जन्म र मृत्युका बीचमा एउटा चीज सुटुक्क आएर बस्छ, त्यो हो– अस्पताल। स्वर्ग, नर्क, यो लोक, परलोकमा विश्वास गर्नेहरु पनि अशक्त भएपछि अस्पतालको शरणमा जानै पर्छ। अस्पतालमा डाक्टरले बिदा दिएर भगवान भरोसामा छोडेकाहरुसम्म पनि ब्रह्मनालको ट्रान्जिटमा रहेको पशुपतिनाथ आर्यघाट सेवा केन्द्रमा अन्तिम ढुकढुकीमा रहेकाहरु पनि नाफाको जिन्दगी लिएर फर्कने गरेका छन्। अझ आश्चर्य त ब्रह्मनालमा तेस्र्याएकाहरुलाई कालको मुखबाट फुत्काएको बेलिविस्तार लगाउँछन घाटे वैद्य।
२४सै घण्टा व्यस्त रहने आर्यघाटमा केवल शव अन्त्येष्टिका लागि मात्रै लैजान्छन् भन्ने धेरैको बुझाइ छ। तर आर्यघाटसँगै जोडिएको सेवा केन्द्रमा उपचारका लागि धेरैलाई लगिन्छ भन्ने थोरैलाई मात्रै थाहा छ। कसैका लागि यो ठाउँ बाँच्ने आशाको अन्तिम केन्द्र बन्ने गरेको छ।
हामी सेवा केन्द्रमा पुग्दा त्यहाँ एक युवा बिरामी आमालाई नजिकैको बेडमा राखेर अर्को बेडमा नर्स आउने बाटो हेर्दै बसिरहेका थिए। अल्जाइमर, सुगर र अल्सरले लामो समयदेखि थला परेकी ६४ वर्षकी आमालाई केही गरी बचाउन सकिन्छ कि भन्दै उनले आर्यघाटको सेवा केन्द्रमा पुर्याएका रहेछन्।
खबरहबसँग कुरा गर्दै उनले भने-‘आमालाई सितापाइलामा रहेको केयरहोममा राखिएको थियो। केही सुधार भएन। यो सेवा केन्द्रको बारेमा सुनेको थिएँ। यहाँ ल्याएको दुई दिन भयो सुधार त केही भएको छैन। केही दिन हेरौं सुधार हुन्छ कि नत्र केयर होममै फिर्ता लिएर जान्छु।’
हामी सेवा केन्द्रमा पुग्दा त्यहाँ एक युवा बिरामी आमालाई नजिकैको बेडमा राखेर अर्को बेडमा नर्स आउने बाटो हेर्दै बसिरहेका थिए। अल्जाइमर, सुगर र अल्सरले लामो समयदेखि थला परेकी ६४ वर्षकी आमालाई केही गरी बचाउन सकिन्छ कि भन्दै उनले आर्यघाटको सेवा केन्द्रमा पुर्याएका रहेछन्।
यसरी धेरै जनाले आर्यघाटको यो सेवा केन्द्रबाट सेवा लिइसकेका छन्। उपचार गराउँदा-गराउँदा केही सीप नलागेपछि अन्तिम आशाका रूपमा यो सेवा केन्द्रमा ल्याइने गरिएको छ। कति बिरामी निको भएर घर फर्किन्छन् पनि।
जसको उदाहरण हुन् भवनाथ भट्टराई। वि.सं. २०५९ सालको घटना हो। सुनसरीको इनरुवाबाट उपचार गर्न आएका ८० वर्षीय भवनाथ भट्टराईलाई काठमाडौं मेडिकल कलेजले जन्डिस भएको बतायो। एक महिनासम्म उपचार गर्दा पनि सन्चो भएन। थप उपचार हुन नसक्ने भन्दै घर पठायो। अन्तिम अवस्थामा पुगेपछि उनको परिवारजनले ‘सुखद मरण’ का लागि भन्दै ब्रह्मनालमा ल्याए।
यो सबै कुरा ब्रह्मनालमाथि मुक्ति मण्डलबाट पशुपति आर्यघाट सेवा केन्द्रका वैद्य सुवर्ण वैद्यले हेरिरहेका थिए। ब्रह्मनालमा राखेको मान्छे जीवित जस्तै देखेपछि तल ओर्लिए। तत्कालै सेवा केन्द्रमा ल्याएर राखे। तीन किसिमका औषधी खुवाएर आफ्नो निवासमा फर्किए। भोलि बिहान आउँदा भवनाथले आँखा खोले। ती उनै भवनाथ थिए, जसलाई अस्पतालले घर फर्काएको थियो। एक महिना १८ दिन सेवा केन्द्रको उपचारपछि उनी निको भएर घर फर्किए।
वैद्य सुवर्ण वैद्य ।
भवनाथ त एउटा उदाहरण मात्रै हुन्। घर परिवारले आशा मारेर अन्तिम अवस्थामा ब्रह्मनालमा पुर्याइएका कतिपय बिरामी आर्यघाट सेवा केन्द्रमा उपचारपछि निको भएर घर फर्किने गरेको वैद्य बताउँछन्। भवनाथले सुनसरी घर फर्किने बेला भनेका थिए, ‘वैद्यज्यू म कति वर्ष बाँच्छु ?’ मैले भनेँ, ‘तपाई १० वर्ष बाँच्नुहुन्छ।’ नभन्दै त्यसको १० वर्षपछि ९२ वर्षको उमेरमा भवनाथको मृत्यु भएको उनले बताए। आज पनि भवनाथका छोरीहरू मलाई भेट्न आइरहन्छन् वैद्यले भने।
तपाईंको एउटा फोटो दिनुस्। भगवानसँगै तपाईंको पनि फोटो राखेर पूजा गर्छु। भवनाथले भनेको यो शब्द आफूले अझै भुल्न नसकेको उनले बताए।
भवनाथले सुनसरी घर फर्किने बेला भनेका थिए, ‘वैद्यज्यू म कति वर्ष बाँच्छु ?’ मैले भनेँ, ‘तपाई १० वर्ष बाँच्नुहुन्छ।’ नभन्दै त्यसको १० वर्षपछि ९२ वर्षको उमेरमा भवनाथको मृत्यु भएको उनले बताए। आज पनि भवनाथका छोरीहरू मलाई भेट्न आइरहन्छन् वैद्यले भने।
महाकवि देवकोटाको त्यो अवस्था
भदौको महिना बागमती उर्लिरहेको थियो। भक्तजनहरू पशुपति परिक्रमा गरेर ब्रह्मनाल दर्शन गर्न आउँथे र शिवलिंगमा शिर झुकाएर फर्कन्थे। त्यही बिहान सुवर्ण वैद्य बाबुको हात समातेर पशुपति पुगे। उनका बाबु ब्रह्मनाल दर्शन गरेर भित्तापट्टिको सत्तलमा गए– जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए। त्यहाँ क्यान्सरले थिलथिलो बनाइएका देवकोटा जीवनको अन्तिम सास फेरिरहेका थिए।
देश-विदेशका अस्पताल चाहार्दा पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि परिवारजनले उनलाई त्यहाँ ल्याएका थिए। सुवर्णका पिता हीरानन्द वैद्य तीन सहरमात्र होइन, देशैभर नाम चलेका वैद्य थिए। ढुकढुकी बाँकी रहेका र ब्रह्मनालमै चोला बिसाउने इच्छा राख्ने बिरामीलाई हीरानन्दले औषधोपचार गर्थे। ओखतीमूलो गरिदिन्थे। कतिले केही दिनमा प्राण त्याग गर्थे। कति बौरिएर घरसमेत जान्थे।
उनले देवकोटाको नाडी छामे। नाडी धिमा गतिमा चलिरहेको थियो। त्यो अवस्थामा पनि देवकोटाको जिजीविषा घटेको थिएन। मेरो बुवा र महाकविको राम्रो चिनजान थियो। मेरो बुवाको ससुराली र महाकविको घर एउटै ठाउँ डिल्लीबजारमा भएकाले उहाँले मेरो बुवालाई ज्वाइँसाप भन्नुहुन्थ्यो। हीरानन्दले सोधे, ‘कविज्यू अहिले कस्तो छ त तपाईंलाई ?’उहाँको जवाफ थियो ‘ठीकै छु वैद्यराज।’ उनका पिताले महाकविलाई ‘सिद्धिप्राणेश्वर’ र ‘सञ्जीवनी’ नामक औषधि खुवाउँथे, जसले देवकोटाको नाडी चलाउँथे।
सुवर्णका पिता हीरानन्द वैद्य तीन सहरमात्र होइन, देशैभर नाम चलेका वैद्य थिए। ढुकढुकी बाँकी रहेका र ब्रह्मनालमै चोला बिसाउने इच्छा राख्ने बिरामीलाई हीरानन्दले औषधोपचार गर्थे। ओखतीमूलो गरिदिन्थे। कतिले केही दिनमा प्राण त्याग गर्थे। कति बौरिएर घरसमेत जान्थे।
पेटीमा र सत्तलका वरिपरि त्रिचन्द्र कलेज, पद्मोदय स्कुल र जुद्धोदय माध्यमिक विद्यालयका विद्यार्थी थिए। उनीहरूका आँखामा महाकविप्रति अनन्य श्रद्धाभाव थियो। तर, उनी निर्दयी नियतिको चपेटामा परिसकेका थिए। कतिखेर मृत्यु आउँछ र सदाका लागि अदृश्य बनाइदिने हो भन्ने कुनै टुंगो थिएन।
हिजोसम्म धर्म कर्म केही पनि मान्दिन भन्ने देवकोटाले अन्तिम अवस्थामा भगवानको स्मरण गरे। आफ्नो हातमा केही नरहेको निष्कर्ष महाकविले निकाले। सुवर्णको बालमनोविज्ञानले नजिकबाट त्यो सत्य पढ्यो। त्यतिबेला उनी मात्र १० वर्षका थिए। उनको सम्झनाअनुसार देवकोटालाई १० दिन त्यहीँ राखियो। २०१६ भदौ २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा देवकोटाको भौतिक शरीर धर्तीबाट सदाका लागि अस्तायो।
कसरी सुरु भयो पशुपति आर्यघाट सेवा केन्द्र?
पहिले अस्पतालका नाममा परोपकार अस्पताल मात्रै थियो। १९४७ सालमा वीर अस्पताल स्थापना भयो। त्यसपछि अन्य अस्पताल खुल्दै गए।
त्यसअघि वैद्यकै उपचारमा भर परिन्थ्यो। नेपालको पहिलो वैद्य भनेर चिनिने मिलन वैद्यका सन्तान हुन् सुवर्ण वैद्य। त्यही सीप बाजे र बुबा हुँदै आफूमा हस्तान्तरण भएको उनी सुनाउँछन्। आयुर्वेदिक जडिबुटीका लागि हामी जंगल जानै पर्दैन हाम्रै दैनिक जिवनमा भान्सामा प्रयोग हुने बेसार, मेथी, ज्वानो, सुँठ लगायत मसलाले नै कतिपय रोग निको पार्ने उनले बताए।
श्रीलंकाको राजपरिवारले समेत नेपालमा आएर आफ्नो पूर्खासँग उपचार गराएर निको भएको इतिहास उनले सुनाए। त्यहीपुख्र्यौली पेशालाई उनले २०५२ सालबाट संस्थागत रूप दिए।
श्रीलंकाको राजपरिवारले समेत नेपालमा आएर आफ्नो पूर्खासँग उपचार गराएर निको भएको इतिहास उनले सुनाए। त्यहीपुख्र्यौली पेशालाई उनले २०५२ सालबाट संस्थागत रूप दिए। ‘घाटको किनारमा एउटा बेड राखेर सेवा सुरू गरेँ। अहिले ३५ बेड छन्’ वैद्य भन्छन् , ‘यो सबै उपचारपछि स्वास्थ्यलाभ भएका व्यक्तिले गरेको दानबाटै बनेको हो।” बाँच्ने आशा मारिसकेर झिनो आशा लिएर आएकाहरू नयाँ जीवन पाउँदा आफूलाई आनन्दको अनुभूति हुने उनी बताउँछन्।
आफ्नो इच्छाले सहयोग गरे मात्र नत्र बिरामी त्यहाँ बसुन्जेल खाने बस्ने, औषधि उपचार कुनै पनि कुराको पैसा नलिएको वैद्यका भनाइ छ। यसरी निःस्वार्थ लामो समयसम्म सेवा गरिरहँदा सरकारले आफ्नो योगदानको कदर गर्नुपर्ने सुवर्ण बताउँछन्। मासिक २ सयबाट सेवा सुरु गरेका ‘घाट वैद्य’लाई अहिले पशुपति विकास कोषले मासिक ८ हजार दिने गरेको छ। सेवा केन्द्र २४ घण्टा नै खुला रहन्छ भने उनलाई १ जना नर्स र अन्य स्वयम् सेवकहरूले साथ दिँदै आइरहेका छन्।
कस्ता कस्ता बिरामी ल्याइन्छ ?
पशुपति आर्यघाट सेवा केन्द्रमा तीन किसिमका बिरामी आउने गरेको सेवा केन्द्रमा कार्यरत नर्स कल्याणी विष्ट बताउँछिन्। उनका अनुसार अस्पतालले निको हुँदैन भनेर घर फर्काएका, पशुपतिमै गएर मर्छु भन्ने चाहना भएका यहाँ ल्याइन्छ।
सेवा केन्द्रमा कार्यरत नर्स कल्याणी विष्ट
काठमाडौंमा भाडामा बस्नेहरु अन्तिम अवस्थामा यहाँ ल्याइनेमा पर्छन। घरबेटीले आफ्नो घरमा प्राण गएको नसहने भएकाले त्यस्ता व्यक्तिका लागि पनि घाटको अस्पताल अन्तिम विकल्प बन्ने गरेको छ। त्यसरी आएका बिरामीबाट थोरै रुपैयाँ धरौटी राखेर बिरामीको उपचार सुरु गरिन्छ।
बिरामी केही दिनमा बितिहाले भने सरसफाइको काटेर फिर्ता गरिन्छ। कतिपयले फिर्ता लिन्छन्, कतिले लिदैनन्। उपचारका लागि आउने एक सय जना मध्ये ३/४ जना रामै्र भएर फर्किने गरेको कल्याणी बताउँछिन्।
विगत १० वर्षदेखि सेवामा लागेकी कल्याणी भन्छिन्- यहाँ आएपछि संसारी माया केहो सबै बुझेँ। अव बाँचुञ्जेल यसरी नै अन्तिम अवस्थाका बिरामीको सेवा गर्न चाहन्छु , जसले मलाई आनन्दको अनुभूति हुन्छ।
प्रतिक्रिया