अकस्मात् आउने फोनले अभिनयमा छाएकी सुरक्षा | Khabarhub Khabarhub

अकस्मात् आउने फोनले अभिनयमा छाएकी सुरक्षा

‘कलाकारले शरीरलाई साधन बनाउनुपर्छ’


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलको सामान्य परिवारमा जन्मिएकी सुरक्षा पन्त फिल्म क्षेत्रमा काम गर्न काठमाडौं आएकी होइनन् । माइली छोरीलाई डाक्टर बनाउन परिवारले काठमाडौं पठायो । उनले इन्जिनियर पढिन् र बन्न चाहिँ नायिका बनिन् ।

पहिलो पटक कलेज ‘बङ्क’ गरेर ‘भीजे हन्ट’प्रतियोगितामा सहभागी हुँदा स्वयं उनलाई नायिका बन्दै छु भन्ने थाहा थिएन । झन्, चलचित्रमा ल्याउने निर्देशकले डेब्यू फिल्म प्रदर्शनमै नआई आत्महत्या गर्दाको झट्का आफूले ब्यहोर्नुपर्छ भन्ने सुरक्षाको कल्पना भन्दा टाढाको विषय थियो ।

दोस्रो फिल्म प्रदर्शनमा नआउँदा नवनायिकालाई कस्तो महसुस हुन्छ, सुरक्षाले खबरहबसँग अनुभव सुनाएकी छन् ।

आकस्मिक कलले उनलाई फिल्म क्षेत्रमा स्थापित त बनायो, तर यस्तै कुनै कलले सुरक्षाको शरीरको मूल्य सोधेको प्रसंग यसको अन्त्यतिर उल्लेख गरिएको छ ।

जानौं कलाकारले आफ्नो शरीरलाई साधन बनाउनुपर्छ भन्ने नायिकाको अभिनय यात्रा :

डाक्टर बन्न काठमाडौं आएकी सुरक्षा

बुटवलमा जन्मिएकी सुरक्षाका तीन दिदी–बहिनी र एक भाइ छन् । विसं ०६४ सालमा माइली छोरीले एसएलसीमा ८७ प्रतिशत ल्याएपछि उनलाई परिवारले डाक्टर बनाउने सोचले काठमाडौं पठायो ।

डाक्टर पढ्न सुरुमा प्लस टूमा बायोलोजीमा भर्ना भएकी उनले बीचमै पढाइ फिजिक्समा परिवर्तन गरिन् । जुन कुरा उनले परिवारलाई पछि मात्रै थाहा दिइन् ।

सुरक्षा भन्छिन्, ‘जीवन नै पढाइमा केन्द्रित गरेर डाक्टर बन्नु थिएन । मलाई बाहिरी क्रियाकलापमा भाग लिन मन लाग्थ्यो । बरु इन्जिनियर पढ्छु भनेर फिजिक्स पढेकी हुँ ।’

पछि, इन्जिनियरिङ गर्छु भन्दा मात्रै परिवारले पढाइ परिवर्तन गरेको थाहा पाएको उनी सुनाउँछिन् ।

बाहिरी क्रियाकलापले पढाइको नतिजामा असर

सुरक्षा आफू स्कुलमा हुँदादेखि नै बाहिरी क्रियाकलापमा सक्रिय रहेको सुनाउँछिन् । पढ्नसँगै बोल्ने अतिरिक्त क्रियाकलापमा आफ्नो रुचि र दख्खल रहेको उनी स्मरण गर्छिन् ।

आफ्नो त्यो बानी इन्जिनियरिङ पढ्दासम्म कायम रहेको बताउँदै उनी सुनाउँछिन्, ‘म कलेजमा पनि अतिरिक्त क्रियाकलाप हुँदैन ? भनेर सोधिरहन्थेँ । कविता, चित्रकला, वादविवाद लगायतका प्रतियोगितामा भाग लिन्थेँ । पुरस्कार जित्दा ठूलो विषय लाग्थ्यो । सौन्दर्य प्रतियोगितामा पनि म कलेजको प्रतिनिधित्व गरेर गएकी छु ।’

यस्ता क्रियाकलापमा मन जाँदा पढाइमा भने असर परेको उनले भोगेकी छन् ।

पहिलो बङ्कले मिडियामा डोहोर्‍याएको यात्रा

इन्जिनियरिङ पढ्दा–पढ्दै उनमा मिडियामा देखिने सोख पलायो । बोल्न दख्खल राख्ने र ‘मिडिया फेसन संसार हो’ भन्ने बुझाइले उनमा भीजे बन्ने सोच आयो ।

इन्जिनिरिङ तेस्रो वर्ष पढ्दा ‘इमेज भीजे हन्ट भन्ने शो’ आयो । उनी त्यसमा जाने निर्णयमा पुगिन् । उनी सम्झन्छिन्, ‘म पहिलो पटक कलेज बङ्क गरेर भीजे हन्टको अडिसनका लागि गएकी हुँ । सेलेक्ट पनि भएँ ।’

सोही प्रतियोगिताबाट भीजेका लागि अफर आए पनि पढाइका कारण टेलिभिजनमा काम नगरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘पूरा समय टेलिभिजनमा कामको अफर आएको थियो । मेरो पढाइ चलिरहेको थियो, काम गर्न सक्दिनँ भनेँ ।’

तर पढाइसकेपछि भने उनले विभिन्न टेलिभिजनमा मनोरञ्जन कार्यक्रम चलाइन् ।

पढाइ इन्जिनियर, काम अभिनय

 

भीजे हन्ट प्रतियोगिता इच्छा पूरा गर्ने माध्यम मात्र नभएर सुरक्षाको पेसा नै परिवर्तन गर्ने बाटो बन्यो । जुन कुराको उनले कल्पनासमेत गरेकी थिइनन् । उनी सोही कार्यक्रमबाटै निर्देशक आलोक नेम्वाङको नजरमा परिसकेकी थिइन् ।

उनी स्मरण गर्छिन्, ‘भीजे हन्टको मेरो क्लिप देखेर आलोक दाइले फिल्म अफर गर्नुभयो । तर, मैले समय अभावले टेलिभिजनमा त काम गर्न सकिनँ, फिल्ममा त सम्भावनै छैन भनें ।’

तर, आलोकको दोस्रो कलमा भने उनी फिल्म गर्न राजी भइन् । त्यसबेला उनले इन्जिनियरिङको परीक्षा दिइसकेकी थिइन् । उनी फिल्म ‘अझै पनि’ मा अनुबन्ध भइन् ।

निर्देशकको आत्महत्यापछि इन्जिनियरिङको काम

सुरक्षाको पहिलो फिल्म ‘अझै पनि’ ०७१ फागुनमा हुँदै थियो तर निर्देशक आलोकले कात्तिकमा आत्महत्या गरे । आफूलाई भिजन देखाउने व्यक्तिको गलत निर्णयलाई उनले आफ्नो करिअरको झट्काको रूपमा लिइन् ।

यद्यपि फिल्म प्रदर्शनमा आयो । त्यसपछि सुरक्षालाई अन्य ठाउँबाट कामको अफर आयो । तर, सिने क्षेत्र त्याग्ने निर्णयमा पुगेको उनी स्मरण गर्छिन् ।

उनी भावुक हुँदै भन्छिन्- ‘तिमीसँग क्षमता छ, प्रयास गर’ भन्ने मान्छे, मैले मेन्टर ठानेको मान्छे र उहाँकै भिजनमा अर्को क्षेत्रमा आएकी म । त्यही मान्छेले गलत बाटो रोज्दा मलाई फिल्म गर्नै मन लागेन ।

यही घटनाले गर्दा सुरक्षाले इन्जिनियरिङ र भीजेमा फर्किएर डेढ वर्ष काम गरिन् । फिल्मको अफर आउँदा पनि यस क्षेत्रमा आफ्नो लक्ष्य नभएकाले काम नगरेको उनी बताउँछिन् ।

प्रदर्शनमा नआएको फिल्म

नफर्कने भनेर चलचित्र क्षेत्रबाट डेढ वर्ष टाढा रहेकी सुरक्षा ‘सुस्केरा’ फिल्ममा अनुबन्ध भइन् । निर्देशक सम्टेन भुटियाको फोनले उनी आफ्नो निर्णय तोड्ने मनस्थितिमा पुगिन् ।

उनी भन्छिन्- विश्रामले मलाई फिल्म क्षेत्रमा लक्ष्य खोज्न सहयोग गर्‍यो । त्यहीमाथि सम्टेन दाइले ‘फिल्ममा हरायौ तिमी आउ, काम गरौं भन्दा’ फेरि मलाई कसैले खोज्यो भन्ने भयो र काम गर्ने निधो गरेँ ।

पहिलो फिल्म प्रदर्शनमा नआउँदै मेन्टर मानेको निर्देशक गुमाएकी सुरक्षाको दोस्रो फिल्म आर्थिक कारणले प्रदर्शनमै आएन ।

उनी भन्छिन्, ‘मेरो दुर्भाग्य नै होला त्यो । तर, त्यही फिल्मले अब म नायिका नै बन्छु भन्ने भयो । तेस्रो फिल्मका निर्देशकले पनि मलाई यही फिल्ममा काम गरेको देखेर लिनुभयो । दोस्रो फिल्म शिक्षा नै भयो ।’

कलाको शक्ति बुझाएको फिल्म

सुरक्षालाई दर्शकमाझ चिनाउने फिल्म भने ०७४ मा प्रदर्शनमा आएको ‘धनपति’ हो । उनको यो फिल्म व्यवसायिक रूपमा पनि सफल बन्यो ।

तर, ०७६ मा प्रदर्शनमा आएको फिल्म ‘आमा’ले कलाको प्रभावबारे महसुस गर्ने अवसर दिएको उनको अनुभव छ ।

उनी थप्छिन्, ‘धनपतिले मलाई फिल्म संसार देखायो । हलमा पुग्दा पनि दर्शक डाको छोडेर रुनुहुन्थ्यो । महिला दर्शक मलाई छोएर रुन हाम फालेर आउनुहुन्थ्यो । त्यहाँबाट मैले फिल्मको शक्ति थाहा पाएँ । मेरो अभिनयको तह बढाउने फिल्म पनि यही हो ।’

आमा फिल्ममा सुरक्षाले कपाल काटेकी थिइन् । फिल्म चर्चामा आउन यो कारणले पनि सहयोग गर्‍यो ।

सुरक्षा भन्छिन्, ‘अभिनय गर्ने मान्छेले आफ्नो शरीरलाई साधनको रूपमा प्रयोग गर्न सक्नुपर्छ । कपाल काट्नु–खौरनु, दाह्री पाल्नु–काट्नु, मोटाउनु–घट्नु भनेको कामको एउटा पाटो हो । कपाल काट्नु, त्याग्नु ठूलो कुरा होइन ।’

सुरक्षाले यही फिल्मबाट उत्कृष्ट अभिनेतृको राष्ट्रिय पुरस्कार प्राप्तसमेत गरिन् ।

नाम लिन मन नलाग्ने फिल्म

सुरक्षाले ‘पोइ पर्‍यो काले’ फिल्ममा सानै भूमिका भने पनि निर्वाह गरेकी छिन् । चरित्र नायिकाको परिचयमा सफल बन्दै गर्दा रंगभेदको विषयमा बनेको फिल्मको सानो भूमिकामा किन मोह जाग्यो, उनैलाई थाहा छैन ।

यद्यपि उनी सो चलचित्रको नाम नै रुचाउँदिनन् । कोहीले ‘पोइ पर्‍यो काले’को कलाकार भन्दासमेत उनी खुसी हुँदिनन् ।

उनी भन्छिन्, ‘आमा, धनपति जस्ता फिल्म गरेर आएकी नायिकालाई रंगभेदको विषयमा बनेको फिल्मबाट चिन्छु भन्छन् । मलाई चाहिँ यार, बिर्स न भने जस्तो लाग्छ ।’

कान्सले बढाएको रेट

सुरक्षा सन् २०२२ मा आफ्नो अभिनय यात्रालाई इटालियन फिल्ममा समेत विस्तार गरिन् सफल भइन् । तर, उनले सो फिल्ममा निर्माण पक्षले आफूलाई अनुबन्ध गर्नुको कारण भने पत्ता लगाउन सकेकी छैनन् ।

उनी भन्छिन्– अझै मलाई ‘द ८ माउन्टेनस्’ मा किन म नै अनुबन्ध भएँ भन्ने लाग्छ । धेरै कलाकारहरूको अडिसन पनि गरिएको रहेछ । तर मलाई नै किन रोज्नुभयो, थाहा भएन ।

यद्यपि फिल्मलाई चाहेको एक्लै यात्रा गर्ने प्रकृतिको केटी पात्र र आफ्नो वास्तविक व्यक्तित्वसँग मिलेका कारण फिल्म अनुबन्ध गरिएको हुन सक्ने उनको अनुमान छ ।

खैर, यही फिल्मले सुरक्षालाई अभिनय यात्रामा नयाँ मुकाम दिलायो । यही फिल्मले उनी ‘कान्स फिल्म फेस्टिभल’मा रातो कार्पेटमा हिँड्ने पहिलो नेपाली नायिका बनेर इतिहास रचिन् ।

यस अवसरबारे उनी भन्छिन्, ‘हरेक कुकुरको दिन आउँछ भने जस्तै भयो । त्यो अवसर मेरो फिल्म यात्राको उच्च बिन्दु पनि हो । त्यसपछि नेपाली फिल्ममा पनि पारिश्रमिक बढ्यो । आफ्नो रेट भन्न सक्ने भएँ ।’

यद्यपि कान्ससम्मको यात्रा कलाकारको एउटा व्यवसायिक पाटोका रूपमा मात्र बुझ्न  उनको आग्रह छ ।

सोच्दै नसोचेका फोनहरू…

सुरक्षा आफ्नो कलाकारिताको यात्रा यहाँसम्म आउनको जस सोच्दै नसोचेका फोन कललाई दिन्छिन् ।

भीजे बन्न जाँदा निर्देशक आलोकको कलले फिल्ममा डेब्यू गरिन् ।

उनको निधनपछि फिल्मबाट विश्राम लिएको समयमा पनि अर्का निर्देशक साम्टेनको कलले फिल्ममा फर्कायो ।

आधा दर्जन फिल्म गरेपछि निर्देशक विजय कार्कीको फोनले नाटकमा होमिइन् ।

उनी भन्छिन्, ‘मलाई यस्तै नसोचेका कलले सफलता दिँदै आएको छ । यस्ता नसोचेको कल आयो भने काम राम्रो हुन्छ भन्ने विश्वास लाग्छ ।’

हावा केटी, फिल्ममा गम्भीर

सुरक्षा प्रायः सबै फिल्ममा गृहणी र बच्चाकी आमाको भूमिकामा देखिन्छिन् । सोही कारण उनलाई वास्तविक देख्ने मान्छे आश्चर्यमा पर्छन् । कारण– उनी शारीरिक रूपमा पर्दामा देखिएजस्तै परिपक्व छैनन् ।

उनी भन्छिन्, ‘मलाई धेरैले तपाईं पर्दामा ठूलो देखिनुहुन्छ, वास्तवमा त्यस्तो होइन रहेछ भन्नुहुन्छ । आफ्नो वास्तविकता फिल्ममा नदेखिनु नै अभिनय हो ।’

फिल्ममा निर्वाह गरेको पात्रले मानिसहरूले गम्भीर रूपमा लिए पनि वास्तवमा आफू हावा भएको बताउँछिन् ।

उनी थप्छिन्, ‘म हावा केटी हुँ । टम बोइ नेचरकी छु । केटाको सर्कलमा धेरै घुलमिल छु । वास्तविक पात्र अनुसार मैले स्पोट, कमेडी, एक्सन, एन्टागोनिस (भिलेन) फिल्म पाउनुपर्ने हो ।’

फिल्मबाट नाटकमा

प्रायः कलाकारहरू नाटकमा काम गरेपछि ठूलो पर्दामा आउने गर्छन् । तर, सुरक्षा आधा दर्जन फिल्म प्रदर्शनमा आएपछि नाटकमा प्रवेश गरेकी हुन् ।

नाटक क्षेत्रमा काम गर्ने व्यक्तिसँग घनिष्टता नभएका कारण ढिलो काम पाएको उनको बुझाइ छ ।  नाटकबाटै ठूलो पर्दामा आउँदा काम सहज हुने उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘निर्देशक विजय कार्कीले फोन गरेर नाटक गरौं, एउटा पात्र छ, गर्नु भन्नुभयो । नाटक राम्रो भयो । अभिनयमा पहिलादेखि नै भएर सहज पनि भयो ।’

उनले डेब्यू गरेको नाटक ‘क्लेश’ नेसनल स्कुल अफ ड्रामाले प्रत्येक वर्ष आयोजना गर्ने भारतको रंग महोत्सवमा मञ्चन हुँदैछ । नाटकका लागि टिम एक महिनापछि दिल्ली जाँदै छ ।

रातको रेट

फिल्म क्षेत्रमा प्रवेश गर्दाको समयमा अक्सर नायिका फिल्मको निर्माण पक्षकै सदस्यबाट यौन हिंसाको शिकार भएको अनुभव सुनाउँछन् ।

सुरक्षा भने फिल्म क्षेत्रमा लक्ष्य स्पष्ट राखेर र शिक्षित नारी भएकाले यस्ता हिंसाको सहज डिल गर्न सकेको बताउँछिन् । यद्यपि ‘रात बिताएको रेट’ सोध्न फोन आएको भने उनले बिर्सिएकी छैनन् ।

सुरक्षा थप्छिन्, ‘म फिल्ममा नयाँ हुँदा, सिधा रात बिताएको रेट कति हो भनेर फोन आउँथ्यो । मलाई हाँसो लाग्थ्यो । यस्ता पनि मान्छे हुन्छन् भन्ने लाग्थ्यो ।’

बोल्ने शैलीको आकलन गर्दा फोन गरेर रेट सोध्ने व्यक्तिको अनुभवी रहेको उनको अनुभवबाट अनुमान गर्न सकिन्छ । उनी भन्छिन्– म त्यस्ती होइन, गलत बुझ्नुभयो भन्दा उताबाट, ‘सबैको हुन्छ, तपाईंको रेट कति हो ?’ भन्ने प्रश्न आउँथ्यो ।

अहिले केमा व्यस्त ?

सुरक्षा अहिले वेभसिरिज ‘खेल’को छायांकनमा व्यस्त छिन् । यो फिल्म भारतीय टिमले नेटफिलिक्सलाई टार्गेट गरेर बनाएको हो ।

उनी भन्छिन्, ‘यसरी नै म फरक–फरक टिमसँग जोडिएकी छु । यस्तो कामले नै मलाई सफलता दिइरहेको छ ।’

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १६ बजे

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण