर्ष नेतृत्वमा रहे । एमाले पार्टी बनाउन उनको पनि अहम योगदान छ । अन्तत: एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएर उनले नयाँ पार्टी बनाएको दुई वर्ष बितिसकेको छ । यस अवधिमा नेता नेपाल र एकीकृत समाजवादीमाथि केही यक्ष प्रश्न तेर्सिएका छन् ।

एमालेसँग विद्रोह गरेर बनाइएको नेकपा एकीकृत समाजवादीले किन गति लिन सकेको छैन ? यो पार्टीका केही नेताहरु एमालेमै फर्कन चाहिरहेका हुन् ? माओवादीसँग समाजवादी मोर्चा बनाएर पार्टी एकता गर्न खोज्दा त्यो किन सम्भव भएन ? एकीकृत समाजवादीले अब एमाले वा माओवादीसँग पार्टी एकता गर्न सम्भव छ या छैन ?

कांग्रेस–एमाले गठबन्धन सरकारमा माधव नेपाल नेतृत्वको दल नजानुको भित्री कारण के हो ? र, अब एकीकृत समाजवादी पार्टी कसरी अगाडि बढ्ला ?

यिनै राजनीतिक प्रश्नहरुको सेरोफेरोमा रहेर खबरहबले नेता नेपालसँग कुराकानी गरेको छ –

गत असारमा सम्पन्न एकीकृत समाजवादीको दशौं महाधिवेशनपछि पार्टीले गति लिने नेताहरुको दाबी थियो । तर, त्यसयता पार्टी झन् सुनसान देखियो, अध्यक्षले नेताहरूको कार्यविभाजन गर्न नै सक्नुभएन भन्ने सुनिन्छ नि ?

पार्टी सुनसान भएको छैन । कार्यविभाजनमा ढिलाइ भयो होला तर पार्टी गतिशील भएर अगाडि बढेको छ । धनुषा, रौटहट, उदयपुरमा हजारौं हजार उपस्थित भएर विशाल कार्यक्रम भएको यहाँलाई थाहा नै होला । कर्णालीमा अधिवेशन सम्पन्न भएको छ । बागमतीमा अधिवेशन गर्न गइरहेका छौं । मधेसको योजना बनाइरहेका छौँ । काम धमाधम हुन्छ, कार्य विभाजनको गृहकार्य गर्ने कुरामा अलि केही जटिलता छन् । तर, ठूलो जटिलता नभएकाले अब हुन्छ । छिटो गरौँ भन्ने छ ।

महाधिवेशनपछि पनि नेताहरूको असन्तुष्टि व्यवस्थापन गर्न नसकिएको हो ?

(जिम्मेवारी) पाउने त सन्तुष्ट हुँदैनन्, पार्टीमा अलिअलि असन्तुष्टि हुन्छ । परिवारमा पनि श्रीमान, श्रीमतीको विषयमा त सबै कुरामा सन्तुष्टि हुँदैन । छोराछोरीको बीचमा पनि गुनासो हुन्छ । यस्ता कुराहरू सामान्य हुन् । कुराकानी भएको छ, सच्याएर गइन्छ ।

स्थापनाको २ वर्ष बितिसक्दा पनि पार्टीले किन उचाइ हासिल गर्न नसकेको होला ?

२००६ सालमा बनाएको कम्युनिस्ट पार्टीले ०४६ सालमा बल्ल चौथो महाधिवेशन गर्नुलाई के भन्नुहुन्छ ? यस्तो भइरहन्छ । कहिल्यै दिक्क नमानी चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्छ । श्रीलंकामा ३ प्रतिशत मत आएको राष्ट्रपतिको उम्मेदवारले पछि ५३ प्रतिशत मत ल्याएर जिते । ५ वटा पनि सिट नल्याएको पार्टीले अहिले सजिलै गरी बहुमत ल्याएर संसदमा देखाइदिएको पाइयो । धैर्य गर्नुपर्छ र आँटका साथमा लागिरहनुपर्छ । हिम्मतका साथ लाग्नुपर्छ । चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ ।

चुनौतीको सामना गर्ने आँट नभएका साथीहरू पनि छन् । पुष्पलालजीले कहिल्यै हिम्मत हार्नुभएको थिएन । पार हामीले लगायौँ । हामीले पञ्चायत ढालेर राजतन्त्र सिध्याएको होइन ? नयाँ संविधान पनि बनाएको हो नि । ०६६ सालमा म प्रधानमन्त्री भएका बेला माओवादीहरू घेर्न आएका थिए । तर, मैले हिम्मत नहारी काम गरिरहें । कसैले कल्पना गर्न सकेको थियो नेपालका नेतामा यो खुबी र क्षमता छ भनेर ?

देश बनाउने कुराको सन्दर्भमा सबैमा त्याग, तपस्या र बलिदानको भावना हुनुपर्छ । तबमात्र देश विकासको सोच र परिकल्पना गर्न सकिन्छ । हावादारी कुरा गर्ने हैन । तर, नेपालमा हावादारी गर्ने काम भयो ।

मदन भण्डारी भन्नुहुन्थ्यो, कुराले च्युरा भिज्दैन । काम गरेर देखाऊ । जनताको मन र विश्वास जित । अहिले हाम्रो पार्टी पनि जनताको बीचमा गइरहेको छ । म पनि जनताका लागि कुदिरहेको छु । संगठन बचाउन त गतिशील हुनुपर्थ्यो नि । भएको छ, बिस्तारै हुन्छ । सँगसँगै हिँड्ने कतिपय मान्छे निराश भएर भागेका छन् । रोएका छन् । म त कहिले पनि रोइनँ । चुनौतीको सामना गर्ने आँट गरेँ ।

यहाँ ठूलो पार्टी नेकपा एमालेको नेता हुनुहुन्थ्यो । अहिले सानो पार्टी, त्यो पनि छिन्नभिन्न भएकोमा अध्यक्ष हुनुहुन्छ । कहिलेकाहीँ गल्ती गरिएछ, अब एमालेसित एक भएर जानुपर्छ भन्ने मनमा आउँदैन ?

हाम्रो पार्टीले १० औँ महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको नीति ल्याएको छ । नेपालको कुनै कम्युनिस्ट पार्टीले ल्याउन सकेको छैन । यसमा गौरववोध छ । हामीले जागरण अभियान चलाएर जनताको विषयवस्तु पस्किएका छौँ । गरिबी र भष्ट्राचारको इस्यु उठाएका छौँ । नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याएका छौँ । विचार सिद्धान्तमा हामी सही छौँ । संगठनमा असल मान्छेलाई सामेल गरेका छौँ, स्वार्थी र मतलबीलाई हैन ।

संगठनलाई गति दिन कमी भएको होला । यसलाई सुधार गरेर एउटा औंलाले होइन, मुट्ठी अगाडि बढ्नुपर्छ । सतिसाल जस्तै उभिएको छु । कहिले निराश भएको छैन । म अतासिने, निराश हुने मान्छे होइन । मानव जीवनमा अनेक अप्ठ्प्याराहरु आएका छन् र सुधार पनि भएको छ ।

हामी नयाँ समाजवादी युगमा छौँ । ल्याटिन अमेरिकाका १० देशमा वामपन्थीले सरकार बनाएका छन् । अफ्रिका र युरोपका देशमा जनताको आन्दोलन चलिरहेको छ । युरोपका देशमा मजदुर किसान एकताबद्ध भएर अगाडि बढिरहेका छन् । सिङ्गो मानव जाति र मानवतामाथिको कलंकलाई प्रहार गरिरहेका छन् । एक से एक विज्ञ र बुद्धिजीवीहरू आशा फैलाउँदै अगाडि बढिरहेका छन् । यो देशमा केही पनि देखिएको छैन । तर, यो रेलको यात्रा हो । कोही चढ्छन्, कोही ओर्लन्छन् । ओर्लिए भनेर दिक्क नमान्नु, चढे भनेर नमात्तिनु । त्यस कारण यो लामो यात्रामा निरन्तर लाग्नुपर्छ ।

अस्ति भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईकै पार्टी फुटाउने उद्देश्यले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै यहाँहरूले राष्ट्रपतिलाई समेत भेट्नुभयो । त्यो हल्ला मात्रै थियो कि साँच्चै रहेछ ?

मिडियाका कुरा मात्रै पत्याएर हामी गएको हैन । तर, अवश्य कोसिस भएको हो । हाम्रो पार्टी र अन्य केही पार्टी फुटाउन ओलीजीले मेहनत गरेकै हो । तर, त्यति सजिलो छैन । यो कम दुःखले आर्जिएको पार्टी होइन । यो आन्दोलनमा लगानी, पसिना र रगत बगेको छ ।

पार्टी फुटाउने अध्यादेश ल्याउन ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पनि साथ दिनुभएको थियो ?

मलाई त्यसको जानकारी छैन । गलत कामलाई त सहयोग गर्नु भएन नि । गलतलाई गलत, सहीलाई सही भन्नुपर्छ ।

तपाईकै पार्टीका केही नेता र एमालेका केही नेताहरू अब एमालेसँग एकता गर्नुपर्छ भन्ने पक्षमा उभिएको देखिन्छ, अब त एमालेसँग एकता सम्भव होला कि ?

ताली एक हातले बज्दैन । कम्युनिस्ट पार्टीको एकता सबैभन्दा पहिला विचारमा मेल हुनुपर्छ । यो पहिलो पूर्वसर्त हो । दोस्रो, व्यवहारमा मन मिल्नुपर्छ । मन मिलेको छैन भने सिद्धान्तको गफ हानेर पनि मतलब छैन । सिद्धान्तको आधारभूत कुरा र रणनीतिक कार्यक्रमको सवालमा मिल्नुपर्छ । संसारमा कस्ता शक्ति सक्रिय छन्, यो कुरामा मिल्नुपर्छ । जाँगर छैन भने मिलौं–मिलौं भनेर गीत गाएको कुनै अर्थ छैन । त्यसो हुनाले पहिला विचार मिल्नुपर्छ र व्यवहार मिल्नुपर्छ । सिध्याउने चाहनाले पार्टी एकता हुँदैन ।

पहिले गल्ती कमजोरी स्वीकार गर्नुपर्छ । के संविधान मिचिने कुरालाई हामीले ठिक मान्नुपर्ने थियो ? संसद् विघटनलाई ठिक मान्नुपर्ने थियो ? प्रश्न यो छ । त्यसकारण, हिजो हामी जे थियौँ, ठिक थियौँ । भोलिको सन्दर्भमा विचार र मन जोसँग मिल्छ, हामी मिलेर जाने पक्षमा छौँ । म कम्युनिस्ट विभाजनको पक्षमा छैन । तर, नेताहरुबीच मन मिलेन । मन नमिलेपछि के गर्नु ?

यहाँहरूले प्रचण्ड र विप्लवहरुसँग मिलेर समाजवादी मोर्चा बनाउनुभएको थियो अहिले त्यो पनि सुनसान छ नि ?

मोर्चाको मैले जिम्मा लिँदासम्म समयमै बैठक बोलाएर नियमित कार्यक्रम गरेको हो । मैले समयमै बैठक बोलाएको हो । मैले देखेको, माओवादी पार्टीमा जागरण कम भएको छ । ठूलो पार्टी भनेपछि उसको भूमिका महत्त्वपूर्ण हुन्छ । ठ्याकै म त्यो सम्झिन्छु । म प्रधानमन्त्रीबाट बाहिर आउनेबित्तिकै पूर्वप्रधानमन्त्रीको मञ्च बनाएको थिएँ । त्यसलाई अगाडि बढाउन खुुब बल गरेँ । तर, एउटा ठलो पार्टीका नेताको जाँगर नभएपछि म पछि परेँ । जाँगर नदेखेपछि मेरो पनि जाँगर मर्‍यो । विश्वका धेरै संस्थाहरू जाँगर नभएर मरेका छन् ।

माओवादीचाहिँ आफूहरू र नेकपा एकीकृत समाजवादीको तालमेल हुन लागेको तर एकीकृतका नेताहरू एमालेमा फर्किने भन्दै माधव नेपाल नमानेको भन्छन् ?

यो गलत हो । मैले भनेको थिएँ– माओवादी र हामीबीच पनि अगाडि बढ्ने हो भने दुईवटा काम गरौँ । पहिलो : दुईवटै पार्टीमा तलदेखि के–के गुनासा छन्, प्रदेशमा के छन्, जिल्लामा के छन्, पालिकामा के छन् पत्ता लगाउँ । दोस्रो : हामी विचारमा छलफल गरौँ । माथिबाट पनि कोसिस गरौँ, तलबाट पनि कोसिस गरौँ ।

हुन्छ भन्ने कुरा भयो । तर, कुरा अगाडि बढेन । कसको दोष हो, यसको समीक्षा गरौँ ।

कसैलाई एमालेमा गएर आनन्द आउँछ भने त म के भन्न सक्छु र ! हबिगत देखेको छ । न इजजत, न मान, न प्रतिष्ठा, त्यहाँ केही पनि देखिएको छैन । मैले अरूका बारेमा टिप्पणी गर्नु राम्रो होइन । म सामूहिकता र कम्युनिस्ट प्रणालीमा विश्वास गर्छु । म लोकतन्त्रका मूल्य– मान्यता आत्मासाथ गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षको मान्छे हो ।

उसोभए, एमालेसँग पनि मिल्ने अवस्था छैन, माओवादीसँग पनि नमिल्दा त पार्टी चलाउन गाह्रो होला नि ?

नेपालमा धेरै पार्टीहरू छन् । अहिले सतहमा भएका पार्टीमध्ये सातवटा त वामपन्थी छन् । यी किन मिलेनन् ? खोजिको विषय हैन ? कसले कसलाई फकाउने ? कसले कसलाई मिलाउने ? एकता बल हो भन्ने हुँदा पनि किन फुटे ? म कम्युनिस्ट एकताको विपक्षमा छैन । देश र जनताले समाजले के पाउँछ भन्ने कुरालाई केन्द्रबिन्दुमा राख्छु । माधव नेपाल पदको निम्ति कहिल्यै पनि मरिमेट्ने मान्छे हैन । किनभने, चुनौती दिने मान्छे हो ।

तपाईं योभन्दा अगाडिको एमाले–माओवादी गठबन्धन र त्यसअघिको कांग्रेस–माओवादी गठबन्धनमा पनि आलोपालोका आधारमा प्रधानमन्त्री हुने लाइनमा हुनुहुन्थ्यो । तर, अहिले त तपाईको चर्चा नै हुन छाड्यो नि किन ?

भन्नेले भन्छन् । संसार नै त्यस्तै हुने रहेछ । कसको मुख टाल्न सक्नुहुन्छ तपाई ? कसैको सक्नुहुन्न । माधव नेपाल पदको निम्ति कहिल्यै पनि मरिमेट्ने मान्छे हैन । म गठबन्धनमा रहँदा प्रधानमन्त्री बनाऊ भन्ने थिएँ होला नि । बरु मलाई प्रधानमन्त्री पद दिँदा पनि आउनुभएन भनेर ठुला दलहरूले नै भनेका छन् । मसँग गुनासो गर्छन् । बुझ्नेले बुझेका छन् ।

प्रचण्ड एमालेतिर मिल्दा कांग्रेसले तपाईलाई प्रधानमन्त्रीको अफर गरेकै हो ?

कसैले गरेको थियो, किन भन्नु र । यहाँहरूलाई थाहा नै छ । म कुराको प्रचार गर्दै हिँड्ने मान्छे होइन । किन गर्नु र । सबै कुरा आएकै छन् । तर, म पदलाई सर्वेसर्वा भन्दिनँ । जनताले के पाए भनेर सोच्नु महत्त्वपूर्ण कुरा हो । यस्तै हो संसार ।

तर, तपाईकै पार्टीका कतिपय नेताहरुले त माधव नेपालले प्रधानमन्त्रीको लोभ गर्दा पार्टी बिग्रियो भन्छन् नि ?

सुरुमा ०७९ को गठबन्धनअनुसार हामी सरकारमा गएको हो । पछि वामपन्थी मिल्दा सरकारमा गइयो । यदि त्यो सरकारमा गएको थिएन भने वामपन्थी मिल्दा पनि माधव नेपाल सरकारमा नगएको, ए यो माधव नेपालले वामपन्थी आन्दोलन सिद्ध्याउन लाग्यो, एकलकाँटे भयो भन्ने थिए । त्योहुनाले गाह्रो छ । मान्छेको कुरा सुन्दा बहुलाइन्छ । बरु पार्टी बैठकमा प्रधानमन्त्रीको अफर आउँदा पनि किन जानुभएन भनेर कुरा उठेको थियो ।

अहिले तपाईको दल प्रतिपक्षमा छ । कांग्रेस–एमालेको सरकार बनिरहँदा कमसेकम कांग्रेस सभापति देउवाले तपाईलाई सरकारमा आउन निम्तो गर्नु भएन ?

देउवाजीका पनि प्रचण्डसँग केही गुनासाहरु थिए भन्ने सुनेँ । तर, पछिल्लो गठबन्धनबारे उहाँले केही भन्नुभएको थिएन । गुनासो केही आएका थिए । तर, हाम्रो पार्टीप्रति उहाँ (देउवा) को गुनासो थिएन ।

कांग्रेस–एमाले गठबन्धन सरकारमा चाहिँ तपाईहरु किन नजानु भएको ? एकीकृत समाजवादीलाई बोलाइएको थिएन ?

अँ, बोलाएको थियो रे, प्रचण्डजीलाई सँगै स्वर्ग जाऊँ, सँगै नर्क जाऊँ भनेर । अघिल्लो दिन प्रचण्डजी दंग पर्नुभयो । तर, बीच बाटोमा उहाँको पिठ्उँमा एक लात्ता हानियो । उहाँ त्यसपछि स्वर्गबाट सोझै नर्कमा पुग्नुभयो । उहाँले (ओलीलाई) चिन्नुभएन । मध्यरातमा भएको सम्झौताले प्रचण्डजी पनि जिल्ल । हामी त्यो सरकारमा जाने योजनामा पनि थिएनौँ ।

कांग्रेस–एमाले गठबन्धन सरकारको आयुलाई कसरी हेर्नुभएको छ ?

म पूरा चलोस् भन्छु । आयु बताउन भविष्यवाणी गर्ने खुबी छैन । त्यसो भएकाले मैले यसै भन्न सकिनँ । यस मामिलामा केही भन्दिनँ । देश अगाडि बढोस् । जनताले सुख पाउन् । देशले विकासको गति लिन सकोस् । र, सबैको कल्याण होस् ।

प्रचण्ड त खुब गठबन्धन फुटाउन लागेका छन् भन्छन् नि ? यहाँलाई खबर हुँदैन ?

मलाई थाहा भएन । तर, म त्यतातिर छैन । उनका पनि को छन् र ? प्रचण्डजी पनि के गर्नुहुन्छ, मलाई त केही थाहा नै हुन्न । हामीबीच कुनै छलफल भएको छैन ।

यो सरकारलाई प्रतिपक्षीको नजरबाट हेर्दा कसरी हेर्नुहुन्छ ?

सरकारले कुनै गतिलो काम गर्न सकेको छैन । लोकप्रियता हासिल गर्न सकेको छैन । समस्याको पहिचान गर्न सकेको छैन । कामको प्राथमिकता निर्धारण गर्न सकेको छैन । लाजमर्दो कुरा छ ।

प्रत्येक क्षेत्रको प्राथमिकता हुनुपर्छ । मेचीदेखि महाकालीसम्मको राजमार्गलाई १२ महिना, ३० दिन नै सञ्चालन गर्न सक्नुहुन्न भने तपाईँको सरकारलाई गतिलो भन्ने कि हुतीहारा भन्ने ? त्यहाँ पुल बन्दैन भने के दर्जा दिने ? काठमाडौँको बाटो पनि राम्रो बनाउन नसक्दा, पोखराको बाटो पनि राम्रो बनाउन नसक्दा पर्यटकहरूले के भन्छन् होला ? त्यो बाटो कसले पिच गर्ने ? खाल्डाखुल्डी पुर्नुपर्दैन ? कसले गर्छ त्यो ? मान्छे धेरै हिँड्ने बाटालाई प्राथमिकता दिन देशको प्रधानमन्त्रीको ध्यान जाँदैन भने त्योभन्दा लाजमर्दो के हुन्छ ? कुनै पनि चिजको प्लान हुनुपर्छ । बाटाघाटा, ढल, बिजुलीको सिस्टम पनि मिलाएर जानुपर्छ । हाम्रो हालत हेर्नु त ।

कृषिमा पनि विस्तार गर्नुपर्छ । चुरेमा पर्यटन विस्तार गर्न पानी पोखरी निमार्ण गरेर काम गर्नुपर्छ । म प्रधानमन्त्री हुँदा महिला हिंसा अन्त्य गर्न काम गरेको थिएँ । कुनै जिल्लामा त्यस्ता घटना आए सिडियोलाई फोन गरेर किन यस्तो भयो भनेर कुरा गर्थेँ । कुरा र औषधी तीतो हुन्छ भन्छन्, त्यो हुनु भएन ।

एउटै नियम सबैलाई लाग्नुपर्छ । (रविको गिरफ्तारीबारे संकेत गर्दै) सबै गलत काम गर्ने कोही दोषीले उन्मुक्ति पाउनु हुँदैन र निर्दाेष पनि उम्कनु हुँदैन ।

यो पनि-

ओलीलाई माधव नेपालको सुझाव : बीआरआईमा हात हाले हुन्छ

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : ५३ बजे

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल – नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं – केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक