कमान खुस्केको घडी, इमान निख्रिएको नेतृत्व | Khabarhub Khabarhub

कमान खुस्केको घडी, इमान निख्रिएको नेतृत्व



मेक्सिकोबाट तीन जना युवा कार लिएर न्युयोर्क घुम्न गए। त्यहीँबाट उनीहरुले एउटा होटेलको ९० औं तलामा कोठा बुक गरे। लिफ्ट हुनाले चढ्न र झर्न कठिनाइ थिएन। तर लिफ्ट राति १२ बजे बन्द हुन्थ्यो। ढिलो भएको अवस्थामा ९० तला खुरुखुरु चढ्नुको विकल्प थिएन।

एकदिन कोठा फर्किन उनीहरू ढिलो भए र सिँढी चढ्नुपर्ने भयो। यो सजिलो थिएन। त्यसैले सिँढी चढ्दा सजिलो होस भनेर उनीहरूले एउटा सल्लाह गरे। पहिलो ३० तला चढुन्जेल एक जनाले रमाइला प्रसंग सुनाउने, अर्को ३० तलामा दोस्रोले उद्योग व्यवसाय, बाँकी ३० तला चढ्दा तेस्रोले भूल र प्रायश्चितका कथा सुनाउने भयो।

सल्लाह अनुसार पहिलोले रमाइला कथा र जोक सुनायो। दोस्रोले पनि तोकिएको जिम्मेवारी पूरा गर्यो। उनीहरू यसरी ६० तला माथि आइपुगे। अब ६१ देखि ९० तला चढ्ने बेला तेस्रोले गल्ती र प्रायश्चितका कथा सुनाउनु पर्ने भयो।

उसले कुरा सुरु गर्दै भन्यो- साथीहरु हाम्रो पहिलो भूल र दुःखको कुरा त यो छ कि हामीले हाम्रो कोठाको चाबी तल कारमै बिर्सिएर आयौं। अब कोठा खोल्ने हामीसँग कुनै उपाय छैन। यसपछि तीनैजना सुस्केरा हाल्दै सिडीमा थचक्क बसे।

हरेक राजनीतिक पार्टीले मार्क्स, लेनिन, माओ, बीपी र मदनवाद घोकाउँदा नेपाली जनताले जीवन बाँच्ने सूत्र बिर्सिए ।

दशकौंदेखि नेपाली जनताको अवस्था यिनै तीन ठिटाको जस्तो छ। हरेक राजनीतिक पार्टीले मार्क्स, लेनिन, माओ, बीपी र मदनवाद घोकाउँदा जनताले जीवन बाँच्ने सूत्र बिर्सिए। नेताहरुले पढाएको बादमा बाले गधाभन्दा बढी घोटिएर भविष्य बनाउन गरेको मेहनत चुक्ता गर्नुपर्ने सन्तान धर्मको दफा थिएन। न त काँधमा बोकेर आफूले देखेभन्दा अग्लो दृश्यपान गराउने त्यो फराकिलो छातीको बखान थियो। दशधारा दूधको जीवनरस भर्ने आमाका कलेटी परेका ओठमा मुस्कान ल्याउने कर्तव्य लेखिएको थिएन। एकै घडीमा जन्ती र मलामी कसलाई प्राथमिकतामा राख्ने कर्तव्यबोधको मन्त्र थिएन। सन्तानको कलम, कापी र पत्नीको गुन्यूचोली जुगाडको उपाय थिएन।

पञ्चायतले राजारानीलाई पूजा गर्न सिकायो। बहुदल र गणतन्त्रले नेताका वाणीलाई बुटी मान्न प्रेरित गर्यो। गणतन्त्रले सत्ता र शक्तिलाई राज्यकोष दोहन गर्ने संगठित अपराधको केन्द्र बनायो। जन्म दिने भन्दा पार्टीका बा र तिनका पार्टी मुख्यालय दसैँमा भेला हुने मूलघर बनाइए। दमको उपचार नपाउँदा महाप्रस्थान गर्ने बाबुका सन्तान पार्टीका असली हली भए। कथित बाका वरिपरि घुम्नेहरुका लागि जीविका सजिलो बन्यो। त्यसैले त पिजा, बर्गरका अगाडि ढिंडो, गुन्द्रुकका इतिहास वजनहीन भए।

पञ्चायतले राजारानीको पूजा गर्न सिकायो । बहुदल र गणतन्त्रले सत्ता र शक्तिलाई राज्यकोष दोहन गर्ने संगठित अपराधको केन्द्र बनायो ।

अहिले आफू बाहेक अरु सब नालायकको डक्टिनमा समाज प्रतिस्पर्धी बनेको छ। राजनीतिशास्त्रले भन्छ, जनता कहिल्यै गलत हुँदैन। मनसा, बाचा, कर्मणा देशकै लागि विदेश त्यागेर आएका दिवंगत उज्ज्वल थापाको नाममा आँसु बगाउँछौं, दीपक मनाङे चेप्छौं, डा. हर्क गुरुङलाई किताबमा पढ्छौं। डा. हर्क गुरुङको भिजनअनुसार ५ प्रतिशत मात्र काम भएको थियो भने मुलुक कायाकल्प हुने थियो। हुँदाहुँदा अहिले त युटुबका लागि काम गर्ने दुई चार दर्जन भुराले हुर्काएका पात्र समाजका राजहाँस बन्दै गएका छन्। फेसबुकमा चलेका हिरोहरु रवि लामिछाने, ज्ञानेन्द्र शाही, डा. तोसिमा कार्की, सोविता गौतम सार्वभौम संसदको फ्रन्ट डेस्कका प्रतिनिधि पात्र भएका छन्।

देशका ६ जना सम्माननीय, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, फौजीका सारथि को छन ? अहँ नागरिकलाई अत्तोपत्तो छैन। भेलुबाजे, कलौटे, शर्मिला वाइवा, लाइफ ड्यामेज बाबा, प्रकाश भुजेल, हेमराज थापा, शान्ति बरालजस्ता पात्रका क्षणक्षणका समाचार हटकेक बनेर छाइरहेका छन्। यी पात्रको नाम नर्सरीका भुरादेखि शताब्दी पुगेका अग्रजलाई कण्ठ छ। पुन्य गौतम, भोजराज थापा, प्रकाश देउजा, अपिल त्रिपाठी, भाग्य न्यौपानेहरु राणाकालीन पूर्व कमाण्डिङ जर्नेल, पश्चिम कमाण्डिङ जर्नेल जस्ता बनेका छन्। यिनीहरुले सडकमा दिएको फैसला लोकमान्य जस्तै बनेका छन्।

नाम उल्लेख गरी साध्य नभएका भागवत वाचक, पानी ज्योतिष, योग गुरु, स्वास्थ्य सिकाउने कथित चेवन ऋषिहरु, धर्म सिकाउने अधर्मी, नारीवादी, जारीवादी, मोटिभेसन स्पीकर नामका गफाडीहरु समाजको लक्ष्मणरेखा मेट्ने भाइरस बनेका छन्।

मुलुकको धरोहर त्रिभुवन विश्वविद्यालयमा चार दशक सुम्पिएका डा. सुरेन्द्र केसी, डा. सुन्दरमणि दीक्षित, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सेना पुलिसका अवकाशप्राप्त अधिकारीका लागि युटुबभित्रको जिन्दगानी रौसपूर्ण बनेको छ। नाम उल्लेख गरी साध्य नभएका भागवत वाचक, पानी ज्योतिष, योग गुरु, स्वास्थ्य सिकाउने कथित चेवन ऋषिहरु, धर्म सिकाउने अधर्मी, नारीवादी, जारीवादी, मोटिभेसन स्पीकर नामका गफाडीहरु समाजको लक्ष्मणरेखा मेट्ने भाइरस बनेका छन्।

शिवपुरीको जंगलमा दुईवटा स्याल जुधेको विषयमा समेत यिनीहरु धाराप्रवाह विश्लेषण गर्न सक्षम छन्। लोग्ने स्वास्नीको ठाकठुक परेको थाहा पाए भने एक एकवटाको पक्ष लिएर यिनीहरुले डिभोर्स गराइदिन्छन्। आश्चर्य त के छ भने उनीहरुको भरोसामा देश विदेशबाट लाखौं करोडौं बर्सिएको छ। यी पात्रका विरुद्ध बोल्नेलाई सामाजिक सञ्जालमा भुत्ला लुछेको कुखुरा बनाइन्छ। गीत संगीतका स्रष्टा कृष्ण कँडेललाई अरुले पठाएको पैसा बाँडेर फुर्सद छैन।

सरकारी संयन्त्रको गति कस्तो छ भने जनता बिरामी हुँदा गरेको सहयोग घोषणा उसको बरखी हुँदासम्म घरआँगनमा पुग्दैन। आगोले मुलुक खरानी बनाएपछि बल्ल दमकल खरिदका लागि खरिदारले टिप्पणी उठाउने प्रवृत्तिमा सुधार नआउँदा मानिस वाक्क, दिक्क, प्याक्क भएर व्यक्तिमा निर्भर हुँदै गएका हुन। हेर्नुस त सामान्य सञ्चारकर्मीलाई देवत्वकरण गरेर नेताहरु अपराधीको कोटीमा उभ्याइएका छन्। स्टुडियोमा पाहुना बोलाएर उनीहरुको घाँटी थिच्नुलाई पत्रकारिताको मानक मानिन्छ। यो देशको पत्रकारिता सप्रिएका दिन मुलुकका आधा समस्या हल हुन्छन्।

आगोले मुलुक खरानी बनाएपछि बल्ल दमकल खरिदका लागि खरिदारले टिप्पणी उठाउने प्रवृत्तिमा सुधार नआउँदा मानिस वाक्क, दिक्क, प्याक्क भएर व्यक्तिमा निर्भर हुँदै गएका हुन।

सरकारका सेवादायी संस्थाहरु भुत्ते भएपछि जनताले विकल्प खोजेका हुन्। जब मुलुकको केन्द्रीय राजनीति लोग्ने स्वास्नी, दाजुभाइ, छिमेकी, चन्दादाताको भलोमा केन्द्रित भएपछि भेलुबाजे मेनिया यतिमा रोकिदैन। आईजीपी र भेलुबाजेलाई आमनेसामने बनाउने हो भने पुलिसको सिपाही निसन्देह भेलुबाजेतर्फ आकर्षित हुन्छ। हुन पनि पश्चिमेली भाषामा दुईचार तुक्का हानेकी मिस पविलाई देश विदेश घुम्न भ्याइनभ्याइ छ। नेपाली टिकटकरले अन्तर्राष्ट्रिय ख्याती मात्र आर्जन गरेनन, घरजम समेत जोडेका उदाहरण छन्।

सामाजिक सञ्जालमार्फत सेवा गर्दै आएकी गिभिना मगर बिरामी भएको खबरले संसार रोएको छ। ज्योति मगरको जोडबलको नाच र दुई अर्थ लाग्ने डाइलगविना देशका कुनै महोत्सव, मेला सम्पन्न हुँदैनन। अघोषित रुपमा यस्तै अराजकतालाई मौन समर्थन गरिएको हो भने यिनै सेलिब्रिटीलाई देशको सेवा सुविधा दिएर शासनको नयाँ मेनु बनाउँ न त।

आर्थिक वर्षको अन्त्य हुँदा विकासका काम ४० प्रतिशतमा टक्क अडिन्छ। असार लागेपछि बाँकी सबै काम कागजमा तमाम हुन्छ। वर्षौंदेखि चलेको यो महाअपराधको दायित्त्व कसैले लिनुपर्दैन ? एक महिनामा ६० प्रतिशत काम सम्पन्न भयो भनेर सही धस्काउनेको हात तरबारले ठुन्क्याए पनि कुनै अपराध लाग्दैन।

डाक्टरको अग्निपरीक्षा बिरामीको अनुहारले गर्छ। घरको नुन, भुटुन जुटाउन नसक्ने तोरी लाउरेहरु झण्डै तीन करोड जनताको भविष्य निर्धारण गर्न राजनीतिको आवरणमा पसेपछि त्यसको अपजस व्यवस्थाले भोग्नुपरेको छ।

कलम चलाउने कलम चलाउने बाहेकका काममा योग्य भए भने त्यो अपराध हो। डाक्टरको अग्निपरीक्षा बिरामीको अनुहारले गर्छ। घरको नुन, भुटुन जुटाउन नसक्ने तोरी लाउरेहरु झण्डै तीन करोड जनताको भविष्य निर्धारण गर्न राजनीतिको आवरणमा पसेपछि त्यसको अपजस व्यवस्थाले भोग्नुपरेको छ।

जनताको कमजोरीमा खेल्नेहरुले ३६ वर्षमा तुलसी गिरी प्रधानमन्त्री, अनिरुद्ध प्रसाद सिंह ३४ वर्षमा प्रधानन्यायाधीश, भरतमणि शर्मा २३ वर्षमा मन्त्री, ३१ वर्षको उमेरमा हिमालय शम्शेर राणा राष्ट्र बैंकको गभर्नर, भेषबहादुर थापा २५ वर्षमा सचिव, ३१ वर्षको उमेरमा अमेरिकाको राजदूत बन्ने हैसियत बनाएका हृषिकेश शाहको पदचाप किन पछ्याउन सक्दैनन ?

संसारको नेतृत्व दुई बीस नकट्दै लिने परम्परा विपरित ६० वर्ष नाघेपछि दलहरुमा राजनीतिको खाता खोल्ने परिपाटी कहाँबाट आयो ? हो, हाम्रो देशका मनचिन्ते कुरौटेलाई थाहा छैन– ब्राजिल र अर्जेन्टिनाले खेल्ने भकुण्डोको अर्थ हामीले कण्ठ गरेजस्तै पेले, म्याराडोना, मेसी नामको ग्ल्यामरमा मात्र सीमित छैन। अर्जेन्टिनाको टापु फकल्याण्डमा जब ब्रिटिसहरुले कब्जा जमाए, त्यसबेला अर्जेन्टिनीसँग त्यसको जवाफ फर्काउने सामर्थ्य थिएन। हामी जति खेल सम्झिएर अर्जेन्टिनाको पक्षमा उर्लिन्छौं, स्वयं अर्जेन्टिनीमा भने नेपालीप्रतिको तुष अद्यावधि कायम छ।

ब्रिटिस स्वार्थमा परेर गोर्खाली फौजले फकल्याण्ड टापु ब्रिटिसलाई जिम्मा लगाएको उनीहरुको आरोप छ। त्यो पीडा भुल्न उनीहरुले कसम खाए– ‘अब हामी गोलीको मुकाबिला फुटबलको गोलले गर्नेछौं।’ आखिर त्यही कसम त्यो मुलुकका लागि भकुण्डोको गोल आर्थिक, राजनीतिक, सामाजिक र पारिवारिक विकासको मानक बन्यो। त्यहाँको समाजले मन्त्री, प्रधानमन्त्री, डाक्टर, इन्जिनियर, पाइलट केही चिन्दैन। चिन्छ त एउटा सफल फुटबल खेलाडी। ब्राजिल, अर्जेन्टिनाजस्ता देशमा जन्मिने बच्चाले जीवनको पहिलो प्रहर खोल्दा देख्ने पहिलो वस्तु भनेकै फुटबल हो। तिनीहरुको जप, तप नै फुटबलको त्यो गोलाइमा अडेको हुन्छ।

विश्व मानचित्रमा हामी अहिले हामी लाटा भएका छौं। मान्छेको अनुहारमा रहेको नाक अंग मात्र हैन। यो इज्जतको प्रतिक पनि हो। यसमा ठेस लाग्यो भने जितेका धेरै खेल हारिन्छ।

मानिस टाकुरामा पुगेर ठूलो हुने होइन। मुख्य कुरा त उसले कस्तो प्रभाव छोड्छ भन्ने हो। भनिन्छ–लाटो तीनपल्ट हाँस्छ रे। पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर अनि तेस्रो चाहिँ अगाडिको अवस्था सम्झिएर। विश्व मानचित्रमा हामी अहिले त्यस्तै लाटा भएका छौं। मान्छेको अनुहारमा रहेको नाक अंग मात्र हैन। यो इज्जतको प्रतिक पनि हो। यसमा ठेस लाग्यो भने जितेका धेरै खेल हारिन्छ।

प्रतिष्ठाको नाक हराउँदा कस्तो पीडा हुन्छ भन्ने तथ्य कोरियालीहरुले भोगेका छन्। विश्व इतिहासमा सन् १५९७ मा जापानी सेनाद्वारा कोरियाली प्रायद्वीप कब्जा गरेको घटना उल्लेखनीय रुपमा आउँछ। त्यस समय जापानीले गरेका बर्बरताका घटना पनि प्रचलित छन्। यसै प्रसंगमा जापानी सैनिकले एक लाख कोरियाली मारेका थिए। त्यसताका जुन जापानी सैनिकले बढी कोरियाली सैनिक हत्या गर्न सक्यो, उसलाई ठूलो पुरस्कार दिइन्थ्यो। तर आफूले गरेको हत्याको प्रमाण स्वरुप मारिएका कोरियालीको नाक बुझाउनु पर्थ्यो। अन्यथा पुरस्कार पाइँदैनथ्यो। ती सैनिक अधिकारीसँग काटिएका नाकको ठूलो भण्डार भइसकेको थियो। जापानको योकोहामा भेटिएको चिहानमा २० हजार कोरियाली सैनिकको नाक गाडिएको थियो।

फिलिपिन्सका तानाशाह फर्डिनान्ड मार्कोसकी श्रीमती ईमिल्डासँग २५ हजार जोर जुत्ता थिए। उनी एकपल्ट लगाएको जुत्ता अर्कोपल्ट लगाउँदैन थिइन। उनी कसरी नासिइन सबैलाई थाहै छ। माईकमा फिँज काढेर बोल्न जान्दैमा नेता कहलिदैन। मान्छे बटुलेर भाषण त चटकेले पनि गर्छ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ०० बजे

आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने

काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८०

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

बुजुम्बुरा – पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको

राष्ट्रपति पौडेल र अमेरिकी इन्डो–प्यासिफिक कमान्डरबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत

अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौं :उपप्रधानमन्त्री खड्का

कर्णाली– नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा