ब्रेकिङ स्टोरी

कलाकारको दशैँ : कोही गाउँ फर्के, कोही शहरमै

By खबरहब

October 12, 2024

काठमाडौं – यसपाली दशैँको सङ्घार अर्थात् गत असोज ११ र १२ गतेको ठूलो वर्षा भयो । वर्षाका कारण बढी पहिरो जाँदा जनधनमा क्षति पुग्यो । देशका अधिकांश प्रमुख राजमार्ग अवरुद्ध भयो ।

दशैँमा राजधानी कर्मथालो बनाएका प्रायः सबै दशैँ मनाउन पुख्र्यौली थातथलोमा फर्कन्छन् । बाढी पहिरोकै कारण यसपटक देशका प्रमुख शहरहरूबाट लाखौँ नागरिक गाउँदेहात पुग्न सकेनन् ।

उपत्यका बाहिर पुख्र्यौली घर भएका कलाकारहरू पनि बाढी पहिरोको त्रासमा देखिए । यात्रामा जोखिम भएकै कारण उनीहरू फूलपातीको दिनसम्म पनि काठमाडौं छाड्ने/नछाड्ने दोधारमा देखिन्थे ।

केही कलाकार दशैँ लाग्दै गर्दा स्टेज कार्यक्रमका लागि विदेश जाने चटारोमा छन् । बाढीले गर्दा केहीको तय भएको कार्यक्रम रोकिएको छ । कोही बाढीले जनधनको क्षति हुँदा आफू खुशी हुन नसकेको प्रतिक्रिया दिए ।

मुकुन भुसाल, नायक

यो पटक दशैँ आफ्नै जिल्ला अर्घाखाँचीमा मनाउने योजना हो । बाढी पहिरोले यात्रामा जोखिम यथावत नै छ । खै ! हवाइ भाडा पनि बढेको छ, टिकट पनि पाएको अवस्था छैन । जे होस् – बाढी पहिरोले अन्य राजमार्गको तुलनामा मेरो घर जाने सडकमा कम क्षति भएको छ । केही राहतजस्तो छ ।

दशैँको टीकाको दिन नयाँ लुगा नै लगाउनुपर्छ भन्ने लाग्छ । अहिले पनि म नयाँ लुगा नै लगाउँछु । एक महिनाअघि नै नयाँ लुगा किनिसकेँ । पिङ मच्चाउन चाहिँ आउँदैन । यो पटक हाम्रो टोलमा पनि राख्ने कुरा छ । यसो एक पटक भूइँ छोड्नुपर्ला । तर, पिङ मेरो रुचिको विषय होइन ।

यो पटक विशेष योजना छैन । कामको चापमा नै छु । तिहारबाट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आउँदै छ । टीकाको भोलिपल्ट काठमाडौं आएर प्रचारमा हिँड्नुछ ।

सुरज चापागाईं ‘बान्द्रे’, हाँस्य कलाकार

यो पटक बाढी पहिरोको जोखिमले पुख्र्यौली घर झापा जान डर लाग्यो । काठमाडौंमै हुन्छु । बाढी–पहिरोका कारण यो वर्ष खासै दशैँ मनाउन पनि मन लागेको छैन ।

तर के गर्नु ! बच्चा–बच्चीका लागि भने पनि दशैँ मान्नु नै पर्‍यो । मलाई टिका लगाइदिने आमा यहीँ हुनुहुन्छ । काका–कार्की र मामाघरमा टिका–आशिर्वाद थाप्न पूर्व जानुपर्ने चाहिँ हो । पहिरोको जोखिमले यो वर्ष जान नपाइने भइयो । दशैँमा बच्चाहरूलाई चाहिँ नयाँ लुगा किनिदिए । यो पटक म चाहिँ आफूलाई नयाँ लुगा नकिन्ने सोचमा छु ।

बाल्यकालको दशैँको एकदमै प्रिय कुरा पिङ हो । दशैँको माहोल नै पिङले ल्याउने हो । यसपालि पनि पिङ खेल्ने योजना छ । विशेषतः छोराछोरीलाई पिङ संस्कृतिको बारेमा जानकारी दिनकै लागि भए पनि पिङ खेल्ने योजनामा छु ।

पुस्कर गुरुङ, वरिष्ठ कलाकार

मैले दशैँ काठमाडौंमै मनाएको धेरै भयो । छोरा–छोरी विदेश भएका हामी श्रीमान–श्रीमति मात्रै छौं । यो पटक पुख्र्यौंली घर दोलखा गएर मनाउने योजना थियो, स्वास्थ्यले साथ दिएन । लामो समयपछि गाउँको ‘फेस्टिभ मूड’ हेर्ने विचारमा थिएँ, पूरा भएन ।

यो उमेरमा दशैँमा नयाँ लुगाको रुचि नहुने रहेछ । अहिले भएकै कपडा कहाँ राख्नु ? जस्तो हुन्छ । पिङ चाहिँ एकपटक खेल्नुपर्ला । तर, यी सबै कुरा बाल्यकालमा रमाइलो । उमेरको भन्दा बाल्यकालकै दशैँ प्रिय !

सुमन कार्की, कलाकार

मेरो दशैँ अगाडि दुबईमा कार्यक्रम छ । टीकाको अघिल्लो दिनसम्म चाहिँ पुर्ख्यौली घर मोरङ पुग्ने योजनामा छु । बुवा ममीको हातको टिका उतै लगाउने हो ।

बाढी पहिरोको कारण यात्रा गर्न त्रसित माहोल नै अवश्य नै छ । उतै हुर्किएकाले दशैँमा गाउँकै माहोल रमाइलो लाग्छ । त्यही भएर व्यस्त भए पनि गाउँमै जाने योजनामा छु ।

बुवाले कमाउँदा दशैँमा नयाँ लुगा नै चाहिन्थ्यो । अहिले चाहिँ खासै रुचि नहुने रहेछ । अब त नयाँ लुगा लाउने होइन लगाइदिने जिम्मेवारीमा छु नि त !

म पिङ खेल्नमा खासै रुचि राख्दिनँ । मच्चिन पनि आउँदैन । दशैँको बेला भुइँ छोड्नुपर्छ भनेर टीकाको दिन एक पटक पिङ खेल्ने गरेको थिएँ । यो पटक पनि त्यही गर्छु होला ।

विजय बराल, नायक

बाढी पहिरोले यात्रा जोखिम बनेको छ । मनाउने योजना चाहिँ गाउँ सर्लाहीमा नै हो, तर पानी नपरेको खण्डमा ! अघिल्लो वर्ष हजुरआमा बित्नुभएकोले मनाइएको थिएन, त्यही भएर गाउँमै जाने सोच हो ।

मौसम र प्रकृतिले साथ दियो भने घरमा टीका ल्याउने, नगएको धेरै भयो यसपाली विराटनगर मामाघर जाने र ससुराली चितवन गएर काठमाडौं फर्केने दशैँको योजना हो । यो पटक धेरैभन्दा धेरै इस्टमित्र र आफन्तलाई भेट्ने योजना छ । हेरौं मौसमले साथ दिन्छ कि दिँदैन ।

यो आफ्नो लागि चाहिँ मैले नयाँ लुगा किनेको छैन । एक–दुई वटा नयाँ कुरा लिनुपर्ला । दशैँमा नयाँ लुगा नै लगाउनुपर्छ भन्ने मेरो रहर कायमै छ ।

‘दशैँमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने मान्यता छ । त्यसको लागि भने पनि पिङ खेल्ने योजनामै छु ।

माओत्से गुरुङ, वरिष्ठ कलाकार

दशैँ पोखरा आफ्नै घरमा मनाउने योजनामा छु । म यो पटक दशैँमा सौराहतिर परिवारसहित घुम्ने योजनामा थिएँ । बाढी पहिरोले यात्रा जोखिम बनाइदिएकाले नजाने भएँ ।

यो दशैँको मेरो विशेष योजना भनेको साथीभाइ आफन्त र इस्टमित्र भेट्यो हो । दशैँ तामझामसहित फजुल खर्च गर्ने मेरो बानी छैन ।

बाल्यकालमा चाहिँ दशैँमा नयाँ लुगा र जुत्ता किन्नै पर्थ्यो । अहिले चाहिँ नयाँ लुगा नकिन्दा पनि मन मान्छ । हुन त मन परेको लुगा जुनै बेला पनि किनिन्छ । त्यही भएर पनि होला ।

म सानै देखि पिङ नखेल्ने मान्छे हो । अहिले झन् रुचि हुने कुरै भएन । मौका मिल्यो भनि खेलिन्छ कि !

मनोज गजुरेल, वरिष्ठ हास्य कलाकार

म जुठो म छु, काइँला काका बित्नुभयो । दशैँअघि पूर्वका केही जिल्ला र पोखरामा कार्यक्रम छ । बाँकी बिदाको समय काठमाडौंमा नै बसिन्छ ।

बाढी पहिरोलो यो वर्ष धेरै मानिस निराश भएको मैले महसुस गरेको छु । त्यहीकारण पनि केही प्रभावित क्षेत्रका केही कार्यक्रम रोकिएका चाहिँ छन् । यो पटक चाहिँ काठमाडौं वरपर बाढीपीडितसँग दशैँ मनाउने योजना छ ।

यसपाली मौका मिल्यो भने पिङ चाहिँ खेल्नुपर्ला । कहाँ, कहिले र कति खेलिन्छ टुंगो छैन । उमेरले गर्दा पिङ मच्चाएर लिङ्गो कटाउन त नसकिएला, लिङ्यो छुनेसम्म गरी चाहिँ पिङ खेल्नुपर्ला ।

दिया मास्के, नायिका

दशैँमा म पोखरा घरमै हुन्छु । यसपाली जुठो परेकाले टिकाटाला हुँदैन । सोहीकारण दशैँका विशेष योजना भने छैन ।

पिङ त खेल्न मिल्थ्यो । बच्चामा खुबै खेलिन्थ्यो । धेरै वर्ष भयो पिङ नखेलेको । अहिले त हाल्ने चलनै पो हरायो । पिङ हाले भने खेल्नुपर्ला ।