कथा : पोलेको मकै | Khabarhub Khabarhub

कथा : पोलेको मकै


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

शान्ति, मभन्दा दुई वर्षले जेठी थिई तर हामी एकै क्लासमा पढ्थ्यौं । एकै टोलमा घर भए पनि पनि हामी खासै मिल्ने साथी भने थिएनौं । उसलाई पढ्नमा धेरै रुचि थिएन । बुवाआमाको करले ऊ स्कुल जान्थी । होमवर्क नगरेर उसले प्रायः शिक्षकको पिटाइ पनि खान्थी ।

एकपटक त उसले घर फर्किँदा बाटोमा साथीहरुसँग शिक्षकलाई जथाभावी बोलेर गाली समेत गरी । त्यसपछि ऊ मलाई मन पर्न छोडी । शिक्षक भनेको भगवान हो, उहाँहरुका पछाडि पनि असभ्य भाषाले गाली गर्नुलाई मैले अनुपयुक्त मानेँ ।

टोल एकै । क्लास एकै । नचाहेर पनि उसँग मेरो भेट भइरहन्थ्यो ।

छुच्ची कस्ती भने खुरुखुरु हिँडेको मलाई कपाल तानेर ‘बाहुनी’ भन्दै दगुर्थी । एकपटक कक्षामा केटालाई समेत पिटेर रुवाइदिएकी थिई । त्यसकारण उसले ‘बाहुनी’ भनेर हिँड्दा पनि मैले जवाफ फर्काइनँ तर मनमनै निकै रिस उठ्थ्यो ।

एक विषय लागेर भए पनि शान्तिले ५ कक्षा पास गरी । तराईको जिल्ला भए पनि हाम्रो गाउँमा प्राथमिक तहसम्मको स्कुल थियो । त्यसदेखि माथिको पढाइका लागि एक घण्टा हिँडेर अर्को गाउँको स्कुलमा पढ्न जानुपर्‍थ्यो ।

पास भएर अर्को कक्षा चढ्दा खुसी आफ्नो ठाउँमा थियो । गाउँदेखि अर्को गाउँको स्कुलमा पढ्न जाने भन्ने कुराले अर्को खुसी थपेको थियो । ६ कक्षामा पुग्नु सानो कुरा थिएन ।

नयाँ किताब । नयाँ ड्रेस । सबै घर आइपुगिसकेको थियो । मलाई स्कुल लाग्ने दिनको प्रतिक्षा थियो ।

एकदिन साँझ शान्तिकी आमा मेरी आमासँग कुरा गर्दै गरेको देखेँ । उसले पनि ६ कक्षा पढ्ने रे । पुराना किताब तर ड्रेस भने नयाँ सिलाइसकेका रहेछन् ।

स्कुल जादाँ सँगै जानु भन्न आएकी रहिछन् । मेरी आमालाई उसको कुरा चित्त बुझेको थिएन । आवारागिरी गर्ने, पढ्नमा मन नगर्ने, मास्टरलाई मुख छोड्नेसँग छोरीको संगत बस्यो भने उस्तै हुन्छे भन्ने कुराको पिर थियो ।
भन्दा नभन्दै स्कुल जाने दिन आयो । पहिलो दिन आमाले टीका लगाएर पठाइदिनुभयो । छोरी एक घण्टाको बाटो हिँड्छे भन्ने त थियो, तर कति थाक्ली भन्ने चिन्ता थियो । नयाँ स्कुलमा नयाँ साथीहरुसँग मिलजुल गर्नु, झगडा नगर्नु लगायतका ज्ञानज्ञुनका कुरा सिकाउदै हुनुहुन्थ्यो ।

त्यसैबेला शान्ति र उसकी आमा आए । मेरो निधारको टीका देखेर शान्तिले किन टीका लगाइदिएको भनेर सोधी ? टीका लगाएर गयो भने धेरै पढिन्छ ? यस्तै उसको जिज्ञासा थियो । उसलाई पनि टीका लगाइदिए हुन्थ्यो भन्ने मनसाय व्यक्त गर्दै थिई ।

आमाले त्यो बालमनोविज्ञान बुझेर पनि टीका थाली पछाडि हटाउनुभयो । शान्तिकी आमाले बुझेकी थिई । तर, शान्तिले बुझ्ने बेला भएको थिएन ।

हिँड्नै लाग्दा आमाले मलाई एकपटक भित्र बोलाउनुभयो र भन्नुभयो, ‘नानी, स्कुल सँगै गए पनि कक्षामा योसँग खासै धेरै संगत नगर्नू ।

म आज्ञाकारी छोरी थिएँ, टाउको हल्लाएँ र विदा भएँ ।

यता र उता गर्दागर्दै गाउँका सबै साथी अगाडि पुगिसकेका थिए । करिब ४५ मिनेटको जंगलको बाटो थियो । हामी दुईजना स-साना पाइला सक्दो बल लगाएर छिटो-छिटो हिँडिरहेका थियौँ ।

हिँड्दा-हिँड्दै अचानक झाडीबाट एउटा जनावर पुच्छर ठाडो पार्दै निस्कियो । यो के हो ? यसले खाने भो भनेर म सिरिङै भएँ । डरले थर्रथर्र काम्न थालेँ । बेहोस हुन्छु जस्तो भो । एकाएक दिउँसै अँध्यारो हुँदै आयो ।

तर, शान्तिले मलाई च्याप्प समाती । उसले मलाई ढल्न दिइन । उसले भुईँमा बस्न भनी । विस्तारै बोली– ‘स्याल हो, यसले मान्छे खाँदैन, कुखुरा मात्रै खान्छ ।’

मान्छे खाँदैन भनेपनि मेरो प्राण आयो ।

त्यो शिकार खोज्न हिँडेको हो, तर्साउन हुँदैन भनी । शान्तिलाई जंगली जनावरको बारेमा कत्ति ज्ञान रहेछ । मभन्दा निडर रहिछे । संकटमा होसियारपूर्वक काम गर्नुपर्ने रहेछ ।

स्याल अलि टाढा पुग्यो भन्ने लागेपछि हामी दगुर्यौ । उसले मेरो हात छोडेकी थिइन । मेरो अभिभावकजस्तो सुरक्षा र मनोबल दिइरही ।

अलि माथि पुगेपछि हामीले सास फेर्यौं ।

‘पहिलो दिननै स्यालले बाटो काट्यो । अलच्छिन लाग्छ कि के हो ?’ शान्तिले भनी ।

उसको अलच्छिन शब्दले मलाई ६ कक्षामा फेल हुन्छु कि के हो भन्नेसम्म सोच्ने बनायो ।

त्यो दिन पहिलोपटक मलाई शान्ति असाध्यै राम्री लाग्यो । कुरा पनि निकै मिठो गर्ने रहिछे ।

स्कुलमा ऊ र म एकै बेञ्चमा बस्यौँ । सँगै टाँसिएर बस्यौँ ।

पहिलो दिन खासै धेरै पढ्नु परेन । हामी खुसी हुँदै घर फर्कियौँ । फर्किदाँ सबै साथी एकमुष्ट थियौँ । स्यालसँग जम्काभेट भएन ।

घर पुग्ने बेला शान्तिसँग थोरै दुरी बढाएँ । किनकि मलाई आमाकी आज्ञाकारी छोरी हुनु थियो ।

यसैगरी हाम्रो स्कुले जीवन चलिरहेको थियो । शान्तिलाई मैले एक दिन मास्टरलाई गाली गर्नुहुँदैन, विद्यानास हुन्छ भनेर सिकाएँ । नपढ्ने मान्छेले दुःख पाउँछ भनेर सम्झाएँ । मलाई घरमा यस्तै सिकाइएको थियो ।

शान्ति अरुले अथवा हामीले सोचेजति खराब थिइन । ऊभित्रको मानवता स्वच्छ र निर्मल थियो । मलाई ऊ देख्दा पनि त्यस्तै देखियोस् भन्ने लागेको थियो ।

ऊ पहिले भन्दा मिहेनती भएकी थिई । कुनै पनि हातलमा एसएलसी पास गर्नुपर्छ भनेर उसलाई बारम्बार भन्थेँ । मलाई घरमा आमाले कम्तिमा एसएलसीसम्म पढ्नुपर्छ भनिराख्नुहुन्थ्यो । घरमा मैले जे जे सुन्थेँ, शान्तिलाई त्यही त्यही गर्नुपर्छ भनेर सम्झाउँथे । एसएलसी पास गरेपछि मास्टरी गर्न पाइन्छ भन्ने थियो । मेरी आमा म मास्टर्नी भएको हेर्न चाहनुहन्थ्यो ।

हामी सँगसँगै क्लास चढ्दै थियौँ । सँगसँगै हुर्कँदै थियौँ । कक्षा नौ तिर पुग्दा उसले मलाई उट्पट्याङ कुराहरु सिकाउन थाली ।

उसको लहैलहैमा लागेर धेरैपटक आँप र काँक्रो चोर्न सिकेँ । स्कुल हापेर नदीमा पौडी खेल्न गइयो । दहमा पौडिन सिकेँ । माछा मार्न सिकेँ । रुख चढ्न सिकेँ । जुन कुरा मलाई कसैले सिकाएको थिएन ।

घरमा थाहा पाए भने शान्तिसँगको मेरो सम्बन्ध क्षणभरमै सकिन्थ्यो । लुकेर छिपेर उसँगबाट मैले धेरै कुरा सिकेँ ।

हामीबीचको मित्रता निकै गहिरिँदै थियो । शान्ति स्कुल नगएको दिन मलाई पनि जानै मन लाग्दैनथ्यो ।

ऊ र म सँगसँगै हुर्कँदै थियौँ । किशोर अवस्थामा प्रवेश गर्दै पनि थियौँ । स्कुलमा को केटा सबैभन्दा सुन्दर छ ? जस्ता कुरामा हामी गफिन थाल्यौ । ओहो ! जीवनको सबैभन्दा धेरै ध्यान दिएर सुन्न मन लाग्ने विषयका बारेमा हामी बहस गर्ने भएका थियौँ ।

म कक्षामा सबैभन्दा पढ्न जान्ने केटो राम्रो हो भन्थेँ । शान्ति दौड प्रतियोगितामा प्रथम भएको केटो सबैभन्दा राम्रो हो भन्थी । त्यो लाहुरे हुन्छ भन्थी । हामी जति मिल्ने भए पनि रोजाई निकै फरक थियो ।

कक्षा १० । अर्थात्, अब एसएलसी दिने समय थियो । पढाइमा पहिले भन्दा मिहेनत गर्नुपर्ने थियो । फलामे ढोका पार गर्न धेरै पढ्नुपर्छ भन्ने थियो । सबैकुरा राम्रै चलेको थियो ।

एक दिन हामी सदाझैँ स्कुल जाँदै थियौँ । शान्तिले झोलाबाट एउटा पोलेको हरियो मकै मतिर तेर्स्याई र भनी ‘आमाले एउटा मलाई र एउटा तिमीलाई भनेर दिनुभएको, खाऊ ।’

अब यो जति धर्मसंकट अरु के होला ? कसरी खाउँ ? उनीहरुले छोएको पानीसमेत नखाएको मैले पोलेको मकै कसरी खान सक्छु ? केही गरी यो मकै खाएँ भने आमाले के गर्नुहोला ? मलाई पिट्नु होला ? त्यसपछि पण्डित बोलाएर रुद्री गरेर मलाई चोख्याउनुहोला ? ओहो ! के–के गर्नुहोला ? कुनै पनि बहानामा मैले यो मकै खान हुन्न ।

तर, मैले खान्नँ पनि भन्न सकिनँ । शान्तिकी आमाले मलाई मकै पठाउन हुँदैनथ्यो । उनले गल्ती गरिन् । मेरी आमाले थाहा पाए ? उनलाई यो सबै थाहा थियो । तर, किन पठाइन् पोलेको मकै ?

हृदयमा ढुङगा राखेर मैले मकै स्कुलमा खान्छु भन्दै हातमा लिएँ । तर, मेरा हात थर्रथर्राएका थिए । यो मकै, मकै मात्र थिएन । कसैले कसैलाई दिएको थियो । यो खायो भने यसले निम्त्याउने के हो ?
दिनभर झोलाको मकैले बेचैन बनायो । भोक लागेको थियो तर सन्चो भएन भनेर मैले मकै खाइनँ । आमाले भन्नुभएको थियो– योसँग दुरी कायम गर्नु ।

अबदेखि शान्ति आउनुभन्दा अगाडि नै स्कुल निस्कन्छु । भोलिदेखि अर्कै बेञ्चमा बस्छु । यस्तै–यस्तै तर्कना मनमा खेल्यो ।

मकै बोकेर बेलुका घरै पुगेँ । घर भन्दा अगाडि गोठ थियो । गोठमा छिरेँ र भैंसीलाई मकै खुवाएँ । धारामा हातमुख धोएपछि मन बल्ल शान्त भयो ।

म आमासँगै सुत्थेँ । त्यो रात निकै छटपटी भयो ।

आमाले बेला–बेला कति चलेको भनिराख्नुभएको थियो । तर मेरो मनमा ज्वारभाटा दन्किरहेको थियो । यति धेरै माया गर्ने साथीले दिएको मकै मैले के कारणले खान सकिनँ ?

उनकी आमाले कत्ति मायाले पठाएकी थिइन् होला । त्यो मायाको लाज मैले किन राख्न सकिनँ ? उनीहरुले छोएको खान नसक्ने गरी मलाई के कुराले रोक्यो ? मकै त खान सकिनँ तर रातभर मलाई मकैको खोयाले हान्यो । मैले आफैँले आफैँलाई हानेँ । यो व्यवहारका लागि मैले आफूलाई क्षमा गर्न सकिनँ ।

अब आइन्दा शान्तिकी आमाले मेरा लागि पठाएको कुनै पनि खानेकुराको अपमान गर्ने छैन भनेर कसम खाएँ । उनकी आमाले भोगिन् तर अब आइन्दा शान्तिलाई यो अपमान र विभेदको शिकार हुन दिने छैन भनेर कमस खाएँ ।

मेरी प्यारी साथी शान्तिले समाजमा मान्छे भएर बाँच्न पाउनुपर्छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : ४२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको