सरकारले स्टार्टअप उद्यमीलाई जेठ दोस्रो सातादेखि कर्जा दिने | Khabarhub Khabarhub

सरकारले स्टार्टअप उद्यमीलाई जेठ दोस्रो सातादेखि कर्जा दिने

परियोजना बीमा उद्यमीकै जिम्मामा


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार्टअप उद्यमी (नवप्रवर्द्धक)हरूले जेठ दोस्रो सातादेखि स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाको लागि आवेदन गरेकामध्ये प्रस्तुतीकरणबाट छनोट भएकाहरूलाई आगामी जेठ दोस्रो साताबाट कर्जा प्रदान उपलब्ध गराइने जानकारी दिएको हो ।

प्रतिष्ठानले अहिले स्टार्टअप कर्जा निम्ति आवेदन दिई सर्टलिस्टमा परेका ३९४ जना आवेदकहरूको प्रस्तुतीकरण लिइरहेको छ । आगामी जेठ २ गतेसम्म प्रस्ततीकरण लिइसक्ने र जेठ १५ सम्म ऋण लागि सिफारिस भएका प्रस्तावहरूको सूची सार्वजनिक गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले बताए ।

‘यस वर्ष जसरी भएपनि स्टार्टअप उद्यमीलाई ऋण दिने योजना बनाएर नै काम गरिरहेका छौँ । हाम्रो तर्फबाट सबै तयारी पूरा भएको छ,’ कार्यकारी निर्देशक गुप्ताले खबरहबसँग भने, ‘अझै पनि समय छ, यो कामले पूर्णता पाउँछ, अन्तिम प्रक्रिया टुङ्ग्याएर जेठ दोस्रो सातादेखि नै ऋणका लागि सिफारिस गर्ने योजना छ ।’

स्टार्टअप उद्यमलाई प्राथमिकतामा राखेको जनाएको सरकारले उद्यमीलाई प्रोत्साहन गर्न खोजिरहेको छ । यस निम्ति सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्राप्त गर्न २०८० फागुन १० गतेसम्म प्रस्ताव माग गरेको थियो । १६ सय ५८ वटा परियोजना दर्ता भएकामा प्रतिष्ठानले ३९४ वटा परियोजना सर्टलिस्टिङ गरेको हो ।

प्रतिष्ठानले स्टार्टअप तथा उद्यमशीलताको क्षेत्रमा काम गरेका विज्ञ र राष्ट्रिय वाणिज्य बैंकलाई समेत संलग्न गरी मूल्यांकन तथा सिफारिस समिति गठन गरेको छ । समितिले स्टार्टअप उद्यमका लागि तोकिएको मापदण्ड, उत्पादित वस्तु वा सेवा बिक्रीको बजार सम्भावना, परियोजनामा प्रयोग हुने कच्चा पदार्थको स्रोत, आवश्यक पूर्वाधारको उपलब्धता, जोखिम व्यवस्थापनका लागि अवलम्बन गरिएका उपाय, व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण र ऋण मूल्यांकनका आधारमा अंक दिनेछ ।

मूल्याङकनमा ५० भन्दा बढी अंक ल्याउनेलाई ऋण दिन योग्य प्रस्तावको सुचीमा समावेश गरी सार्वजनिक गरिनेछ । सोही अंकका आधारमा ऋण लिन योग्य प्रस्तावको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशक गुप्ताले बताए ।

नवीन प्रविधि एवम् सृजनशील सोचको प्रयोग गरी कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा स्तरोन्नतिको सम्भावना रहेको उद्यमलाई स्टार्टअप उद्यमको रूपमा परिभाषित गरेको छ । दर्ता भएर सात वर्ष नाघेका स्टार्टअपहरू भने यस्तो कर्जाका लागि योग्य हुने छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० मा परियोजना धितोमा २५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने व्यवस्था छ ।

वाणिज्य बैंकहरूमार्फत प्रवाह गरिने यस्तो कर्जामा वार्षिक तीन प्रतिशतमात्र ब्याज लाग्नेछ । बैंकले ५ लाख सम्मको कर्जा एक किस्तामा, १५ लाख सम्मको कर्जा दुई किस्तामा र सो भन्दा बढी २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ ।

अहिले नयाँ सीप र प्रविधि प्रयोग गरेर नेपालमै उद्यमीहरूको संख्या बढाउनका लागि ल्याएको यो कर्जा प्रभावकारी हुनुका साथै उद्यमी बन्न अवसर खोजिरहेका र राम्रो लक्ष्य लिएका व्यक्तिहरूका लागि प्रभावकारी हुने प्रतिष्ठानका अधिकारीहरू बताउँछन्‌ ।

व्यवसायीहरूलाई देशमै बसेर उद्यम गर्ने वातावरण दिन सक्दा देशको विकास हुनुका साथै आर्थिक गतिविधि बढ्ने र युवाहरू विदेश पलायन हुनबाट रोकिने हुनाले यस कर्जालाई प्रभावकारी मानिएको छ ।

परियोजना नै धितोमा राखिने
कार्यविधि अनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राख्ने व्यवस्था गरेको छ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैंले गर्नुपर्ने व्यवस्था छ ।

प्रवाह गरिएको कर्जाको सुरक्षण ‘कर्जा सुरक्षण कोष’मार्फत हुनेछ । कर्जा प्रवाह गर्दा बैंकहरूले अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछन्‌ । यस्तो कर्जाको अवधि बढीमा पाँच वर्षका लागि हुने र दोस्रो वर्षबाट साँवा र ब्याज बापतको रकम फिर्ता गर्न थाल्नुपर्छ ।

फाइल तस्वीर- गेटी इमेज

प्राप्त कर्जा चुक्ता नगरेमा बैंकले कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था समेत कार्यविधिमा छ ।

कूल चुक्ता पूँजी दुई लाख रुपैयाँदेखि १० लाख रूपैयाँसम्म भएका, वार्षिक कूल कारोबार दुई करोड रुपैयाँभन्दा बढी नभएका र स्थिर पूँजी घर जग्गाको मूल्य बाहेक दुई करोड रुपैयाँभन्दा बढी नभएका स्टार्टअपहरू यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

१६ क्षेत्रमा उद्यम गर्न सकिने
कर्जाका लागि योग्य स्टार्टअप उद्यमीले १६ क्षेत्रमा उद्यम गर्न सक्ने कार्यविधिमा उल्लेख छ । जसमा कृषि तथा पशुपंक्षी, वन पैदावर, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथी सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित क्षेत्रमा स्टार्टअप गर्न सकिनेछ ।

सहज र सुरक्षित यातायात तथा परिवहन, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित क्षेत्रमा समेत स्टार्टअप उद्यमलाई मान्यता दिइने भएको छ ।

फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा पनि कर्जा लिन सकिने कार्यविधिमा उल्लेख छ ।

सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि बन्यो, ‘स्टार्टअप कम्पनी’ले ५० लाखसम्म ऋण पाउने

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा त्रिपक्षीय सम्झौता

युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ०७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि