एकदिवसीय मान्यताको ६ वर्ष : क्रिकेटमा नयाँ युग, मैदानमा खेलाडीको रवाफ | Khabarhub Khabarhub

एकदिवसीय मान्यताको ६ वर्ष : क्रिकेटमा नयाँ युग, मैदानमा खेलाडीको रवाफ



काठमाडौं – नेपाली क्रिकेटमा अहिले नयाँ युग चलेको छ । यो हामीले भनेको हैन् । खेलाडीले मैदानमा देखाएको प्रदर्शनका क्रममा नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काको भनाइ हो ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय मान्यता प्राप्त गरेको थियो । डिभिजन ५ बाट यात्रा थालेको नेपालले प्रवेशको २२ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गर्‍यो । यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै नेपालले एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो । सो समयमा डिभिजन २ खेलिरहेको नेपाल घटुवा हुँदै डिभिजन ३ मा पुर्‍यो । नेपाली क्रिकेटका लागि सो समय सुखद थिएन् । क्रिकेटको माउ संस्था नेपाल क्रिकेट सङ्घ (क्यान)लाई आईसिसीले निलम्बन गरेको थियो ।

आईसीसीले क्रिकेट सङ्घ (क्यान)मा सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेपछि क्यान तीन वर्षसम्म नेतृत्वविहीन भएको थियो । आईसिसीले गरेको निलम्बन तीन वर्षपछि मात्र फुकुवा भयो । बि.स.२०७३ वैशाखमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वले आर्थिक पारदर्शिता कायम गर्न नसकेको भन्दै आईसीसीले क्रिकेट सङ्घमा प्रश्न उठाएपछि सरकारले छुट्टै तदर्थ समिति बनायो । लगत्तै सरकारी हस्तक्षेप भएको भन्दै आईसिसीले नेपालको क्रिकेट सङ्घलाई निलम्बन गरेको थियो ।

तीन वर्ष नेपाली क्रिकेट टिम आईसिसीको समन्वयमा क्रिकेट खेलेको थियो । सोही समयमा नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता प्राप्त गरेको हो । नेपालले एकदिवसीय मान्यता पाएको एक वर्षपछि नेपाल क्रिकेट सङ्घ(क्यान)मा आईसिसीको उपस्थितिमा नै चुनाव भयो र अध्यक्षमा पुनः चतुरबहादुर चन्द नै निर्वाचित भए । चन्द नेतृत्वको समितिलाई आधिकारिकता प्रदान गर्दै आईसिसीले नेपालमाथि लगाएको प्रतिबन्ध २०७६ असोज २७ गते फुकुवा गर्‍यो।

नेपाल क्रिकेट संघ निलम्बनमा पुगेको समयमा क्रिकेट टिमको कप्तानसँगै महत्वपूर्ण उपलब्धि दिएका पारस खड्काले कप्तानबाट राजीनामा गरे । क्यानको प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै अर्थात् २०७६ असोज २८ गते पारसले क्रिकेट टिमको कप्तानबाट राजीनामा गरेपछि तरङ्ग नै पैदा भयो ।

डिभिजन वान देखि एकदिवसीय मान्यता सम्मको उपलब्धि र टी–२० विश्वकपसम्म कप्तान रहेका खड्काको राजीनामाले क्यानसँग पारसको टसललाई लिएर पनि हेरियो । क्रिकेट संघको कार्यशैली प्रति आक्रामक बन्दै आएका खड्काले क्यानमा पूरानै नेतृत्व आउँदा राजीनामा दिएको हुनसक्ने अनुमानका बिच उनले यी सबै कुरालाई नकार्दै गए ।

पारस युगको अन्त्य र ज्ञानेन्द्र कारबाहीमा

झन्डै १० वर्ष नेपालको कप्तान भएका पारसको राजीनामा पछि उपकप्तान ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको कप्तान बने । लामो समय उपकप्तानको भूमिका निर्वाह गरेका ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको महत्त्वपूर्ण उपलब्धिका हकदार मात्र थिएनन् उम्दा खेलाडी पनि थिए । ज्ञानेन्द्रको कप्तानीमा पारस खड्का पनि केही खेल खेले ।

कप्तानबाट अलग भएपछि पनि झन्डै दुई वर्ष नेपाली क्रिकेट टिममा रहेका पारस २०७८ साउन १९ गतेबाट भने औपचारिक रूपमा क्रिकेटबाट अलग भए । क्रिकेट व्यवस्थापनमा आउने चाहना राख्दै पारसले क्रिकेटबाट सन्यासको घोषणा गर्दा धेरैले पारस युगको अन्त्य भएको विश्लेषण पनि गरे । उमेर समूह हुँदै झन्डै १८ वर्ष क्रिकेट खेलेका पारसलाई नेपाली क्रिकेटमा सबैभन्दा सफल खेलाडी र कप्तानमा रूपमा लिने गरिन्छ ।

पारसको सन्याससँगै नेपाली क्रिकेट टिमले ठूला अवरोह पार गरेको छ । उनका सहयात्री ज्ञानेन्द्र मल्ल क्यानको कारबाहीमा परे । २०७६ कात्तिक १३ गते कप्तान बनेका मल्ल र उपकप्तान बनेका दिपेन्द्रसिंह ऐरीलाई दुई वर्ष पनि नपुग्दै क्यानले जिम्मेवारीबाट मुक्त गर्‍यो ।

पहिलो पटक गरिएको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका कारण कप्तान मल्ल र  उपकप्तान ऐरीको पद खोसियो । यति मात्र होइन क्यानविरुद्ध बोलेको भन्दै उनीहरूसहित अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि क्यानले कारबाही गर्‍यो । छ महिनाका लागि चार खेलाडीलाई ‘सेन्ट्रल कन्ट्र्याक्ट’ अथवा तलब सुविधा नदिने गरी गरिएको कारबाही र ज्ञानेन्द्रको जिम्मेवारी खोसिएको विषयले क्रिकेटमा नयाँ तरङ्ग पैदा गर्‍यो । क्यानले चार खेलाडीलाई कारबाही मात्र गरेको थिएन् । नयाँ कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गर्ने निर्णय पनि गरेको थियो ।

क्यानको निर्णयसँगै राष्ट्रिय टोलीमा अधिकांश खेलाडीले ‘आई एम डन टु’ भनेर विरोध जनाए । क्यानको निर्णयविरुद्ध ज्ञानेन्द्रसहितका खेलाडी खुलेर बाहिर आए भने अधिकांश खेलाडीले उनीहरूको विद्रोहमा साथ दिए । यसले नेपालको क्रिकेटमा दूरगामी असरको छनक देखिएपछि सरकारले पनि क्यानलाई विवाद समाधानका लागि निर्देशन गर्‍यो । जसका कारण क्यान फेरी एक पटक आईसिसीको निलम्बनमा पर्ने भय देखिएको थियो ।

यति मात्र होइन यसको प्रत्यक्ष असर मैदानमा पनि तत्काल देखिने भयो । क्रिकेट सङ्घले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी होटलमा नगएर खेलाडीको विद्रोहलाई साथ दिए । अन्ततः क्यान खेलाडीसँगको वार्ता मार्फत समस्या समाधानमा तयार भयो । क्यानले खेलाडीको कारबाही फिर्ता लियो खेलाडी मैदान फर्कन तयार भए । तर कप्तान भने लामिछाने नै हुने गरी तत्काल समस्याको समाधान गरियो । सँगै टी-ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पनि सुरु भयो ।

कागजमा गरिएको समाधानले मैदानमा भने नतिजा देखाउन सकेन् । नेपालका हरेक खेलमा नतिजा अनुकूल आएन् । विश्वकप छनोटमा नेपालको प्रदर्शन बिर्सन लायक रह्यो । यो मात्र होइन डिभिजन टु का खेलमा पनि नेपालले अनुकूल नतिजा निकाल्न सकेन् । नेपाली खेलाडी स्पष्ट रूपमा दुई गुटमा विभाजित थिए । कप्तानी सम्हालेका सन्दीपले सो समयमा टिममा आफू एक्लिएको भन्दै सामाजिक सञ्जालमा पोस्टहरू गरेका थिए ।

सन्दीपलाई नफापेको कप्तान

फाइल फोटो

नेपाल क्रिकेट सङ्घ (क्यान) ले २०७८ मङ्सिर मा सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गर्‍यो । नियमित कप्तान ज्ञानेन्द्र मल्ललाई कारबाही गर्दै क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव जमाएका सन्दीपले क्यानले दिएको जम्मेवारीलाई सहज स्विकार गर्दा उनी आलोचनाको सिकार भए ।

नियमित कप्तान मल्लले खेलाडीको हक अधिकारका लागि आवाज उठाएको भन्दै कारबाहीमा परेको समयमा सन्दीपले कप्तान स्वीकार गर्न नहुने बहस पनि गरियो । कप्तान र कारबाहीको विषयले क्रिकेट खेलाडी स्पष्ट दुई गुट भएका थिए ।

अप्रत्यासित रुपमा कप्तानको जिम्मेवारी पाएका सन्दीपले पनि लामो समय नेपाली टिमको कप्तानी गर्न भने पाएनन् । उनीमाथि २०७९ भदौमा  बलात्कार आरोप लाग्यो । बलात्कार आरोप पछि उनलाई क्रिकेट सङ्घले निलम्बन गर्‍यो र नयाँ कप्तानमा रोहित पौडेललाई नियुक्त गरियो ।

सन्दीप माथि लागेको बलात्कार आरोप काठमाडौं जिल्ला अदालतले प्रमाणित समेत गरेको छ । अदालतले उनलाई ८ वर्ष कैद सुनाएको छ । उनी पुनरावेदनमा जाने तयारी गरिरहेका छन् ।

अस्थिर प्रशिक्षक र मोन्टीको आगमन

खेलाडीबिचको गुट-उपगुट, खराब नतिजा र क्यानसँगको सम्बन्ध गतिलो बनाउन नसक्दा सो समयमा नेपाली टोलीका प्रशिक्षक लामो समयसम्म टिक्न सकेनन् । २०७७ देखि २०७९ सम्म नेपाली क्रिकेटमा चार प्रशिक्षकले राजीनामा दिएका थिए । नेपाली क्रिकेट टिम सम्हाल्न आएका डेभ ह्वाटमोर, उमेश पटवाल, पुबुदु दासानायक तथा मनोज प्रभाकर आफ्नो कार्यकाल पूरा नगरी फर्किएका प्रशिक्षकहरु हुन् । सो समयमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवालले नेपाली क्रिेकटभित्र ‘सिस्टम’ नहुनु र क्रिकेटभित्रको राजनीतिका कारण प्रशिक्षक स्थायी रूपमा टिक्न नसकेको विश्लेषण गरेका थिए ।

जुन समयमा नेपालले विश्वकप २०२३ को छनोटका लागि लिग डिभिजन २ खेलिरहेको थियो । एकदिवसीय मान्यता जोगाइराख्न डिभिजन–२ का खेल नेपालका लागि महत्त्वपूर्ण रहेका थिए ।

एक समयमा नेपाल २४ खेलबाट १८ अङ्क जोडेर अङ्क तालिकाको छैटौँ स्थानमा थियो । शीर्ष पाँचमा रहँदा मात्र एकदिवसीय मान्यता जोगिने परिस्थिति रहेको थियो । लिगमा नेपालले १२ खेल खेल्न बाँकी छँदा नेपाल प्रशिक्षक विहीन थियो । सो समयमा नेपाल एकदिवसीय मान्यता जोगाउन सक्ने प्रशिक्षकको खोजीमा रहेको थियो ।

यहीँ चुनौतीको सामना गर्न गत वर्ष माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मोन्टी देसाई नियुक्त भएका थिए । मोन्टीको आगमनसँगै नेपाली क्रिकेट टिमको लयमा पूरै परिवर्तन आएको छ । उनको प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यता मात्र जोगाएन सिँधै विश्वकप छनोट पनि खेल्यो ।

नेपालले पहिलो पटक एसिया कप खेल्दा १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको छ । सन् २०२३ मा सानदार प्रदर्शन गरेको नेपालले २०२४ लाई पनि दमदार स्वागत गरेको छ । लिग डिभिजन-२ मा बलिया प्रतिद्वन्द्वी नेदरल्यान्ड र नामिबियासँगको सिरिज अगाडी नेपालले क्यानडासँगको सिरिजमा क्लिनस्विप गरेको छ ।

क्रिकेटको नयाँ युग

नेपाली क्रिकेट अहिले नयाँ युगमा प्रवेश गरेको छ । ६ महिना अगाडी मात्र नेपाली क्रिकेटबाट ज्ञानेन्द्र मल्लको सन्यासपछि पारस-ज्ञानु युगको औपचारिक अन्त्य भयो । हाल नेपाली क्रिकेट टिममा सन् २०१४ को विश्वकप खेलेका एक मात्र खेलाडी सोमपाल कामी छन् । करण केसी र दीपेन्द्रसिंह ऐरी लामो समयदेखि खेल्दै आएका खेलाडी हुन् ।

नेपाली टिमका कप्तान रोहीत पौडेल मात्र २१ वर्षका भए । २१ वर्षे ठिटोले कप्तानी गरेको टिमका अधिकांश खेलाडी २५ वर्षभन्दा मुनीका छन् । नेपालको युवा टोली अहिले उच्च लयमा छ । खेलाडीमा पूर्ण आत्मविश्वास देखिन्छ भने नतिजा आफ्नो पक्षमा पार्न मैदानमा प्रदर्शन पनि गज्जबको गरिरहेका छन् । नेपाली क्रिकेट टिमका खेलाडीहरूमा अन्तिम समयमा गएर पनि जिताउन सक्ने विश्वास रहेको क्यान सचिव खड्का बताउँछन् ।

अहिलेको अवस्थामा क्रिकेटमा नेपालले प्राप्त गर्न बाँकी उपलब्धि ‘टेष्ट राष्ट्र’ मात्र हो । लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष संजय गुरुङ भन्छन्, ‘खेलाडीको यो आत्मविश्वास र प्रदर्शनलाई कायम राख्न सक्ने हो भने हामीले छिट्टै ‘टेष्ट नेसन’ हासिल गर्न सक्छौं ।’ तर घरेलु क्रिकेटको संरचनामा भने व्यापक परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

नेपाली क्रिकेट टिमका पूर्व स्टार खेलाडी शक्ति गौचन  पनि अहिले नेपाली क्रिकेटमा ‘गोल्डेन इरा’को सुरुवात भएको मान्छन । उनी भन्छन्,  ‘कुनै समय ‘अन्डरडग’को अवस्थामा पुगेका हामीले जसरी ‘कमब्याक’ गर्‍यौं, त्यो आफैँमा महत्त्वपूर्ण छ । अहिलेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सबै खेलाडीले ‘म्याच विनर’को भूमिका निर्वाह गरिरहेका छन् ।’

उनी थप्छन, ‘नेपाली क्रिकेट टोलीको ‘रियुनिट प्रोसेस’ पनि बढ्ने क्रममा छ । हामीले छाडेकोभन्दा अहिले राम्रो भएको छ । अधिकांश खेलाडी २५ वर्षमुनिका छन् । यस्तै ‘एक्सपोजर’ पाउने हो भने हाम्रा खेलाडीले अहिलेजस्तै उत्कृष्ट नतिजा ल्याउन सक्छन् ।’ नेपाली क्रिकेटमा देखिएको एकताले नतिजामा पनि प्रभाव देखिएको उनको भनाई छ ।

क्यानडामाथि क्लिनस्विप

एकदिवसीय क्रिकेटमा प्रवेशअघि क्यानडामाथि साँघुरो जित निकालेको नेपालले ६ वर्षपछि सोही टिममाथि औपचारिक एकदिवसीय सिरिजमा क्लिनस्विप गर्‍यो । लिग डिभिजन २ अघि भएको यो सिरिजनमा नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।

बल, ब्याट र फिल्डिङ सबै क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाएको नेपाली टिमले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकाल्दा दोस्रो र तेस्रो खेलमा आरामदायी जित निकाल्यो ।

ओपनर अनिल साह र भीम सार्कीको शतकमा नेपालले क्यानडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा ९ विकेटको फराकिलो जित निकाल्यो । नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमान्चक जित निकालेको थियो भने दोस्रो खेलमा ४ विकेटले हराएको थियो ।

यो पनि…

अद्भूत प्रदर्शन र फेरिएको संरचनाले क्रिकेटमा जागेको आशा

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ५३ बजे

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला – फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको

फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आफ्नो सभास्थलका रुपमा नारायणहिटी दरबार संग्रहालाय