उपेन्द्रलाई बिदा गरेर रञ्जिता र महन्थलाई भित्र्याउने प्रचण्डको तयारी | Khabarhub Khabarhub

उपेन्द्रलाई बिदा गरेर रञ्जिता र महन्थलाई भित्र्याउने प्रचण्डको तयारी

मधेसको मुख्यमन्त्री ग्यारेन्टी भए जनमत पनि मिसिने



काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हटाएर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भित्र्याउने तयारी भएको छ ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो वार्ता भएको छ । त्यसपछि उपेन्द्रलाई सरकारबाट हटाएर रञ्जितालाई भित्र्याउने तयारी भएको हो ।

त्यसपछि माओवादी र एमाले दुवैले मधेस प्रदेश सरकार छाडिसकेका छन् । यसबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘१ गते नीति तथा कार्यक्रम आउँदै छ । त्यसपछि विकसित घटनाक्रमले के भन्छ ।’

स्रोतका अनुसार उपेन्द्रले सरकार छाडे लोसपा र जनमतको पनि इन्ट्री हुने सम्भावना उत्तिकै छ । तर यी सबै घटनाहरू २ गतेपछि मात्रै सुरु हुने बताइएको छ ।

तर यसबारे रञ्जिता केही बोलेकी छैनन् । किनकि उनलाई मन्त्री बनाउन प्रचण्डभन्दा ओली बढी खटिरहेका छन् ।

यता पार्टी संरक्षक रेशम चौधरी अहिले सरकारमा जान नहुने अडानमा छन् । उनले यसबारे भने, ‘पार्टी अध्यक्षले के गर्नुहुन्छ हेरेर बसेको छु ।’ रेशमले यसो भने पनि रञ्जिता सरकारमा जान ओली र प्रचण्डसँग निरन्तर छलफलमा रहेको बालुवाटार स्रोतको भनाइ छ ।

तर रञ्जितालाई स्वास्थ्य मन्त्रालय दिने या पुरानै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनेबारे छलफल जारी छ । स्रोले भन्यो, ‘उहाँलाई पहिलाकै मन्त्रालय पर्न पनि सक्छ । ’

भूमि मन्त्रालयमा एमालेका बलराम अधिकारी छन् । उनीसँग साटफेर या अन्य मन्त्रीलाई स्वास्थ्यमा पठाएर अधिकारीलाई व्यवस्थापन गर्ने तयारी छ ।

तर रेशम र रञ्जिताको जुहारी नरोकिए लोकतान्त्रिक समाजवादीलाई ल्याउने सम्भावना पनि उत्तिकै छ । मधेसमा लोसपा पनि एमाले र माओवादीसहितको गठबन्धमा मिसिँदैछ । उपेन्द्र सरकारबाट बाहिरिएपछि अशोक राईको बार्गेनिङ पावर बढ्न सक्छ छ । तर उनलाई थप मन्त्रालय दिन नसकिने सत्ता पक्षका नेताहरूको भनाइ छ ।

यता उपेन्द्र भने सरकारबाट बाहिरिने तयारीमा छन् । उनी सोमबार बस्ने केन्द्रीय कार्यकारिणीपछि सरकार छाड्ने तयारीमा छन् । उनले खबरहबलाई भने, ‘प्रधानमन्त्रीजीले निस्किनु भनेको दिन निस्कन्छु ।’

जसपा प्रवक्ता मनिष सुमन भने आफूहरू भोलि पार्टी केन्द्रीय कार्यकारिणी बैठक बसेर सरकारमै बस्ने या बिदा हुने निर्णय लिने बताउँछन् ।

उनले खबरहबलाई भने, ‘विकसित घटनालाई नजिकबाट नियालिरहेका छौँ । भोलि बैठक बसेर निर्णय लिन्छौँ ।’

जसपा नेपाल वैशाख १३ गते अशोक राईले फुटाएका थिए । १२ संसद् रहेको जसपामा पार्टी फुटेपछि राई नेतृत्वको नयाँ जसपामा ७ र यादवतिर ५ संसद् खुलेका छन् ।
राईले निर्वाचन आयोगमा जसपा दर्ता गराएका छन् । अशोक राई सरकारबाट बिदा नहुने बरु अझै एकजना मन्त्री थप्ने दाउमा छन् ।

राईले खबरहबलाई भने, ‘हामी त सरकारबाट बिदा हुने कुरा छैन । झन् बलियो रूपमा प्रधानमन्त्रीलाई साथ दिएका छौँ । अरू जस्तो सरकारको घर बिगार्ने खेलमा लाग्दैनौँ ।’

अहिले प्रधानमन्त्री प्रचण्ड चितवनमा छन् । उनी भोलि बेलुका मात्रै फर्किने कार्यक्रम रहेको प्रेस सल्लाहकार मनोहरि तिम्सिनाले बताए ।

‘प्रधानमन्त्रीज्यू मन्त्री परिवर्तन गर्ने खेलमा हुनुहुन्न । उहाँ संसद्को अवरोध कसरी हटाउने भन्ने चिन्तामा हुनुहुन्छ । उपेन्द्रजीले सरकार छाड्नुभयो भने त्यहीअनुसार हुन्छ । तर बाहिरका हल्लाजस्तो यो मन्त्री हुने भन्ने छैन’, उनले भने ।

फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका प्रचण्डको पक्षमा १५७ मत थियो । यस्तै कांग्रेसहितका ११० सांसदको मत विपक्षमा पर्यो ।

अब जसपाका ५ संसद् बाहिरिँदा पनि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्दैनन् । ५ संसद् बाहिरिँदा १ सय ५२ संसदको समर्थन यथावत रहन्छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि अहिले नै सरकार छाड्ने योजनामा छैन । यसो हुँदा तत्काल नाटकीय परिवर्तन नभए प्रचण्ड अल्पमतमा पर्ने सम्भावना देखिँदैन । माधव नेपाल प्रधानमन्त्री मिले मात्रै गठबन्धनबाट दायाँबायाँ गर्ने योजनामा छन् । तर उनको पोल्टामा प्रधानमन्त्री पद पर्ने सम्भावना कमजोर छ ।

मुख्यमन्त्री मिले जनमत पनि मिसिने

मधेस प्रदेशमा सरकारको ग्यारेन्टी भए डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि संघीय सरकारमा सहभागी हुन् भएको छ । पार्टी प्रवक्ता सरदसिहं यादवले भने, ‘हामीलाई मधेसको विकाश गर्नु छ । यहाँका जनताको सेवक बन्नु छ । मधेस सरकारको नेतृत्व ग्यारेन्टी भए संघमा जान्छौँ । केन्द्रमा जसले चलाए पनि हुन्छ ।

अध्यक्ष राउत पनि मधेस प्रदेश सरकारमा मुख्यमन्त्री खोजिरहेका छन् । मधेसमा मुख्यमन्त्री मिल्ने अवस्थामा केन्द्र सरकारमा जाने पक्षमा उनी छन् ।

तर मधेसमा अहिले एमालेबाट मुख्यमन्त्री बनाउने चर्चा छ । यस्तोमा जसपाका सरोज यादवको ठाउँमा एमालेका सरोज यादव मुख्यमन्त्री हुनेछन् । तर यसबारे एमालेले कुनै निर्णय गरेको छैन । नयाँ बन्ने गठबन्धमा पनि संवाद जारी छ ।

मुख्यमन्त्री जनमत कि एमाले ?
मधेस सरकारमा अहिले केन्द्रीय सत्ता गठबन्धनको निर्णय बमोजिम एमाले या माओवादीको सरकार बन्ने अवस्था रहेको नेताहरू बताउँछन् ।

माओवादीले दाबी गरे पनि एमालेबाटै सरकारको नेतृत्व गर्ने दिशामा छलफल भइरहेको छ । जनमतलाई तत्काल सरकारमा ल्याएर भाग दिने–नदिने कुराले केन्द्रमा पनि अलमल छ ।

२३ र ८ जना सांसद भएका एमाले र माओवादी आइतबार मधेस प्रदेश सरकारबाट बाहिर निस्किएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।

यादवले ४ वैशाखमा विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई मधेसमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले यादवलाई समर्थन गरेका थिए । ३१ सांसदले साथ छाडेपछि अब उनको पक्षमा ३० सांसद मात्र छन् ।

मधेस प्रदेश सरकार गठनमा लागि ५४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । मधेसमा केन्द्रमा जस्तै नेपाली कांग्रेस, जनमत र लोसपा लगायत दल प्रतिपक्षमा छन् ।

मधेसमा एमालेको २३ सिट, कांग्रेस २२ सिट, जसपा १६ सिट, जनमत १३ ,लोसपा ९, माओवादी ८, एकीकृत समाजवादी ७, स्वतन्त्र ६, राष्ट्रिय प्रजातन्त्र पार्टी १ , नेपाल संघीय समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी १ सिट छ ।

यसो हुँदा एमाले, जनमत जसले सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्री बने पनि सरकार बन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ३१ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको