‘फिल्मको कथा पोस्टरले नै बोल्न सक्नु पर्छ’ | Khabarhub Khabarhub

कला

‘फिल्मको कथा पोस्टरले नै बोल्न सक्नु पर्छ’


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म नगरीमा बर्दियाका भीमसेन शाही ‘रोयल भीमसेन’ नामले परिचित छन् । भीमसेनको कम्पनी ‘ट्राइडेन्ट कन्सेप्ट’ले फिल्म प्रचारको काम गर्छ । उनको विज्ञता भने पोस्टर डिजाइन हो ।

भीमसेनसँग भारतमा ७ मराठी फिल्मको प्रचार टिममा काम गरेको अनुभव छ । भन्छन्, ‘म फिल्म प्रचारका लागि सामाजिक सञ्जालको पाटो हेर्थेँ ।’

नेपाल आएर उनले फिल्म प्रचार र पोस्टर डिजाइनको काम गरेको एक दशक पुग्न लाग्यो । सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘जात्रा’देखि फिल्म प्रचारको काममा सक्रिय छन् । ९० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

सामाजिक सञ्जालमा नेपाली फिल्म प्रचारलाई व्यवसायिक स्वरुप दिने सुरुवात भीमसेनले नै गरे । अर्थात्, उनी नेपाली फिल्म क्षेत्रसँग जोडिँदासम्म पनि भित्तामा पोस्टर टाँसेर फिल्म प्रचार गर्ने परम्परागत अभ्यास यथावत् थियो । मोफसलमा अझै पनि सो अभ्यासले नै निरन्तरता पाइरहेको छ ।

भीमसेन भन्छन्, ‘केही वर्ष अघिसम्म भित्तामा पोस्टर टाँस्ने चलन थियो । गाडीमा पोस्टर बोकेर भित्ता भित्ता धाउनुपर्ने बाध्यता प्रविधि प्रयोगले अहिले हटेको छ । हल नभएको ठाउँमा पनि इन्टरनेट सुविधा छ । त्यहाँका दर्शकले पनि फिल्मबारे थाहा त पाउनु भएको छ नि !’

अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको फिल्म ‘साम्बाला’को पोस्टर पनि उनैले तयार गरेका छन् । जुन आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ ।

भन्छन्, ‘पहिलो प्रोजेक्ट जात्रा नै हिट भयो । अहिले महिनामा कम्तिमा पनि एउटा फिल्मको काम गरेकै हुन्छु ।’

कामले दिएको काम

सन् २०१६ मा भारतबाट नेपाल फर्कदा काठमाडौंमा काम गर्ने निर्णय भीमसेनले लिइसकेका थिएनन्‌ । काठमाडौं आउँदा उनमा केही गर्ने युवा जोश थियो भने भने सीपतर्फ डिजिटल पेन्टिङ र पब्लिसिटी डिजाइनको अनुभव थियो ।

नेपाल आउँदा डिजिटल पब्लिसिटी अभ्यास शून्यप्रायः नै भएकाले केही गर्न सकिन्छ भन्ने सोचेका थिए । भन्छन्, ‘सामाजिक सञ्जालमा फिल्म प्रचार गर्ने अभ्यास छँदै थिएन भन्दा पनि हुन्छ । डलर खाता भएका केही निर्माताहरूले व्यक्तिगत तबरले गर्नुहुन्थ्यो ।’

फिल्म क्षेत्रमा उनले चिनेको सँगै स्कुल पढेको साथी थिए । उही साथीमार्फत् ‘झुम्की’ फिल्मको निर्माण पक्षसँग पुगेर पहिलो काम लिएको उनी बताउँछन् ।

भन्छन्, ‘पोस्टरको काम अरूले नै गरिसक्नुभएको रहेछ । सामाजिक सञ्जाल व्यवस्थापनको काम गरेँ । अनि एउटा मिनिमल पोस्टर पनि बनाएको थिएँ । त्यो पोस्टरमा फिल्मको शीर्षक र झुम्काको तस्बिर मात्रै थियो ।’

सोही पोस्टरले फिल्म ‘जात्रा’को निर्माता रवीन्द्रसिंह बानियाँलाई आकर्षित गर्न सफल भएपछि पछाडि फर्केर हेर्नु नपरेको उनको बुझाइ छ ।

‘झुम्कीको पोस्टर रवीन्द्रसिंह बानियाँलाई मन परेछ । मलाई फोन गरेर जात्रा फिल्मको पोस्टरका लागि प्रस्वात गर्नुभयो । सँगै प्रचारको पनि काम गरियो,’ उनी भन्छन्, ‘जात्रा प्रोजेक्ट हिट भएपछि भने पछाडि फर्केर हेर्नुपरेन । सिफारिसले नै काम पाउन थालियो ।’

सिफारिसले नै सम्बाला

७४ औं संस्करणको बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी फिल्म ‘साम्बाल’को पोस्टर पनि भीमसेनले नै बनाएका हुन् ।

यो अवसर पाउनुको जस उनी सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’लाई दिन्छन् ।

‘एक हलमा फिल्म देखाइएको थियो । हरेपछि राम्रो लाग्यो । आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भयो,’ उनी भन्छन्, ‘त्यो फिल्मको प्रचारको काम निःस्वार्थ भावले गरेको हुँ ।’

यही टिमको सिफारिसले मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’मा जोडिएको उनी बताउँछन् । ‘मीनबहादुरले सम्बालको पोस्टरका लागि मान्छे खोजिरहेको कुरा सुजित बिडारीलाई भन्नुभएछ । उहाँले मेरो नाम सिफारिस गर्नुभएछ,’ उनी भन्छन्, ‘पोस्टर डिजाइन र बर्लिनका लागि प्रेस सामग्री डिजाइनको काम मैले नै गरेँ ।’

निर्देशक भामलाई सर्प्राइज दिन बनाएको सो पोस्टर नेपाल प्रदर्शनको क्रममा प्रयोग भइरहेको उनी बताउँछन् ।

थप्छन्, ‘महिला हिउँको बीचमा रहेको पोस्टर चाहिँ मैले निर्देशकका लागि यसै बनाएको हो । उहाँलाई पोस्टर देखाउन म बौद्ध पुगेको थिएँ । पहिलो पटक नै मन पराउनुभयो ।’

पोस्टरको शक्ति

फिल्मको पहिलो प्रचार सामाग्री पोस्टर हो । सोहीकारण पोस्टरले आकर्षण जगाउन सके मात्रै फिल्मप्रति दर्शकको रुचि हुने भीमसेनको अनुभव छ ।

‘पोस्टरको प्रमुख काम भनेको दर्शकलाई ट्रेलर हेर्न आकर्षित बनाउने हो । ट्रेलर राम्रो भयो भने दर्शकले फिल्म हेर्न हलमा पुग्ने हो । चल्ने नचल्ने कन्टेन्टले भरपर्छ,’ उनी भन्छन् ।

फिल्मको कथा बलियो भयो भने पोस्टर पनि राम्रो बन्ने उनको बुझाइ छ । भन्छन्, ‘फिल्ममा केही विशेष छ भने पोस्टर पनि कलात्मक बन्छ । स्टार कलाकार भएको फिल्ममा कलाकारको अनुहारलाई नै प्राथमिकता दिनुपर्छ । त्यहाँ भने क्रिएसन नदेखिने जोखिम हुन्छ ।’

पोस्टरको शक्तिबारे उनी फिल्म ‘चिसो मान्छे’को उदाहरण दिन्छन् । जुन पोस्टरमा नायिका स्वस्तिमा खड्का बाहुला च्यातिएको चौबन्दी चोलो, नाकमा बुलाकी, घाँटीमा पहेँलो पोते, पोतेमा हुपसियो र कनकर्नो अड्काएकी हुलियामा देखिन्छिन्‌ ।

लाग्छ- उनी सुदूरपश्चिमकी ठेट महिला हुन् । यो पोस्टर सार्वजनिक भएपछि स्वस्तिमाको लुक्ससँगै फिल्मले राम्रो चर्चा पाएको थियो । फिल्म प्रचारका लागि पोस्टर नै विशेष बन्यो ।

भीमसेन भन्छन्, ‘पोस्टरले नै दर्शकलाई कौतुहलता गराउन सक्यो वा यस फिल्ममा केही छ भनेर विश्वास दिलाउन सक्यो भने हिट हुने सम्भावना हुन्छ । पोस्टरमा यो किसिमको शक्ति हुन्छ । प्रचारको सुरुवाती मुख्य सामाग्री नै पोस्टर हो नि ।’

अर्थपूर्ण र कलात्मक भएको अवस्थामा दर्शकले पोस्टरमा कलाकार नै नखोज्ने गरेको उदाहरण पनि उनीसँग छ । कलाकारको फोटो नराख्दा पनि चर्चा कमाएको आफूले बनाएको पोस्टरबारे उनी भन्छन्, ‘फिल्मम राजेश हमालको पोस्टरमा गुडिरहेको ट्रक पछाडि एउटा महिला कुदेको छ । त्यो पोस्टरले पनि चर्चा पायो । राम्रो प्रतिक्रिया आएको थियो ।’

कलाकारको अनुहार राखेर भन्दा पनि ‘क्रिएटिभ’ पोस्टरबाट दर्शकलाई आकर्षण गर्ने अभ्यास बढेको उनी पाउँछन् । भन्छन्, ‘यस्तो अवस्थामा चाहिँ हामीले पनि क्रिएसन देखाउन सक्छौं । यो अवस्थामा पोस्टरबाट दर्शक आकर्षित हुने सम्भावना बढी हुन्छ ।’

चर्चा पाएका पछिल्ला पोस्टर

आँखा : पछिल्ल्लो समय चर्चामा आएको पोस्टर ‘आँखा’ फिल्मको हो । जसमा भीमसेनले सूर्यमुखी फूलको बीचमा कलाकारलाई प्रस्तुत गरेका छन् ।

यस पोस्टरमा उनले सूर्यमुखी फूललाई आँखाको रूपमा चित्रण गर्न खोजेका छन् । यो अभ्यासमा आफू सफल भएको उनलाई लागेको छ ।

भन्छन्, ‘सूर्यमुखी फूल हेर्दा मान्छेलाई आँखाको सम्झना आउँछ । त्यो भनेको चाहिँ ब्रान्डिङ हो । कुनै पनि कुरालाई हेरेर दर्शकले अर्को कुराको सम्झना गर्नु चाहिँ सफल मान्छि । जस्तो: सूर्यमुखी फूल हेरेर आँखाको सम्झना गर्नु !’

यस पोस्टरमा केही मेकर र दर्शकबाटै व्यक्तिगतरूपमा सकारात्मक प्रतिक्रिया पाएको उनी बताउँछन् ।

ऊनको स्वीटर : प्रदर्शनमा आउन बाँकी अर्को फिल्म ‘ऊनको स्वीटर’ कथा बोकेको पोस्टर रहेको भीमसेनले जानकारी दिए । देख्दा सामान्य लागे पनि यस पोस्टरमा स्टुडियोमा गए फोटो खिचाउने चलनको घटनालाई देखाउन खोजेका छन् ।

भन्छन्, ‘त्यहाँ स्टुडियोमा गएर पर्दा अगाडि बसेर फोटो खिचाउने जमानालाई चित्रण गरिएको छ । विपिन कार्कीको युवा लुक्स निकाल्न भारतबाट मेकअप आर्टिस्ट बोलाएको हो ।’

बनाउन समय लागेको पोस्टर

पोस्टर डिजाइन सृजनात्मक काम हो । सिर्जना गर्ने काम यति अवधिमा सकिन्छ भन्ने निश्चित हुँदैन । भीमसेनले ५ घण्टा देखि एक महिनासम्म लगाएर पोस्टर तयार गरेका छन् ।

‘कुनै आइडिया फुर्‍यो भने केही घण्टामै बन्छ । कुनै महिनौं लाग्छ,’ उनी भन्छन्, ‘सोच्दा पनि समय खर्च हुन्छ । कम्प्युटर अगाडि बसेर काम गर्दा र सोच्दाको समय जोड्ने गरेको छु । त्यसरी काम गर्दा एक महिना पनि लागेको छ ।’

उनले समय लगाएर बनाएको मध्येमा ‘चिसो मान्छे’को पोस्टर पनि पर्छ । भन्छन्, ‘बिहाइन्ड द सिनबाट फोटो तानेको हो । फोटो चयन गर्न मलाई निकै समय लागेको थियो ।’

उनले सबैभन्दा बढी समय लगाएको बनाएको पोस्टर भने ‘पुजार सार्की’को हो । जसबाट उनले सकारात्मक प्रतिक्रिया मात्रै पाएनन्, फिल्म प्रचारमा पनि त्यसको भूमिका प्रभाकारी बन्यो ।

भन्छन्, ‘तीन कलाकारलाई फरक–फरक दिनमा फोटो सुट गराएको हो । मोबाइलबाटै फोटो खिचेको हो । त्यस पोस्टरको कलर र डिटेलिङको काममा मलाई समय लाग्यो ।’

‘फिल्ममा दम नभएको पोस्टर बनाउँदै थाहा हुन्छ’

कथामा दम नभएको फिल्म पोस्टरको कामबाटै थाहा हुने भीमसेनको अनुभव छ ।

त्यस्ता फिल्म मेकरहरू डिजाइनरको क्रिएसनभन्दा पनि आफ्नै मानसिकता पोस्टरमा देखाउन अग्रसर हुने उनले पाएका छन् ।

‘कथामा काम गर्ने मेकरले हाम्रो क्रिएसन पोस्टरमा देखाउने स्वतन्त्रता दिनुहुन्छ, ती पोस्टर पनि कलात्मक वा अर्थपूर्ण बन्न सक्छन्,’ उनी भन्छन्, ‘कथामा दम नभएका फिल्मको मेकरले पोस्टरमा पनि आफ्नो स्वार्थ खोज्छन् ।’

कतिपय निर्माताले पैसा लगानी गरेकै कारण पोस्टरमा नाम ठूलो राख्न दबाब दिएको अनुभव पनि उनीसँग छ । ‘मेरो लगानी छ, नाम ठूलो राख्नू भन्नुहुन्छ । यस्तै स्वार्थ पोस्टरमा देखिन थालेपछि कसरी प्रभावकारी बन्छ ?’ उनी भन्छन्, ‘राम्रो मेकरले पो क्रिएसन खोज्नुहुन्छ । अनि पो दर्शक आकर्षित हुनुहुन्छ ।’

क्रिएसनको पाटोलाई मेकरले ध्यान नदिइ अनावश्यक दबाब दिँदा भीमसेनले कतिपय काम बीचमै छाडिदिएका पनि छन् ।

चलचित्र साम्बालाका निर्देशक मीनबहादुर भामसँग पोस्टर डिजाइनर रोयल भीमसेन ।

डिजाइनरको बाध्यता

क्रियटीभ बनाउनुपर्ने केही पोस्टरको काम भने विविध कारणले हतारमै गर्नुपरेको भीमसेन बताउँछन्‌ ।

उनका अनुसार; निर्माण पक्षले पोस्टरलाई प्राथमिकतामा नराख्ने र सार्वजनिक मिति अकस्मात निर्धारण गर्दा हतार काम गर्नुपर्ने अवस्था सिर्जना हुने गर्छ ।

‘कतिले त आफ्नै फिल्मको पोस्टर अन्तिम समयमा हेर्नुहुन्छ । अनि सच्चाउने समय पनि कम हुन्छ । त्यसबेला भने दबाबमा काम गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

केही मेकर २४ घण्टाभन्दा कम समय लिएर पोस्टर बनाउन आफूकहाँ आएको अनुभव पनि उनीसँग छ । यसो गर्नु मेकरले पोस्टरको पाटोलाई गम्भीरताका साथ नलिएको ठहर्ने उनको भनाइ छ ।

‘आज आएर भोलि पोस्टर सार्वजनिक गर्ने गरी काम गर्नु भन्नुहुन्छ । पोस्टर एकैछिनमा बन्ने होइन । मैले राति पनि काम गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘राति दबाबमा काम गर्नुपर्ने भएको थोरै पारिश्रमिक बढाउँदा उहाँहरू तिर्न तयार हुनुहुन्न । अनि अन्त जानुहुन्छ ।’

पोस्टर डिजाइनरले आवश्यक ‘क्रेडिट’ नपाउनु दुःखद पक्ष रहेको उनको बुझाइ छ । पोस्टर हिट भएर फिल्मले चर्चा पाइरहँदा डिजाइनर गुमनाम हुनु स्वभाविक रूपमा राम्रो नलाग्ने उनको तर्क छ ।

‘पोस्टरले चर्चा पाइरहेको हुन्छ । त्यसमा डिजाइनरको ठूलो हात हुन्छ । पोस्टर हिट भइसक्दा पनि आफ्नो नाम नै नआएको धेरै घटनाहरू मैले भागेको छु,’ उनी भन्छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ५३ बजे

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

जलवायु परिवर्तन : नेपालको शिर ढल्ने कि उठ्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौं– नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट

सोह्र श्राद्धको कुन तिथिमा कस्को श्राद्ध गर्ने ?

काठमाडौं– दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन

विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्ने

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र