चीन जोड्ने सडकमा सरकारी धराप (तस्बिरहरू) | Khabarhub Khabarhub

चीन जोड्ने सडकमा सरकारी धराप (तस्बिरहरू)

पहुँच लगाए जेसीबी चल्छ, नत्र अलपत्र !


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30k
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाल र चीन बीचका व्यापारिक मार्गमध्ये काठमाडौं-कोदारी खण्डबाट तातोपानी नाका छिचोल्न सबैभन्दा छोटो पर्छ  । चीनको खासा बजारसँग जोडिएको तातोपानी पुग्न काठमाडौंबाट ११५ किलोमिटर दूरी छिचोल्नुपर्छ । रसुवा- तातोपानी सुख्खा बन्दरगाह (ड्राइपोर्ट) सम्मको दूरी त १०८ किलोमिटर मात्रै हो ।

करिब ८०० ट्रक कन्टेनरहरूमा राखेर चीनको खासाबाट तातोपानी हुँदै यही बाटो भएर नेपालमा वर्षौदेखि मालसामान आयात भइरहेको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण खासा र तातोपानी क्षेत्रमा क्षति पुगेपछि लामो समय यो नाका बन्द भएको थियो । २०८० भदौ १५ गतेदेखि पुनःसञ्चालनमा आएको हो । हाल करिब ४०० ट्रक कन्टेनरबाट मात्रै मालसामान आयात गर्ने गरिएको छ ।

बाटो छोटो भए पनि यो सडकखण्ड जीर्ण भएकाले मालसामान आयात गर्न सहज छैन । सिन्धुपाल्चोकको डाक्लाङ पहिरोलाई छिचोलेर बनाइएको अस्थायी बाटो यातायात मजदूरका लागि सबैभन्दा पीडादायी छ ।


माथि पहाड र तल भोटेकोशीको मध्य-भागमा सडक पर्छ । पहिरोले उजाड बनाएको पाखाबाट आएको पानीलाई तर्काएर सडक लेन निकालिएको छ । त्यही लेनबाट ट्रक कन्टेनर गुडाउनुपर्छ ।

चिप्लो भिरालो र गेग्रानमा बनाइएको सडकबाट ट्रक-कन्टेनर उक्लन नसकेपछि टुचन लगाएर अर्को ट्रक कन्टेनरले तानेर पार गराउनुपर्ने अवस्था छ ।

साँघुरो बाटोमा गहिरोबाट माथि उक्लन जोड लगाएर हुइँकिँदै उकालो चढ्न खोज्दा ट्रक कन्टेनर अनियन्त्रित भई भोटेकोशीमा खस्ने त्रासबीच चालकहरूले सेवा दिनु परिरहेको छ ।

सोही क्रममा साउन २५ गते साँझ ६ बजे ना ३ ख ७६०४ नम्बरको ट्रक कन्टेनर पल्टियो । दुर्घटनामा चालक डुकछिरिङ तामाङ र उनका छोरा ग्याल्जेन तामाङ सामान्य घाइते भएका छन् । त्यस्ता जोखिमयुक्त सडकको तत्काल स्तरोन्नति नगर्ने हो भने यस्ता दुर्घटनाहरू दोहरिइरहने जोखिम छ ।

सोही सडक अन्तर्गत सिन्धुपाल्चोकको खाक्दोल र काभ्रेपलान्चोकको खावा लगायतका स्थानहरूमा सडक अवस्था अत्यन्त जीर्ण छ । त्यसमध्ये सबैभन्दा खराब सडक बाह्रबीसेदेखि तातोपानी ड्राइपोर्टसम्मको २३ किलोमिटर खण्ड हो ।

गुनासो गरिरहेछन्‌ चालक

तातोपानी रुटमा १८ वर्षदेखि निरन्तर ट्रक कन्टेनर चलाइरहेका ना ३ ख ६३५ नम्बर कन्टेनरका चालक कार्साङ शेर्पा सिन्धुपाल्चोक लिस्तीका हुन् । उनी भन्छन्, ‘बाटो सम्झँदा पेशा नै छोड्न मन लाग्छ । सडक राम्रो छैन, मर्मत हुँदैन, निर्माण पनि हुँदैन । कहिलेकाँही जेसीबीले बनाउँछ । केही समयपछि फेरि उस्तै हुन्छ । हामी त हैरान भैसक्यौँ ।’

एक ट्रिप चलाएको पाँच हजार रुपैयाँ पाइने, तर खराब बाटोकै कारण महिनामा ४ ट्रिप पनि चलाउन नसकिने हुँदा परिवार पाल्न समेत मुस्किल परेको उनको गुनासो छ ।

बाह्रबीसे नगरपालिका-३ घर भई ना ५ ख ५९५७ नम्बर कन्टेनर चालक गोविन्द श्रेष्ठ २४ वर्षदेखि चालक पेसामा छन् । उनले कन्टेनर नै चलाइरहेका छन् । उनी भन्छन्, ‘यो सडकको भर पर्दा व्यवसायी/मजदूर कोही पनि बाँच्न सक्ने अवस्था छैन । सडकका कारण १०८ किलोमिटर दूरीमा रहेको काठमाडौं पुग्न ७ घण्टा लाग्ने गरेको छ ।’

सामान ढुवानी भाडा ३५ हजार रुपैयाँ, भन्सारमा पार्किङ शुल्क दैनिक ५७० रुपैयाँ, भाडाको २.५ प्रतिशत टीडीएस काट्नुपर्ने, हप्तौं डिटेन्सन हुने गरेको, जसकारण चालकहरूले तलब नपाएको, सामाजिक सुरक्षाको प्रत्याभूति नभएको, ५ हजार रुपैयाँभन्दा बढी भत्ता नपाएको, प्रायः सबै कन्टेनरहरूमा हेल्पर नभेटिएको श्रेष्ठले बताए ।

ना ३ ख ६९८५ का चालक नरेन्द्र श्रेष्ठ सडकको यस्तो अवस्था हुँदा पनि तातोपानी भन्सार, सडक विभाग, जिल्लास्थित सरोकारवालाहरूको ध्यान नपुगेकोप्रति आक्रोश व्यक्त गर्छन्‌ । उनी भन्छन्, ‘हामी सुन्छौ कि तातोपानी भन्सार राजश्व लक्ष्यमा अब्बल भएको छ । तर, सडक निर्माण तथा मर्मतमा कसैले चासो नदेखाउँदा दुःख लाग्छ ।’

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अरनिको रूट ट्रक इकाइ कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ र सचिव पूरुषोतम हुमागाँई सहितको टोली उक्त सडकको अनुगमन र श्रमिकहरूको अवस्था बुझ्न शुक्रबार तातोपानी पुगेका थिए ।

सोही क्रममा अध्यक्ष राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका सचिवालय सदस्य गोपाल झापालीलाई डाक्लाङ लगायतका सडकहरूको अवस्था र चालकहरूको दुःखबारे जानकारी गराएपछि सडक विभागका महानिर्देशक रामहरी पोख्रेलमार्फत तत्काल जेसीबी परिचालन गरी बाटो सम्याउने काम भएको थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अरनिको रुट ट्रक इकाइ कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले उक्त बाटो तत्काल बनाउन ध्यानाकर्षण गराए । उनले भने, ‘यस्तो जोखिमयुक्त सडकमा हाम्रा चालकहरूले ज्यानको बाजी थापेर देशको सेवा गर्नु परिरहेको छ । यो बाटो निर्माण र मर्मत नगर्ने हो भने आउँदा चाडपर्वमा सामान ल्याउन सकिँदैन ।’

(तस्बिरहरूः भीमज्वाला राईबाट ।)

* यसअघि तातोपानी सुख्खा बन्दरगाह हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ४ : ४८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन