लघुवित्त पीडितको आक्रोश- समस्याको निकास नखोजे नेतालाई गाउँमा निषेध ! | Khabarhub Khabarhub

लघुवित्त पीडितको आक्रोश- समस्याको निकास नखोजे नेतालाई गाउँमा निषेध !



लघुवित्त र मिटरब्याज पीडित काठमाडौंको धुलोधुवाँको रागमा परेड खेल्दै दिन बिताउँछन् । पाइला पाइलामा सरकारले तैनाथ गरेका प्रहरीसँगै आफ्नो आवाज पुर्‍याउने ठाउँको पहुँचका लागि अनुनय विनय गर्छन् । कहिले आक्रोश पोख्छन् त कहिले रुन्छन्, कराउँछन् र चिच्याउँछन् ।

निर्मम भएर उनीहरु गत साता प्रहरीको साङ्लो तोडेर संसदमा पुगे । तैपनि मागको सुनुवाइ भएन । उनीहरु सडकमै रहँदा सिंहदरबारमा सरकारले काँचुली  फेर्‍यो । हिजो प्रतिपक्षीमा हुँदा उनीहरूको समर्थन गर्नेहरू सरकारमा पुगे । एक रातमै तिनै पात्रले स्वर फेर्न थालेको तीतो अनुभव उनीहरूले गर्न थाले । 

दुधे बालक च्यापेर सडकमा निस्किएका आमाको विलापले कसैलाई पगालेन, दमले धराप पारेर लौरोको सहारामा न्यायको भीख माग्ने बाहरुको आर्तनादले सरोकारवालाहरूलाई पोलेन । घर गृहस्थीको चटारोले असमयमै ओइलाएका आमाहरूको मलिन अनुहारले न्यायको ढोकामा अपिल पुर्याउन सकेन ।

घर फर्कौँ साहुको बन्धकीको पिरलो, सहर बसौँ टिक्न कठिन । महिला, केटाकेटीको स्वास्थ्य बिग्रन थालेको छ । खानपिनको तालमेल मिलेको छैन । अधिकांशको स्वास्थ्य बिग्रिँदै गएको छ । नाना, खाना र छानाले थिचेका उनीहरूको एउटै आवाज छ– ‘हामी ऋण तिर्छौं तर सरकारले राजहाँस बनेर विवेकपूर्ण ऋणको छिनोफानो गरोस् । अमानवीय ऋणबाट मुक्ति मिलोस् ।’  

लघुवित्त पीडितहरूको आक्रोश अब प्रतिशोधमा अनुवाद हुँदै गएको छ । आफ्नो समस्या समाधान नगर्ने कुनै नेतालाई उनीहरूले गाउँमा पस्न नदिने संकल्प गरेका छन् । काठमाडौं आएर एक महिना शान्तिपूर्ण आन्दोलन गरिरहेका पीडितहरू सरकारले कुनै ठोस् निर्णय नलिए नेताहरुको मिसन ०८४ असफल बनाउने चेतावनी दिए । 

लघुवित्त संघर्ष समिति लुम्बिनी प्रदेशका सचिव अब्दुल साहले लघुवित्तको समस्या समाधान नगरे २०८४ मा भोट नदिने बताए । उनी भन्छन्, ‘स्थानीय, प्रदेश र केन्द्रका कुनै नेताले गाउँ छिर्न पाउने छैन ।’ 

यो समस्या समाधान नगरी गाउँ छिरे भने महँगो पर्ने बताए । श्रीलङकाको उदाहरण दिँदै उनले नेपालमा त्यही प्रकरण दोहोरिन सक्ने चेतावनी दिए ।

 ‘हाम्रो नौ बुँदै मागमा ऋण तिर्न सक्दैनौ भनेका छैनौं । नियम विपरीत लगाएको मिनाहा गर भनेको हो’, साहले भने, ‘२०७४ को मुलुकी ऐन कार्यान्वयन भएन भने अबको चुनावमा नेताहरु हाम्रो निगरानीमा रहने छन् ।’ 

साह भन्छन्, ‘नयाँ सरकार बनेपछि गृह मन्त्रालयले जतिसक्दो चाँडो समस्याको समाधान गर्ने आश्वासन त दिएको छ । तर पटक्कै भर लागेको छैन ।  यो सरकार आफैं ढल्छ, ढल्ने सरकारले के न्याय दिन्छ ? तर प्रतिक्षा गर्न छाड्दैनौं ।’ 

साहह थप्छन्, ‘कोही स्वदेशी, कोही विदेशीको दलाल भएर निस्के । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले आशा गरेका छन् । गरे भने ठिकै छ , गरेनन् भने आन्दोलन जारी रहन्छ ।’

समाधानविना गाउँ नफर्किने अड्डी लिएर बसेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘भाषण सकारात्मक र कार्यान्वयन शून्य छ । सरकारले भाषण मात्र दिएर हुँदैन । ठोस् निर्णय दिने हो । हुँदैन भनेर जवाफ दिने वा समाधान दिने हो । यो महिना हेर्छौ ।’ 

पीडित बाँकेकी देवीसरा कामीले दिनदिनै बिरामी बढिरहेका बताइन् । उनले खबरहबसँग कुरा गर्दै भनिन्,  ‘बस्ने खाने केही ठेगान छैन । हामी तराईका बासिन्दा काठमाडौंको चिसो त्यसमाथि भुइँमा बस्नुपरेको छ । त्यो पनि कहिले कता, कहिले कता सर्नुपरेको छ ।’ 

‘बागमतीको फोहोर गन्धले टाउको दुखेको छ । पानीले रुझेर बिरामी भएका छौ‌ं, उनले भनिन्,’उपचार गर्ने पैसामा पनि छैन , घरबाट ल्याएको पैसा  पनि सकियो ।’  

यो आन्दोलनले कुन रूप लिन्छ भन्ने सरकारको निर्णयमा भर पर्ने पीडितहरूको निष्कर्ष छ । ‘फागुन ११ गते नेपाल राष्ट्र बैंकमा हमला गर्‍यौं, १४ गते संसद् भवनमा, उनले भनिन्, ‘आवश्यक पर्‍यो भने लाखौं महिला दिदीबहिनीलाई काठमाडौंमा उतारेर हरेक पार्टी कार्यालय र नेताहरुको घर पत्ता लगाएर नेताहरूलाई सडकमा ल्याउँछौं ।’

जनताको समस्या समाधान गर्न नसकेर बालुवाटार निषेधित क्षेत्र बनाएका छन् । यसले नेताहरू जनताको पक्षमा नरहेको देखाउने बताउँदै पीडितहरु भन्छन्, ‘आफ्नो नागरिकसँग डराउने पनि प्रधानमन्त्री हुन्छ ? नेताहरु जनताको भोट लिने वित्तीय संस्थाको  दलाली गर्ने ?’ 

त्यसैगरी बाँकेकी पीडित मनिषा सुनुवार घरमा न्याय लिएर मात्रै घर फर्किने बताउँछिन् । उनी भन्छिन्, ‘तीन छोराछोरी माइत छोडेर आएकी छु । बच्चाहरु आत्तिएका छन् , छिटो आउनु भनेका छन् । समस्या समाधान नगरी घर पनि कसरी फर्किने ?’

सुनुवार सरकारलाई प्रश्न गर्छिन्, ‘आर्थिक प्रणाली अहिले माफियाहरूको कब्जामा छ । हाम्रो माग जनपक्षीय मौद्रिक नीति कायम गर भन्ने हो । संविधानले १० प्रतिशत बढी ब्याजको कारोबार गर्न नपाउने भनेको छ । यो सरकारले १५ प्रतिशत ब्याज असुल भनेर पठाउने । यसको जवाफ सरकारले दिन्छ, दिँदैन ?’  

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारका मन्त्रीहरू औपचारिक काममा गइनसकेको अवस्थामा केही समय पर्खिनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘केही दिनपछि विश्वासको मत लिने प्रक्रियामा छ । सरकारका मन्त्रीहरू औपचारिक काममा गइसकेको अवस्था छैन ।’

सरकार भर्खर बनेको छ, अब यो विषय अध्ययन गर्न समय दिनुपर्ने बर्तौलाको भनाइ छ । 

‘समस्या के हो ? समाधान दिन सरकारले किन  ढिला गरेको छ ? समाधान दिने बाटो के हो ?, बर्तौला भन्छन्, ‘अब सरकारमा रहँदा हामीले खोज्ने भनेको यसका समस्या के हुन् र समाधानका लागि निर्माण गर्न सकिने बाटाहरू के हुन सक्छन्, यी सबै कुराको अध्ययनमा जुटेका छौं ।’ 

‘सरकारले आवश्यक प्रयत्न गर्न नपाउँदै अविश्वास गर्ने भन्ने पाटो फरक हो । भर्खरै सरकामा सहभागी भएका छौं ।’ बर्तौलाले भने– ‘आजको भोलि नै छु मन्तरमा समाधान हुँदैन । नागरिकका समस्या समाधान एमालेको इमानदार प्रयास रहन्छ ।’

बर्तौलाले प्रतिपक्षमा रहँदा लघुवित्तका समस्याहरू उठाउँदै आएको र अब समाधानमा पनि नेकपा एमाले क्रियाशील रहने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले लघुवित्तका पीडितहरूको समस्या समाधान गर्न सबै दलहरूबीच छलफल भएको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने,  ‘पटक पटक समाधानको आश्वासन दिइएको छ । यसपटक समाधान नै गर्ने गरी सरकारले काम गर्ने तयारी गरेको छ । दलहरुबीच सहमति जुटेको छ । कार्यान्वयन हुन धेरै समय नलाग्ला ।’ 

पीडितहरुका बारेमा के के काम गर्नुपर्छ भनेर हाम्रो पार्टी प्रतिपक्षमा हुँदा नै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका थियौ । ‘साझा न्यूनतम कार्यक्रम बनाउने कार्यदलको बैठक बसेको छ । दलहरुबीच लघुवित्तका समस्या समाधान गर्ने सहमति भएको छ ।सरकारको विश्वास गरेर केही समय धैर्य गरौं ।’ उनले भने । 

अघिल्लो पटक सरकारले ऐन पेस गर्नैपर्छ भनेर दबाब दियाैँ र ऐन आयो । अब अर्को चरणमा पीडितहरूसँग बसेर सरकारले छलफल गरेर बुझ्ने प्रयास गरेको उनले बताए । 

लघुवित्त पीडित काठमाडौं आएको आज सोमबार २८ दिन पुग्यो । केही समय पशुपतिको मृगस्थली जंगल नजिकै बसेका उनीहरु पानी परेर असुरक्षित भएपछि अहिले थापाथलीस्थित राममन्दिर हातामा बागमती खोला किनारमा बसेका छन् । फागुन १४ गते उनीहरु संसद् भवन प्रवेश गरेका थिए । दुईदिन थुनामा राखेर छोडिएको थियो ।

आफूहरू र्‍यालीमा हिँड्दा माफियाहरुले बाइकको अनावश्यक हर्न बजाएर कानको जाली शुन्य हुने अवस्था सिर्जना गरेको आरोप पीडितहरूले लगाए । 

भन्छन्, ‘ र्‍यालीभित्र बाइक छिराएका छन् । शान्तिपूर्ण आन्दोलन भाँड्नकै लागि निहुँ खोज्न मानिस पठाइएका छन् ।’ काठमाडौंबासीलाई पनि केही समय धैर्य गरिदिएर आन्दोलनमा साथ दिन पीडितहरूले आग्रह गरेका छन् । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : १५ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन