कांग्रेसको भूमिकामा प्रश्न : सरकार ढाल्न लाग्ने कि जिम्मेवार प्रतिपक्ष बन्ने ? | Khabarhub Khabarhub

कांग्रेसको भूमिकामा प्रश्न : सरकार ढाल्न लाग्ने कि जिम्मेवार प्रतिपक्ष बन्ने ?

युवा नेताहरू भन्छन् – अब संगठन निर्माणमा ध्यान दिऊँ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले सरकारमा छैन । गत फागुन २१ गते नाटकीय ढंगले सत्ता समीकरण फेरिएपछि कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ ।

चुनावी गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको साथ छोडेर नेकपा एमालेसँग मिल्न गएपछि एकाएक सरकारबाट बाहिरिन पुगेको कांग्रेस संघ र प्रदेश सबैतिर प्रतिपक्ष बनेको अवस्था छ । सोमबार मात्रै गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डेले संसद्को विश्वास पाएर कांग्रेसबाट सरकारको नेतृत्व कायम गर्न सफल भएका छन् ।

यो स्थितिमा अब कांग्रेसले अहिलेको गठबन्धन तोडेर सत्तामा पुनरागमन हुनेबारे सोच्छ या के भूमिका खेल्छ ? महामन्त्री गगन थापा कांग्रेस अब २०८४ सम्मै प्रतिपक्षमा बस्ने बताउँछन् ।

‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैन । कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ,’ महामन्त्री थापा भन्छन्, ‘सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन ।’

कांग्रेसले भर्खरै संसदमा सहकारी संस्थामा भएको रकम अपचलनको मुद्दा उठाएको थियो । उसले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गरेर संसद नै अवरुद्ध गरेको थियो ।

कांग्रेसले लगातार संसद अवरुद्ध गर्न थालेपछि सत्तापक्ष संसदीय छानबिन समिति गठन गर्न तयार भएको थियो । एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित सात सदस्यीय संसदीय समिति पनि बनेको छ ।

सहकारी ठगी प्रकरणको विषयलाई अब कांग्रेसले कसरी अघि बढाउँछ ? कांग्रेसका नेताहरुले झापाको गिरीबन्धु टी-स्टेटको मुद्दा पनि उठाएका थिए, त्यो अहिले सु-सुप्त झैँ भएको छ ।

संसद्मा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटको विषयमा पनि छलफल चलिराखेको छ । प्रतिपक्षले सरकारलाई खबरदारी गर्नुपर्ने विषय धेरै छन् । यतिबेला सशक्त प्रतिपक्षको भूमिका खेल्ने ‘स्पेस’ कांग्रेसलाई छ ।

कांग्रेस प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महत कांग्रेस प्रतिपक्षमा रहँदासम्म सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउँछन् । उनले खबरहबसँग भने, ‘जुन बेलासम्म हामी प्रतिपक्षमा हुन्छौँ, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छाैं ।’

प्रवक्ता महतले कांग्रेस सरकार गिराउने र बनाउने खेलमा नलागेको पनि प्रष्ट्याए । ‘नेपाली कांग्रेस यतिबेला प्रतिपक्षमा छ । हामीले आफैंले सरकार ढाल्ने बारे सोचेका छैनौँ,’ उनले भने, ‘सत्ता गठबन्धनको आपसी समझदारी बिग्रदाको अवस्थामा त्यो अवस्था सिर्जना होला । तर, विशेष प्रयास गरेर सरकार ढाल्ने पहलका लागि हामी अभियानमा लागेका छैनौँ ।’

यसै सन्दर्भमा कुरा गर्दा युवा पुस्ताका केन्द्रीय नेताहरु पनि पार्टीले सत्ताको छिनाझप्टीमा भन्दा आन्तरिक संगठनात्मक व्यवस्थापनमा जोड दिनुपर्ने बताउँछन् । कांग्रेसले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे केही केन्द्रीय नेताहरुको भनाइ जस्तो त्यस्तै–

सत्ताको रस्साकस्सी होइन, संगठन विस्तार : सीता थपलिया ‘उर्मिला’

अहिलेको परिस्थितिमा नेपाली कांग्रेसले प्रतिपक्षमै बसेर जनताको भावनाअनुरुप काम गर्नुपर्छ । कांग्रेसले यति धेरै राम्रा काहरु गरेको छ, तर काम गरेको प्रचार नै गर्न कांग्रेसले जानेन । कम्युनिस्टहरूले नगरेको कामकुरोलाई फूलबुट्टा भरेर चर्चित हुने काम गर्दछन् । कांग्रेसले गरेको काम, भएको प्रगतिलाई जनतालाई बुझाउने गरी लैजान सकेको छैन ।

सत्तामा पुग्दै गर्दा कांग्रेसलाई कहिले पनि शुभ भएको छैन । कांग्रेसलाई सत्ता भन्दा बाहिर बस्दा नै फापेको जस्तो मलाई लाग्छ । कांग्रेस त जहिले पनि सडकमा हो । सदनभन्दा सडक मै छ बढी कांग्रेस । हरेक आन्दोलन हेर्दा त्यो पुष्टि हुन्छ । राणा, पञ्चायत, राजा फाल्ने आन्दोलनमा शसशक्त रुपमा कांग्रेसले नै भूमिका निर्वाह गरेको छ ।

अहिले आमजनताको भावना पनि कांग्रेस प्रतिपक्षमै बसेर हाम्रा सुख–दुःख बुझिदिओस् भन्ने नै पाइन्छ । त्यस कारण अहिले हामीले सत्ताको रस्साकस्सी भन्दा पनि बाहिर रहेर जनताको भावना बुझ्ने, संगठन विस्तार गर्नेकामलाई तीब्रता दिनुपर्छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको छैन । पदाधिकारी, कार्यसम्पादन समिति बसेर नै विभिन्न छलफलहरु गरेर निर्णय लिने गरिन्छ । सहकारी प्रकरणको विषयमा धारणा बनाउन केही दिन अघि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक त बसेको हो ।

अब कांग्रेसले चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाएर महासमिति बैठकमा उठेका विषयहरुसँगै अरु जनजीविकासँग जोडिएका मुद्दाहरुमा मन्थन गर्न जरुरी छ । पार्टीका भ्रातृ संस्थाहरुका प्रमुखहरुले महामन्त्रीज्यूहरुलाई अधिवेशनको कार्यतालिका पेश गर्दै हुनुहुन्छ । कार्यतालिका हेरेर अधिवेशन गर्न सक्ने नसक्ने विषयमा त्यही अनुरुप पार्टीले उचित निर्णय लिनुपर्छ ।

पार्टीको आन्तरिक जीवन व्यवस्थित गरौँ :प्रकाश रसाइली ‘स्नेही’

निकट भविष्यमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने आन्तरिक तयारी भइरहेको छ । पार्टीको आन्तरिक जीवनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल र बहस व्यापक भइरहेको छ ।

राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका हुन्छ नै । कतिपय भूमिका भवितव्यका कारण पनि परिवर्तन भइरहेको हुन्छ । तर, त्यसमा महत्वपूर्ण कुरा भनेको पार्टीको आन्तरिक जीवनमा विभागहरू बन्ने प्रक्रियामा छन् ।

महासमितिबाट पारित मुद्दा र एजेन्डालाई केन्द्रीय कार्यसमितिमा बृहत छलफल गरेर पूर्णता दिने कुराहरू छन् । निकट भविष्यमा हुने महाधिवेशनका निम्ति विधान मस्यौदा समिति बनाएर त्यसलाई समयअनुकूल र संघीयताको भावना, आमपार्टी कार्यकर्ताको भावनाअनुसार बनाउने कुरामा पार्टी अग्रसर छ ।

नियमित अधिवेशन गर्न नसकेका र अधिवेशनतर्फ उन्मुख नै नभएका तथा म्याद सकिएका भ्रातृ संस्थाहरूबारे पार्टीभित्र आन्तरिक छलफल गरेर गृहकार्य गर्ने कुरा भएको छ । केन्द्रीय समिति बैठकले त्यसबारे निर्णय लिन्छ नै ।

कांग्रेसका सांसदहरूले सदनबाट र पीडितहरू तथा आमनागरिकका तर्फबाट सहकारीको ठगीको विषयमा सरकार र समितिलाई झक्झक्याउने काम गरिरहेका छौँ ।

कहिँकतै बहुमतको आडमा फेरि पनि झारा टार्ने किसिमले दोषीलाई उम्काउने ढंगले छानबिन समिति कार्यविधिको स्पिरिटभन्दा बाहिर नजाओस् भन्नेमा हामी सचेत छौँ ।

छानबिन समिति कार्यविधिको स्पिरिटभन्दा बाहिर गएर काम गर्न खोजे हामीले आमनागरिकलाई यस विषयमा सजग गराइरहनुपर्छ, औंला ठड्याउने काम गर्नुपर्छ । यो कुरा निरन्तर जारी राख्नुपर्छ ।

सत्ताको छिना–झपटीभन्दा संगठन : अजयबाबु शिवाकोटी

पछिल्लो सत्ता समीकरण बदलिएपछि कतिपय दलहरुले नेपाली कांग्रेसलाई सत्ताको छिना–झपटीमा लागिरहेको भनिरहेका छन् । तर, हाम्रा नेताहरुसँगको परामर्शको आधारमा र तल्लो तहका कार्यकर्ताहरुको कुरा सुन्ने हो भने नेपाली कांग्रेसले अबको समय सत्ताको छिना–झपटीभन्दा पनि संगठनमा काम गर्नुपर्ने छ, सत्तालाई जोडदार रुपमा खबरदारी गरिरहनुपर्छ र जनजीविका कुराहरु जोडदार रुपमा उठाउनु पर्छ भन्ने छ ।

यसबीचमा नेपाली कांग्रेसले सदन र सडकमा जोडदार रुपमा प्रस्तुत गरेको छ । जसको फलस्वरुप सहकारी संस्थामा भएको रकम हिनामिनाको छानबिनका लागि संसदीय समिति गठन भएको छ ।

सँगसँगै सरकारमा रहेका दलहरू जसको भ्रष्टाचारमा यतिधेरै संलग्नता देखिएको छ । अदालतले नै नीतिगत भ्रष्टाचार भनिसकेको छ । त्यस्ता विषयहरू आमनागरिकबीचमा उजागर गरेर भण्डाफोर गर्नुपर्ने छ ।

देशभन्दा ठूलो आफ्नो पार्टी भन्ने बुझाई सत्तामा रहेको नेकपा एमालेको छ । जुन कुरा हिजो–अस्ति मात्रै त्यसका अध्यक्षको अभिव्यक्तिले देखाउँछ । मैले पार्टी बचाउन संसद विघटन गरेको थिएँ भन्ने अभिव्यक्ति दिनुभयो । जसरी पनि संसद् विघटन सही थियो भन्ने कुरा स्थापित गर्न खोजिँदै छ ।

यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक नहेर्ने हो भने ढिलोचाँडो फेरि पनि अहिलेको सत्ता गठबन्धनको एमालेले देशलाई मध्यावधितर्फ लैजान सक्ने खतरा छ । यसमा कांग्रेसले चनाखो भएर हेर्न जरुरी छ । देशलाई मध्यावधितर्फ जान नदिने वातावरण कांग्रेसले बनाउन जरुरी छ ।

सँगसँगै सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय समितिको छानबिनमा पनि कांग्रेस गम्भीर हुन आवश्यक छ । यसका साथै गृहमन्त्री दुई–दुई देशको राहदानी बोकेको मुद्दामा मुछिएका व्यक्ति छन् । नागरिकता विषय यसअघि नै पटाक्षेप भइसकेको छ ।

यस्ता विषयहरू कतिपय अदालतमा विचाराधीन पनि छन् । अरुअरु व्यक्तिहरूबारे पनि यस्तै विभिन्न विषयहरू आइरहेका छन् । यसकारण कांग्रेसले सरकारका र अदालतमा भइरहेका गतिविधि हेर्न जरुरी छ ।

कुनै कम्युनिस्ट पार्टीको आइडोलोजीमा अथवा कुनै कम्युनिस्ट आइडोलोजीमा चलेको देशको आधारमा हाम्रो देश चलाउने कुरा हाम्रा लागि प्रियकर हुन सक्दैन । यसलाई पनि कांग्रेसले सचेततापूर्वक हेर्न जरुरी छ । यिनै विषयहरूलाई अगाडि सारेर मात्रै अहिलेको अवस्थामा कांग्रेसले रणनीति बनाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १० : १५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य