८६ वर्षे चित्रबहादुर केसीको प्रतिप्रश्न– म भ्रष्ट हो र राजनीति छोड्न ? « Khabarhub

अन्तरवार्ता

८६ वर्षे चित्रबहादुर केसीको प्रतिप्रश्न– म भ्रष्ट हो र राजनीति छोड्न ?

‘प्रधानमन्त्री सुशीला कार्कीले सिन्को भाँच्दिनन्’



काठमाडौं- बागलुङ १ बाट विजयी भएका चित्रबहादुर केसी ८६ वर्षका भए । समकालिन राजनीतिमा परिपक्व र स्पष्ट बक्ताको छवि बनाएका केसी अझै थाकेका छैनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका उनी बरु आगामी निर्वाचनमा उम्मेद्वारी दिने मनशायमा देखिन्छन् ।

जेन जी आन्दोलनपछि राजनीतिमा पुस्तान्तरणको मुद्दा प्रबल भइरहँदा खबरहबको राजनीतिबाट विश्राम लिने होइन भन्ने प्रश्नमा उनी भन्छन्– ‘मैले देश बेचेको छैन भ्रष्टाचार गरेको छैन छोरीचेली बेचेको छैन । मैले किन राजनीतिबाट विश्राम लिने ?’

चित्रबहादुर बुढो भयौ राजनीति छोड भनेर मलाई कसैले भनेको छ र ? केसीले सुशीला कार्कीको सरकारलाई भने असंवैधानिक भनेका छन् । उनले प्रधानमन्त्री कार्कीले सिन्कोसम्म भाँच्न नसक्ने दाबी गरे । जेनजीले उठाएका मागहरू जायज रहेको तर आइएनजिओ र एनजीओबाट यो सरकार बनेको भन्दै केसी चिन्तित छन् ।

केसी जीएनजीले उठाएका मागहरूलाई आफूले पटकपटक सदनबाट उठाएको समेत दाबी गरे । उनै केसीसँग पछिल्लो राजनीति अवस्था र नयाँ सरकारका विषयमा गरिएको कुराकानीको संक्षिप्त अंश-

कति वर्षको हुनुभयो ?

म आगामी माघबाट ८६ वर्ष पुग्छु । म ८६ वर्ष पुग्न ३ महिना मात्र बाँकी छ ।

अब राजनीतिबाट विश्राम लिने मनसायमा हुनुहुन्छ ?

राजनीति छाड्ने भ्रष्टाचारीले हो । नेपाली छोरी चेली बेच्नेले पो राजनीति छाड्ने हो त । ८६ वर्ष पुगेको चित्रबहादुरले राजनीति छाड्नुपर्छ भनेर नेपाली जनताले भनुपर्‍यो नि, कसैले भनेको छैन ।

उसो भए फेरि निर्वाचन लड्ने ?

यो त पछिको कुरा हो । मुख्य कुरा अहिले निर्वाचन नै हुन्न । निर्वाचनमा लड्न नपाउने त राष्ट्रघाती र भ्रष्टाचारीले हो । छोरी चेली बेच्नेले हो । सहकारी ठग्नेले हो । नेपाली जनताले यिनलाई भोट नदिने हो । हामी त हमेसा राष्ट्रियताको पक्षमा लडिरहेका छौँ । भ्रष्टाचारीको विरुद्धमा र नेपाली राष्ट्र र राष्ट्रियताको लागि लडिरहेका छौँ । आवश्यक परे भाग लिइन्छ । आवश्यक नपरे लिइँदैन । तर मैले किन राजनीति छाड्नुपर्छ र ?

८६ वर्ष पुगिसक्दा नि अझै बिदा नहुने अनि चित्रबहादुर केसी नै फेरि आदर्शको कुरा गर्ने भन्छन् होला नि जनताले ?

राजनीति गर्दा गर्नु नगर्ने ओली, देउवा लगायत चाहिँ बिदा हुने हो । जेनजीले भन्नुपर्थ्यो नि उमेर पाको भएकाले देश बेच्यो चित्रबहादुरले भनेर । बूढो भएका कारण नेपाली छोरी अरबमा दलाललाई बेच्यो भन्न सक्नुपथ्र्यो नि । उमेरले होइन राजनीति गर्ने विचारले हो । कामले गर्ने हो । एनजीओ आइएनजीओबाट पालित पोषित मान्छेलेउराल्ने नारा हो ।

गणेशमानलाई , कृष्णप्रसादलाई बुढो भयौ अब राजनीतिक नगर भन्यौं हामीले ? विचार र चरित्र मुख्य कुरा हो । राजनीति गर्न पाउने त अधिकार हो । महात्मा गान्धी र जवाहरलाल नेहरू कति वर्षमा राजनीति छाडेका थिए ? यो त भन्ने कुरा हो । एनजीओ/आईएनजीओको जनता उफार्न भ्रम छर्ने काइदा हो । मान्छे तन्नेरी छ, उसको चरित्र र विचार ठिक छैन भने त्यो काम दिँदैन । अफवाह फैलाउने काम नगरे हुन्छ ।

नेल्सन मण्डेला २७ वर्ष जेल बसेर राजनीति गरे नमरुन्जेल । विचार प्रधान हो नि । विचार भ्रष्ट छ । देशद्रोही छ भने २०, २२ वर्षको तन्नेरीले पनि राजनीति गर्नु बेकार छ ।

यहाँले यसो भनिरहँदा जेनजीले त अब पुराना नेतालाई बिदा गरेर नयाँ अनुहार राजनीतिमा आउनुपर्छ, पुरानाले देश खोक्रो बनाए भनिरहेका छन् नि ?

यो कुरा हाम्रो पार्टीको आन्तरिक कुरा हो । भाग लिने नलिने भन्ने विषयमा छलफल हुन बाँकी छ । पार्टी बैठक बसेर निर्णय हुन्छ । पहिलो कुरा छँदा खाँदाको संसद् भत्काएर निर्वाचनमा जाने नाटक नै हो ।

उसो भए जेनजीले उठाएका मागहरू ठीक छैनन् ?

उनीहरूले उठाएका माग जायज छन् । म समर्थन गर्छु । भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । सामाजिक सञ्जालको प्रतिबन्ध हट्नुपर्छ । देशलाई औद्योगीकरण गर्नुपर्छ भन्ने जेनजीको माग जायज हो । तर त्यो जेनजीको आवरणमा देशी विदेशी नेपालका शत्रुले नेपाललाई नै खरानी बनाए ।

जनतालाई रोजगार दिने कुरा र जेनजीका माग पटक–पटक मैले सदनमा उठाएका माग हुन् । त्यसको बहाना पारेर विभिन्न संरचना जलाए यो ठीक छैन । यो कुरामा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नै मिसिएका कुरा आएका छन् । कहीँ कहीँ त माओवादी पनि मिसिएका छन् । विदेशी हस्तक्षेपले जे गर्नु थियो गरे । तर आरोप जेनजीलाई लगाए ।

वास्तविक जेनजीले उठाएका माग त सही थिए नि । तर बहाना बनाएर देशलाई खरानी पारे । नेपाल राष्ट्रका वर्ग दुश्मनले खरानी पारेको हो । तर आवरण जेनजीको देखियो । ०७ सालबाट यता जोसुकै प्रधानमन्त्री भए पनि दलाई लामाले बधाई दिएको थाहा थिएन । तर यो पटक त दियो नि । यसैबाट स्पष्ट भएन र, तिब्बतबाट लखेटिएर भारत गएर बसेको मानिसले सुशीला कार्की प्रधानमन्त्री भएकोमा बधाई दिनुपर्ने भन्ने कुरा त छर्लङ्गै बुझियो नि ।

नयाँ सरकारलाई कसरी हेरिरहनुभएको छ ?

यहाँलाई पनि थाहा छ– यो अवैधानिक सरकार हो । जनताले चुनेको सरकार होइन । एनजीओले बनाएको सरकार हो ।

जेनजीले यत्रो विद्रोह गरेर बनाएको सरकार कसरी अवैधानिक हुनसक्छ ?

कठैबरा ! संविधानमा व्यवस्था नै छैन नि । एनजीओ आईएनजीओबाट सरकार गठन भएको छ । संसद् विघटन गरेर आईएनजीओबाट सरकार गठन गर्ने यो शैली नै अवैधानिक छ ।

सुशीला कार्की नेतृत्वको सरकारलाई के सुझाव दिनुहुन्छ ?

सुझाव दिने ठाउँ नै छैन । यिनले सिन्को भाँच्न सक्दिनन् । विदेशीले जे भन्यो त्यही गर्ने हो । यिनले केही गर्न सक्दिनन् ।

के गरेको भए हुने थियो ?

जसले सत्तामा बसेर भ्रष्टाचार गरेका छन् , उनीहरूलाई कारबाही गर्ने हो । संसद्को के गल्ती थियो ? सांसदले भ्रष्टाचार गर्न सिकाएको त होइन नि । संसद ज्ञानेन्द्र शाह र महेन्द्र शाहले भत्काए ।

केपी ओलीले दुई पटक भत्काए । गिरिजाप्रसाद कोइरालाले दुई पटक भत्काए । यस कारण लोकतन्त्रमाथि बारम्बार आक्रमण गरिएको हो । भ्रष्टाचारीलाई पो कारबाही गर्ने हो त । सिंहदरबार जलाउने हो ? संसद् भवन जलाउने हो र ? यो त अघोषित रुपको विदेशी आक्रमण हो ।

के आधार छ ?

यहाँलाई थाहा छैन ? कति एनजीओ आइएनजीओ आएका छन् । सबै यस्तै संस्थासंग जोडिएका मान्छेहरू संलग्न छन् । कसका कसका सिफारिस छन् ? अनि यिनले देश बनाउँछन् ? यिनले देशको सार्वभौमता, अखण्डता, सर्वोच्चताको रक्षा गर्छन् ? यी विदेशी एनजीओ, आइएनजीओबाट सञ्चालित छन् ।

प्रधानमन्त्री सुशीला कार्की पनि एनजीओबाट नियुक्त हो र ?

थिइनन् भनेर कसरी भन्ने । पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री हुने व्यवस्था छ संविधानमा ? छैन । त्यसैले यो सरकार अवैधानिक नै हो ।

वैधानिक प्रमाणित गर्न सरकारले के गर्नुपर्छ ?

हैन, संसद् राखेर भ्रष्ट्राचारीलाई कारबाही गर्नुपर्ने थियो । कारबाही गर्ने ऐन व्यवस्था छ नि । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । भ्रष्टाचार गथ्र्यो भनेर संविधान नै मास्ने लोकतन्त्र नै खाइदिने गर्नु हुँदैन । लोकतन्त्रलाई देखि नसहेर यस्ता निर्मम काम भएका हुन् । लोकतन्त्रको कारणले होइन ।

यहाँले संघीयताको निरन्तर विरोध गर्दै आउनुभएको थियो । अहिले के भन्नुहुन्छ ?

प्रदेश अहिलेका पार्टीहरूले बनाएको होइन । विदेशीले ल्याएका हुन । विदेशीले नेपालको संघीयता र समृद्धिको लागि यसखाले शासकीय स्वरुप बनाएका होइनन । प्रदेशको काम चाहिँ स्थानीय बिदा स्वीकृतगर्ने मात्र छ । प्रदेशको काम उद्योगधन्दा कलकारखाना खोल्न नभएर विदा स्वीकृत गर्ने हो । प्रदेशको मुख्य काम त्यही छ ।

आठवटा जिल्ला भएको प्रदेशमा २० जना मन्त्री छन् । यसो हुँदा प्रदेशको औचित्य छैन । प्रदेश त विदेशीहरूले बोकाएको भारी हो । यो नेपाली समाजको आवश्यकता होइन । विदेशीले नहटाएसम्म प्रदेश हट्दैन । जेनजीले भने पनि फेनजीले भने पनि । राष्ट्रिय जनमोर्चाले त सुरुका दिनदेखि भनेको हो नि संघीयता चाहिँदैन देश टुक्र्याउन पाइँदैन भनेर ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ४ : ३२ बजे

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ

काठमाडौं– थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली

किन पक्राउ परे शेखर गोल्छा ?

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले