फुर्सदिला उद्योगमन्त्री : ‘स्क्यामर’ शाहीलाई खादा लगाइदिए, फत्फताउन थालेपछि टाउको कन्याउँदै निस्किए « Khabarhub

फुर्सदिला उद्योगमन्त्री : ‘स्क्यामर’ शाहीलाई खादा लगाइदिए, फत्फताउन थालेपछि टाउको कन्याउँदै निस्किए


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले गत असार अन्तिम साता सत्ताको नेतृत्व लिएको चार महिना पूरा हुँदैछ ।

केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारले आफ्नो हनिमुन पिरियड अर्थात् १०० दिनमा अपेक्षित नतिजा दिन नसक्दा चर्को आलोचनाको केन्द्रमा परेको छ ।

तर, यसबीचमा सरकारले न त विकास बजेट भनेजति खर्च गर्न सकेको छ, न जनतामा देखिएको निराशा चिर्ने ठोस पहल नै भएको छ ।

यस्तोमा प्रधानमन्त्री ओली आफैं अहिले गुमनाम जसरी बसिरहेका छन् । पहिलो र दोस्रो कार्यकालमा दैनिक आधा दर्जनसम्म सार्वजनिक समारोहमा दौडिने ओली सरकारले नतिजामुखी काम गर्न नसक्दा बालुवटार र सिंहदरबारमा सीमित भएका छन् ।

दुईतिहाइ नजिको उनको क्याबिनेटका केही मन्त्रीबाहेक अधिकांशको कार्यशैली परम्परागत ढर्राबाट माथि उठ्न सकेको छैन । प्रधानमन्त्रीको कार्यशैली सुस्त हुँदा त्यसको असर मन्त्रीहरूमा पर्ने नै भयो ।

अर्थतन्त्र तनावमा रहेका बेला देशका उद्योग कलकारखानालाई चलायमान बनाएर आन्तरिक उत्पादन बढाउनेतर्फ सरकारको जोड हुनुपर्ने हो ।

तर, ओली नेतृत्वको दुईतिहाइ नजिकको सरकारको हविगत कतिसम्म दयनीय छ भन्ने कुरा एकजना क्याबिनेट मन्त्रीले पुष्टि गरिदिएका छन् ।

देशको उद्योगधन्दा बढाउने, रुग्ण उद्योगलाई ब्यूँताउनेदेखि नयाँ उद्योगमा लगानी भित्र्याउने पहल गर्ने समयमा ती मन्त्री शनिबार एकजना ‘स्क्यामर’लाई खादा ओढाउन पुगेका छन् ।

अनेक किसिमका ठगीका लागि नयाँ नयाँ तरिका निकाल्ने ती ‘स्क्यामर’ हुन् विजय शाही । आफूमा चमत्कारिक क्षमता रहेको बताउँदै सामाजिक सञ्जालमा भाइरल उनै ‘स्क्यामर’युवक विजय शाहीलाई खादा लगाइदिन पुग्ने ओली क्याबिनेटका सदस्य हुन्- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उनले उद्योग मन्त्रालय नै सम्हालेका थिए। तर असार १७ मा गठबन्धन फेरिँदा पनि उनले ओलीलाई रिझाएर त्यही पदमा दोहोरिन सफल भए ।

मन्त्री भण्डारीले दुई पटक उद्योगहरूको नेतृत्व सम्हाल्दा पनि अहिलेसम्म एउटा उल्लेख्य काम गरेर देखाउन सकेका छैनन् । देशको अर्थतन्त्र र उद्योग उकास्ने योजनासहित अघि बढ्ने समयमा उनी तिनै ‘स्क्यामर’ शाहीलाई खादा ओढाउँदै नमस्कार गर्न पुगे ।

विजय शाही सामाजिक सञ्जालमा भ्रम छरेर ठग्न सीपालु युवामध्ये एक हुन् । उनलाई सामाजिक सञ्जालमा जति नै गाली वा ठगीको काम रोक्न भनिए पनि सन्नेवाला छैनन् ।

यस पटक यही शनिबार उनले मान्छेलाई मुर्ख बनाउने नयाँ काइदा निकाले । उद्योगमन्त्री भण्डारीलाईसमेत मुर्ख बनाउने उपायका लागि उनले ‘१५ घण्टामा तीन सयभनदा बढी पुस्तक पढेर विश्वकीर्तिमान बनाउने’ घोषणासहित कीर्तिपुरमा कार्यक्रम नै राखे ।

यसअघि युट्युबर भोजराज न्यौपानेदेखि नेपालीलाई मुर्ख बनाउन थालेका शाहीले पछिल्लो पटक ‘मरेको मान्छे बचाउने’ भन्दै अफवाह फैल्याएका थिए । उनले मरिसकेको चरो ब्यूँताएको भन्दै भिडियोसमेत सामाजिक सञ्जालमा हालेर सर्वसाधारणलाई मुर्ख बनाउन सफल भए ।

उनले त्यसबेला भनेका थिए, ‘मान्छे मरेको ८ घण्टाभित्र खबर गर्नुहोस्, कुदेर आउँछौँ र जीवित पार्छौँ । हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा ब्युँताइदिएका छौँ । पूर्वमन्त्रीज्यू आफैँले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले ज्यूँदो बनाइदियो ।’

चरो ब्यूँत्याएको घोषणा गरेका उनले मान्छेलाई पनि ब्यूँत्याउने भन्दै भ्रम छरेका थिए । विज्ञानले कहिल्यै सिद्ध नगरेको कुरालाई लिएर भ्रम छर्ने उनै शाहीको ‘स्क्याम’मा केन्द्रदेखि स्थानीय तहका नेतासमेत पर्ने गरेका छन् ।

एक वर्षदेखि चर्चाबाहिर रहेका उनै शाहीको फट्याइँलाई साथ दिन फुर्सदिला बनेका संघीय मन्त्री भण्डारी शनिरबार कीर्तिपुर पुगे । कीर्तिपुरमा भण्डारीलाई स्वागत गर्ने उनै ‘स्क्यामर’शाही थिए ।

कार्यालय परिसरबाट मन्त्रीलाई स्वागत गरेर लगेका उनै शाहीले मञ्चमा पुगेपछि चर्चाको अर्को तरिका अपनाए । प्रमुख अतिथि बनेर पुगेका मन्त्री भण्डारीबाट उनले खादा र माला पहिर्‍याइसकेपछि फोटो खिचाउन भ्याए ।

मञ्चामा शाहीसँगै बसेका मन्त्री भण्डारीले भने शाहीको हातबाट खादा लगाउन मानेनन्, टाउको हल्लाउँदै पर्दैन पर्दैन भनेर रोके । तर भण्डारीले नमस्कार गर्दै खादा लगाइदिएको त्यही फोटो शाहीले आफ्नो फेसबुक पेजमा हालेर ‘भ्रमको अर्को मार्केटिङ’ गर्न भ्याइसकेका छन् ।

शनिबार १५ घण्टामा तीन सयभन्दा बढी पुस्तक पढ्ने भन्दै उद्योगमन्त्री भण्डारीलाई बोलाएर शाहीले त्यसको नाटक पनि गरे । कीर्तिपुरस्थित ‘इम्पसिबल टु पसिबल रिसर्च सेन्टर’को कार्यालयमा शाहीले उद्योगमन्त्री भण्डारीकैसामु उनी पुरानै शैली ‘रटटट, फटटट, भटटट’गर्दै पुस्तक पढे । रेकर्ड राख्ने भनिएको उक्त कार्यक्रममा मन्त्री भण्डारीले नै शाहीलाई पढ्न सुरु गर्न भन्छन् ।

‘दुई शब्द बोलेर सुरु गर्न चाहन्छु, मैले २३ वर्षअगाडि च्याम्पियन बुक अफ द वर्ल्ड रेकर्डमा एक मिनेटमा ७० शब्द स्मरण गरेर विश्व रेकर्ड बनाएको थिएँ’, उनले कहीँ दर्ता नभएको रेकर्डको प्रसंग निकाल्दै भन्छन्, ‘आजचाहिँ एकै बसाइमा थुप्रै किताब पढेर, सम्झिएर विश्वरेकर्ड कायम गर्नेछु ।’

उनले कार्यक्रममा आइदिएकोमा मन्त्री भण्डारीसहितलाई धन्यवादसमेत दिए । ‘नेपाल सरकारका प्रतिनिधि, विज्ञ व्यक्तित्वसहितको उपस्थितिमा कार्यक्रम सञ्चालन हुन पाउँदा आभारी ठानेको छु’, उनले केही युट्युबर आफूले तयारी हालतमा राखेका फोटोग्राफरसामु भने, ‘मेरो पढाइ १० देखि १५ घण्टाको हुनेछ, म आफ्नो प्रतिभालाई अगाडि बढाउनेछु । दिशा पिशाव पनि नफेरि पढेर यो रेकर्ड कायम गर्नेछु ।’

उनी यसो भन्दै किताब पढेको नाटक गरेर मन्त्रीले लगाएको खादा भिरेरै उही पुरानै शैलीमा फत्फताउन थाले । शाहीसँग मन्त्री भण्डारी र अर्का व्यक्ति पनि मञ्चमा थिए । जब शाहीले किताब पढेको नाटक गर्न थाले, तब प्रमुख अतिथि बनेर पुगेका मन्त्री भण्डारीमा पश्चातापभाव झल्कियो । उनी शाहीतिर हेर्दै घरी आफ्नो कपाल कन्याउँदै गरिरहेका हुन्थे त घरी गाला मुसार्दै बसिरहन्थे ।

शाहीले फुतुतुत, उरुरुरु, कुकुकु, खुतुतुत गरिरहँदा मन्त्री भण्डारी भने ट्वाल्ल परेर बसेका थिए । शाही फत्फताउन थालेको केही मिनेटपछि भण्डारी मञ्चबाट उठेर बाहिरिए । त्यसपछि शाहीले सामाजिक सञ्जालमा लगातार १५ घण्टा तीन सय किताब पढेर विश्वकीर्तिमान बनाउने दिशामा अघि बढिसकेको लेखेका छन् ।

उनले आफूनिकटहरूलाई पनि मन्त्री भण्डारीले खादा लगाइदिएको तस्बिर हाल्दै प्रचार गर्न लगाएका छन् । उनले मन्त्री भण्डारीसँगको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाएर आफूलाई अद्भुत स्मरण शक्ति भएको पुष्टि गराउन खोजेका छन् ।

उनले‘इम्पोसिबल टु पोसिबल रिसर्च सेन्टर’ नामक संस्थालाई ‘मरेको मान्छे ब्युँताउने’ भन्दै भ्रम छरिरहेका बेला संघीय सरकार मन्त्री नै उनको फट्याइँमा साथ दिन पुगे ।

शाहीले मन्त्री भण्डारीकै सामु उल्लेख गरेको ‘च्याम्पियन बुक अफ द वल्ड रेकर्ड’को वेबसाइटमा उनको नाम कहीँ छैन ।

कतिसम्म भने उनले यसअघि आफू मरेको हल्लासमेत गराए । नाकमा कपास हालेको फोटो सामाजिक सञ्जालमा पोस्ट गराएर भाइरल बनाएपछि प्रहरी उनको घरमा पुग्दा जीवितै भेटिए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ३० बजे

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत