दूधकोशी हाइड्रोको वित्तीय व्यवस्थापन ६ महिनाभित्रै, लागत तीन खर्ब « Khabarhub

दूधकोशी हाइड्रोको वित्तीय व्यवस्थापन ६ महिनाभित्रै, लागत तीन खर्ब

यसै वर्ष निर्माण थालिने


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रस्तावित ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन आगामी ६ महिनाभित्र हुने भएको छ । सन् २०२५ मार्चभित्र वित्तीय व्यवस्थापन गरी आयोजना निर्माण थालिने आयोजनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय दातृ संस्था एसियाली विकास बैंक (एडीबी) ले समेत ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको आयोजनालाई सरकारले चालू आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने लक्ष्य लिएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयोजना निर्माण सुरु गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण अघि बढाउन आवश्यक बजेट समेत व्यवस्था गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

आगामी ६ महिनाभित्र वित्तीय व्यवस्थापन सम्पन्न गरी आयोजनाको ठेक्का यसै वर्षभित्र लगाइने दूधकोशी जलविद्युत आयोजनाका प्रमुख विमल गुरुङले जानकारी दिए । ‘दूधकोशीमा खासगरी एडीबीकै मुख्य लगानी रहनेछ । कम्तिमा ६ महिना अर्थात् सन् २०२५ मार्चभित्र ‘फाइनान्सिङ क्लोजर’ गरिसक्ने लक्ष्य छ,’ आयोजना प्रमुख गुरुङले भने ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्तर्गत रहेको दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडको प्रवर्द्धनमा आयोजना निर्माण हुनेछ । एडीबीको ७० प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ३० प्रतिशत स्वःपूँजी रहने गरी लगानी जुटाइने लक्ष्य लिइएको छ ।

आयोजना निर्माणका लागि ब्याजसहित (प्रसारण लाइनबाहेक) २२०० मिलियन अमेरिकी डलर अर्थात् २ खर्ब ९६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माण गर्न आवश्यक लगानी रकम एडीबीसहित विश्व बैंक, साउदी फण्ड, युरोपियन इन्भेष्टमेन्ट बैंक, ओपेक फण्ड, सार्क डेभलपमेन्ट फण्डलगायतबाट जुटाउने सरकारको योजना छ ।

चालू आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने लक्ष्यअनुरूप आयोजना प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्ने, पहुँच मार्ग विस्तारलगायतका पूर्वतयारीका काम अघि बढिरहेको  गुरुङले बताए । आयोजना प्रभावित खोटाङ, ओखलढुंगा र सोलुखुम्बु क्षेत्रमा कुल २१ हजार ३०० रोपनी निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

एसियाली विकास बैंकको सहयोगमा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्टले सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन, डिजाइनका गरेको थियो । उक्त कम्पनीले विस्तृत डिजाइन, बोलपत्रसम्बन्धी कागजातहरू र वातावरणीय प्रभाव मुल्यांकन (इआए) समेत गरेर अन्तिम प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।

कसरी बन्दै छ आयोजना ?

सप्तकोशी सहायक नदीका रूपमा रहेको दूधकोशी जलविद्युत आयोजनाको बाँधस्थल खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने रबुवा बजारभन्दा एक किलोमिटर दक्षिणमा निर्माण हुनेछ । आयोजनाका दुई वटा विद्युत् गृहहरू हुनेछन् ।

६०० मेगावाटको विद्युत गृह खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ स्थित धितुङ गाउँ नजिकै निर्माण गरिनेछ भने अर्को ७० मेगावाटको विद्युत गृह भने ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–६ मा निर्माण हुनेछ ।

२२० मिटर अग्लो रकफिल बाँधबाट ३१.५ किलोमिटर लामो र १५८ करोड घन मिटरको कृत्रिम जलाशय निर्माण गरिनेछ । १३.२ किलोमिटर लामो सुरुङ बनाए फ्रान्सिस प्रविधिका ४ वटा टर्बाइन राखेर विद्युत् उत्पादन गरिनेछ । सुरुङ टनेल बोरिङ मेसिन(टीबीएम) मार्फत खनिनेछ ।

आयोजनाबाट वार्षिक ३ अर्ब ३७ करोड युनिट बिजुली उत्पादन हुने अनुमान छ । यसरी उत्पादन हुने बिजुली धनुषाको ढल्केबर सवस्टेशनमा जोडिनेछ । त्यसका लागि विद्युतगृहस्थल खोटाङको धितुङदेखि ढल्कबेर सवस्टेशनसम्म ८१ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

जग्गा अधिग्रहण, पहुँच मार्ग निर्माणलगायतका निर्माण पूर्वका कामहरू भइरहेका छन् । राष्ट्रिय राजमार्ग हुँदै आयोजनास्थलमा ठूला–ठूला उपकरण तथा मेसिन लैजानुपर्ने र ढुवानी गर्नका लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माणको काम भइरहेको छ ।

सगरमाथा राजमार्गको कदमहा–गाइघाट–माहुरे, सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी–हिलेपानी र मध्यपहाडी राजमार्गको हिलेपानी–बिजुले–माहुरे पुग्ने पहुँच मार्ग निर्माण गर्नपर्छ ।

आयोजनाले कुल ९८ किलोमिटर पहुँच मार्ग बनाउनुपर्नेछ । जसमध्ये ७० किलोमिटर सडकमार्ग केन्द्र र प्रदेश सरकारको मातहतमा पर्छ । बाँकी पहुँच मार्ग र ५ वटा पुल निर्माण गर्ने काम आयोजनाले गर्नुपर्नेछ ।

आयोजना निर्माण सुरु भएको ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कुलेखानीभन्दा २२ गुणा ठूलो आयोजना

दूधकोशी जलाशयुक्त बन्न लागेको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । आयोजनाको सम्भाव्यता अध्ययनले पनि दूधकोशी आयोजना अन्य जलाशययुक्त आयोजनाको तुलनामा धेरै ठूलो क्षमताको हुनेछ ।

आयोजना नेपालको विद्युत् खपत र निर्यातका दृष्टिकोणले कोशेढुंगा साबित हुने देखिएको छ । विस्तृत अध्ययन प्रतिवेदनका अनुसार, कुलेखानी जलाशय आयोजनाका तुलनामा दूधकोशी आयोजना २२ गुणा ठूलो हुनेछ । पानीको भण्डारणको क्षमताका आधारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाभन्दा यो आयोजना ७ गुणा ठूलो हुने आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य संरचनालाई ४ वटा लटमा विभाजन गरेर अघि बढाइनेछ । पहिलो लटमा बाँध, सिभिल र हाइड्रो मेकानिकलको काम हुनेछ । दोस्रो लटमा मुख्य सुरुङ र विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्य, तेस्रो लटमा इलेक्ट्रो मेकानिकल कार्य र चौथो लटमा प्रसारण लाइन निर्माण कार्य हुनेछ ।

मुख्य संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । त्यस्तै, आयोजना निर्माणको सुपरिवेक्षक कार्यका लागि अन्तर्राष्ट्रिय परामर्शदाता समेत चयन गरिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : २७ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण