अर्थसंक्षेप : लाइन काटिएका उद्योगमा बिजुली जोडियो, नेप्से १४.१२ अंकले घट्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : लाइन काटिएका उद्योगमा बिजुली जोडियो, नेप्से १४.१२ अंकले घट्यो


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको छ । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिरणले काटेको लाइन जोड्ने निर्णयबारे सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेकामध्ये २८ वटा उद्योगले अहिलेसम्म एक किस्ता पनि बक्यौता नतिरेको बताएका छन् ।

आजका प्रमुख आर्थिक समाचारहरुः

लाइन काटिएका अधिकांश उद्योगमा बिजुली जोडियो

नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको छ । प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार अधिकांश उद्योगको लाइन गएराति नै जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई जानकारी दिए । उनका अनुसार, बाँकी उद्योगका लाइन आज जोडिने छ । ‘हिजो नै बोर्ड बैठक बसेर निर्णय गरी राति नै अधिकांश उद्योगमा लाइन जोडिसकिएको छ,’ उनले भने, ‘बाँकी उद्योगमा आज नै जोड्ने तयारी छ ।’

मङ्गलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको प्रिमियम शुल्क उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । गत आइतबार मन्त्रिपरिषद्को निर्णयअनुसार, ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको बक्यौता टीओडी (टाइम अफ द डे) मिटरका आधारमा १५ दिनभित्र सबै बक्यौता उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

बक्यौता नउठाई उद्योगमा बिजुली जोडिएपछि सर्वोच्चले बोलायो सरकारलाई

डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिरणले काटेको लाइन जोड्ने निर्णयबारे सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ ।

सरकारको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा २४ घण्टाभित्र लाइन जोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसविरुद्ध परेको रिटमा सुनुवाइका क्रममा सर्वोच्चले अन्तरिम आदेश दिनुअघि दुवै पक्षसँग छलफल गर्ने भएको हो ।

सर्वोच्चले दुवै पक्षसँग छलफल गरेपछि यस रिटबारे अन्तरिम आदेश दिने नदिने निर्णय गर्ने भएको छ । अधिवक्ता कँडेलले रिटबारे दुवै पक्षसँग छलफल गरेपछि सर्वोच्चले अन्तरिम आदेश दिने नदिने टुंगो गर्ने बताएका छन् ।

कुलमानले भने– बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेकामध्ये २८ वटा उद्योगले अहिलेसम्म एक किस्ता पनि बक्यौता नतिरेको बताएका छन् ।

बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनमा परेका ३३९ उद्योगमध्ये अब बक्यौता तिर्न बाँकी उद्योगको संख्या ३९ वटा मात्रै रहेको बताएका छन् । त्यसमा पनि ७ वटा उद्योग प्रक्रिया अदालतको स्टे अर्डरमा रहेको पनि खुलाए ।
उनका अनुसार अहिलेसम्म २८ वटा उद्योगले कुनै पनि किस्ता नबुझाएको अवस्था रहेको खुलाए । ‘अहिलेसम्म २८ वटा उद्योगले एक किस्ता पनि तिरेका छैनन् । नेपाल सरकारको निर्देशनपछि यो पनि कार्यान्वयनको चरणमा छ । यदि यी २८ वटा उद्योगले १५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम दिनु भएन भने हामी प्रक्रियामा छौँ, लाइन काट्नुपर्ने अवस्था आउँछ ।’

नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले घटेको छ । नेप्सेमा बुधबार भएको १४४ वटा कम्पनीको शेयर कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेर नेप्से २७३४.८३ अंकमा सीमित भएको हो ।

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै आजको शेयर कारोबारमा भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

बुधबारको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचक बढेको छ भने अन्य सबै सूचकहरू घट्न पुगेको छ । आज १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७ अर्ब ९१ करोड बढी रुपैयाँमा कारोबार भएको थियो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा सप्तकोशी विकास बैंकको शेयर लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन् भने कुथेली बुखारी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अब समस्याउन्मुख सहकारीको अनुगमन गरिने, सातवटा टोली परिचालन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याउन्मुख सहकारीको अध्ययन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समस्याउन्मुख सहकारीको अध्ययनका लागि सातवटा टोली बनाएर पठाउने तयारी भएको बताए ।

सहकारी ऐनलाई संशोधन र सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा समिति बनाएर काम सुरु भइसकेको उनले बताए । उनले मुलुक संघीयतामा गएर तीन तहको सरकार बनेपछि राष्ट्रिय मापदण्ड जारी गर्न नसक्दा समस्या भएको धारणा राखेका छन् ।

सचिव पोखरेलले सहकारी क्षेत्रलाई नियमन गर्ने जिम्मेवारी संविधानले संघलाई दिएको अवस्थामा यसलाई मध्यनजर गर्दै राष्ट्रियस्तरको नियमकारी निकायको परिकल्पनामा काम गरिरहेको जानकारी दिए । सहकारीमा बचतकर्ताको सुरक्षा हुनुपर्नेमा स्पष्ट रहेको भन्दै उनले सबै प्रकारका बचतकारीको बचत संरक्षणमा सरकारको गम्भीर ध्यान रहेको उनले बताएका छन् ।

कलंकी–सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ । कात्तिक २८ गतेदेखि एक हप्तासम्म विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको लाइन आज बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

बुधबार, बिहीबार र शुक्रबार (२८, २९ र ३० गते) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् हुनेछैन । त्यस्तै आइतबार सोमबार र मंगलबार (मंसिर २, ३, र ४) कलंकी क्षेत्र, आइतबार पुनः कलंकीदेखि सतुंगल र सोमबार कलंकी क्षेत्रमा चार घण्टा बिजुली नहुने प्राधिकरणले जनाएको छ ।

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर

यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व संकलनमा कमी आएको हो ।

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवासीय राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । ‘यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन,’ उनले भने, ‘कार्यपालिका बैठकले आगामी मङ्सिरभित्र वगीकरण टुङ्ग्याउने योजना बनाएको छ ।’

नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व संकलनमा कमी आएको गैरेले बताए । दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ३६ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत