दशैँमा बाध्यताले मुलुक छाड्ने अधिकांशका आँखामा आँसु « Khabarhub

दशैँमा बाध्यताले मुलुक छाड्ने अधिकांशका आँखामा आँसु


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने।

दशैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दशैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन। “दशैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो”, उनले भने।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो। तर दुई महिनाको लामो छुट्टीमा पनि दशैँ एक दिनले अट्न सकेन। “कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दशैँको महत्व थाहा नभएर पनि हुनसक्छ”, उनले भने।

दशैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए। विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन्। महान पर्व दशैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ।

“अरु दशैँमा घर आउँछन्, हामी दशैँमा छाड्नु परेको छ। यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु”, उनले भने। उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए।

वैदेशिक रोजगारीका लागि दशैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन। प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन्। बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए।

आमा सम्झना रम्तेलले आँसु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए। रम्तेलले भने, “बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दशैँका लागि कुर्न सकिएन।”

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिए। केही समयअघि बिदा लिएर घर आएका चौबेले दशैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै हुनुहुन्थ्यो। अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन्।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैँको अघिल्लो दिन नै परेछ। नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन्। “प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन। अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु”, उनले भनिन्।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौँ तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दशैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे। “परिवारका सबै सदस्य सँगै बसेर दशैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन”, उनले भने।

महानवमीको दिन गाउँ तथा सहरमा दशैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे। उनीहरुलाई बिदाइ गर्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य देखिन्थ्यो। रासस

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ५ : ५२ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष