काठमाडौं– विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ४ महिनामा सवा ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । कात्तिक मसान्तसम्म मुद्रास्फीति ५.६ प्रतिशतमा रहेको छ भने बिहीबार नेप्से ३३ अंक बढीले घटेको छ ।
आजका प्रमुख आर्थिक समाचार :
कात्तिक मसान्तसम्म अर्थतन्त्रको अवस्था : महँगी ५.६० प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशत
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गरेको छ ।
बिहीबार अपराह्न सार्वजनिक प्रतिवेदनमा उल्लेख भएअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा छ ।
नेपालसँग अहिले कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । नेपाल सरकारको खर्च चार खर्ब १५ अर्ब २ करोड र राजस्व परिचालन तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ छ ।
विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब, १५ महिनाको आयात धान्ने
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०।५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा २२५५ अर्ब ३५ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९।४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २००८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई २४७ अर्ब २० करोड कायम भएको छ ।
चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।
तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
एनएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका लागि अबको कार्यकालपछि प्रत्यक्ष निर्वाचन हुने भएको छ ।
विशेष साधारण सभामार्फत सर्वसम्मत विधान संशोधन गर्दै महासंघले अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धाका लागि मार्गप्रशस्त गरेको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।
हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्ने महासंघले जनाएको छ ।
महासंघ विधान, २०७३ सातौंपटक संशोधन भएसँगै निर्वाचित अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । एकजना वरिष्ठ उपाध्यक्ष रहनेछन् । वरिष्ठ उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
साताको अन्तिम कारोबारको दिन ३३ अंकले घट्यो नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । बिहीबार नेप्सेमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ३३.४२ अंकले घटेको हो ।
बिहीबारको कारोबारमा उद्योग र म्यूचुअल फन्ड सेक्टर बाहेक अन्य सबै सेक्टरको सूचकांक घटेको छ । जसमध्ये सबैभन्दा धेरै जीवन बिमा समूहको सूचकांक १८०.४१ अंकले घटेको छ भने उद्योग समूहको २६.५३ अंकले बढ्यो ।
प्रकाश प्रदूषण नियन्त्रण गर्न बहुआयामिक दृष्टिकोण आवश्यक : विज्ञ
बढ्दो ऊर्जा उपलब्धता र उपयोग लगायत कारण बढ्दै गएको प्रकाश प्रदूषण नियन्त्रण गर्न बहुआयामिक दृष्टिकोण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
दरबारमार्गस्थित प्याभिलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबले संयुक्त रूपमा आयोजना गरेको
‘प्रगतिको छायाँमा प्रकाश प्रदूषणको प्रभाव’ शीर्षकको अनुसन्धान प्रस्तुती कार्यक्रममा विज्ञ, नीतिनिर्माता र सरोकारवालाहरूले यस्तो आवश्यकता औंल्याएका हुन्। उक्त अनुसन्धान प्रस्तुती आकाश श्रेष्ठले गरेका थिए ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रकाश प्रदूषणबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रगति र वातावरणीय दिगोपनाबीच सन्तुलन सुनिश्चित गर्दै पर्यावरणका मुद्दालाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण अपनाउन आवश्यक रहेको जनाए ।
प्रतिक्रिया