काठमाडौं- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापानमा मानव तस्करी प्रकरणमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
जापानबाट डिपोर्ट भएका खोटङका दुई र रसुवाका एकजना युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा ओखलढुंगका दुईजनालाई पक्राउ गरिएकाे काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेहरूमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका अधिकारीले बताए। यससँगै पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा ९ जना पक्राउ परिसकेका छन्।
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई दुई दिनअघि पक्राउ गरेर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ ।
अधिकारीलेत गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोप छ।
प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले त्यहाँको अध्यागमनले विमानस्थलबाटै फर्काइदिएको थियो।
मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
प्रतिक्रिया