तमोर र काबेलीको कथा : मुन्धुमभित्र यौन | Khabarhub Khabarhub

तमोर र काबेलीको कथा : मुन्धुमभित्र यौन

निसन्तानले पूजा गर्छन् ताप्लेजुङ लेलेपको काइलुङ !



मुरिङ्ला खारिङ्ला डाँडा जहाँ, सुहाम्फेवा र लाहादङ्नाको पहिलो भेट भएको थियो

जुनसुकै धर्म, दर्शनले मानवको यौन जीवनलाई मिहीनरुपमा वर्णन र व्याख्या गरेका छन्। चाहे त्यो पाश्चात्य धर्म दर्शन होस् वा पूर्वीय धर्म दर्शन, सबैले आ-आफ्नै मूल्य मान्यताका आधारमा व्याख्या गरेका छन्। पछिल्लो समय यौन व्यवहारमाथि अनेक पुस्तक पनि लेखिएकै छन्। अझ आधुनिक कालमा आएर यौनमाथि मनोवैज्ञानिक अध्ययन नै हुन थालेको छ।

यौन केका लागि ? सन्तान उत्पादनका लागि मात्र कि ? आनन्दका लागि मात्र कि ? प्रेम दर्शाउने माध्यमका लागि कि ? हिन्दु, इसाई, बौद्धका धार्मिक ग्रन्थमा पनि यौनलाई आ-आफ्नै तरिकाले व्याख्या गरिएका छन्। तर येवा साम्बा, फेदाङबाले मौखिक रुपमा एकपछि अर्को शिष्यमार्फत हस्तान्तरण गर्दै आएको याक्थुङ मुन्धुम भित्र रहेका यौनका अनेक प्रसंगबारे हालसम्म खासै खोजी नीति भएको पाइन्न।

पछिल्लो आधा शताब्दी यता मुन्धुम संकलन गर्ने, प्रकाशन गर्ने लहर भने चलेको छ। तर, त्यसभित्रका प्राचीन याक्थुङ सभ्यताका ज्ञानलाई भने खोतल्ने प्रयास हुन सकेको छैन। अरु ज्ञानसँगै यौनका प्रसंग पनि याक्थुङ मुन्धुमभित्र अनेक पाइएका छन्।

याक्थुङ मुन्धुममा वर्णित यौनका प्रशंग अध्ययन गर्दा साइनो सम्बन्ध निर्माण हुनु भन्दा अगाडि, समाज परिवारको ढाँचा स्थापित हुनु भन्दा अगाडि र घर निर्माण गर्ने चलन हुनु भन्दा अगाडिको आदिम युगको यौन व्यवहारको चर्चा प्रशस्त भेटिएका छन्।

 मुन्धुममा मानिसको सृष्टिका बेला प्रथम आदि स्त्रीमा उत्पन्न यौनको तृष्णा मेटाउन सफल भएको काव्यात्मक वर्णन पाइन्छ

फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृङ्खला) देखि बगेका इम्बिरी याङ्धाङ्वा (तमोर) र काङ्वा (काबेली) नदी आसपास आदिम याक्थुङ सभ्यता निर्माण भएको कथा याक्थुङ मुन्धुमले वर्णन गर्दै आदिम यौनका अनेक प्रसंगलाई प्राथमिकता दिएको छ।

बतासले मेटिदिएको मुजिङ्ना मयङ्नाको यौन तृष्णा

मुजिङ्ना मयङ्ना (कसै कसैले मुजिङ्ना खेयोङ्ना पनि भनेर सम्बोधन गर्छन्) जब किशोरी उमेरको खुड्किलोमा चढ्छिन् तब रजस्वला भएपछि उनको शरीरका अवयवमा पनि परिवर्तन हुन थाल्छ। यौनाङदेखि स्तनका आकारमा परिवर्तन भएपछि उनीभित्र यौनको तृष्णा मनैदेखि जाग्छ।

आफूभित्रको यौनको तृष्णा मेटाइदिने पुरुषको खोजीमा उनी घरी सिनयुक मुदेन उत्तरको (भोट) तिर, घरी तेमेन लाजे (दक्षिणको मैदानी भेग) सम्म धाउँछिन्।

त्यतिमात्र नभएर घाम उदाउने दिशा (पूर्व) देखि घाम अस्ताउने दिशा (पश्चिम) तिर पनि खुब धाउँछिन्। यौनको तृष्णाले आकुल-व्याकुल भएर जवान पुरुषको खोजी गरिरहेका बेला सांगुयक कोप्पीयक गाउँस्थित एउटा थुम्की डाँडाको रुखको हाँगा समाएर सुसेल्दा अचानक चारतिरबाट कुहिरीमण्डल भएर बेगिलो हुरीबतास चल्छ। त्यसैबेला मुजिङ्ना मयङ्नाले लगाएको परिहन (हुनसक्छ जंगली भोर्लाको पात र लहराले बनाएको पहिरन) पल्टाउँदै हावाको तिव्र झोंक्का उनको यौनाङ्गमा प्रवेश गरेपछि यौनको तृष्णा मेटिएर शीतल भएको महसुस गर्छिन्।

याक्थुङ मुन्धुमले मानिसको सृष्टि (मेन्छाम् याम्पी पोङ्मा मुन्धुम अन्तर्गतको मुजिङ्ना मयङ्ना मुन्धुम) मा प्रथम आदि स्त्रीमा उत्पन्न यौनको तृष्णालाई यसरी मेटाउन सफल भएको काव्यात्मक कथा पाइन्छ। खासगरी एकराते वा तीन राते तङ्सिङ अनुष्ठान गर्दा येवा/येमा, साम्बा र फेदाङ्माले मुन्धुमी लयअनुसार फलाक्दै सृष्टि कथा सुनाउँदा मुजिङ्ना मयङ्नाको बैंसको वर्णन गर्ने गरेका छन्।

जस्तै-

आङ्सुक् पोरेपेमुरो कुनु पोरेपेमुरो (स्तनहरु बढ्दै गए)
तुङ्गुत सरेपेमुरो सिम्बो सरेपेमुरो (यौनाङ्ग फुक्दै गए)
सिसा चप्प्रक्लो मेन्छ्या चप्प्रक्लो (मस्त तरुनी भइन्)’

मुन्धुमभित्रका अनेक कथा, घटना र पात्रमध्ये मुजिङ्ना मयङ्ना मुन्धुमलाई याक्थुङ सभ्यता निर्माण हुँदै गर्दा तयार भएको आभास हुन्छ। मुन्धुमले उनको आमा र बाबु चिनाएको छैन। मुजिङ्नाले पनि वयस्क भएपछि छोरा सुसुवेन लालावेन जन्माउँछिन्। तिनै छोरा हुर्किएपछि आफ्नो नाम आफैं राखेर सावा युक्पुङकेम्बाको रुपमा प्रसिद्ध हुन पुग्छन्। तर सावा युक्पुङकेम्वाका बाबुका बारेमा मुन्धुम मौन छ।

याक्थुङ मुन्धुमले प्रारम्भिक कालमा पुरुष भन्दा पहिले महिलाको नेतृत्वको कल्पना गरेको छ। तागेरा निङ्वाफुमाङ (जहाँबाट पनि जुनसुकै बेला आइपुग्ने) लाई स्त्रीकै रुप मानिन्छ।

यस्तै आदि स्त्रीका रुपमा वर्णन गरिएको मुजिङ्ना मुयङ्नासँग यौन संसर्ग गर्नेमा कुनै पुरुषको नाम लिइएको पाइन्न। बरु हावा वा बताससँग संसर्ग गरेर यौन तृष्णा मेटाएको कथाले याक्थुङ सभ्यताको निर्माणकालमा मातृसत्ता कायम रहेका संकेत दिन्छ भने एउटी नारीले आफ्नो इच्छाअनुसार जो कोहीसँग यौनसम्पर्क गर्न सक्ने आधारहरु भेटिन्छन्।

यौनका कुरा गरेर प्रार्थना वा प्रशंसा गर्नुलाई माङ्पान (देव वाणी) भनिन्छ। मुन्धुमविदका अनुसार स्त्रीरुपी आदि गुरु सामेधुङ्मा येप्मेधुङ्मालाई सम्बोधन गर्दा प्रशंसा गर्नैपर्छ, नत्र मुन्धुम नै अधुरो हुन्छ।

याक्थुङ मुन्धुममा यौनको प्रसंगबारे चर्चा गर्दा निकै उदारता अपनाएको पाइन्छ। फुङ्सोत मुन्धुम (गुरुलाई फूल र नयाँ अन्नबाली चढाएर शक्ति बरदान माग्ने मुन्धुम) अनुसार आदि गुरु नै स्त्री भएको चर्चा गरिएको छ। ती आदि गुरु स्त्री भएकाले सामेधुङ्मा येप्मेधुङ्मा (बल, बुद्धि र शक्तिका धनी गुरु) का रुपमा मानेर फलफूल वा नयाँ बाली चढाएर प्रार्थना वा प्रशंसा गर्दा यौनका कुरा गरेर येवा येमा, साम्बालेलाई सम्बोधन गर्छन्।

मुन्धुमविद तुम्याहाङ लक्ष्मण मेन्याङ्बोकाअनुसार सामेधुङ्मा येप्मेधुङ्मा गुरुलाई येवा येमाहरुले मुन्धुमी लयमा यौनका कुरा गरेर फलाक्नै पर्छ। तर, नेपालीमा सिधा अनुवाद गर्दा छाडा शब्द बोले जस्तो लाग्छ।

पूर्वीय धर्म दर्शनमा पनि त कामसुत्रदेखि कृष्णलिला, उर्वशी, मेनका र कोक शास्त्रका यौन लिलालाई पुराणवाचकले सुनाउदा छाडा लाग्दैन।’

यौनका कुरा गरेर सामेधुङ्मा येप्मेधुङ्माको प्रार्थना वा प्रशंसा गर्नुलाई माङ्पान (देव वाणी) भनिन्छ। मुन्धुमविद् तुम्याहाङ लक्ष्मणका अनुसार स्त्रीरुपी आदि गुरु सामेधुङ्मा येप्मेधुङ्मालाई सम्बोधन गर्दा पकन्दी खेल्दै ‘कुमिकेन लिङ लरिक (आँखा चाहिँ चम्काउदै), कुनेप्चङेन फिङ लरि (यौनाङ्गलाई नीलो बनाउँदै), आउ है’ भन्दै प्रशंसा गर्नैपर्छ। नत्र मुन्धुम नै अधुरो हुन्छ।’

यसै मुन्धुमबारे अर्का मुन्धुमविद अर्जुनबाबु माबुहाङ र प्राध्यापक ध्रुव मेन्याङ्बोले संकलन, सम्पादन र प्रकाशन गरेको ‘सिभाक यामी मुन्धुम’ मा योनीलाई जातोसँग र गुप्ताङगका रौंलाई घरै छाउन पुग्ने बावियोसँग तुलना गरिएको छ। पुरुषको यौनाङ्गलाई हात्तीले पनि तान्न नसक्ने र आठ फन्को बेर्न सक्ने गैंडा शक्तिसँग तुलना गरेर वर्णन गरिएको छ।

मुन्धुमअनुसार आदि गुरु सामेधुङ्मा येप्मेधुङ्मा हुन् भने पहिलो बिजुवानी (येमा) पनि एभेङसो यामा हुन्, जो स्त्री नै हुन्। उनलाई वसाङलुङ तेरेपलुङ तेम्बे (पयङलुङ पनि भनिन्छ) हालको ताप्लेजुङको मैवा खोला गाउँपालिकामा उत्पति भएको मानिन्छ।

तुम्याहाङ मेन्याङ्बो भन्छन्, ‘पहिलो गुरु नै स्त्री भएकाले पुरुष येवाले पनि तङ्सिङ अनुष्ठान गर्दा छोरीमान्छेको पहिरन लगाएको हो।

मानव शरीरको यौनाङ्गको वर्णन गर्दै आदि गुरुलाई खुशी बनाउने गरिन्छ। तर आदि गुरु जगाउँदा किन यौनाङ्ग र यौन सम्पर्कका लागि सम्बोधन गरिएको हो, त्यसको अर्थ र पुनर्व्याख्या  थप अनुसन्धानकै विषय बनेको छ।’

सावा युक्पुङकेम्बासँग मुक्कुमलुङ्मा, फियमलुङ्मा र अरु दुई स्त्रीसँगको सम्भोग

‘याक्थुङ मुन्धुम’ पुस्तकका संकलक तथा लेखक तुम्याहाङ लक्ष्मण मेन्याङ्बोकाअनुसार मुजिङ्ना मुयङ्नाका सन्तानका रुपमा चिनिएका सावा युक्पुङकेम्बा (सुसुवेन लालावेन) हालको लेलेप, युखावु, तापेथोक, छिरुवानी आसपासको जंगल, पाखा पखेरामा मृग, झारल, जरायो, घोरलको शिकार गर्थे। गुलेली मट्याङ्ग्रा, तीर धनु-काणको मद्दतले मारेको सिकारको विलो अरुलाई पनि बाँडेर दिन्थे। यसरी शिकार गर्दा घाइते बनाएको मृग खोज्दै जाँदा तान बुन्दै बसेकी योसुलुङ्मा मुकुमलुङ्मासँग भेट हुन्छ।

एकापसमा परिचय आदानप्रदान भएपछि लुकाएर राखेको घाइते मृग तन्नेरी सिकारी सावा युक्पुङकेम्बालाई फिर्ता दिन्छे। मृगको मासुसँगै जाँडपानी खाएर आराम गर्ने बाहानामा दुई जनाको सहवास हुन्छ।

अर्का मुन्धुमविद अर्जुनबाबु माबुहाङका अनुसार योसुलुङ्मा मुकुमलुङ्का सहयोगी (साथी) नासोलुङ फत्तेलुङ्मासँग पनि सावा युक्पुङ्केम्बाले सहवास गरेर गर्भवती बनाउँछन्।

केही महिनापछि फेरि शिकार गर्न सावा युक्पुङकेम्बा बिदा मागेर निस्कन्छन्। अर्को गाउँमा पुगेपछि थोसुलुङ्मा फियमलुङ्माले आफूसँग सम्भोग गर्ने भए मात्र भागेर आएको घाइते मृग फिर्ता गर्ने अडान लिन्छिन्। आफूले खेदाउँदै ल्याएको मृग पाउनका लागि सावा युक्पुङकेम्बा सम्भोगका लागि तयार हुन्छन्।

उनीहरुले गरेको सहवासको दृष्य फियमलुङ्माका सहयोगी (साथी) सादिल्लि दिल्लिहाङ्माले पनि अचानक देख्न पुग्छिन्। उनीसँग पनि सहवास हुन्छ।

काइलुङधुङमा सुहाम्फेवा र लाहादङ्नाको पहिलो सहवास

हाल फक्ताङलुङ गाउँपालिकामा पर्ने साविक लेलेपको गोवाटारमा काइलुङ छ। याक्थुङ मुन्धुमी भाषामा इम्बिरी याङ्धाङ्वा भनेर चिनिने तमोर नदीको किनारमा रहेको काइलुङमा याक्थुङ लिम्बुका आदिम पूर्खा सुच्छुरु सुहाम्फेवा र लाहादङ्नाले पहिलो पटक यौन सम्पर्क गरेको मुन्धुममा वर्णन गरिएको छ।

सुहाम्फेवा र लाहादङ्नाले यौन सम्पर्कका लागि विस्तराका रुपमा प्रयोग गरेको ताप्लेजुङ लेलेपको काइलुङ

‘काइ’को अर्थ सम्बन्ध हुन्छ भने ‘लुङ’ को अर्थ ढुङ्गा हो। याक्थुङ लिम्बुका पूर्खाहरु (सुहाम्फेवा र लाहादङ्ना) ले सोही हल्लिने ढुङ्गाको विस्तारामा पहिलो पटक यौन सम्बन्ध राखेको मुन्धुममा उल्लेख भएकाले काइलुङधुङ भनिएको हो। काइलुङ एउटा शैय्या वा खाट जस्तै छ । मानिस बस्दा वा उभिँदा हल्लिन्छ।

कतिपयले यसलाई ‘हल्लिने ढुङ्गा’ पनि भन्ने गरेका छन्। तमोर किनारमा रहेको यही ढुङ्गालाई शयन कक्ष बनाएर यौनको भोक मेटेको लामो कथा सुहाम्फेवा-लाहादङ्ना मुन्धुममा वर्णन गरिएको छ।

आदिम कालमा एकाघरकै परिवारका सदस्य भए पनि साइनो सम्बन्ध, जस्तै– चेली-माइती, दाजुभाइ भनेर निर्माण नहुँदैको हल्लिने काइलुङमा सुहाम्फेवा र लाहादङ्नाले शारीरिक सम्पर्क राखेको वर्णन मुन्धुमले व्याख्या गर्दै आएको छ। अचेल उक्त ढुङ्गाको विस्तरालाई निःसन्तान दम्पतीले सन्तान प्राप्तिका लागि पूजा अर्चना गर्ने गरेका छन्।

मुन्धुम अनुसार सुहाम्फेवा र लाहादङ्नको लेलेपकै मुरिङ्ला खारिङ्ला डाँडाको खुला चौर (लालासो तुम्दुम्सो) मा पहिलो भेट भएपछि लाहादङ्ना र सुहाम्फेवाको शरीरमा पलाएको जुम्रा र लिखा टिप्ने खेल खेल्दाखेल्दै सहवासको वातावरण तयार हुन्छ। उनीहरु सुसाउँदै बगेको तमोरको किनारमा अवस्थित काइलुङधुङमा सहवास गर्न पुग्छन्।

दुईजना तरुण-तरुनीको सहवास र प्रेमलाई छुटाउन अरु भद्रभलादमी तुम्याहाङहरुले अनेक प्रयास गरे पनि सधैं सहवासमा लिप्त भएपछि तितेपातीको याक्सा ( छाप्रो) बनाएर राख्छन्।

 

लेलेपस्थित काइलुङधुङ स्थल

मुन्धुममा कतिसम्म वर्णन गरिएको छ भने दुईजनाले सिस्नुघारीमा समेत सहवास गर्दा सिस्नुले पोलेको थाहा पाउन सकेनन्। कहिले तमोर किनारको ढुङ्ग्यानमा, कहिले छिपिछिपे दलदले हिलोमा, कहिले पाखा पखेरा र ओढारमा कुकुर, भ्यागुता, हात्ती, गैंडा र बाख्राको नक्कल गर्दै सहवास गर्दा अनेक सन्तान जन्मिएको मुन्धुमले वर्णन गरेको छ।

उनीहरुका सन्तान मध्ये नौ सन्तान (छोरा) लिएर बाबु सुच्छुरु सुहाम्फेवा मुरिङ्लामाथि खारिङ्ला डाँडामा गएर बसे ।

आठ सन्तान (छोरा) लिएर आमा लाहादङ्ना तल सांगुयक कोपियक (युखावु) मा गएर बसिन्। एक छोरी कहिले आमा त कहिले बाबुसँग बसिन्।

सुहाम्फेवाको भागमा परेका नौ सन्तान आदिम नौ पुरोहित (पेगिफाङसाम-येवा, साम्बा, फेदाङ्मा) भए भने लाहादङ्नाको भागमा परेका आठ सन्तान आठ राजा (येत्हाङ) भएर शासन चलाउने तुम्याहाङ (भद्रभलादमी) भए।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ९ : ४९ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले