‘पूर्वमाओवादीले नै माओवादी केन्द्रलाई राम्रो भन्न छाडे’ | Khabarhub Khabarhub

‘पूर्वमाओवादीले नै माओवादी केन्द्रलाई राम्रो भन्न छाडे’

१७ वर्ष सरकारमा बसेको उपलब्धिको समीक्षा गर्न नेतृत्वलाई सुझाव



काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ। पर्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार २८ गते सरकारबाट बिदा भएपछि पहिलोपटक स्थायी कमिटी बैठक बसेको हो। बैठक २५ गतेदेखि निरन्तर जारी छ ।

सबै स्थायी कमिटी सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि सोमबार पनि बैठक जारी रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘पार्टीको भविष्यबारे कमरेडहरूले धारणा राखिरहनुभएको छ । त्यसैले आइतबार पनि बैठक सम्पन्न गर्न नभएपछि सोमबार निरन्तर चलेको छ’ सापकोटाले भने, ‘यो बैठकले माओवादीलाई नयाँ कार्यदिशा र नयाँ सोचका साथ अगाडि बढ्न महत्वपूर्ण ऊर्जा र बाटो देखाउनेछ।’

बैठकमा शनिबार उपमहासचिव जनार्दन शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरे। आइतबार बोल्ने क्रममा १४ नेताहरूले जनार्दनको प्रस्तावबारे धारणा राखेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए ।

प्रतिवेदन बनाउनुअघि जनार्दनले गरेका थिए सातै प्रदेशमा छलफल

तीन नेताले खबरहबसँग भने, ‘उपमहासचिवले उठाउनुभएका कतिपय विषयमा हाम्रो पनि एकमत छ। पार्टी रूपान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने कुरामा हामीले उहाँलाई सहयोग गर्नेछौँ। तर, तत्काल प्रचण्डको विकल्प देखिहालेका छैनौं । विशेष महाधिवेशन गर्नुपर्छ भन्ने पनि हाम्रो माग हो। तर पार्टीमा तत्काल प्रचण्डको विकल्पमा जनुपर्छ भन्ने कुरामा हाम्रो सहमति नहुन सक्छ।’

आइतबार उपाध्यक्ष पम्फा भुसालले पनि जनार्दन शर्मा केही कुरामा सहमति जनाएकी थिइन् । तर विस्तृत रुपमा उनले त्यस विषयमा बोल्न चाहिनन् । भुसालले जनतामा पार्टीप्रति निराशा बढ्दै गएकाले आशा जगाउने कार्यक्रम र योजना अघि सार्न नेतृत्वले तत्काल भूमिका खेल्नुपर्ने बताएकी थिइन्।

यस्तै अर्का नेता हितमान शाक्यले पनि पूर्व माओवादीहरूले नै माओवादीलाई राम्रो भन्न छाडेकाले जागरुक गराउने कार्यक्रम नल्याए अर्कोपटक पार्टी तल्लो स्तरमा झर्ने धारणा राखेका थिए।

‘१७ वर्ष सरकारमा बसेको समीक्षा गरौं’

माओवादी केन्द्र नयाँ संविधान जारी भएयता निरन्तर सरकारमा रहँदै आएको छ। माओवादीले १७ वर्षसम्म सरकारको नेतृत्व गर्दा जनतामा कति आशा जगाउन सक्यो ? यसको हिसाब पनि नेताहरूले खोज्न थालेका छन् । नेतृत्व सरकारमा रहँदा पार्टीलाई कति जागरुक बनाउन सक्यो भन्ने विषयमा पनि छलफल हुनुपर्ने कुरा शनिबार र आइतबार बोल्ने वक्ताहरूले राखेका छन् ।

बैठकमा सहभागी एकजना स्थायी कमिटी सदस्यले खबरहबलाई भने, ‘यतिका वर्ष पार्टी सरकारमा जाँदा जनतामा कति आशा जगाउन सकियो, जनताले पार्टीलाई राम्रो भने या निरन्तर ओरालो लगाए, समाजवाद कति नजिक आयो अथवा टाढा गयो, जनतामा पार्टीले आशा भर्न सक्यो भन्नेबारे पनि गहन रुपमा छलफल हुनुपर्ने अधिकांश कमरेडहरूले उठाउनु भएको छ ।’

स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले माओवादीप्रतिको दृष्टिकोण फरक ढङ्गमा प्रस्तुत भएको भन्दै गाउँँगाउँमा पार्टी जागरण अभियान चलाउनुको विकल्प नरहेको बताएका छन् ।

अर्का स्थायी कमिटी सदस्य महेश्वर गहतराजले पनि पार्टीको कार्यनीतिबारे गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् । उनले सरकार र सडकको उपलब्धिका विषयमा चर्चा नगरे पार्टीको हालत आउँदो निर्वाचनमा कमजोर हुने बताए ।

अध्यक्ष प्रचण्डनिकट नेता मानिने नेता शक्तिबहादुर बस्नेत र उर्मिला अर्यालले भने सरकारले राम्रो काम गर्न खोजेको स्थितिमा ठूला दलहरू तर्सिएर माओवादी नेतृत्वलाई नै पछार्न जुटेको तर्क गरेका थिए ।

स्थायी कमिटी बैठकमा बोल्ने वक्ताहरू जनार्दन शर्मा, कमला रोका, ओन्सरी घर्ती, पूर्णकुमारी सुवेदी काली बहादुर मल्ल, प्रलाद बुढाथोकी , हकी हाकीकुल्ला खाड, जोखबहादुर महरा, जयपुरी घर्ती, शशी श्रेष्ठ लगायतले पार्टी सच्चिएर अगाडि बढ्न ढिलो गर्न नहुने बताए । उनीहरूले जनतामा आशा जगाउन सक्ने रूपान्तरणकारी कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

उनीहरूले पनि विशेष महाधिवेशन गरेर पार्टीलाई नयाँ ढाँचाबाट अगाडि बढाउनु पर्नेमा कुरामा पनि साझा मत राखेका थिए । तर नयाँ नेतृत्वबारे उनीहरू तत्कालका लागि तयार भएका छैनन् ।

संगठनात्मक संरचना फेर्न माग

पार्टी उपमहासचिव शर्माले पनि संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने कुरा उठाउँदै आएका छन्। यसमा सचिवहरु राम कार्की, देवेन्द्र पौडेल र पूर्व सञ्चारमन्त्रीसमेत रेखा शर्माले पनि सहमति जनाएकी छन् ।

खबरहबको प्रश्नमा पूर्वसञ्चारमन्त्री शर्माले यसबारे बोल्न चाहिनन् । यसअघि कार्कीले खबरहबसँगको कुराकानीमा पार्टीको संरचनात्मक ढाँचा फेरेर जानुपर्नेमा जोड दिँदै आएका थिए ।

उनले त्यसबेला भनेका थिए, ‘लेनिनले बनाएको पुरानो सिद्धान्तलाई अब पार्टीले अङ्गिकार गर्ने अवस्था हराउँदै गएको देखिन्छ । त्यो सिद्धान्तलाई पनि अपनत्व गर्दै नयाँ सिद्धान्त र नेतृत्वको विकास गर्नुपर्ने आवश्यकता छ ।’

यस्तै नयाँ संरचना र विशेष महाधिवेशनको विषयमा महासचिव देव गुरुङले पनि पार्टी प्रवक्ताले सम्पूर्ण जानकारी दिने भन्दै बोल्न चाहेनन् ।

यता पार्टी प्रवक्ता सापकोटाले नयाँ कार्यक्रमसहितको संगठनात्मक संरचना बनाएर जनतामा जान सबैले सुझाव दिएको बताए । पार्टीले नयाँ कार्यक्रम लिएर जनतामा जाने कुरामा सबैको सहमति रहेको उनले बताए ।

स्थायी कमिटी बैठकमा सरकारभित्र र सरकार बाहिर पनि मोर्चा बनाएर नेकपा माओवादी केन्द्रले जनताका आवाज उठाउनेबारे पनि छलफल भएको सापकोटाले जानकारी दिए ।

जनार्दनको प्रतिवेदन बाहिरिँदा रिसाए नेता

शनिबार उपमहासचिव शर्माले प्रस्तुत गरेको प्रतिवेदन पार्टीभित्र नै रहनुपर्ने विषयमा सबै नेता एकमत थिए ।

प्रतिवेदनलाई प्रिन्ट गरेर मेल गरिएको पार्टी अफिसको कम्प्युटरबाट पनि हटाउन लगाइएको थियो । तर एकाएक आइतबार बिहान उक्त प्रतिवेदन सञ्चारमाध्यममा सार्वजनिक भएपछि माओवादी पदाधिकारीहरू शर्मासँग रुष्ट भएका छन् ।

पार्टीको आन्तरिक कुरा तत्काल बाहिर लान नहुने बताउँदै नेताहरूले प्रतिवेदन चुहाउने व्यक्तिबारे खोजी हुनुपर्ने कुरा उठाएका थिए ।

बैठकमा सहभागी अर्का स्थायी कमिटी सदस्यले भने, ‘हामीलाई मात्रै अध्ययनका लागि भनेर दिइएको प्रतिवेदन आइतबार बिहान हेर्दा सञ्चारमाध्यममा छाइसके छ । पार्टीभित्रको आन्तरिक कुरालाई यसरी चुहाउनु उपयुक्त थिएन कि भन्ने हामीलाई लागेको छ।’

ती नेताका अनुसार अध्यक्ष प्रचण्ड लगायतका अन्य पदाधिकारीहरूले पनि जनार्दनको प्रतिवेदन बाहिरिएपछि ठीक नभएको बताएका छन्।

प्रचण्ड सुनिरहे , बोलेनन्

आइतबार १४ जना पार्टीका स्थायी कमिटी सदस्यहरूले विचार राख्दा प्रचण्डले जवाफ फर्काएनन् । उनले नेताहरूको कुरा सुनेका छन् । जवाफ नफर्काएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

सापकोटाले सञ्चारकर्मीहरूसँग भने, ‘स्थायी कमिटी सदस्यहरूको सुझावलाई पार्टी अध्यक्षले महत्त्वपूर्ण दस्तावेजका रूपमा टिपोट गरिरहनुभएको छ। उहाँ बोल्ने कार्यक्रम थिएन, बोल्नु भएन, सुझाव सुनिरहनु भएको छ। ’

सापकोटाले बैठक समापनका दिन मात्रै अध्यक्षले स्थायी कमिटी सदस्यहरूलाई जवाफ दिने कार्यक्रम रहेको जानकारी दिए ।

अन्य नेतालाई नबोल्न ह्वीप

स्थायी कमिटीको बैठकमा प्रवक्ताबाहेक अन्य नेतालाई बोल्न निषेध गरिएको छ । बैठकको जानकारी प्रवक्ता सापकोटाले दिनेगरी अन्य नेताहरूले प्रतिक्रिया नजनाउने सहमति गरेका छन्।

अझै आइतबार उपमहासचिव शर्माको प्रतिवेदन बाहिरिएपछि नेताहरू मिडियासामु परेका छैनन् । आइतबारको बैठकबाट निस्किँदै पार्टी उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, स्थायी कमिटी सदस्य रेखा शर्मा , सचिवद्वय राम कार्की र देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य ओनसरी घर्ती, शक्ति बस्नेत लगायतले जवाफ दिएनन् । उनीहरू सबैले प्रवक्ताले नै पार्टी बैठकबारे जानकारी दिने बताए ।

टीआरसी विधेयक टुङ्गिएकोमा खुसी

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्गो लागेकोमा नेताहरू खुसी भएको प्रवक्ता सापकोटाले बताए । टीआरसी विधेयक संघीय संसद्‍को कानुन समितिबाट पास भएर सदनमा प्रस्तुत हुन लागेको छ।

‘टीआरसी विधेयक टुङ्गो लागेकोमा सम्पूर्ण स्थायी कमिटी सदस्यहरू र पार्टीका शीर्ष नेताहरू खुसी हुनुभएको छ। यो चाँडै संसदबाट पास गर्ने कुरामा उहाँहरूको एक मत छ’ सापकोटाले भने, ‘१७ वर्षदेखि अड्किएको यो विधेयकले नयाँ ऊर्जा र पार्टीलाई पनि फाइदा हुने निष्कर्षमा हामी छौं ।’

उनले टीआरसी विधेयकमा कतिपय नेताहरूको असहमति छ ? भन्ने प्रश्नमा उनले थपे, ‘हामीले त्यस्तो असहमति देखेका छैनौं । किनकि हाम्रै पार्टीका उपमहासचिव जनार्दन शर्मा कमिटीमा रहेर त्यो विषय टुङ्गो नजिक छ । कतिपय कुरा मिलाउन बाँकी भए मिलाउँदै अगाडि बढिन्छ । हामीले यसलाई स्वागत गरेका छौ ।’

याे पनि…

जनार्दन लेख्छन्‌– माओवादीमा समाजवादी रटान, नवउदारवादी नीति !

 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ०० बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन