कलाकार भन्छन् : दशैँको ‘ब्यूटी’ नयाँ नोट ! | Khabarhub Khabarhub

कलाकार भन्छन् : दशैँको ‘ब्यूटी’ नयाँ नोट !


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ चाडको ना सुन्नेबित्तिकै तपाईँ के सम्झनुहुन्छ ? तपाईंलाई केको याद आउँछ ? पक्कै नयाँ लुगा, नयाँ नोट, मांशाहारीले मासु र पिङ नै हो ।

बजारमा सुकिला र नयाँ नोटको कारोबार हुन थालेपछि दशैँको आएको महसुस हुन थाल्छ । यो वर्ष पनि सुकिला नोट पर्याप्त भएकाले राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने निर्णय गर्‍यो । यस निर्णयमा केही सर्वसाधारणको असहमति पनि छ ।

उनीहरूको भनाइ छ, ‘दशैँको नयाँ नोट त हाम्रो भावनासँग जोडिएको छ । दशैँको मज्जा भनेको नै नयाँ नोट र नयाँ लुगा हो नि !’

हाम्रा कलाकारहरू पनि नयाँ नोट दशैँको ‘ब्यूटी’सँग जोडिएको महत्वपूर्ण हिस्सा मान्छन् । उनीहरू भन्छन्, ‘बाल्यकालको दशैँ नै नयाँ नोटले गर्दा रमाइलो लाग्थ्यो ।’

यद्यपि उनीहरू राष्ट्र बैंकको निर्णय सही वा गलत भन्ने पक्षमा छैनन् । दशैँ र नयाँ नोटबारे केही कलाकारले खबरहबसँग आफ्नो अनुभव सुनाएका छन्

पुष्कर गुरुङ, वरिष्ठ कलाकार

नयाँ नोट र नयाँ लुगा नै दशैँ सम्झाउने मुख्य आधार हुन् । यो हिसाबले नयाँ नोटको दक्षिणा दिनु राम्रो हो ।

पैसा नोट र पुरानो भए पनि मूल्य बराबर नै हो । हाम्रो मुलुकमा नोटको जतन गर्ने चलन छैन । यो हिसाबले चाहिँ ठीकै हो ।

विशेषगरी पहिलादेखि नै चलिआएको नयाँ नोट नै वितरण गर्दा राम्रो हुन्थ्यो । तर हामीले नयाँ नोटको जतन भने अवश्य गर्नुपर्छ ।

सुमन कार्की, कलाकार

म राष्ट्र बैंकभन्दा जान्ने बन्ने त कुरै भएन । यो उहाँहरूको केही आवश्यक नीति नै होला । दशैँ भन्नेबित्तिकै नयाँ नोट र नयाँ लुगाकै सम्झना आउँछ । त्यसकारण यी कुरासँग हाम्रो भावना पनि जोडिएको छ ।

विशेषगरी बच्चाहरूलाई नयाँ नोटले खुशी दिन्छ । त्यसकारण दिए पनि हुने हो है जस्तो लाग्छ । मगमग बास्ना आउने कटकटे नोट दशैँको सुन्दरता हो ।

सही वा गलत म भन्दिनँ । दिएको भए राम्रै हुन्थ्यो । नदिए सुकिला र पुराना नोटले नै काम चलाउनुपर्ला ।

मुकुन भुसाल, नायक

राष्ट्र बैंकले नयाँ नोट नदिएर सुकिला नोट दिएको भन्ने समाचार पढेँ मैले पनि । उमेरसँगै दशैँमा यस्ता कुराको खासै महत्त्व नहुने रहेछ । तर बाल्यकालको दशैँ नयाँ नोटले नै रमाइलो पारिदिन्थ्यो ।

बास्नादार कटकटे नयाँ नोटको चहलपहलले दशैँ आएको महसुस हुन्थ्यो । नयाँ नोट मास्न पनि मन नलाग्ने ! पसलमा नयाँ नोट दिँदा फिर्ता पनि नयाँ नोट नै आओस् जस्तो लाग्थ्यो ।

अहिले नदिनुमा नेपाल राष्ट्र बैंकको केही नीति होला । जे होस् – दशैँका बेला उपलब्ध हुने नयाँ नोट भावनासँग जोडिएको छ ।

लक्ष्मी बर्देवा, नायिका

बाल्यकालमा नयाँ नोट पाउँदा खुशी नै लाग्थ्यो । त्यसबेला दशैँसँग जोडिएर आउने कुरा नै नयाँ नोट र नयाँ लुगा हो । अहिले पनि दशैँको स्मरणमा नयाँ नोट नै सुरुमा आउँछ ।

ठूलो भएपछि आफैँले नयाँ नोट साटेर ल्याएको अनुभव चाहिँ मसँग छैन । यसकारण नयाँ नोट वितरण नगर्दा व्यक्तिगत रूपमा मलाई फरक चाहिँ पर्दैन ।

तर, दशैँमा नयाँ नोट संस्कृतिकै रूपमा विकास भएको छ । वितरण नगर्दा केहीलाई दशैँ खल्लो होला कि जस्तो चाहिँ लाग्छ ।

दिने र नदिने राष्ट्र बैंकको कुरा हो । उहाँहरूले केही सोचरै त नदिने निर्णय गर्नुभएको होला नि !

विजय बराल, नायक

मलाई नयाँ नोटको बास्ना निकै मनपर्छ ।

मेरो मानसिकतामा दशैँ भनेको दक्षिणामा नयाँ नोट दिने र दिने भन्ने नै आउँछ । यो दशैँको खुशीसँग जोडेर मैले बुझ्ने गरेको छु ।

नयाँ नोट वितरण नगर्ने त सरकारी निकायको निर्णय हो । यसमा मैले के भन्न सक्छु र ! नहुँदा भन्दा हुँदा नै राम्रो हाला जस्तो चाहिँ लाग्छ । यो त दशैँको ब्यूटी हो नि ! पहिलादेखि देख्दै आएको नयाँ नोट नदेख्दा केही अभाव त महसुस हुन्छ ।

माओत्से गुरुङ, वरिष्ठ कलाकार

नयाँ नोट दिने/नदिने यो राष्ट्र बैंककै कुरा हो । उहाँहरूले पक्कै केही निष्कर्षमा पुगेर नयाँ नोट नदिनु भएको होला ।
यो भन्दा अघि नयाँ नोटको नै दक्षिणा दिन्थेँ । यो पटक पाइएन भने पुरानै दिनुपर्ला । पुरानो नोटको दक्षिणा दिनेलाई भन्दा लिनेलाई फरक पर्ला कि जस्तो लाग्छ । ‘अहो ! यस पटक त पुरानो नोटको दक्षिणा पाएँ’ भन्छन् कि ?

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : ४२ बजे

सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

काठमाडौं– आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

महन्थ ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि… 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरूको बैठकमा

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दो

काभ्रेपलाञ्चोक – पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति