पेट्रोलमा इथानोल मिसाउने बहस : सरकारको हातमा मस्यौदा, कच्चापदार्थ देशभित्रै | Khabarhub Khabarhub

पेट्रोलमा इथानोल मिसाउने बहस : सरकारको हातमा मस्यौदा, कच्चापदार्थ देशभित्रै

‘ईभीको जमानामा इथानोल प्रयोगबारे सोच्नुपर्छ’


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमै इथानोल उत्पादन गर्ने योजना यतिखेर चर्चामा छ । सरकारले पनि इथानोलसम्बन्धी मस्यौदा तयार पारिसकेको र छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ ।

तर, यो विषयमा अहिले मात्रै चर्चा भने होइन । २०६० मङ्सिर २९ मा नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । तर त्यो राजपत्रमा मात्रै सीमित रह्यो ।

अहिले सवारी बजार इलेक्ट्रिक गाडीहरूले लिएपछि त्यसतर्फ सरकारी निकायको ध्यान गएको छ । पेट्रोलबाट चल्ने गाडीहरूमा प्रदूषण बढी हुने महँगो पेट्रोलका कारण पनि मानिसहरू अन्य गाडीतर्फ आकर्षित भएका हुन् ।

यस्तो अवस्थामा कम प्रदूषण र महँगी नियन्त्रणका लागि भए पनि नेपालमा इथानोल उत्पादन गरी पेट्रोलमा मिसाउँदा नेपाली उत्पादन र कृषिमा पनि लगानी बढ्ने,साथै पेट्रोल पनि आयात कम हुने नेपाल आयल निगमका अधिकारीहरूले बताउने गरेका छन् ।

निगमले पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । निगमका प्रवक्ता पूर्णप्रसाद रिजालका अनुसार नेपालमै उत्पादन हुने उखु, नेपियर घाँस र सिमल तरुल आदिबाट इथानोल उत्पादन गर्न सकिन्छ । यसो गर्दा लगानी बढ्नुका साथै देशभित्र रोजगारी अवसरसमेत बढ्ने उनको दाबी छ ।

‘इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थ खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछ,’ उनले भने । छिमेकी मुलुक भारत र चीनले समेत १५ प्रतिशत प्रयोग गरिरहेको उनले बताए ।

‘छिमेकी देशहरूले निकै अघिदेखि इथानोल प्रयोग गरिरहेका छन् । ती देशले सन् २०३० सम्ममा २५ देखि ३० प्रतिशत पुर्‍याउने लक्ष्य पनि राखेका छन् । यस्तो प्रयोगले आफ्नै देशलाई फाइदा हुन्छ भने हामीले पनि प्रयोगमा ल्याउनुपर्छ भनी योजना कार्यान्वयन गर्न लागिएको हो,’ रिजालले भने ।

अमेरिकामा १०, ब्राजिलमा २७, भारतमा १५, चीनमा १० प्रतिशत इथानोल प्रयोगमा छ । नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने रिजालले बताए ।

यस्ता छन् इथानोलका फाइदा

इन्धनमा इथानोल मिश्रण गर्ने भन्ने चर्चा त चारैतिर छ, तर यसको प्रयोगले उपभोक्तालाई के फाइदा हुन्छ त भन्ने कुरा हामीमध्ये कमैलाई थाहा छ । इथानोल प्रयोग गर्दा मुख्यतयाः प्रदूषण कम हुन्छ ।

निगमको केन्द्रीय प्रयोगशालाकी प्रमुख प्रतिभा महर्जन इथानोल प्रयोगबाट गाडीको सीमित आयु बढ्ने बताउँछिन् । प्रदूषक इन्धन प्रयोग हुने गाडीले फाल्ने धुवाँधुलोबाट आजित हुनुनपर्ने र नेपालको व्यापारघाटा पनि कम हुने उनको दाबी छ ।

‘पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने करिब साढे १२ अर्ब रूपैयाँको पेट्रोल आयात घटाउन सकिन्छ, नेपाल आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्छ,’ महर्जनले भनिन् ।

यो पनि-

चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादन परीक्षण सुरु

निगमका अधिकारीहरू इथानोल प्रयोगबाट एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोल आयात कम गर्न सकिने हिसाब सुनाउँछन् । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले तीन खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

नेपाललाई इन्धन बेचिरहेको भारतले चाहिँ निकै अघिदेखि पेट्रोलमा इथानोल मिश्रण गरी उपभोक्तालाई पेट्रोल बिक्री गर्दै आएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक १४ करोड ४० लाख लिटर पेट्रोल आयात घट्छ । पेट्रोलको खरिद मूल्यलाई आधार मान्दा यो करिब १२ अर्ब ४१ करोड रूपैयाँ हुन्छ ।

पेट्रोलमा इथानोल मिश्रण गर्न सके दैनिक चार लाख लिटर पेट्रोल खपत कम हुने निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले बताए । ‘पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी अघि बढाएका छौं,’ भट्टले भने, ‘स्वदेशमै इथानोल उत्पादन गरेर प्रयोग गर्न सकिन्छ ।’

इथानोलले सवारीसाधनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउँछ । यो उखु, पराल र सुकेका घाँस लगायत वस्तुबाट उत्पादन गर्न सकिन्छ । नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुने भट्टले बताए ।

के हो इथानोल ?

इथानोल इन्धन ऊर्जा निकाल्न प्रयोग हुने इथाइल अल्कोहल हो । मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइल अल्कोहल नै हो । यो प्रायःजसो मोटर इन्धन र मुख्यतयाः पेट्रोलका लागि एक जैविक इन्धन संयोजकका रूपमा प्रयोग गरिन्छ ।

एक लिटर पेट्रोलले दिने बराबरको ऊर्जा प्राप्त गर्न १.५ लिटर इथानोल आवश्यक पर्छ । बायोइथानोल (जैविक इथानोल) नवीकरणीय ऊर्जाको एक रूप हो – जुन कृषि उपजबाट उत्पादन गर्न सकिन्छ । यो धेरै साधारण बालीहरू जस्तै गाँजा, उखु, आलु, कासावा र मकैबाट पनि बनाउन सकिन्छ ।

प्रदूषक इन्धन प्रतिस्थापनमा जैविक इथानोल कति उपयोगी छ भन्नेबारे विश्वमा पर्याप्त वहस भइसकेको छ । यसको उत्पादन र प्रयोगप्रति भने खाद्यान्नको मूल्य बढ्ने चिन्ता जनाउँदै विरोध हुने गरेको छ । खाद्यान्न उब्जनीका लागि आवश्यक कृषियोग्य जमिनको ठूलो मात्रा इथानोल इन्धनका लागि खर्च हुने भन्दै विरोध हुने गरेको हो ।

पेट्रोलमा भन्दा इथानोलमा प्रतिलिटर लगभग ३४ प्रतिशत कम ऊर्जा हुन्छ । सैद्धान्तिक रूपमा शुद्ध इथानोलको प्रज्ज्वलनबाट गाडीमा प्रतिलिटर पेट्रोलभन्दा ३४ प्रतिशत कम शक्ति उत्पन्न हुन्छ । यद्यपि, इथानोलको अक्टेन रेटिङ उच्च हुने भएकाले कम्प्रेसन रेसियो बढाएर ऊर्जा दक्षता बढाउन सकिन्छ ।

के भन्छन् उत्पादनकर्ता ?

नेपाल चिनी उत्पादनकर्ता संघका अध्यक्ष शशीकान्त अग्रवाल नेपालमा इथानोल प्रयोग गर्दा धेरै फाइदा हुने बताउँछन् । यसो गर्दा पेट्रोलियम पदार्थ आयातमा बाहिरिने रकम नेपालमै बस्ने र उखु उत्पादक किसानले पनि अतिरिक्त मूल्य पाउने उनको भनाइ छ ।

चिनी उत्पादन गरेपछि बाँकी रहने कच्चा पदार्थबाट बनाइने इथानोलले गाडीको आयु बढाउनुका साथै वातावरण स्वच्छ राख्न पनि सघाउने उनको भनाइ छ । उनका अनुसार अहिले नै नेपालका चारवटा चिनी उद्योगबाट इथानोल उत्पादन गर्न सकिन्छ ।

‘तर अहिलेसम्म नेपालमा इथानोल उत्पादन र आम प्रयोगमा आएको छैन । अब सरकारले त्यससम्बन्धी नीति जारी गर्न लागेको जनाएको छ । लागतप्रभावी उत्पादन गर्न सके र आयल निगमले किन्ने सम्झौता गरे नेपालमा चाँडै नै इथानोल उत्पादन गर्न सकिन्छ,’ अग्रवालले भने । १०० लिटर उखुको मोलासिसबाट २२ लिटर इथानोल उत्पादन गर्न सकिने उनले बताए ।

कच्चापदार्थ देशभित्रै

इथानोल उत्पादन गर्न आवश्यक कच्चा पदार्थ प्रायःजसो नेपालका तराई तथा पहाडी जिल्लाहरूमै उपलब्ध छ । उखु, नेपियर घाँस, पराल, सिमलतरुल आदि इथानोल उत्पादन गर्ने मुख्य कच्चा पदार्थ हुन् । यस्तै, केही मात्रामा मकैबाट पनि इथानोल उत्पादन गर्न सकिन्छ ।

अहिले नेपालको पहाडी भूभाग बाझिँदै गएको छ । धेरै खेतबारी खाली नै छन् । त्यस्ता बाँझा जमिनमा इथानोलका कच्चापदार्थ उब्जाउन सके किसान र देशलाई नै निकै फाइदा पुग्ने निगममा प्रवक्ता रिजालले बताए ।

उनले भने, ‘अन्य मुलुकले प्रतिलिटर इन्धनमा ३० प्रतिशतसम्म इथानोल मिसाएर प्रयोग गरिरहेका छन्, हामीले पनि १५ प्रतिशत मात्रै इथानोल प्रयोगमा ल्याउन सके निकै फाइदा उठाउन सक्छौं ।’

मूल्य एक महिनाभित्रै तोकिने

पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने सरकारको नीति रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउँछन् ।

मन्त्री भण्डारीले पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्य अघि बढाउनेगरी नीति तयार गरिएको जानकारी दिए । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ,’ भण्डारीले खबरहबसँग भने, ‘अब मूल्य निर्धारण गर्न बाँकी छ ।’

मन्त्री भण्डारीका अनुसार पेट्रोलियम पदार्थ खपत कम गर्न सकिने हुँदा आवश्यक तयार गर्न आयल निगमलाई मन्त्रालयले निर्देशन दिइसकेको छ ।

ईभी कि इथानोल ?

निजी क्षेत्रले भने इथानोल प्रयोगमा शंका व्यक्त गरेको छ । सरकारले विद्युतीय सवारीसाधन प्रयोग प्रोत्साहन गरिरहेको अवस्थामा इथानोलबारे गहन छलफल गर्नुपर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोलको मिश्रणबारे गम्भीर छलफल आवश्यक छ,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘पेट्रोलियम पदार्थको आयात घटिरहेको र ईभी गाडीतर्फ प्रोत्साहन गरेको बेला इथानोल मिश्रण किन र कति आवश्यक हो ?’

दैनिक चार हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकोमा अहिले घटेर दुई हजार किलोलिटरमा झरेको उनले बताए । मानिसहरू हाइड्रोजनको गाडीको खोजीमा लागिसकेका बेलामा इथानोलमा लगानी गर्नेबारे गहन छलफल गर्नुपर्ने उनको भनाइ छ ।

अहिले नेपालमा भइरहेको गाडी आयातमा ७० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीसाधनको रहेकाले पेट्रोल गाडीमा प्रयोग हुने इथानोल उत्पादनबारे सोच्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५५ बजे

आजको मौसम : तराईका केही भूभागमा हुरी चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशको सघन छलफल

काठमाडौं – बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल

डलर, यूरो र पाउण्ड घट्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २ गते बुधबार सन्

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २ गते बुधबार तदनुसार