काठमाडौं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा. शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् ।
मुख्यमन्त्री भएका बेला आफू ‘ब्याक बेञ्चर विद्यार्थी’ भएको बताएर चर्चामा आएका उनी यतिबेला गगन थापाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर थप चर्चामा आएका छन् ।
मंसिर १८ गते शेखर समूहको पहलमा बिराटनगरमा आयोजित पालिका सभापतिहरुको भेलामा बोल्ने क्रममा कांग्रेस नेता कार्कीले महासचिव गगन थापाको नाम नलिई कांग्रेसको विधान पढ्न सुझाव दिए । उनले ‘हिसाब गर्न आउँदैन भने विधानसँगै क्याल्कुलेटर समेत पठाइदिने’ भन्दै महामन्त्रीलाई चुनौती नै दिए ।
आखिर पूर्वमुख्यमन्त्री कार्की किन महामन्त्री थापाविरुद्ध खनिएका होलान् ? अहिले शेखर कोइराला र गगन थापावीचको सम्बन्ध कस्तो छ ? आगामी महाधिवेशनमा शेखरविरुद्ध गगन थापा पार्टी सभापतिमा चुनाव लडे भने के होला ?
पालिका भेलाको दुई दिनपछि संस्थापन पक्षले बिराटनगरमै आयोजना गरेको कोशी प्रदेशको सम्मेलन शेखर कोइरालाले किन बहिस्कार गरे ? अनि, अहिले केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको संयुक्त सरकारलाई किन उनले मुक्तकण्ठले प्रशंसा र बचाऊ गरिरहेका छैनन् ?
यिनै सामयिक प्रश्नहरुको सेरोफेरोमा कांग्रेसका प्रदेश सांसद कार्कीसँग खबरहबले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ–
कांग्रेसभित्र तपाई शेखर गुटको नेताका रुपमा चिनिनुहुन्छ, यो गुटमा किन लाग्नुभएको ?
हामी शेखर समूहमा लागेको मात्र हैन, हामी कृष्णप्रसाद कोइरालाको इतिहाससमेत पढेर, सुनेर, जानेर कांग्रेसमा लागेको हो । त्यसकारण शेखर समूह र नेता भन्ने कुरा नै भएन । बीपी कोइराला नै कांग्रेसमा विद्रोही हुनुहुन्थ्यो । नेपाली कांग्रेस नै एउटा विद्रोहको पर्यायवाची हो ।
जसले सत्ता छोडेर, सत्ताको मोह त्यागेर जेल बस्न तयार भयो, त्यो पार्टीको कार्यकर्ता र बीपीको इतिहास पढेको मान्छेले पार्टीभित्र या अन्य ठाउँमा सही कुरा गर्दा विद्रोही भन्छन्, सपोर्टर भन्छन् या अन्य कुरा भन्छन् भने त्यसले के फरक पर्छ र ? म स्वीकार गर्न तयार छु । कांग्रेस नै विद्रोहको पर्यायवाची हो ।
तर, मंसिर १८ मा बिराटनगरमा भएको पालिकाहरुको भेला विधानविपरीत हो भन्ने छ नि संस्थापन पक्षका नेताहरुको भनाइ ?
यो कुन पक्षले गर्यो भनेर प्रचार भइरहेको छ । विधानमा महानगरको सभापति, नगरपालिका र गाउँपालिकाका सभापतिहरु देउवा पक्ष, शेखर पक्ष, गगन पक्ष, अर्जुननरसिंह पक्ष वा पूर्णबहादुर खड्का पक्षका भनेर कहीँ लेखेको छ र ? छैन भने कुनै पालिकाले म कार्यक्रम गर्छु, म सबैलाई बोलाउँछु भन्न पाउँछ कि पाउँदैन ? नत्र अरू पालिकाले गरेको कार्यक्रममा पनि पार्टी सभापति, महामन्त्री किन जानुपर्थ्यो ? अरू कार्यक्रममा नेताहरू लर्को लागेर कुद्छन् । कुदि पनि राखेका छन् ।
अघिल्लोपटक जिल्ला कोषाध्यक्षहरुको सम्मेलनमा प्रमुख अतिथि बोलाइ दे भनेर महामन्त्री पनि गएका छन् । जिल्ला सभापतिको पनि भेला गरेका छन् । जिल्ला सभापतिको भेलाचाहिँ विधानमा कहाँनेर, कुन ठाउँमा लेखेको छ ? त्यसकारण पालिकाका सभापतिहरुले हामी एक ठाउँ भेला भएर कुरा गर्छौं, विधानका बारेमा छलफल गछौं र सामूहिक धारणा बनाउँछौँ भन्न पाइँदैन ?
फेरि, नेपाली कांग्रेस त्यो पार्टी हो, जसले पञ्चायतको संविधानविरुद्ध आन्दोलन गर्यो । जसले राजाले टेकओभर गरेको कुराको विरोध गर्यो । आफ्नै पार्टीभित्रको विधान अधिवेशनबारे छलफल गर्न पाइँदैन भने त त्यो वाक स्वतन्त्रता विरुद्ध भयो ।
‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ
प्रदेश सम्मेलनको दुई दिनअघि यो भेला गर्नैपर्ने जरुरी थियो र ?
यो भेला नगर र पालिका सभापतिहरुले पालिकाभरिको भेला राखे । तालिम र प्रशिक्षण पनि गरे । हाम्रा सभापतिहरुको हक, काम, कर्तव्य र अधिकार के छ, बुझ्यौँ । केन्द्रले कहिले अभिमूखीकरण गराउँछ ? प्रदेशले पनि गराएको छैन । हामी आफैंले यसलाई आयोजना गरौँ भनेर मोरङका १७ वटा पालिका सभापतिले गर्ने हुनुभयो । उहाँहरू आयोजक भएर प्रदेशभरिका पालिका सभापतिलाई बोलाइएको हो । चिनजान पनि हुन्छ भन्ने उद्देश्य हो ।
सोलुखुम्बुको पालिका सभापति र विराटनगर पालिका सभापतिका बीचमा भेटघाट हुनु नराम्रो हो र ? हिजो कुन संविधानमा थियो हाम्रा अग्रजहरूले बम बोकेर हिँड्ने ? बम बोकेर हिँड्न पाइन्थ्यो ? व्यक्तिसँग प्रभावित भएर नानु कोइराला, जसले कोलकाताबाट पुरै शरीरमा टाउको मात्र छोडेर खुट्टासम्म हातहतियार बाँधेर पिसाब पनि नफेरिकन आएको मान्छे हो उहाँ । त्यहाँ के थियो ? पार्टीले हातहतियार बोकेर हिँड भनेर निर्णय गरेर पठाएको थियो ? यसरी आएको प्रजातन्त्र र लोकतन्त्र हो ।
राम–लक्ष्मणलाई टिमुरेबोटेमा मारियो । तिनलाई यी नेताको विधानले मारेको हो ? यी नेताले गएर त मर भनेर पठाएको हो ? त्यसकारण, पार्टी बलियो बनाउने कुरामा पालिका सभापतिहरुले बेलामा अधिवेशन गराउने र पार्टी सभापतिले काम गर्ने, यति भयो भने बेलैमा प्रतिस्पर्धीसँग जित्छौँ भनेर उनीहरूले कार्यक्रम गरेको हो । त्यो प्रदेशले गर्ने कार्यक्रम भन्दा पहिले नै तयार भएको कार्यक्रम हो । प्रदेश कमिटीले गर्ने भनेकै थिएन ।
यो प्रदेश कमिटी पालिका भेलाभन्दा कान्छो पर्छ । किनकि, यसले त तीन वर्षमा प्रथम सम्मेलन भनेर राखेको छ । यो प्रथम पनि हो, अन्तिम पनि हो जस्तो लाग्छ । किनभने, अब त पार्टी केन्द्रको अधिवेशन नै आयो । त्यसैले विधान विपरीत भन्नु कुतर्क हो । विधान अनुसार काम गरुन् भनेर नै हामीले ताकेता गरेको हो ।
तर, यो भेलाको विषयमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पनि प्रश्न उठेछ, भेला नगर्न पत्र नै गएको थियो नि ?
माथि–माथिका नेताहरु तलको संगठन चलायमान भयो भने डराउँछन् । तलको संगठन चलायमान भयो भने माथि यत्तिकै जय नेपाल जाँदै हिँडेका नेतालाई त डर हुने भयो नि । त्यो कारण डर हुनेले आवाज उठाउने हो । गिरिजाबाबुले संसद् पुनः स्थापना हुन्छ भन्दा पनि विरोध गर्थे नि । त्यही हो ।
बिराटनगरको भेलामा बोल्दा भेलामा तपाईंले कांग्रेसका ‘भाइरल नेता’हरुलाई विधान पढ्न र हिसाब गर्न क्याल्कुलेटरसमेत पठाइदिने भन्नुभयो । खासमा कसलाई भन्या हो त्यो ?
धेरैजनाले केन्द्रका पार्टी सभापतिले पार्टीको विधानविपरीत काम गर्नुभयो, विधान मान्नुभएन, हामीलाई पार्टीको पदाधिकारी जिताउनू हामी विधानबमोजिम काम गछौं भनेर अहिले पार्टीमा जित्नुभएको पदाधिकारीले भन्नुभइरहेको छ । उहाँहरूले पनि राम्रोसँग विधान पढ्नुपर्थ्यो ।
किनभने, नेविसंघ ७ सय जनाको हुन्छ भनेर विधानको कुन कुनामा लेखिएको छ ? ४ सयजनाको तरुण दल हुन्छ भनेर कहाँ लेखिएको छ ? यी विभागहरू कति महिनामा गठन गर्ने हो ? कोषाध्यक्ष मनोनित कति महिनामा गर्नुपर्ने हो ? यो त विधान पढ्नुपर्थ्यो नि । विधान नै पढ्नुहुन्न रहेछ ।
जय नेपाल र नमस्कार गरेर मात्र त भएन, विधान पनि पढ्नुपर्थ्यो । बिहान उठेपछि जय नेपाल र राति सुतेपछि जय नेपाल भनेर भएन
जय नेपाल र नमस्कार गरेर मात्र त भएन, विधान पनि पढ्नुपर्थ्यो । बिहान उठेपछि जय नेपाल र राति सुतेपछि जय नेपाल भनेर भएन । उहाँहरूले मैले भनेको कुरा आफ्नो–आफ्नो छातीमा हात राखेर, बुझेर ममः भन्नुपर्छ । जसले जान्ने छु भनेर बिगार गर्नुभएको छ, उहाँहरूका लागि नै हो यो । व्यक्तिलाई भन्ने कुरा नै भएन ।
शेखर कोइराला ०७९ को चुनावलगत्तै कांग्रेस–एमाले मिल्नुपर्छ भन्ने लाइनमा देखिनुहुन्थ्यो । त्यसैको रिहर्सल गर्दै कोशीमा तपाई एमालेको साथ लिएर मुख्यमन्त्री पनि बन्नुभयो । अहिले संघमै कांग्रेस र एमाले मिल्दा खुसी लागेको होला हैन ?
कांग्रेस–एमाले मिलेर मात्र हामीले खुसी मान्ने कुरा छैन । कांग्रेस–एमाले मिलेर रिजल्ट दिएनन् भने ठीक भएन । सरकारको रिजल्ट राम्रो भएन । यसरी त पार्टी सकिन्छ नि । कांग्रेस सकिने बाटोमा त लाग्नु भएन । हाम्रो चित्ता कांग्रेस सकिनुभएन भन्ने हो ।
सरकार बन्यो, त्यसकारण यहाँ भेला पनि गर्न हुन्न । अब हामीले एमालेको विचारसँग प्रतिवाद पनि गर्न हुन्न । एमालेले अस्ति एक्लै कार्यक्रम गरेको छ त दरबारमार्गमा । एमालेले दरबारमार्गमा कार्यक्रम गर्दा सबै नेता गए त । कांग्रेसमा हामी जान्ने हौं भन्नेले ‘ल्याक अफ इन्फरमेसन’ गरे ।
म लास्ट बेन्चर हो । तर, लास्ट बेन्चरले राम्रोसँग पढेको हुन्छ । म पढ्दै पनि छु । अब्दुल कलामले के भन्छन् भने ‘जब फस्ट बेन्चरले सोच्न सुरु गर्छ, लास्ट बेन्चरले पनि सुरु गर्छ ।’ त्यसकारण फस्ट बेन्चमा बसेर चोरेर पास गर्नेहरूले लास्ट बेन्चर भनेर गाली गरेर भएन । पढे न थाहा हुन्छ भित्र–भित्रको कुरा ।
शिक्षकले जे पढायो, त्यो लेख्ने त कपी गर्ने भयो नि । विधानअनुसार पार्टी चलाएनौँ, विधानअनुसार पार्टी चलाउनुपर्यो नि । विधानअनुसार पार्टी चलाउँ भनेर कोही त बोल्नुपर्थ्यो । त्यसकारण मैले बोलेँ । अब सरकार पनि दुई दल मिल्दा गरेको सम्झौताअनुसार चल्नुपर्छ भनेर हामी बोलेका हौँ ।
शेखर कोइरालाको अभिव्यक्तिमा वर्तमान सरकारलाई समर्थन गरेको त भेटिँदैन नि ? बरु महामन्त्री गगन थापाले पो सघाएको देखियो, किन यस्तो भयो ?
आफ्नो–आफ्नो स्वार्थमा लागेको देखिन्छ । अघिल्लो सरकारमा, संसदमा जो–जो उफ्रिन्थे, ती–ती मान्छेहरू सरकारले काम नै नगरे पनि मिलिरहनुपर्छ भन्ने देखिन्छन् । सरकारले जे–जे गरे पनि आँखा चिम्लनुपर्छ भन्ने पक्षमा देखिन्छन् । त्यसकारण यो प्रवृत्ति हो । यसलाई आफ्नै तरिकाले लिएर जाऊँ ।
तर, शेखर त्यो पक्षको विरोधी हो । काम गर्न नसके त जटिल कुरा भयो नि । नराम्रो काम गरे पनि समर्थन गर्नुपर्छ र ? अहिले संविधान संशोधन गर्ने भनेर जनतालाई सन्देश दिएर सरकार बन्यो । सुशासन दिने, जनअधिकार र जनपक्षमा काम गर्ने भनियो । यी सबै कुरमा कमिकमजोरी देखिएपछि चुप लाग्नु भएन नि । हरेक काममा खबरदारी हुनुपर्छ । कुसंरकार हट्नुपर्छ । सरकार फेरिनुपर्छ । यसलाई उडाइहाल्ने भन्दा पनि सरकारका कमिकमजोरी सच्याउनका लागि हामीले बोल्नुपर्छ भन्ने हो ।
संस्थापन पक्षले आयोजना गरेको विराटनगर प्रदेश भेला शेखर कोइरालाले बहिस्कार गर्नुभएको ?
बहिस्कार भन्दा पनि उहाँलाई अपमान हुने गरी व्यवहार भयो, त्यसको असन्तुष्टि हो । तर, सम्मेलनको बहिस्कार हैन । अपमानको असन्तुष्टि हो । अरू बहिस्कार भएको भए त हामी पनि जाने थिएनौँ होला नि । हामी त गयौं ।
केचाहिँ अपमान गर्नुभयो उहाँहरूले ?
विराटनगरमा कार्यक्रम तय गर्नुभयो तर सल्लाह पनि गर्नुभएन । उहाँलाई एकै पटक १८ गते, त्यो पनि पालिका सभापतिहरूको कार्यक्रम भएकै दिन बिहान घरमा गएर हामी तपाईँको कार्यक्रममा आउन पाएनौँ, तपाई हाम्रो कार्यक्रमका आउनुपर्छ भनेर औपचारिकता पूरा गर्न गएको देखियो । त्यो पनि प्रदेश सभापतिहरु जानुभयो । उहाँलाई जिस्क्याउन गएजस्तो देखियो ।
विराटनगरमा कार्यक्रम तय गर्नुभयो तर सल्लाह पनि गर्नुभएन । उहाँलाई एकै पटक १८ गते, त्यो पनि पालिका सभापतिहरूको कार्यक्रम भएकै दिन बिहान घरमा गएर हामी तपाईँको कार्यक्रममा आउन पाएनौँ, तपाई हाम्रो कार्यक्रमका आउनुपर्छ भनेर औपचारिकता पूरा गर्न गएको देखियो । त्यो पनि प्रदेश सभापतिहरु जानुभयो । उहाँलाई जिस्क्याउन गएजस्तो देखियो
पहिला काठमाडौं गएर कार्यक्रम रोक्ने चिठी लेखाएर आउने, अनि कार्यक्रम रोक्ने चिठी ल्याइदिऔं, देखिस् भनेर जिस्क्याउन गएजस्तो महसुस भयो । सभापतिमा हारेको मान्छेलाई पार्टीमा वरियता दिने चलन छ । तर, अहिलेसम्म दिइएको छैन । कसलाई दिने ? भन्नुपर्थ्यो नि ।
प्रदेश भेलामा महामन्त्री गगनले किन शेखरको विरोध गर्नुभएको ? उहाँहरू त एउटै समूहको मान्छे हैन ?
गगनको कुनै गुट र समूह छैन । गगनजी कस्तो मान्छे भने आफू जोसँग गयो, त्यसलाई भिरबाट धकेलिहाल्ने प्रवृत्तिको हो । यो प्रवृत्रिचाँहि अब बिस्तारै–बिस्तारै आउँदै जाला । उहाँले गिरिजाप्रसाद कोइरालाका पालामा पनि त्यसै गर्नुभएको हो । गिरिजाबाट नेविसंघको महामन्त्री बन्नुभयो गुरु घिमिरेको पालामा । अनि, गुरु घिमिरेलाई हटाउनुपर्छ भनेर उहाँले नै गिरिजाको कमिटीमा सुरु गर्नुभयो । पछि गिरिजाप्रसादले हटाए भनेर उहाँविरुद्ध कपाल खौरिएरै बस्ने उहाँहरू नै हो । कतिले देख्नुभयो होला, कतिले देख्नुभएन होला । त्योबेला पत्रपत्रिकामा कपाल खौरिएको फोटो होला ।
त्यसपछि गगनजी रामचन्द्र पौडेलसँग नजिक हुनुभयो र उहाँलाई नै घोक्रेठ्याक लगाएर सिटौलासँग उठ्नुभयो । सुशील कोइरालालाई त तह लगाउन खोज्नुभएको हो । एकदम महिलावादी समाजवादी हुनुहुन्थ्यो, उहाँले सुप्रभा घिमिरेलाई घोक्र्याएर त्यो निर्वाचन क्षेत्रमा उठ्नुभयो । सिटौलालाई घोक्र्याएर शेखर टिममा आउनुभयो । ससुरा अजुर्ननरसिंह केसीलाई लात्ताले हानेर उहाँसँग नै महामन्त्रीमा उठ्नुभयो । रविसँग मिटिङ गरेको सन्देश दिएर काठमाडौं क्षेत्र नम्बर–४ मा अघोषित साँठगाँठ गर्नुभयो । कुरूप गठबन्धन भयो । उहाँ अहिले रविलाई नै ठोक्दै हुनुहुन्छ । आफू पपुलर हुन उहाँ जे पनि गर्नुहुन्छ ।
महामन्त्रीमा निर्वाचित भएपछि उहाँ शेखर कोइरालालाई नै ठोक्दै हुनुहुन्छ । उहाँको जिनमा नै आफू अनुकूल प्रयोग नभए ठोक्ने प्रवृत्ति छ । यो कुराले उहाँलाई हानी गर्छ । कुनै पनि स्वार्थका लागि नजिक हुने अनि पूरा भएपछि ऊविरुद्ध लाग्नु राम्रो पनि त हैन । उहाँको धेरै टिप्पणी गर्नु पनि उचित ठान्दिनँ ।
शेखर र गगनको सम्बन्ध किन बिग्रियो ? यसमा कसको दोष छ ?
प्रतिष्ठाका लागि भएको सम्बन्ध सधैँलाई रहन्छ, पदका लागि भएको सम्बन्ध रहँदैन । म ठूलो हुन्छु कि ? मैले अर्कोतिर गएँ भने अलि ठूलो पद पाउँछु कि ? यस्तो भएपछि त्यो सम्बन्ध रहँदैन ।
शेखर दाइले संसदीय दलको नेता आफूले प्रस्ताव गरेर निर्वाचित बनाउन खोजेकै हो । त्योबेला खटपट भन्ने कुरा नै थिएन । तर, उहाँले साथ दिँदा गगनलाई म त निकै ठूलो भएँछु, शेखरलाई उछिन्ने भएँछु भन्ने लागेछ । उहाँमा भ्रम रहेछ । यो कुरा शेखरले थाहा पाउनु भएन होला । तर, ठ्याकै अहिले त थाहा भयो नि । तर, अवसर दिने कुरामा शेखरले कन्जुस्याइँ गर्नुभएन । खै, शेखर दाइले केही गल्ती गरेको भए त भन्नुपर्यो नि ।
कांग्रेसको १५ औँ महाधिवेशनमा शेखर र गगनसँगै रहनुहोला ?
महाधिवेशनमा भन्न सकिँदैन । कतिपय मानिसहरू कताबाट कहाँ पुग्छन् । सुशील कोइराला उठ्दा, नारायण खड्का, प्रकाशमान सिंह पनि उठ्नुभयो । रामचन्द्र पौडेल उठ्दा पदमनारायण चौधरी, नारायण खड्का, शेरबहादुर देउवा उठ्नुभयो । यो कुरा अधिवेशनअघि केही भन्न सकिन्नँ । अचम्म नमान्नु होला, जुनसुकैखालको जस्तोसुकै अवस्था हुन सक्छ ।
तर, आगामी महाधिवेशनमा डा.शेखर कोइराला नै सभापति बन्नुहुन्छ । कुनै शंका छैन । उहाँ हिजो देउवासँग लड्दा पनि तीन–चार सय भोटको फरक मात्रै हो । अब मज्जाले जित्नुहुन्छ । देउवाले समर्थन गरेको व्यक्तिलाई उहाँले हराउन गाह्रो छैन ।
तपाईं यसो भन्नुहुन्छ, तर शेखर कोइरालाको गृहजिल्ला रहेको कोशी प्रदेशमै देउवा पक्ष बलियो छ भन्ने सुनिन्छ…
शेखर दाइलेहरुले भोट नहालेर प्रदेश सभापति (उद्धव थापा) ले दुई भोटले जितेको हो । बलियो हुन्थ्यो कि कमजोर हुन्थ्यो ! बलियो कि कमजोर भनेर त रिजल्टमा आउँछ नि । अहिले को, के भनेर हल्ला गरेर बस्नु उनीहरूलाई बेकार छ ।
कोशी प्रदेशकै अरु नेताहरु, जस्तै–महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलासँग डा. शेखरको सम्बन्ध कस्तो छ ? शर्मा र सिटौला कुन कित्तामा हो ?
अहिले स्पष्ट देखिँदैन । कतिपय कुराहरू सिजनमा देखिन्छ । कुनै–कुनै फूल पनि सिजनमा फुल्छन् । यो कुरालाई अगाडि नै अनुमान गर्नु राम्रो होइन । उहाँहरूको सम्बन्धबारे अहिले केही जानकारी छैन । को कता पुग्छ, थाहा हुन्न ।
इतिहास बोकेको पार्टीमा यो हुन्छ, त्यो हुन्छ, थाहा हुन्न । कांग्रेसले लोकतन्त्रको भरपुर उपयोग गर्छ । आफ्नो पार्टीमा छलफल, बहस र चर्चा–परिचर्चा हुने अनि संगठन चलायमान गर्ने कुरा कांग्रेसले गरिरहन्छ । जन्मँदै लोकतन्त्र प्रयोग गरेको पार्टी हो ।
प्रतिक्रिया