२२ मध्ये ६ जलविद्युत आयोजनामा मात्र ‘जनताको लगानी’ | Khabarhub Khabarhub

२२ मध्ये ६ जलविद्युत आयोजनामा मात्र ‘जनताको लगानी’



काठमाडौं – पाँच वर्षअघि निकै तामझामका साथ अघि बढाइएको जनताको जलविद्युत कार्यक्रम ओझेलमा पर्दै गएको छ । वि.सं. २०७५ फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी अघि बढेको उक्त कार्यक्रमको कार्यान्वयन प्रक्रिया प्रभावकारी हुन नसकेको हो ।

खासगरी तीन वर्षमा ३ हजार मेगावाट, पाँच वर्षमा ५ हजार र १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यअनुरूप सरकारले जनताको जलविद्युत कार्यक्रम अघि बढाएको थियो । त्यसका लागि २० खर्ब रुपैयाँ आवश्यक पर्ने सरकारको अनुमान थियो । त्यसमध्ये १० खर्ब रुपैयाँ त बैंक तथा वित्तीय संस्था र जनतालाई सेयर दिएर पूँजी जुटाउने योजना सरकारले लिएको थियो । तर, कार्यक्रम सुरु भएको मध्यावधि पूरा हुँदासमेत लक्ष्यअनुसार पूँजी जुट्न सकेको छैन ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत सेयरधनी’ नाम दिइएको कार्यक्रम लागि सरकारले प्रतिफल दिने आकर्षक आयोजना भनेर २२ वटा जलविद्युत आयोजना छनोट गरेको थियो । हाल ६ वटा जलविद्युत आयोजनामा मात्र जनताको लगानी हुने सुनिश्चितता भए पनि बाँकी १६ वटा आयोजना कार्यान्वयनमा जान सकेका छैनन् ।

हालसम्म १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १४.८ मेगावाटको अपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन र ३७ मेगावाटको अपर त्रिशूली–३ बी जलविद्युत आयोजनामा जनताको सेयर लगानी जुटेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । तामाकोशी–५ र जगदुल्ला–१ जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएर निर्माणको चरणमा लैजान सकिने अवस्था रहेको मन्त्रालयका प्रवक्ता नवीन सिंहले बताए ।

अन्य आयोजनाहरूका सन्दर्भमा सेयरको मोडालिटीअनुसार अघि बढाउने चरणमै रहेको उनको भनाइ छ । उनका अनुसार, ७२५ मेगावाटको अपर अरूण जलविद्युत आयोजनालाई पनि जनताकै लगानीमा अघि बढाउने गरी प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

मूख्यतया वित्तीय व्यवस्थापन भएर निर्माणको चरणमा जाने आयोजनाबाट जनताले कहिलेसम्म प्रतिफल पाउँछन्‌ ? जनताको सेयर र प्रतिफलको ग्यारेन्टी सरकारले गर्न सकेको छैन । जनताबाट सेयर उठाएर पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि हालसम्म एउटा मात्रै पनि आयोजना निर्माण पूरा हुन सकेको छैन । छनौट गरिएका आयोजनामा कहिलेसम्म पूँजी जुट्छ ? निर्माण सुरु हुन्छ ? निर्माण कहिले पूरा हुने ? र प्रतिफल कहिले पाउने ? भन्ने कुरामा सरकारले स्पष्ट मापदण्ड बनाउन सकेको छैन । जसकारण कार्यक्रम प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन् ।

जनतालाई लगानी र प्रतिफलको ग्यारेन्टी विश्वास नदिलाई हचुँवाका भरमा कार्यक्रम घोषणा गरिएको ऊर्जाविज्ञ सूर्य अधिकारी बताउँछन् । ‘जनतालाई जलविद्युतको मालिक बनाउने योजना बनाउँदै गर्दा उनीहरूको लगानी र प्रतिफलको ग्यारेन्टी सरकार गर्नुपर्थ्यो’, उनले भने, ‘त्यसतर्फ सरकारको ध्यान गएन ।’

जनताको लगानी भनेपछि प्रत्येक आयोजना अन्तिम चरणमा पुगेर लगानी गर्ने हो । तर, यहाँ आयोजनाको लागत, प्रतिफल, लगानी सुनिश्चित हुने/नहुने केही थाहा छैन, अनि पैसा उठाएर ब्याजसहित नाफा दिन्छु भन्नु गलत रहेको अर्का ऊर्जा उद्यमी कुमार पाण्डे बताउँछन् ।

सरकारले कार्यक्रम अघि बढाउँदा देखि नै गलत नीति लिएको उनको भनाइ छ । ‘यो कार्यक्रममा सरकारको नीति नै गलत थियो र जनताबाट उठाएको लगानीका आयोजना आयोजना सम्पन्न हुने/नहुने र कहिले सम्पन्न हुने अत्तोपत्तो छैन,’ उनले भने, ‘सरकारी आयोजना निर्माण एक त महँगो हुने र अर्को ब्याज र पेन्सन दिन्छु भन्नु गलत हो ।’

सरकारले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन र व्यवस्थापन) कार्यविधि बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बनाएको कार्यविधिमा जलविद्युत आयोजना निर्माण गर्ने कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको रहने व्यवस्था छ । संस्थापक सेयरअन्तर्गत सम्बन्धित प्रदेश र स्थानीय तहको ५/५ प्रतिशत र ४१ प्रतिशत नेपाल सरकारको रहने व्यवस्था छ ।

त्यस्तै, सर्वसाधारण सेयरअन्तर्गत कम्पनीमा कार्यरत कर्मचारीका लागि तीन प्रतिशत, आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १० प्रतिशत, अन्य जिल्लाका बासिन्दालाई ३३ प्रतिशत र विद्युत आयोजनाको प्रसारण लाइनबाट प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दालाई ३ प्रतिशत सेयर बिक्री गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : ३८ बजे

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन

तनहुं– पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

दमौली– मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण

बेलायती चुनाव : सत्तामा फर्कियो लेबर पार्टी, स्टारमर प्रधानमन्त्री बन्ने

काठमाडौं– केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल

सुनसरीमा आँप उत्पादन घट्यो

धरान– जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा  मूल्य बढेको