रगतसँगै बगेर मुटुमा पुगेको पाइप चिरफारबिनै निकालियो « Khabarhub

रगतसँगै बगेर मुटुमा पुगेको पाइप चिरफारबिनै निकालियो



सुनसरी- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्डियोलोजी विभागका चिकित्सकको टिमले धरानका एक बिरामीको मुटु र फोक्सोको वीचमा रहने धमनीमा पुगेको करिव १० सेन्टिमिटर लामो प्लाष्टिकको पाइप चिरफार नै नगरी निकाल्न सफल भएका छन् ।

चिकित्सकका अनुसार ठूलो आन्द्रामा क्यान्सर भएपछि आठौं पटकको किमोथेरापी गरिरहेका बेला ५२ बर्षीय कुमार तामाङको कुम नजिकैको नशामा राखिएको किमोपोर्टबाट चुँडिएर पाइपको टुक्रो रगतसँगै बग्दै मुटु र फोक्सो छेवैमा पुगेको थियो । उक्त पाइपलाई बिनाचिरफार चिकित्सकहरुले निकाल्न सफल भएका हुन् ।

गत मंगलबार तामाङको मुटुबाट फोक्सोमा जाने धमनीमा पुगेको किमो पाइप निकालिएको उपचारमा संलग्न चिकित्सकले बताए । चिकित्सकका अनुसार चिकित्सा विज्ञानमा यस्तो घटना बिरलै हुने गरेको छ । नेपालमा यो पहिलो घटना हो । भारतका मेडिकल युनिभर्सिटी र अस्पतालमा हालसम्म दुईवटा मात्रै यस्ता ‘केस’ दर्ता भएका छन् ।

ठूलो आन्द्राको क्यान्सरसँग संघर्ष गरिरहेका बेला पाइप नै चुँडिएर मुटुमा जाने धमनीमा पाइप पुगेपछि धरान–१६ बस्ने तामाङ र उनका परिवार निकै आत्तिएका थिए । उपचारमा संलग्न वीपी प्रतिष्ठानका कार्डियोलोजी (मुटु रोग ) विभागका प्रमुख एसोसिएट प्रोफेसर डा नवीन पाण्डेले खबरहबसँग भने, ‘बिरामीले क्यान्सरको उपचारका लागि किमो थेरापी गर्दै थिए । आठौं चरणको किमो थेरापी गर्न उनी वीपी प्रतिष्ठानमा आएका थिए । तर, पहिलेदेखि नै कुमको नजिकै राखिएको किमोपोर्टबाट औषधी नगएपछि शंका लागेर एक्सरे गर्दा पाइप नै चुँडिएर मुटुमा जाने धमनीमा पुगेको पाइयो । यस्तो केस संसारमा विरलै हुने गरेको छ ।’

मुटु र फोक्सोको बीचमा रहेको धमनीमा पुगेको किमो पाइप निकाल्नका लागि कार्डियोलोजी विभागका चिकित्सकसँग समन्वय गरेपछि डा. नवीन पाण्डेको टिमले फेरि चेकजाँच गर्दै पाइप निकाल्न दुईवटा विकल्प तयार गरेका थिए ।

पाण्डेले भने, ‘पहिलो विकल्प– बिरामीलाई क्याथल्याव मेसिनको सहयोगमा फिलामा रहेको नशाबाट क्याथेटर तार र पाइप पठाएर मुटु र फोक्सोको धमनीमा पुगेको पाइपको टुक्रा तानेर निकाल्ने । अर्को विकल्प– कार्डियो थोरासिक सर्जनमार्फत छाती चिरेर पाइपको टुक्रा निकाल्ने ।’

उनले थपे, ‘हामी पहिलो प्रयासमै सफल भयौं । मुटु चिर्नुपरेन ।’

कुमारको उपचारमा खटिएको डा. नवीन पाण्डेको टिम

चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ भनेर पाँच पिन्ट रगतसहित वीपी प्रतिष्ठानकै कार्डियो थोरासिक सर्जन डा. लोकेश जैसवालको टिमलाई समेत तयारी रहन सुचित गरेका थिए । तर, समस्याको पहिचान भएकाले क्याथल्यावको सहयोगमा विरामीको मुटुमा पुगेको पाइपको टुक्रा निकाल्न करिव एक घण्टा लागेको डा पाण्डेले बताए ।

क्यान्सरको उपचारका लागि किमोथेरापी गर्न चिकित्सकले निश्चित समयका लागि अस्थार्यीरुपमा बिरामीको कुम नजिकै छालाभित्र किमोपोर्ट बनाएर राखिदिएका हुन्छन् । तर विरलैरुपमा किमोपोर्टबाट उक्त पाइप चुँडिने गर्छ । डा. नवीनले भने, ‘चुँडिएर मुटुसम्म पुगेको पाइपको टुक्रा लामो समयसम्म रहेको भए रगत जमेर चोक्टा बन्न सक्थ्यो र बिरामीको मुटुमा असर पर्न सक्थ्यो ।’

कुमार रोजगारीका लागि कोरिया गएका थिए । गत बर्ष फर्कनासाथ वीपी प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्दा ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लागेपछि किमो थेरापीबाट उपचार भइरहेको छ

बिरामीकी दिदी नीला तामाङका अनुसार कुमार रोजगारीका लागि कोरिया गएका थिए । गत बर्ष फर्कनासाथ वीपी प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्दा ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लागेपछि किमो थेरापीबाट उपचार भइरहेको छ ।

नीलाले भनिन्, ‘पछिल्लो पटक किमो लगाउँदा औषधी नै नगएपछि क्यानुलाबाट किमो थेरापी गरिएको थियो । एक्सरे गरेर हेर्दा पाइप चुँडिएको पाइयो ।’

चुँडिएको पाइप मुटुमै पुगेको पाइएपछि तनाव बढेको अवस्थामा चिकित्सकहरुले बिनाचिरफार पाइप निकाल्न सफल भएको चार घण्टाजति बेडमा राखेर त्यही दिन डिस्चार्ज दिएको नीलाले सुनाइन् ।

बिनाचिरफार १९ हजारको मुटुको उपचार

डा. पाण्डे र उनको कार्डियोलोजी विभागको टिमले वीपी प्रतिष्ठानमा हालसम्ममा बिनाचिरफार १९ हजार जनाको मुटुको उपचार गरेका छन् । क्याथल्याव मेसिनको सहयोगमा वीपी प्रतिष्ठानमा बिनाचिरफार मुटुका हरेक रोगको उपचार हुने गरेको छ ।

डा. पाण्डेका अनुसार कोरोनरी एन्जिओग्राफी, कोरोनरी एन्जिओप्लाष्टि, मुटुको साँघुरिएको भल्व खुलाउने भल्बोटोमी, पेशमेकर जडान, मिर्गाैलाको शल्यक्रिया गर्दा रगत चुहेमा बिनाचिरफार रगत ब्लक गर्ने गरिएको छ ।

वीपी प्रतिष्ठानका सहप्रवक्ता डा अरुणकुमार सिंह र मुटुरोग विशेषज्ञ डा. डा. नवीन पाण्डे (गाउनमा)

त्यसैगरी खकारबाट धेरै रगत आएमा त्यसलाई ब्लक गर्ने, मुटुको जन्मजात प्वाल टाल्ने एएसडी लगायत उपचार हुने गरेको बताउँदै पाण्डेले भने, ‘महिनामा १७० देखि २ सय जनाको मुटुसम्बन्धी बिनाचिरफार उपचार गर्छौं । त्यसमा मुटुको भल्व खोल्ने र एन्जिओप्लाष्टी गर्नुपर्ने बिरामी धेरै आउँछन् ।’

वीपी प्रतिष्ठानमा भिडियो एक्सरे गर्न महिना दिनको पालो कुर्नुपर्छ । तर, कार्डियोलोजी विभागको क्याथल्यावमा भने कुनै पनि मुटुरोगीले बिनाचिरफार उपचार गर्नका लागि पालो पर्खिनु नपर्ने वीपी प्रतिष्ठानका सहप्रवक्ता डा अरुणकुमार सिंहले बताए ।

उनले भने, ‘वीपी प्रतिष्ठानमा दक्ष चिकित्सक भएकै कारण मुटु रोग जस्ता धेरै रोगीको चाप अत्यधिक हुने गरे पनि चिकित्सकहरु अहोरात्र खटिरहेका छन् । व्यवस्थापन पक्षले उपचारका लागि आएका बिरामीलाई कसरी विषेशज्ञ सेवा र विशिष्ट सेवा दिने भनेर उपायहरु खोजिरहेको छ । कतिपय विभागमा मेडिकल उपकरण र जनशक्तिको अभावका वीच चिकित्सले पूरा गर्नुपर्ने कर्तव्य बिर्सेका छैनन् ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ५६ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर