महँगियो भान्छा, चाडपर्वको मुखमै अचाक्ली मूल्यवृद्धि | Khabarhub Khabarhub

बजार

महँगियो भान्छा, चाडपर्वको मुखमै अचाक्ली मूल्यवृद्धि

बेखबरजस्तै छ नियमनकारी निकाय 



काठमाडौं– महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यवस्तु, सागसब्जी र उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको छ । चाडपर्वको मौका छोपी व्यापारीहरूले दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढाएका हुन् ।

बजारमा चामल, दाल, चिनी, तेल, दलहन, तरकारी, माछा, मासु र अण्डा लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो । खासगरी थोक व्यापारीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएको खुद्रा व्यापारीहरू बताउँछन् ।

खाद्य वस्तुहरूको थोक मूल्य बढेर आएसँगै खुद्रा व्यापारीहरूले पनि आफूखुसी मूल्य बढाएका हुन् । अघिल्लो वर्षको यही समयमा ९० रुपैयाँ प्रतिकिलो पर्ने चिनीको मूल्य यतिखेर १५० रुपैयाँसम्म पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षअघि २०८० भदौ २५ गते चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

कतिपय खुद्रा व्यापारीले १३० रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलोका दरले मूल्य असुलिरहेको उपभोक्ताहरूको गुनासो छ । ‘अघिल्लो वर्षको यही समयमा चिनीको मूल्य ९० देखि ९५ रुपैयाँ प्रतिकिलो थियो । यसपालि मूल्य बढेर १३० रुपैयाँसम्म पुगेको छ,’ संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए ।

दाल, चामल र तेल लगायत अधिकांश खाद्य वस्तुमा अघिल्लो वर्षको तुलनामा १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि गरिएको बज्राचार्यले बताए । उनका अनुसार प्रतिबोरा चामल (२५ र ३० किलो तौल) कै मूल्य १०० देखि १५० रुपैयाँसम्म बढाइएको छ ।

यसैगरी दाल र तेलजन्य अन्य खाद्य वस्तुको मूल्य पनि केही न केही बढेर आएको उनले बताए । थोक व्यापारीले मूल्यको बिक्रीदर बढाएर पठाएकाले खुद्रा व्यापारमा आइपुग्दा खाद्यवस्तुको मूल्य बढेको बज्राचार्यको भनाइ छ ।

‘यो वर्ष अधिकांश खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा बढेको देखिन्छ,’ उनले भने, ‘खुद्रा बजारसम्म पुग्दा चिनी प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ, अन्य खाद्यवस्तुमा १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।’

पछिल्लो केही दिनयता लगातार परेको वर्षाका कारण मुलुकभर सडकखण्डहरू अवरुद्ध हुँदा खाद्यवस्तुसँगै तरकारी र फलफूलजन्य वस्तुको मूल्य पनि बढेको छ । महत्वपूर्ण राजमार्गहरूमै आवागमन रोकिँदा काठमाडौंसम्म ल्याउन ढुवानी गरिएको तरकारी र फलफूलजन्य वस्तु पनि बीचमा कुहिने तथा सड्ने गरेको किसानहरूको गुनासो छ ।

काठमाडौं उपत्यकाका सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा पनि तरकारी तथा फलफूलजन्य वस्तुको मूल्य बढेर आएको छ । अघिल्ला वर्षको तुलनामा यसपालि पानी बढी परेकाले पनि कतिपय तरकारी तथा फलफूलको मूल्य अचाक्ली बढेको व्यापारीहरूको तर्क छ ।

चाडपर्वमा सबैभन्दा बढी खपत हुने प्याज र लसुनको मूल्य समेत बढेको छ । अघिल्लो वर्षको तुलनामा अहिले प्याजको मूल्य दोब्बरले बढेको हो । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार अघिल्लो वर्ष यसै समयमा भारतीय सुकेको प्याजको मूल्य औषत ७० देखि ८० रुपैयाँसम्म थियो । तर, अहिले प्याजको थोक मूल्य प्रतिकिलो १२५ रुपैयाँ र खुद्रा मूल्य पनि बढेर १५० देखि १६० रुपैयाँसम्म पुगेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि भारतीय सुकेको प्याजको मूल्य ७३ प्रतिशत बढेको देखिन्छ ।

भारतीय रातो आलुको मूल्य पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । २०८० भदौ २४ मा प्रतिकिलो औषत ३५ रुपैयाँ थोक मूल्यमा पाइने रातो आलुको मूल्य अहिले ५७ रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो वर्ष ४५ रुपैयाँ प्रतिकिलोमा पाइने घिरौँलाको मूल्य बढेर ६५ देखि ७० रुपैयाँ पुगेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ ।

त्यस्तै, भारतीय गोलभेँडा ठूलोको मूल्य गत वर्षभन्दा यसपालि झनै बढेको छ । अघिल्लो वर्ष यसै समयमा ४५ रुपैयाँ प्रतिकिलो औषत रहेको गोलभेँडाको मूल्य अहिले ६५ रुपैयाँ पुगेको छ । अदुवा, तने बोडी, स्थानीय काउली, लौका, रायो साग, च्याउ, सेलरी, पार्सले, कागती, अनार, खुर्सानी र हरियो धनियाँ लगायतको मूल्य पनि केही बढेको छ ।

ब्रोइलर कुखुराको मासु सस्तिँदा खसीबोका झनै महँगो

अण्डा र ब्रोइलर कुखुराको मासुको मूल्य भने त्यत्ति बढेको देखिँदैन । केही हप्ताअघि अण्डा ठूलो साइजको मूल्य प्रतिक्रेट ५३० रुपैयाँसम्म पुगेको थियो । अहिले अण्डाको थोक मूल्य ४३० रुपैयाँमा झरिसकेको छ ।

अण्डा र कुखुराको मासुको मूल्य यथावत नै रहेको नेपाल कुखुरा बजार व्यवस्थापक संघका अध्यक्ष हरिकृष्ण लोहनीले खबरहबलाई जानकारी दिए । उनका अनुसार खसी तथा बोकाको मासु प्रतिकिलो १३०० देखि १३५० रुपैयाँसम्म पुगेको छ ।

त्यस्तै, एक महिनाअघि प्रतिकिलो १६०० रुपैयाँमा बिक्री भएको काजुको मूल्य अहिले बढेर २१०० रुपैयाँ पुगेको व्यापारीहरूले बताएका छन् ।

बेखबरजस्तै छ नियमनकारी निकाय 

चाडपर्व नजिँकिँदै जाँदा बजारमा उपभोग्य वस्तुको मूल्य बढे पनि सरकारी नियमनकारी निकाय भने बेखबर जस्तै छ । बजारमा खाद्य वस्तुको गुणस्तर र मूल्यवृद्धि भइरहँदा त्यसको प्रभावकारी अनुगमन भने हुन नसकेको हो ।

नियमनकारी निकायको प्रभावकारी अनुगमन नहुँदा बिचौलिया व्यापारीले चाडपर्वका मौका छोपी उपभोक्तामाथि ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिना बताउँछन् ।

‘चाडपर्वको मौका छोपी व्यापारीले मूल्य बढाउने परम्परा यसपालि पनि देखिएको छ,’ उनले भने, ‘खाद्यवस्तुदेखि सबै वस्तुको मूल्य बढेको छ । उपभोक्ताहरू मर्कामा परेका छन् ।’ चाडपर्वका बेला विगतमा मौज्दात गरेका, म्याद गुज्रेका र कम गुणस्तकार खाद्य वस्तु समेत बजारमा भेटिने गरेको तिमल्सिनाले बताए ।

दसैं र तिहारलगायत ठूला चाडबाडका बेला पुराना र स्टक सामानहरू पनि व्यापारीहरूले बाहिर निकाल्ने गर्दा गुणस्तर र मूल्यमा समेत प्रश्न उठ्ने गरेको छ । कर्मकाण्डी अनुगमनले बजार नसुध्रिने तिमल्सिना बताउँछन् ।

उनी भन्छन्, ‘चाडपर्वमा झारा टार्ने किसिमको अनुमगले बजारको मूल्य र गुणस्तर नियमन हुन सक्दैन् । दैनिक रूपमा गरिने अनुगमन एकीकृत र व्यवस्थित हुनुपर्छ ।’

विभागको दाबी – ‘अनुगमन भइरहेको छ’

चाडपर्व नजिकिँदै जाँदा खाद्यवस्तुको मूल्य र गुणस्तरलाई विशेष प्राथमिकतामा राख्दै दैनिक बजार अनुगमन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

‘चाडपर्वको मौका छोपी व्यापारीले मूल्य बढाउन सक्ने र वस्तुको गुणस्तरमा समेत प्रश्न उठ्ने गर्छ,’ विभागका महानिर्देशक राजन पौडेलले भने, ‘त्यसका लागि विभागले अन्य निकायसँग मिलेर संयुक्त अनुगमन गरिरहेको छ ।’

चाडपर्वका बेला मूल्य र गुणस्तरका सम्बन्धमा स्वयम् उपभोक्ता पनि सचेत हुन जरुरी रहेको उनको भनाइ छ । उनले कुनै गुणस्तरहीन र मूल्यवृद्धि गरेको थाहा पाए विभागमा जानकारी गराएर सहयोग गर्न समेत उपभोक्तालाई आग्रह गरेका छन् ।

यो पनि-

हरेक वर्षको दशैँमा किन बढ्छ महँगी ?

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ०८ बजे

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला – फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको

फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आफ्नो सभास्थलका रुपमा नारायणहिटी दरबार संग्रहालाय

सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क