‘गाँजा खेती वैधानिक बनाउँदा अवैध कारोबारको ढोका खुल्ने डर छ’ | Khabarhub Khabarhub

‘गाँजा खेती वैधानिक बनाउँदा अवैध कारोबारको ढोका खुल्ने डर छ’



आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि सरकारले गाँजा उत्पादनलाई वैधानिकता दिने सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाउने औपचारिक घोषणा सकाररले गरेको छ । अहिले पनि सिंहदरबार वैद्यखाना विकास समितिले त्यस्ता औषधि बनाउन गाँजा प्रयोग गर्दै आएको छ । नेपालमा कतिले सेवन गर्छन् त गाँजा ? गाँजाले समाजमा कस्तो कस्तो भाष्य बनाएको छ ? यदि गाँजा उत्पादनलाई वैधानिक दिएमा के कस्ता चुनौतीको सामना गर्नुपर्छ ? आखिर गाँजाको बजार कहाँ हो ? यीसहितका विषयमा नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारीसँग खबरहबका कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश-

गाँजालाई औषधि भनेर व्याख्या गर्दै गर्दा यसले निम्त्याउन सक्ने सम्भावित जोखिम के हुन सक्छन् ?

सरकार अहिले ड्रग्सलाई वैधानिकता दिन कानून बनाउन गइरहेको छ । यो एक किसिमले स्वागतयोग्य हो । किनकि विश्वका ५० भन्दाबढी राष्ट्रले यसलाई लिगलाइज गरेका छन् । अर्थतन्त्रका लागि गाँजा राम्रो श्रोतका रूपमा देखिएको छ ।

लागूऔषध ऐन २०३३ ले हाम्रो देशमा गाँजा खेती गर्न र व्यापार गर्न पाउने अनुमति दिएको थियो । त्यसबेला ५० ठाउँमा बिक्री गर्ने स्थान पनि सरकारले तोकेको थियो । त्यसबेला हतारमा गाँजालाई कानूनी मान्यता दिइयो ।

त्यसपछि विदेशीहरू गाँजा सेवन गर्न आउन थाले । त्यसबेला सरकारले कानूनी व्यवस्थामा उदारता अपनाएर नियमनमा ध्यानै दिएन । त्यसले गर्दा दुव्र्यसनीहरु बढ्न थाले । त्यसबेला युवाहरूको ठूलो जमात दुव्यर्सनको सिकार पनि भए । त्यहीँबाट सुरु ड्रग्सको संस्कारले डेढ लाखभन्दा बढी दुव्र्यसनी भए । त्यसकारण यो प्रोजेक्टलाई अगाडि सार्दा, यसलाई कानुनी रूपमा वैद्यता दिँदा नियमन गर्न नसके पहिलाकै जस्तो समस्या नआउला भन्न सकिँदैन ।

सरकारले केही वर्षअगाडि गरेको सर्वेक्षणमा लागूऔषध प्रयोगकर्ताहरू ९१ हजार थिए । जसमा गाँजाको हिस्सा १० प्रतिशत आसपासमा देखिएको थियो । सबै दुर्व्यसनीलाई गाँजा जोड्न मिल्छ र ?

गाँजाले खराब गरेको होइन । विश्व स्वास्थ्य संगठनले गाँजालाई ९८ प्रतिशत औषधिजन्य वनस्पति भनेर लालमोहर गराइसकेको छ । तर, नेपालमा अफिमबाट बन्ने ह्वाइट र ब्राउन्ड हेरोइन प्रयोग बढी छ । गाँजा खेतीलाई उत्पादन गर्न अनुमति दिने हो भने त्यहीअनुसार व्यवस्थापनमा पनि सरकार चुक्नु हुँदैन ।

जस्तो : गाँजाको चोपबाट कडाखालको चरेस बन्ने गर्छ । गाँजाको रुख पेलेर पनि पोलेन नामक ड्रग्स पनि बन्छ, जुन नरम हुन्छ । तर आजसम्मको अध्ययनले गाँजाबाट उत्पादित यी ड्रग्सहरूले युवामा खासै गम्भीर असर पारेको देखिँदैन । यहाँ डरलाग्दो भनेको यसको नाममा अवैध कारोबारको ढोका खुल्ने हो कि भन्ने छ । त्यसबारे सरकारले ध्यान दिनु पर्छ ।

अहिले गैरकानुनी रुपमा उत्पादन र कारोबार भइरहेको गाँजा (लागूऔषध ऐन २०३३) छैटौँ पटक संशोधन हुँदा पनि अवैधािनक नै छ । यसो हुँदा तस्करी गर्ने, व्यापार गर्नेलाई निगरानीमा राख्नु पर्थ्यो भने अब प्रहरीको चुनौती कहाँ जोडिने भयो ?

नेपालमा सबैभन्दा पहिला भूगोलअनुसार गाँजा उत्पादन अनुमति दिनु पर्छ । १० हजार फिटभन्दा अग्लो हावापानी भएको स्थानमा यसको उत्पादन राम्रो हुने रहेछ । अहिलेसम्म १ नम्बर गाँजा अफगानिस्तानको छ । उनीहरूले राम्रो गरेका छन् । हाम्रोमा त गाँजा बिउ लगेर छरिदिएपछि सक्कियो, रेखदेख नगरेकाले नेपालको गाँजालाई बी ग्रेड भनिन्छ । भूगोलअनुसार उत्पादन अनुमति दिनु पर्छ । त्यो भनेको पुलिस र मन्त्रीको पहुँच हुने ठाउँमा मात्रै होइन, नियमन गर्ने निकायहरूको सक्रियता पनि आवश्यक छ ।

गाँजा खेतीका लागि सरकारले जुन अग्रसरता लिएको छ, त्यो केका लागि के त ? मार्केटिङको लागि भए नेपालमा बजार छैन । उत्पादन गरेको गाँजा कहाँ पठाउने ? त्यसकारण सबैभन्दा महत्त्वपूर्ण कुरा त गाँजाको व्यवस्थापन हो । बजारको खोजी सरकारले गर्न जरुरी छ । नियमनकारी निकाय चुस्त दुरुस्त हुने कानून चाहिन्छ । नत्र ड्रग्सका व्यापारीहरूलाई आमन्त्रण गरे जस्तो हुन्छ, यो अवस्था आए नेपालमा आन्तरिक सुरक्षामा ठूलो चुनौती हुन सक्छ ।

अहिले खपत भइरहेको विश्व बजारमा हामी लगेर बेच्छौँ भन्ने एक तप्का पनि आइसकेका छन् नि ?

अहिले पनि गाँजाभन्दा अफिसम खेतीमा विदेशी तस्करहरूले लगानी गरेको अवस्था छ । अहिले नेपालमा गाँजा र अफिम खेती रोकिएको छैन । नेपालका दुर्गम क्षेत्रका जनतालाई लगानी गरेर उत्पादन गरेर तस्करले बाहिर लगेकै छन् । जनतालाई त सजिलो छैन, सुरक्षाकर्मीले आएर जलाइदिन्छन्, कानूनी नियम हो मान्नु पर्यो‍ नि । अहिले गाँजा सेवन गर्नेलाई १० रुपैयाँ र उत्पादन गर्नेलाई जन्मकैद हुन्छ । यस्तो बेला त डराई डराइ उत्पादन गर्नेको जमात छ । यसको व्यापार नै नहुँदा पनि उत्पादन भइरहेको छ ।

अहिले चीनले मात्रै गाँजाबाट उत्पादित वस्तुका सामानको बजारमा ४० प्रतिशत कब्जा जमाएको छ । गत वर्ष नै ७० बिलियन गाँजाबाट उत्पादित सामग्री खपत भएका छन् । अस्ट्रेलियामा विद्यार्थीलाई पनि गाँजाबाट बनेका ड्रेस अनिवार्य प्रयोग गर्ने नीति छ । आगामी साल १ ट्रिलियन गाँजाबाट उत्पादन भएका सामग्रीको व्यापार हुने अपेक्षा गरिएको छ । त्यसैले यसैबाट उत्पादित सामग्रीहरूले अर्थतन्त्रको विकास गरेका देशहरू धेरै छन् । अहिले अफगानिस्तानले प्रतिबन्ध लगाउँदा म्यानमार अगाडि छ ।

नेपालमा यो क्षेत्रमा लगानी गर्न ठूला व्यवसायीहरू तयार छन्, उनीहरूमा ज्ञान पनि छ । त्यसैले राज्यले मुलुकको ठूलो क्षेत्रफलमा गाँजा उत्पादन अनुमति दियो भयो अन्न उत्पादनमा कमी हुँदैन । त्यसै त भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

नेपालको हकमा लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ (१)मा योभन्दा अगाडि पश्चिम पहाडमा आफैँ उम्रिने जंगली गाँजालाई हामीले प्रयो गर्न सकेनौँ । सरकारले नियम बनाएर त्यसलाई अनुमति दिन सक्छ भनेर राखिएको थियो, तर हामीले कार्यान्वयन गरेनौँ र ?

त्यसलाई गम्भीरतापूर्वक लागू गर्न सकेनौँ। हाम्रोमा प्रोजेक्टहरू त तयार गरिन्छ, तर कार्यान्वयनमा समस्या छ । कागजमा कानून लेखेर मात्रै हुँदैन । एउटा उद्देश्यको लागि सरकार मुभ हुन्छ । तर त्यो उद्देश्य पूरा गराउन सरकार कुनै विषयमा अग्रसर छैन ।

प्रतिबद्ध हुन नसक्दा सोचेअनुसारको फल नआएको हो । अहिले पनि यो ड्रग्सलाई प्रशोधन गर्न अन्य देशमा हाइट्रेक अन्डरग्राउन्ड ल्याबहरू बनिरहेका छन् । यो अवस्थामा जुन देशमा ड्रग्सलाई प्रशोधन गर्न हाइट्रेक अन्डरग्राउन्ड ल्याबहरू बनिरहेका छन्, ती देशहरूको ड्रग्स सबै नेपालमा आएको छ, तर यो कहाँ जान्छ ? यहाँ त बजार छैन । अफिमबाट बन्ने हेरोइनको एक डोज लिन नेपालमा २० हजार रुपैयाँ तिर्नु पर्छ । यसैबाट बुझ्नु पर्छ, नेपालमा यसको बजार छैन । भारतमै जान्छ ।

त्यसैले यो ड्रग्सको क्षेत्रमा काम गर्ने तस्करहरूका लागि नेपाल को भूमि स्वर्ण भूमि होला नि ?

कयौँ देशहरू यही बेचेर आर्थिक वृद्धि गरिरहेका छन् । नेपालमा पनि विज्ञहरूले यो राम्रो भूमि हो भनेका छन् । तर भरोसायोग्य लगानीकर्ताहरु नेपालमा भित्र्याउन सक्नु पर्यो‍ । किनकि उनीहरूमाथि गम्भीर रूपले अनुगमन र नियमन गर्न सक्नु पर्यो‍ । यो कुरामा सरकार सफल भयो भने देश र जनताका लागि व्यापार अनुकूल हुन्छ, नत्र दुर्भाग्यपूर्ण हुने अवस्था देखिन्छ ।

कसरी उत्पादन गर्ने त, नियमन कसरी गर्ने, कडाइ कहाँ कहाँ गर्ने ?

सबै क्षेत्रमा कडाइ गर्नु पर्छ । उत्पादन गर्न दिने हो भने कति भूभागमा दिने, कस्तो भूभागमा दिने कुरामा नियमन गर्नु पर्छ । नियमन, अनुगमन र प्रभावकारी ढंगबाट कानुन कार्यान्वयन गर्ने सवालमा सरकारी निकायहरू सजग हुन जरुरी छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ०६ बजे

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा

कारागारका कैदीबन्दी आयआर्जनमा

चितवन– जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा

अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका दामनका महिलाले स्वरोजगार बन्ने उद्देश्यले अल्लोको

असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

सुनसरी– सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि