‘रविबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ’ | Khabarhub Khabarhub

संवाद

‘रविबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ’



आज विश्व मानवअधिकार दिवस ! नेपालमा मानवअधिकारको अवस्था, सरकारको जवाफदेहिता तथा चुनौतीबारे विमर्श हुँदैछ । १० वर्षे सशस्त्र युद्धका क्रममा भएका मानवअधिकार हननका घटनामा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने काम पनि नेपालमा बाँकी नै छ । राज्यकै निकायहरू अझैसम्म मानवअधिकार हननमा संलग्न रहेको आरोप लाग्ने गरेको छ । मानवअधिकार सुनिश्चित गर्न हाम्रा राज्यका निकायहरू, राजनीतिक पार्टी, मानवअधिकारकर्मी तथा अधिकारकर्मीले कत्ति जिम्मेवारीपूर्वक काम गरिरहेका छन् ? यसैबारे मानवअधिकारकर्मी तथा नागरिक अभियन्ता सुशील प्याकुरेलसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंशः

परिवर्तित सन्दर्भमा अहिले नेपालमा मानवअधिकार सुनिश्चित गर्न के कस्ता चुनौती देखिएका छन् ? हाम्रो सरकार र मातहतका निकायमाथि नै प्रश्न उठिरहेको छ, सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट पोखरा पुर्‍याउँदा प्रहरीले ज्यादती गरेकोसम्म भनिएको छ, मानवअधिकार दिवस र यो सन्दर्भबारे के भन्नुहुन्छ ?

कसैलाई पनि कानुनविपरीत सजाय र व्यवहार गरिनु हुँदैन, यो स्थापित मान्यता हो । कतिपय सन्दर्भमा हामीले विश्वमा प्रणाली स्थापित गरिसकेका छौँ । यसै सन्दर्भमा रविको विषय गम्भीर छ । किनकी उनीबारे जसरी ‘केही कारबाही गर्नुहुँदैन, यो केही हैन’ भनिएको छ – त्यस्तो कुरामा मेरो आपत्ति छ । किनकी अनुसन्धान गर्दा केही कुरा फेला पर्‍यो भने हामी सबैले आफूलाई सरेन्डर गर्न सक्नुपर्छ ।

भर्खरै हामीले थाहा पाएका छौँ कि दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि अनुसन्धान भएको छ र विदेश यात्रा रोकिएको छ । त्यसैले ‘कोही पनि कानुनभन्दा माथि छैनौँ’ भन्ने बुझ्नुपर्छ । तर कानुन कार्यान्वयन गर्ने बेलामा जुन किसिमको व्यवहार प्रहरीद्वारा रविलाई भएको भन्ने समाचार आएको छ – यसप्रति हाम्रो उदासीनता हुनुहुँदैन । हामीले त्यसको विरोध गर्नुपर्छ ।

प्रहरीकै हिरासतमा भएको मान्छेलाई मध्यरातमा उठाएर लगिएको भनिएको छ । हाम्रो आफ्नै राष्ट्रिय कानुन, व्यवहार र संस्कृतिहरू छन् । त्यसले पनि नदिनेजस्तो ज्यादती भयो । किनभने राति उठाएर कतै लैजानुपर्ने कुराले एउटा आतङ्क सिर्जना गर्न खोजेको जस्तो देखियो ।

प्रहरीले जुन व्यवहार गर्‍यो – लोकतान्त्रिक गणतन्त्रमा त्यो पनि एउटा अपराध हो । अर्को अदालतसम्म लैजानै नदिने किसिमले कार्यकर्ताहरू सडकमा आएका छन् त्यसले पनि हाम्रो देशमा कानुनको शासनको धज्जी उठाउँछ ।

यसो हुनु विभिन्न कालखण्डमा प्रहरी प्रशासनमा, कर्मचारीमा अथवा न्यायिक प्रक्रियामा समेत सत्ता र सरकारको शक्तिको छाया परेको नतिजा हो ?

प्रहरीले कोही नागरिकलाई राति–राति लैजाने जुन काम गरेको छ – अहिलेका गृहमन्त्रीले त्यसलाई राम्रो भन्नुभएको छैन होला । यस विषयमा उहाँ बोल्नु पनि पर्छ । किनकी एकजना नागरिकलाई प्रहरीले ज्यादती गर्नुहुँदैन ।

नागरिक अगुवाले त आवाज उठाउने हो । उनीहरू हतियार दिएर हिँड्दैनन् । नागरिक आवाज भनेको चेतनाको एउटा आवाज हो । हामी मानवअधिकारकर्मीहरू जहिल्यै शान्तिपूर्ण प्रतिरोधको पक्षमा हुन्छौँ । हामी जे गरिरहेको छौँ – नागरिक समाज पनि त्यही हो  

कहिलेकाहीँ सरकारका मेसिनरी र राजनीतिक नेतृत्व कमजोर हुन्छ । त्यतिबेला सरकारका मेसिनरीहरूमा अराजकता फैलन थाल्छ । त्यहाँ प्रहरीले किन त्यस्तो गर्‍यो भन्ने अनुसन्धान हुनुपर्छ र गृहमन्त्रीले यसबारे जवाफ दिनुपर्छ ।

अहिले मानवअधिकार आयोगले प्रहरीप्रमुख लगायतमाथि छानबिन थालेको समाचार आइरहेको छ, नेपाली कांग्रेसकै बैठकमा केन्द्रीय सदस्य र नेताहरूले गृहमन्त्री यसमा दोषी देखिएका छन्, जवाफ चाहियो भनेर प्रश्न उठाएको भनिएको छ । यस्तो घटना कतै राजनीतिक दबाबकै कारण पो भइरहेको हो कि !

अहिलेको व्यवस्था भनेको पञ्चायती व्यवस्था होइन । अहिलेको व्यवस्था भनेको ज्ञानेन्द्रको आतङ्क लागेको व्यवस्था पनि होइन ।

यो व्यवस्था भनेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हो । यहाँ त राष्ट्रपतिमाथि पनि अनुसन्धान हुन्छ । त्यसैले हामीले जवाफ माग गर्नुपर्छ । यसको जवाफ र कानूनको मर्यादा मार्नु हुँदैन । आफ्नो स्वःअनुशासनभित्र पनि बस्नुपर्छ ।

हामीले नागरिक अधिकार, मानवअधिकार र राजनीतिक अधिकारको सन्दर्भ छुट्याएर हेर्न नसक्दाको परिणाम हो ?

हो । हाम्रो प्रहरीमा यति राजनीतिकरण गरियो कि उनीहरूभित्र गृहमन्त्रीलाई खुशी पार्नु पो पर्छ कि भन्ने खालको धारणा मैले देखेको छु । त्यो हुनुहुँदैन र राष्ट्रिय मानवअधिकारका निकायहरू बढी जागरुक हुनुपर्छ । मानवअधिकार आयोग स्पष्ट रूपमा दोषीलाई सजाय दिलाउनेतिर सक्रिय हुनुपर्छ ।

सन् १२१५ को म्याग्नाकार्टालाई एउटा आधारस्तम्भ मानेर विश्वव्यापी रूपमा मानवअधिकारको अवधारणा विकास भयो । हाम्रा सन्दर्भमा बुझाइ र अभ्यासमा तालमेल नभएको हो ?

मानवअधिकारको स्तरलाई ‘ए’बाट ‘बी’मा लैजाने प्रयास भएको थियो । त्यो प्रयासलाई हामी सबैको प्रयत्नबाट रोक्यौँ । हामीले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रचलन छ, त्यसमा हाम्रो पनि योगदान छ । हामी पनि संयुक्त राष्ट्रसंघको एउटा सदस्य हौँ ।

आफूलाई मानवअधिकारको भयङ्कर रक्षक ठान्नेहरूबाट नै प्यालेस्टाइनको गाजाका अस्पताल तथा स्कूलमा बमबारी भइरहेको छ । हाम्रोमा माओवादी द्वन्द्व हुँदा स्कूल नै जलाएका थिए । त्यसबेला हामीले त्यो स्कूलभरिका विद्यार्थीमाथि गोली चलाउन पाइँदैन भन्यौँ । तर, अहिले पाकिस्तानमा त भइरहेको छ । इजरायलले जथाभावी गरिरहेको छ ।

त्यस्तो कुरामा अमेरिकाजस्तो देश चुप लागेर, अझ हतियार नै दिएर बसेको छ । यसको अर्थ यो हैन कि हामी चुप लागेर बस्नुपर्छ । हामी स्वतन्त्र देशका व्यक्तिहरू हौँ, बोल्नुपर्छ । राज्यका संयन्त्रहरू नै बोलेनौँ भने राज्यका राजनीतिक नेतृत्वभित्र ‘यो कुरा मैले गरे त हुने रहेछ नि !’ भन्ने हुन्छ ।

रकेट उठाउने पाइलटलाई ल्याएर मानवअधिकार आयोगको अध्यक्ष बनाउँदैमा राम्रो हुन्छ र ? त्यसैले जो मानिस आए पनि त्यो क्षेत्रमा काम गरेको र द्वन्द्वपीडितले बुझेको मान्छे हुनुपर्‍यो  

कानुनको शासनमा सबै मर्यादित बनी अनुसन्धानमा सघाउनुपर्छ । कानुनी शासन उल्लङ्घन गर्न पाइँदैन । जब राज्यका अङ्गहरूले नै कानुन उल्लङ्घन गर्न थाल्छन् भने त्यहाँबाट निरङ्कुुशताको जन्म हुन्छ । निरङ्कुशता हुन नदिन हामीमा जागरूकता आवश्यक छ ।

मानवअधिकार संरक्षण सरकार, राज्यका निकाय र नागरिक अगुवासामू के कस्ता चुनौती छन् ?

नागरिक अगुवाले त आवाज उठाउने हो । उनीहरू हतियार दिएर हिँड्दैनन् । नागरिक आवाज भनेको चेतनाको एउटा आवाज हो । हामी मानवअधिकारकर्मीहरू जहिल्यै शान्तिपूर्ण प्रतिरोधको पक्षमा हुन्छौँ । हामी जे गरिरहेको छौँ – नागरिक समाज पनि त्यही हो ।

तर, सरकारका संयन्त्रहरू त्यो संयन्त्र चलाउनेको आशयअनुसार चल्न खोज्छन् । त्यसकारण रवि लामिछानेको केश संसदमा चलेको भए गृहमन्त्रीले तुरुन्त जवाफ दिनुपर्थ्यो । नचले पनि उनको पार्टीभित्र आवाज उठेको छ र बाहिर पनि यो कुरा उठ्नुपर्छ । ज्यादती गर्ने डिआइजी हो कि, इन्स्पेक्टर हो कि को हो ? हामीले जवाफदेहिता खोज्नुपर्छ ।

नेपालमा मानवअधिकार स्थितिबारे भन्नुपर्दा हाम्रो लागि अहिले सबैभन्दा ठूलो चुनौती सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने हो । द्वन्द्वपीडितहरू हजारौं संख्यामा छन् । उनीहरूलाई न्यायको अनुभूति दिलाउनुपर्छ । बेपत्ता भएकाहरूको अवस्था अहिलेसम्म थाहा छैन । त्यो भन्दा ठूलो ज्यादती के हुन्छ ? १८ वर्षदेखि के हो पनि भन्न नसक्ने स्थितिमा हामी छौँ ।

सङ्क्रमणकालीन न्यायको संयन्त्र बनाउने कुरामा प्रक्रियाहरू नाघेर काम गरिएको भन्ने छ, यो नै ज्यादती होइन र ?

हिजो मानवअधिकारको क्षेत्रमा काम नगरेका, सङ्क्रमणकालीन न्यायबारे केही पनि नबुझेका होलान् । रकेट उठाउने पाइलटलाई ल्याएर मानवअधिकार आयोगको अध्यक्ष बनाउँदैमा राम्रो हुन्छ र ? त्यसैले जो मानिस आए पनि त्यो क्षेत्रमा काम गरेको र द्वन्द्वपीडितले बुझेको मान्छे हुनुपर्‍यो । सक्षम व्यक्ति आउनुपर्‍यो ।

मानवअधिकारको अवस्था अथवा अहिलेका सूचकको सन्दर्भमा संवाद गर्दैगर्दा सञ्चारमाध्यम र पैरवी गर्ने संघसंस्थासँग जोडिएका केही समस्याहरू छन् । यो समस्या अहिले हामीले सामना गरिराखेको मानवअधिकारको विषयसँग गएर जोडिन्छ ?

जोडिन्छ । सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्नुपर्छ । सम्प्रेषणमात्रै होइन, रवि लामिछानेलाई राति लैजानु हुँदैनथ्यो भन्ने कुरा त सञ्चारबाट पनि आउनुपर्छ नि ! चेतनाको कुरा पनि गर्नुपर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ६ : ०२ बजे

तीनकुने घटनामा गुहार माग्दै मानवअधिकार आयोग पुग्यो राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत १५ गते काठमाडौंको तीनकुने

लेखक बज्राचार्यको ‘स्तूप र चैत्य’ पुस्तक परिमार्जनसहित प्रकाशित

काठमाडौं– लेखक सुमति बज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ परिमार्जनसहित

बैंककमा ओली र मोदीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ)

चैत १५ को घटनाविरुद्ध सडकमा उत्रियो राप्रपा (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंमा विरोध जुलुस निकालेको