म्यागङमा सुन्तला टिप्न सुरु « Khabarhub

म्यागङमा सुन्तला टिप्न सुरु


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सय रुपैयाँभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।

विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए । उनले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए ।

गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै रु एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताए । ‘व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन’, उनले भने, ‘गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।’

म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए  ।

‘विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ’, उनले भने ।

सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताइन् । उनका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।

कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताइन् । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिइन् ।

उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उनले उल्लेख गरिन् ।

हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : २९ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि