साना दलको ‘ट्रायल’मा ओली सरकार, उपसभामुख प्रकरणले संविधान संशोधनमै प्रश्न | Khabarhub Khabarhub

समाचार टिप्पणी

साना दलको ‘ट्रायल’मा ओली सरकार, उपसभामुख प्रकरणले संविधान संशोधनमै प्रश्न

दुईतिहाई जुटाउन नदिने प्रचण्डको प्रयासमा क-कसको साथ ?


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकार उपसभामुख इन्दिरा रानालाई हटाउने योजनाबाट ‘ब्याक’ हुने स्थितिमा पुगेको छ । संसदमा दुईतिहाई बहुमत जुटाएर उपसभामुखलाई फ्याट्ट हटाउन सकिन्छ भन्ने ठानेका प्रधानमन्त्री ओली सत्ता सहयात्रीकै असहयोगका कारण अप्ठ्यारोमा फसेका छन् ।

उपसभामुख रानाले राजीनामा नदिए उनलाई हटाएरै छाड्ने संसदमा सत्तारुढ एमालेका सांसदहरुले चेतावनी दिइरहेका थिए । कांग्रेसका सांसदहरु चाहिँ नैतिकताका आधारमा उपसभामुखले राजीनामा दिए राम्रो हुने बताउँदै एमाले भन्दा केही नरम रुपमा प्रस्तुत भइरहेका थिए ।

तर, सत्ता पक्षमै रहेका साना दलले भने उपसभामुख हटाउने एमालेको चाहनालाई पूरा हुन दिएनन् । संसदमा ६ सिट रहेको सिके राउत नेतृत्वको जनमत पार्टी उपसभामुखलाई हटाउने तयारीको विपक्षमा उभियो । अर्को सत्तारुढ दल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि उपसभामुखको विपक्षमा मत नदिने अडान राख्यो । खर्को सानो दल नागरिक उन्मुक्तिले पनि यसबारे निर्णय लिन सकेको अवस्था छैन ।

विपक्षमा रहेका रास्वपा, माओवादी, राप्रपा एकीकृत समाजवादी जस्ता दलले त झन् सरकारलाई साथ दिने कुरै भएन । यसरी सत्ता पक्षकै सिके राउत र अशोक राईहरुको साथ नपाएपछि उपसभामुख विरुद्ध दुई तिहाई पुग्ने सम्भावना लगभग टरेको छ ।

सत्ता गठबन्धनसँग १८० सांसद छन् । कांग्रेससँग ८८, एमालेसँग ७७, अशोक राई नेतृत्वको जसपासँग ७, नागरिक उन्मुक्तिका ४ र लोकतान्त्रिक समाजवादीका ४ समेत सत्तापक्षिसँग १८० सिट छ । जबकि उपसभामुखलाई हटाउन दुई तिहाई बहुमत पु¥याउन २७५ मध्ये १८३ सांसद चाहिन्छ ।

सत्तापक्षमै दल मिल्दा पनि तीनजना सांसद स्वतन्त्र या अन्य दलबाट तान्नुपर्ने हुन्छ । तर, सरकारमै रहेका सिके राउत र अशोक राई लगायतले साथ नदिएपछि ओली सरकार ‘ब्याक’ हुनुपर्ने स्थितिमा पुगेको हो ।

रानाको विकल्प को त ?

सत्तापक्षकै केही नेताहरुका अनुसार उपसभामुख इन्दिरा रानालाई हटाएर कसलाई उपसभामुख बनाउने भन्ने प्रश्नले गर्ला पनि सत्तापक्षको मतो मिल्न नसकेको हो ।

संविधानको धारा ९१ अनुसार सभामुख र उपसभधामुख मध्ये एकजना महिला हुनैपर्छ । र, दुईमध्ये एकजना फरक दलको हुनैपर्छ ।

यो अवस्थामा रास्वपा सांसद रानालाई हटाउने हो भने उनको ठाउँमा एमालेले उपसभामुख पाउने अवस्था रहँदैन । किनभने सभामुख एमालेबाट भएकाले उपसभामुख अर्को दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमालेले उपसभामुख नपाउने भएपछि कांग्रेसले लिनुपर्ने हुन्छ । तर, त्यसो गर्दा दुईवटा प्रश्न उठ्न सक्छ, एक- रास्वपा र कांग्रेसको दुरी थप बढ्न सक्छ । दोस्रो, सभामुख–उपसभामुख दुबै सत्तापक्षले राखेको आरोप लाग्न सक्छ ।

उपसभामुख विपक्षलाई दिने हो भने फेरि पनि माओवादी वा रास्वपामै जान सक्छ । लोसपाका ४ सांसद पुरुष मात्रै भएकाले सो दलले उपसभामुख पाउने सम्भावना छैन । उपेन्द्र यादवको जसपा नेपाललाई उपसभामुख दिने हो भने एकमात्र

महिला सांसद रेखा यादवलाई दिनुपर्ने हुन्छ । त्यस्तै, नागरिक उन्मुक्तिलाई उपसभामुख दिने हो भने रञ्जिता श्रेष्ठलाई दिनुपर्ने हुन्छ ।

अशोक राईको दलमा जाने हो भने त्यहाँ तीनजना महिला छन् । त्यस्तै, जनता पार्टीसँग पनि चारजना महिला सांसद छन् ।

उपसभामुख हटाउन नसक्नेले संविधान कसरी फेर्लान् ?

केपी शर्मा ओली नेतृत्वको सरकार संविधान संशोधन गरेर राजनीतिक स्थिरता दिने मुख्य उद्देश्यका साथ गठन भएको हो । सरकारले सय दिन पनि पूरा गर्न पाएको छैन । यस्तो बेलामा उपसभामुख फेर्न चाहेको सत्ता पक्षले संसदमा दुई तिहाई जुटाउन नसक्ने हो भने भोलि संविधान संशोधनको मुद्दामा कसरी दुई तिहाई बहुमत जुटाउला ? यक्ष प्रश्न उत्पन्न भएको छ ।

उपसभामुख प्रकरणमा जस्तै संविधान संशोधनको मुद्दामा सरकारलाई साना दलको साथ नरहने सम्भावना किन छ भने ठूला दलहरु थ्रेसहोल्ड बढाउन चाहिरहेका छन्, जसमा साना र मझौला दलहरुको आपत्ति छ । त्यस्तै, समानुपातिकको संख्या घटाउने विषयमा पनि कांग्रेस र एमाले एक्लिने सम्भावना छ ।

तर, अर्को समस्या के पनि छ भने संविधान फेरेर राजनीतिक स्थायित्व दिन गठन भएको कांग्रेस–एमालेको सरकारले संविधान संशोधन नै गर्न सकेन भने यो सरकार केका लागि ? भन्ने प्रश्न उब्जन सक्छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र पनि अन्तुष्टि देखिन थालेको र प्रधानमन्त्री स्वयं कांग्रेसका मन्त्रीहरुको कार्यशैलीप्रति सन्तुष्ट नरहेको चर्चा ठूला दलभित्र सुरु भइसकेको छ । तर, यति हुँदाहुँदै पनि सार्वजनिक रुपमा ओली र देउवाले आपसमा राम्रो मिलाप रहेको देखाउने प्रयास भने जारी राखेका छन् ।

यो पनि-

देउवाले भने- अरु पार्टीलाई सिद्धयाउन कांग्रेस-एमाले मिलेका होइनन्

उता माधव नेपाल, अशोक राई र उपेन्द्र यादवलाई समेत तानेर समाजवादी मोर्चा बनाउने र सरकारलाई दुई तिहाई पुर्‍ याउन नदिने कसरतमा माओवादी अध्यक्ष प्रचण्ड लागि परेका छन् । प्रचण्डको यो प्रयासमा रवि लामिछाने र राजेन्द्र लिङदेनले पनि अघोषित रुपमा साथ दिइरहेको सत्ता पक्षको बुझाइ छ।

सरकारले रास्वपालाई विश्वासमा लिनुको साटो झन् टाढा धलेकिरहेको छ, जसको फाइदा प्रचण्डले उठाउन थालेका छन् ।

सरकारलाई दुई तिहाई पुग्नबाट रोक्ने प्रचण्ड र रवि लामिछानेको ‘ट्रायल’ उपसभामुख प्रकरणमा मुखरित बनेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ४३ बजे

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक