मान्छेले हात्तीको बाटो छेकेपछि... | Khabarhub Khabarhub

मान्छेले हात्तीको बाटो छेकेपछि…



बिराटनगर- नेपालीमा एउटा उखान छ– हात्ती लम्कँदै गर्छ, कुकुर भुक्दै गर्छ ।

मान्छेले हात्तीको बाटो छेक्न खोज्यो भने के होला ? यसको भवितव्य हेर्न झापा, मोरङ र सुनसरीमा चलिरहेको हात्ती–मानव द्वन्द्व नियाल्नुपर्ने हुन्छ ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पछिल्लो समय मान्छे र हात्तीबीच द्वन्द्व बढेको छ । करेन्ट लगाएर वा गोली हानेर हात्ती मार्नु वा हात्तीको आक्रमणमा परेर मानिसले ज्यान गुमाउनु सामान्यजस्तै बनेको छ ।

विगत १२ वर्षयता झापा, मोरङ र सुनसरीमा १७ वटा हात्ती मारिएका छन् । यो अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाएका छन्। घाइतेको संख्या पनि प्रशस्त छ । जङ्गली हात्तीको आक्रमणबाट झापामा सबैभन्दा बढी ५३ जनाले ज्यान गुमाएका छन् ।

कोशी प्रदेशमा गत वर्ष ९ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए भने २० जना घाइते भए । साउनदेखि पुस १५ सम्म मात्रै ५ जनाले ज्यान गुमाए भने ६ जना घाइते भए । हात्तीको आक्रमणमा परी मंसिरमा मात्रै ४ जनाले ज्यान गुमाएका छन् । पुसमा झापामा थप एकजनाको ज्यान गएको छ ।

हात्तीको आतंक

झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले बालीनाली खाइदिनुका साथै विभिन्न ठाउँमा आतंक मच्चाइरहेको छ ।

भारतबाटआहारको खोजीमा पूर्वी नेपालमा बर्सेनि हात्ती आउने गरेका छन् । मेची नदी तरेर झापाको प्रवेशद्वार बाहुनडाँगीबाट सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको रूट हात्तीको पुर्ख्यौली बाटो हो 

नजिकको भारतीय जङ्गलबाट हात्तीको बथान मेची नदी तरेर झापातिर पस्ने गरेका छन् । यो वर्ष हिउँदमा ती हात्तीले झापाबाट पश्चिमतिर लागेर मोरङ र सुनसरीसम्मै आतंक मच्चाउँदा स्थानीय आजित छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार तीन हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् । भारत हुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेर हुम्सेदुम्से, शान्तिनगर र बुधबारे हुँदै मोरङको उर्लाबारी, पथरी, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, केराबारी, बेलबारी र सुन्दरहरैंचासम्म हात्तीले दुःख दिने गरेको छ ।

पछिल्लो समय मोरङको सलकपुर, बेलबारी, उर्लाबारी, मंगलबारे लगायतका क्षेत्रमा हात्ती केन्द्रित भएको डीएसपी दाहाल बताउँछन् । सो क्षेत्रमा रहेका डिभिजन वन कार्यालयमा सशस्त्र वन सुरक्षाको टोलीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली साइरनसहित हात्ती धपाउन परिचालन गरिएको उनी बताउँछन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता डीएसपी सुनील दाहालका अनुसार बथानमा १० देखि १८ वटासम्म हात्ती देखिने गरेका छन् । मंसिरयता चुरे आसपास क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

गाउँमा हात्ती छिरेपछि मानिसहरु राति राम्रोसँग निदाउन पाएका छैनन् । प्रत्येक दिन बस्तीमा हात्तीको जेर प्रवेश गरेसँगै स्थानीय घाइते हुने र कतिपय अवस्थामा ज्यानसमेत गरेको छ।

हात्तीले ज्यान लिएका केही उदाहरण हेरौं–

गत मंसिर ५ गते झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा हात्तीको आक्रमणमा परी ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । स्थानीय हम्सेदुम्से सामुदायिक वनमा दाउरा काट्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो ।

मंसिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट परी इटहरी–२ का रविन खड्काको मृत्यु भयो । चारकोशे झाडीबाट बस्तीमा छिरेको बथान धपाउने क्रममा खड्का हात्तीको आक्रमण परेका थिए ।

मंसिर १८ गते बिहान मोरङको लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१०, भाउन्नेमा आक्रमण गर्‍यो ।

मंसिरयता मात्र हात्तीको आक्रमणबाट झापामा २, सुनसरी/मोरङमा १/१ जना गरी ४ जनाको ज्यान गइसकेको छ ।

हात्ती हिँड्ने पुर्ख्यौली बाटो

मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगीका संस्थापक अध्यक्ष ढुण्डीराज पौडेल भारतको पश्चिम बङ्गाल र असामसम्म फैलिएको करिडोरमा हात्तीको चहल–पहल हुने गरेको बताउँछन् । भारतबाट हात्तीको बथान पुस्तौनी बाटो प्रयोग गर्दै मेची तरेर झापा, मोरङ हुँदै सुनसरीको कोशीटप्पुसम्म आउने–जाने गरेको उनी बताउँछन् ।

भारतमा दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा भारतीय सीमा तरेर झापाको बाहुनडाँगी आइपुग्ने गरेको पौडेलले सुनाए । उनले भने, ‘हुल बाँधेर आउने भारतीय हात्तीको बथानले अन्न र फलफूल खाएर बिनाश गर्ने मात्र गरेका छैनन्, आक्रमणमा परेर कयौं मानिसको अकालमा ज्यान जाने गरेको छ ।

जङ्गलको क्षयीकरण भएर बस्ती बढेपछि आहारमा समस्या भएकाले समूह बनाएर हिँडने हात्तीको बथान गाउँ पस्ने गरेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत एवं हात्तीको अनुसन्धानमा विद्यावारिधि गरेका डा. अशोककुमार राम बताउँछन् ।

आहाराको खोजीमा गाउँ पसेपछि हात्ती र मानिसबीचको द्वन्द्व बढेको उनी बताउँछन् । हात्ती मानवद्वन्द्व सृजित घटनामा जोडिएर पछिल्लो समय वार्षिक सरदर ५/६ वटा हात्ती मर्ने गरेको उनले बताए ।
‘मानिसको जनघनत्व बढेसँगै हात्तीको चरन क्षेत्र अतिक्रमणमा परेको छ’ हात्ती विज्ञ राम भन्छन्, ‘हात्ती आवत–जावत गर्ने बाटोमा ठूला ठूला संरचना निर्माण गरिएको छ । हात्ती र मानिसबीचको द्वन्द्वको उपज हामी मानिस नै हो । चर्न निस्कने हात्तीलाई अवरोध भएपछि मानिस निसानामा पर्ने गरेका हुन्।’

संरक्षण अधिकृत रामका अनुसार पूर्वीनेपालमा भारतबाट आहारको खोजीमा बर्सेनि हात्ती आउने गरेका छन् । टिस्टा खोला हुँदै झापाको प्रवेशद्वार बाहुनडाँगीदेखि कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको रूट हात्तीको पुर्खाको हिँड्ने बाटो हो ।

हात्ती विज्ञ रामका अनुसार विशेष गरी वर्षमा दुईपटक हिउँदमा कात्तिकदेखि पुससम्म र वर्षायाममा साउनदेखि कात्तिक महिनासम्म भारतको असामदेखि नेपालको कोशीटप्पुसम्म जङ्गली हात्ती आउने जाने गर्छन् । यी पाहुना हात्ती केही समय पूर्वी नेपालको जङ्गलमा बस्छन् र भारततिरै फर्कन्छन् ।

हात्ती हिँड्ने साबिकका जैविक मार्गहरु मासिने क्रमसँगै उनीहरूको आवत–जावतमा अवरोध सिर्जना भएकाले आहारका लागि हात्ती बस्तिमा प्रवेश गर्दा मानिस र हात्तीबीच द्वन्द्व बढ्दै गएको हात्ती विज्ञ रामको भनाइ छ । यो क्रममा हात्ती प्रतिकार लक्षित गतिविधिले हात्ती मारिने क्रम बढेको उनले बताए ।

नेपालमा रैथाने जातका २ सय ७० वटा हात्ती रहेको विज्ञको भनाइ छ । वर्षमा दुईपटक गरी भारतबाट करिब १ सय ५० को संख्यामा पाहुना हात्ती नेपालको पूर्वी क्षेत्रमा आउने गरेको तथ्यांक छ ।
हात्तीको साविकको हिँड्ने बाटो र वासस्थानको संरक्षण गरेमा हात्तीबाट मानिसको ज्यान जाने क्रम ७० प्रतिशतसम्म रोकिन सक्ने रामको भनाइ छ ।

इलामको जिर्मलेस्थित दूधेटोलबाट झापाको बाहुनडाँगी हुँदै नकलबन्धा छुने गरी मेचीनदीको नेपाल पट्टिको किनारमा विद्युतीय तरबार लगाइएको छ । क्षिण झापाको जलथल र निचाझोडा जङ्गल वरिपरि  पनि तरबार लगाइएको छ ।

इलामको जिर्मलेस्थित दूधेटोलबाट झापाको बाहुनडाँगी हुँदै नकलबन्धा छुने गरी मेचीनदीको नेपाल पट्टिको किनारमा विद्युतीय तरबार लगाइएको छ । तर, विद्युतीय तरबारसमेत नाघेर वा भत्काएर हात्तीको बथान मानव बस्तीमा पस्ने गरेको छ । हात्तीको बाटो छेक्ने र अवरोध गर्ने कुरा सम्भव नभएको र अहिलेसम्म गरिएको काम अस्थायी समाधान मात्र भएको उनी बताउँछन् । मान्छे र हात्तीबीच सहअस्थित्वको उपायको खोजिनुपर्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘तरबार लगाएर हात्ती छेक्न खोज्नु स्थायी समाधान होइन । हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि पर्यावरणीय काम गर्न आवश्यक छ । यसका हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतना सर्वसाधारणलाई दिनुपर्छ ।’

बाहुनडाँगीको विद्युतीय तारबार सफल भएपछि दक्षिण झापाको जलथल र निचाझोडा जङ्गल वरिपरि तरबार लगाइएको छ । जलथल र निचाझोडा जङ्गलको बाहिरपट्टि हल्दीबारी, कचनकबल र भद्रपुर क्षेत्रमा ४२ किलोमिटर विद्युतीय तारबारका लागि नेपाल सरकारले ७ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ ।

तारबारको नियमित मर्मत सम्भार नहुँदा र मानिसले नै वन पैदावारको अवैध तस्करी गर्न तरबार भत्काउँदा हात्तीलाई गाउँ पस्न सजिलो हुने गरेको स्थानीय बताउँछन् । नत्र तरबारले हात्तीलाई जङ्गलभित्रै बस्न बाध्य तुल्याउने गरेको उनीहरुको बुझाइ छ ।

क्षतिपूर्तिमा बार्षिक करोड खर्च

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । तर, अधिकांश पीडितले समयमै राहत रकम पाउँदैनन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख रुपैयाँ राहत पाउने व्यवस्था छ । सख्त घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च बापत २० हजारसम्म दिने कानुनी व्यवस्था छ ।

घर गोठ भत्काएमा, भण्डारण गरेको अन्नबाली खाएमा वा खाद्य बालीमा क्षति पुर्‍याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ।

डिभिजन वन कार्यालय झापाका अनुसार ०६२ सालदेखि अहिलेसम्म हात्तीपीडित ३ हजार १ सय ९५ जनालाई विभिन्न शीर्षकमा ६ करोड ४७ लाख १४ हजार ४ सय ४० रुपैयाँ राहत वितरण गरिएको छ ।
कार्यालयका कर्मचारी रुद्र सापकोटाले चालु आवको साउनदेखि असोजसम्म मात्र पहिलो चरणमा राहतका लागि ५८ लाख २८ हजार ९ सय ४० रुपैयाँ कोशी प्रदेशको वन मन्त्रालयमा माग गरेर पठाइएको बताए ।

यो तीन महिनाको अवधिमा मात्रै ३ सय २१ जना पीडितको निवेदन कार्यालयका परेको सापकोटा बताउँछन् । हात्तीले घर गोठ भत्काएर क्षति पुर्‍याएको राहतका लागि १४ लाख ८२ हजार ५ सय रुपैयाँ माग भएको छ भने घरमा रहेको अन्नबाली नष्ट गरेको राहतस्वरुप ६ लाख ३९ हजार ६ सय माग भएको छ । घर बाहिर खेती नष्ट गरेकोमा २१ लाख १५ हजार ९ सय माग भएको छ ।

त्यस्तै, चौपाया मारेको १० हजार र मानिस घाइते बनाएको क्षतिपूर्तिवापत ५ लाख ८० हजार ४० रुपैयाँ पीडितहरुबाट मागदाबी आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा हात्तीका कारण जनधनमा भएको क्षतिस्वरुप १ करोड १० लाख राहत वितरण गरिएको थियो । आर्थिक बर्ष ०७९/०८० मा १ करोड ८ लाख रुपैयाँ राहत वितरण गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

तस्बिरहरु सौजन्य : डा. अशोककुमार राम र शंकर क्षेत्री

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ५५ बजे

रुसी बमवर्षक विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको स्विडेनको आरोप

स्टकहोम – स्विडेनको सेनाले शनिबार एक रुसी एसयु–२४ बमवर्षक विमानले

आजका समाचार : प्रदेश सरकारको बजेट सार्वजनिकदेखि एमालेको बैठकसम्म

देशमा आशाको सञ्चार प्रवाह भइरहेको छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : महानिरीक्षक कुँवर

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु

बीस हजार कैदीको ‘मेगा कारागार’ बनाउने होन्डुरसको घोषणा

काठमाडौं– होन्डुरसले २० हजार क्षमताको ‘मेगा कारागार’ निर्माण गर्ने भएको