हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन | Khabarhub Khabarhub

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउँछन् । ४० किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या हो ।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन् । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायबापत रानाले दैनिक करिब एक हजार जति आम्दानी हुने गरेको उनले सुनाए ।

‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’, उनले भने । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए ।

खाना खर्च कटाएर दैनिक सात सय जति बचत हुने गरेको उनी बताउँछन् । सान लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन् । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ ।

‘घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्त कमैया पुनर्स्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’, उनले भने, ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।’

२०५८ मा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । ‘कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु’, उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन् ।’

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायबापत २०, खुकुरी, बञ्चरोमा धार लगायबापत ५० र तरबारको एक सय रुपैयाँ ज्याला लिने गरेका छन् । पहिला महिनाको ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए । ‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु’, रानाले खुसी हुँदै भने ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : २५ बजे

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब सक्रिय राजनीतिमा फर्कने

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको