गर्मी बढ्दा विद्युत् लोड धान्नै मुस्किल, बुधबार साँझ हालसम्मकै उच्च खपत | Khabarhub Khabarhub

गर्मी बढ्दा विद्युत् लोड धान्नै मुस्किल, बुधबार साँझ हालसम्मकै उच्च खपत

१७० मेगावाट भारतबाट आयात, अझै साढे २ सय मेगावाट अपुग



काठमाडौं –अत्यधिक गर्मी कारण मुलुकभर विद्युत् खपत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार (जेठ ३० गते) साँझको पिक आवरमा मुलुकभर विद्युत् खपत २ हजार १७६ मेगावाट पुगेको छ । जुन विद्युत् लोड विगतका वर्षको गर्मीयाम र लक्ष्मीपूजाको भन्दा निकै बढी हो ।

विगत वर्षको गर्मीयाममा यस पटक जस्तो विद्युत् लोड थिएन । सबैभन्दा बढी लोड खपत हुने पर्व लक्ष्मीपूजाको राति पनि अधिकतम् लोड १ हजार ९०० मेगावाट पुग्ने गरेको थियो ।

तर, यसपालीको गर्मीमा विद्युत् लोडले सबै रेकर्ड तोडेको हो । पछिल्ला दिनमा देशभर गर्मी बढेकाले विद्युत् लोड व्यवस्थापन गर्न समस्या परिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई बताए । बिजुलीको लोड र खपत अहिलेसम्मकै उच्च रहेको उनले बताए ।

‘हिजो (बुधबार) साँझसम्म विद्युत् लोड २ हजार १७६ मेगावाट पुगेको छ,’ उनले भने, ‘यो अहिलेसम्मकै अधिकतम् हो । विगतका वर्षभन्दा लोड धेरै बढेको छ ।’
उनका अनुसार इनर्जीमा हिसाब गर्दा ४७ हजार ९०० मेगावाट प्रतिआवर विद्युत् खपत पुगेको हो ।

अहिले स्वदेशमा उत्पादित र केही आयात गरेर लोड व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । पछिल्ला दिन तराईका जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यकामा पनि गर्मी अत्यधिक बढ्न थालेको छ । जसकारण उपभोक्ताले एयर कन्डिसनर, पंखा फ्रिजलगायत विद्युतीय साधनहरु प्रयोग बढाउँदा विद्युत खपत पनि उच्च भएको हो ।

अझै साढे २ सय मेगावाट अपुग

गर्मीका कारण माग बढेपछि साढे २ सय मेगावाट बिजुली अपुग देखिएको प्राधिकरणका प्रवक्ता घोष बताउँछन् ।

‘अहिले नै बिजुली अपुग छ । करिब २ देखि ३ सय मेगावाट बिजुली पनि अपुग देखिएको छ,’ घोषले भने, ‘बाँकी लोड मिलाउन केही ठाउँमा काट्ने गरिएको छ । उद्योगहरुलाई नियिमत विद्युत दिन सकेका छैनौं ।’

विद्युत्को माग उच्च भएसँगै व्यवस्थापनमा चुनौती थपिँदा अधिकांश उद्योगले बिजुली पाउन नसकेको गुनासोसमेत गर्न थालेका छन् । उद्योगमा मात्रै होइन, तराइका घरेलु ग्राहकसम्मसमेत नियमित विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।

बिहारबाट बिजुली आयात

विद्युत् खपत बढेपछि लोड व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मेहम्मे पर्न थालेको घोषले बताए । विद्युत् माग पूरा गर्न अहिले भारतबाट आयात गर्नुपरेको छ । अहिले १७० देखि २०० मेगावाट हाराहारी बिजुली भारतको बिहारबाट आयात गर्नुपरेको घोषले बताए । अहिलेसम्म वर्षा हुँदा हिउँदयामकै अवस्था कायम रहेकाले खोलामा पानीको बहाव बढ्न सकेको छैन । जसले विद्युत उत्पादनमा असर गरिरहेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाहमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । बर्खायाममा पानीको बहाव बढ्नासाथ बिजुली उत्पादन बढ्छ, हिउँदमा खोलानाला घट्ने र सुक्ने हुँदा विद्युत् कम उत्पादन हुने गरेको छ ।

अहिले पनि प्राधिकरणको राष्ट्रिय ग्रीडमा ३ हजार १७६ मेगावाट आयोजना जडित छन् । यद्यपि, विद्युत् उत्पादन भने १ हजार ७०० मेगावाट भइरहेको प्राधिकरणले जनाएको छ ।

११५ मेगावाट प्रणालीबाहिर

प्राधिकरणका अनुसार, अहिले राष्ट्रिय प्रणालीमा जोडिनुपर्ने २ वटा जलविद्युत् आयोजनामा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको छ । ती विद्युत् गृहमा मेसिन तथा उपकरण बिग्रेर प्राविधिक समस्या आउँदा ११५ मेगावाट बिजुली प्रणालीबाहिर रहेको प्राधिकरणले जनाएको छ ।

गर्मीयाममा लोड बढेकै बेला केही साताअघि ती विद्युत्गृहबाट विद्युत आपूर्ति बन्द भएको हो । ७३ मेगावाटको मध्य तमोर र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् गृहमा देखिएको समस्याले उत्पादन रोकिएको हो ।

ती आयोजाको उत्पादन बन्द हुँदा विद्युत् मागअनुसार लोड धान्न समस्या भएको प्राधिकरणका अधिकारी बताउँछन् । ती आयोजनाबाट फेरि कहिलेदेखि विद्युत् उत्पादन हुने कुराको अझै टुंगो छैन । दुवै आयोजना छिटो सञ्चालनका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १२ : २२ बजे

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र

शासकले ‘प्रेत जगाउन’ खोज्दैछन्‌

ऐतिहासिक संविधान सभामार्फत् वि.सं. २०६५ मा घोषणा गरिएको सङ्घीयता वि.सं.

विद्यार्थीको टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं– हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको

मनसुन बाहिरिन सुरु, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा – प्राकृतिक सौन्दर्य र वीरताको गाथाले मात्र होइन बारपाकको