काठमाडौं – बढ्दो ऊर्जा उपलब्धता र उपयोग लगायत कारण बढ्दै गएको प्रकाश प्रदूषण नियन्त्रण गर्न बहुआयामिक दृष्टिकोण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
दरबारमार्गस्थित प्याभिलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबले संयुक्त रूपमा आयोजना गरेको ‘प्रगतिको छायाँमा प्रकाश प्रदूषणको प्रभाव’ शीर्षकको अनुसन्धान प्रस्तुति कार्यक्रममा विज्ञ, नीतिनिर्माता र सरोकारवालाहरूले यस्तो आवश्यकता औंल्याएका हुन् । उक्त अनुसन्धान प्रस्तुति आकाश श्रेष्ठले गरेका थिए ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रकाश प्रदूषणबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रगति र वातावरणीय दिगोपनाबीच सन्तुलन सुनिश्चित गर्दै पर्यावरणका मुद्दालाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण अपनाउन आवश्यक रहेको जनाए ।
प्रकाश प्रदुषणका बहुआयामिक असरहरूबारे प्रकाश पार्दै श्रेष्ठले भने, ‘अनियन्त्रित प्रकाशको प्रयोगका नकारात्मक परिणाम पहिचान गर्न र थप हानीबाट बच्न प्रकाशको प्रयोग कसरी गर्ने भनी क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।’
श्रेष्ठको प्रस्तुतिमा प्रकाश प्रदूषणले पारिस्थितिक प्रणाली, मानव स्वास्थ्य, सुरक्षा, अर्थतन्त्र र सांस्कृतिक सम्पदामा समेत नकारात्मक असर पार्ने हुनाले आधुनिक विकासको नतिजाबारे चिन्ता व्यक्त गरिएको थियो । प्रस्तुतिमा चमक, अतिक्रमण र स्काइग्लो प्रकृतिका प्रकाश प्रदूषणबारे चर्चा भएको थियो ।
असुरक्षित बत्तीहरूले असुविधा उत्पन्न गर्दछ वा दृश्यता कम गरेको अवस्था चमक हो । जब कि अतिक्रमणले नचाहिने ठाउँहरूमा प्रकाश फैलिनुलाई जनाउँछ।
स्काई ग्लोले रातिको समयमा आकाशमा प्रकाश प्रदूषण गराई तारा र अन्य आकाशीय पिण्डहरू हेर्न गाह्रो बनाउँछ। वातावरणीय र स्वास्थ्य चिन्ताहरू बाहेक प्रकाश प्रदूषणले महत्त्वपूर्ण आर्थिक असरहरू पनि गर्दछ । अनुसन्धानका अनुसार; कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म बाहिरी प्रकाश खेर जाने गरेको छ ।
नेपालमा यस्तो ऊर्जा अदक्षताका कारण वार्षिक ४२ गिगावाट घण्टा विद्युत् खेर जाने गरेको र देशलाई करोडौं रुपैयाँ नोक्सान हुने गरेको अनुसन्धाता श्रेष्ठले बताए । उनका अनुसार; यस्तो प्रकाश प्रदूषणमा विद्युत खर्च गर्दा बढी महसुल तिर्नु्पर्ने, अनावश्यक कार्बन उत्सर्जन बढ्ने र विद्युत प्रदायकहरू लोड व्यवस्थापन गर्न दबाब पर्छ ।
पर्यावरण विशेषज्ञ डा. विन्दुनाथ लोहनीले विकसित देशहरूले कसरी शहरी, पारिस्थितिक र सांस्कृतिक क्षेत्रमा अनावश्यक प्रकाश न्यूनीकरण गर्ने अभ्यास अपनाउन थालेका छन् भन्नेबारे उल्लेख गरे । भविष्यका परियोजनाहरूका वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमै प्रकाश प्रदूषण न्यूनीकरण मामिला समावेश गर्न उनको सुझाव थियो ।
सांसद विराजभक्त श्रेष्ठले अहिलेको ‘उच्च प्रदूषण र कम नतिजा’लाई उल्ट्याउनेगरी ‘कम प्रदूषण र उच्च नतिजा’ तर्फ केन्द्रित हुनुपर्ने बताए । प्रकाश प्रदूषणलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न स्थानीय तहमा अनुसन्धानमा आधारित सचेतना अभियान र छलफल गर्नतर्फ उनको जोड रह्यो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले प्रकाश प्रदूषण मामिलाले पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने आशावादी दृष्टिकोण राखे ।
‘तारा अवलोकनलाई नेपालको पर्यटनमा एउटा अनुपम पक्षको रूपमा प्रवर्द्धन गर्न सकिन्छ र यसले हाम्रो पारिस्थितिक तथा साहसिक पर्यटन प्रस्तावमा खगोलीय आयाम थप्न सक्छ,’ जोशीले भने ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले प्रकाश प्रदूषण विरुद्ध लड्न दिगो र पर्यावरणमैत्री समाधानका रूपमा सचेतना अभियान र खगोल पर्यटन प्रवर्द्धन गर्ने विचारलाई समर्थन गरे ।
वक्ताहरूले नेपालले बाहिरी प्रकाश रोक्न मापदण्ड तोक्ने, प्रकाश प्रदूषणबारे ईआईमै समावेश गर्ने र अभियानहरूमार्फत जनचेतना जगाउने जस्ता रणनीतिहरू अपनाउन सक्ने धारणा राखे।
प्रमुख अनुसन्धाता आकाश श्रेष्ठले प्रकाश प्रदूषण विकासको अपरिहार्य परिणाम हुन नहुनेमा जोड दिए ‘विकास र प्रकाशको सुझबुझपूर्ण प्रयोगमार्फत समुदायहरूले विकास र वातावरणीय पक्षमा सन्तुलन कायम गर्न सक्छन्,’ उनले भने, ‘हामीले अब यसतर्फ ध्यानपूर्वक काम गर्नुपर्छ ।’
कार्यक्रममा शिक्षाविद्, वातावरणविद्, नीति निर्माता लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।
प्रतिक्रिया