नेपालमा क्रिप्टोकरेन्सी खुला गर्दा कति जोखिम ? « Khabarhub

नेपालमा क्रिप्टोकरेन्सी खुला गर्दा कति जोखिम ?



काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अभौतिक मुद्रा बिटक्वाइनको प्रति इकाई मूल्य पहिलोपटक एक लाख अमेरिकी डलर पुग्यो । अन्य क्रिप्टोकरेन्सी मूल्य पनि पछिल्लो समय उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ ।

ट्रम्पको पुनरागमन र क्रिप्टोकरेन्सीकोे मूल्यमा भएको वृद्धिले पछिल्लो समय यसबारे फेरि  फेरि क्रिप्टोकरेन्सीको विषयमा विश्लेषण बढ्दै गएको छ । बिटक्वाइनको मूल्य बढेपछि भुटानले झण्डै ६ अर्ब नेपाली रुपैयाँ बराबरको बिटक्वाइन बिक्री गरेको समाचार सार्वजनिक भएका छन् ।

क्रिप्टोकरेन्सीलाई हेर्ने र मान्यता दिने विषयमा विश्वका मुलुकहरू विभाजित भएको देखिन्छ । इन्भेष्टोपेडियाको पछिल्लो समाचार अनुसार अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्वीट्जरल्यान्ड, स्पेन, बहमास र अष्ट्रिया लगायत मुलुकमा क्रिप्टोकरेन्सीको कारोबारलाई वैद्यता दिइएको छ ।

 तर, चीन, पाकिस्तान, साउदी अरेबिया, ट्युनिसिया र बोलिभिया लगायतका विश्वका थुप्रै मुलुकमा क्रिप्टोकरेन्सीको कारोबारमाथि प्रतिबन्ध लगाइएको छ । नेपालका हकमा पनि यही अवस्था छ । नेपालमा क्रिप्टोकरेन्सीको माइनिङ तथा कारोबार गर्न पाइँदैन ।

नेपाल राष्ट्र बैंकले विभिन्न समयमा सूचना जारी गरी कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको माइनिङ र कारोबार गैरकानूनी हुने जानकारी दिने गरेको छ ।

 के हो क्रिप्टोकरेन्सी ? कति जोखिमपूर्ण ?
क्रिप्टोकरेन्सी एक प्रकारको डिजिटल वा भर्चुअल (अभौतिक) मुद्रा हो । माइनिङ र स्टेकिङ विधिबाट क्रिप्टोकरेन्सी उत्पादन गर्ने गरिन्छ ।
यसरी उत्पादन हुने क्रिप्टोकरेन्सी अनलाइन विधिबाट मात्रै कारोबार गर्न सकिन्छ भने नियमन गर्ने कुनै निकाय हुँदैन ।

भौतिक मुद्राको जस्तो क्रिप्टोकरेन्सीको मूल्य स्थिर नहुने, ह्याक गरेर चोरी हुन सक्ने र विभिन्न मुलुकहरूले यसलाई मान्यता नदिएका कारणले यसको कारोबार जोखिमपूर्ण मानिन्छ ।

नेपालमा क्रिप्टोकरेन्सीको नियमन सम्बन्धी हालसम्म कुनै कानुनी व्यवस्था छैन । विश्वमा क्रिप्टोकरेन्सीप्रति मानिसहरूको आकर्षण बढे पनि वा कतिपय देशले यसको कारोबारलाई  वैधानिकता दिए पनि विभिन्न जोखिमका कारण नेपालको केन्द्रीय बैंकले वैद्यता नदिएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोख्रेल बताउँछन् ।

पोख्रेलका अनुसार; क्रिप्टोकरेन्सीको मूल्यमा भएको अस्थिरताले गर्दा व्यापार गर्नेका लागि यो जोखिमपूर्ण हुन्छ । नेपालमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउनुमा धेरै कारण भएको पोख्रेलको भनाइ छ ।

‘विश्वभर केन्द्रीय बैंकहरूले नैए मुद्रा प्रवाह गर्ने भएकाले यसको मूल्य स्थिर प्रकृतिको हुन्छ, तर, क्रिप्टोकरेन्सीको हकमा त्यस्तो हुँदैन, जसकारण त्यस्ता करेन्सीको ट्रेड (मुद्रा कारोबार) गर्नेहरू ठूलो नोक्सानीमा पर्न सक्छन्’, उनले भने ।

सामान्यतयाः जुनसुकै व्यक्ति, संस्था वा देशसँग भएको मुद्राबारे सम्बन्धित मुद्रा जारी गर्ने केन्द्रीय बैंक नै जबाफदेही हुन्छ । सम्बन्धित देशले सो मुद्राको जमानतसमेत दिएको हुन्छ ।

सोही जमानतको आधारमा विभिन्न माध्यमबाट प्राप्त हुने वा सञ्चित गरिने भौतिक वा डिजिटल मुद्रा आवश्यकता परेका बेला सटही गर्न सकिन्छ । तर, क्रिप्टोको हकमा त्यस्तो जमानत व्यवस्था हुँदैन । जसकारण क्रिप्टोकरेन्सीलाई वैधानिक बनाउन नसकिने सहप्रवक्ता पोख्रेलले बताए ।

‘हाम्रो मुद्रामा नेपाल सरकारको जमानतको व्यवस्था छ, क्रिप्टोकरेन्सीको हकमा कहाँबाट कसले निकालेको हो, त्यसको जमानत को हुने हो भन्ने व्यवस्था र नियामक भएको देखिँदैन’, पोख्रेल भन्छन्, ‘क्रिप्टो मुद्रालाई नेपाल राष्ट्र बैंकले नियमन गर्नसक्ने अवस्था नरहेको, साथै सो करेन्सीलाई नेपालीले धारण गर्दा जोखिमपूर्ण हुने अवस्था आकलन गरेरै वैधानिकता नदिइएको हो ।’

मुद्राको मूल्यमा सामान्यतयाः केही परिवर्तन भइरहन्छ । तर, क्रिप्टोको मूल्यमा अस्वाभाविक परिवर्तन देखिने गरेको छ । मूल्यमा हुने यस्तो परिवर्तनका कारण क्रिप्टोकरेन्सीलाई ‘स्पेक्युलेटीभ असेट्स’ (अनुमानित सम्पत्ति) का रूपमा मात्रै लिने गरिन्छ । त्यसैले क्रिप्टोलाई केन्द्रीय बैंकले नियमन गर्न सक्ने अवस्था नरहने पोखरेलको भनाइ छ ।  ‘क्रिप्टो डिजिटल कारोबारमा मात्रै सीमित हुने र यसको लगानी स्रोत नियमन गर्न छुट्टै ‘रेगुलेटरी’ जारी गर्नुपर्ने हुन्छ’, पोख्रेल भन्छन्, ‘तर हाम्रो सन्दर्भमा त्यसलाई रेगुलेट गर्नसक्ने अवस्था छैन र प्रविधि पनि छैन ।’

ठूलो विद्युत् खपत सम्भावना
क्रिप्टो मुद्रा उत्पादन गर्ने क्रममा ठूलो मात्रामा विद्युत् खपत हुने गरेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् । आरएमआईमा प्रकाशित रिपोर्टका अनुसार बिटक्वाइनको माइनिङ प्रक्रियामा मात्रै प्रतिवर्ष १२७ टेरावाट विद्युत् खपत हुने गरेको छ । जुन नर्वे लगायतका धेरै देशले खपत गर्ने बिजुली ऊर्जा बराबर हो ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का अनुसार नेपालका खोलानालाबाट ७२ हजार ५४४ मेगावाट बिजुली उत्पादन सम्भावना छ । केही आयोजना निर्माण चरणमा रहे पनि पछिल्लो समय तीन हजार मेगावाट हाराहारीमा मात्रै नेपालमा बिजुली उत्पादन भइरहेको छ ।

भविष्यमा उत्पादित विद्युत् बिक्रीको विषयलाई लिएर राज्य र निजी क्षेत्र दुवैले चिन्ता गरिरहेका छन् । यही चिन्ता व्यवस्थापन गर्न सरकारले भारत र बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता गरिसकेको छ । यी दुवै देशले नेपालबाट बिजुली लैजान थालेका छन् ।

क्रिप्टोकरेन्सी उत्पादन क्रममा ठूलो मात्रामा बिजुली खपत गर्न सकिने भए पनि नेपालमा बिजुली खपत गर्न सकिने अन्य प्रशस्तै क्षेत्र छन् । अर्कातर्फ क्रिप्टोकरेन्सीमा भएको जोखिमका कारण ऊर्जा क्षेत्रले यसलाई प्राथमिकता दिन आवश्यकता नभएको केन्द्रीय बैंकका सहप्रवक्ता पोख्रेल बताउँछन् ।

पछिल्लो समयमा नेपालमा विदेशी मुद्रा सञ्चितिको राम्रो भएको भए पनि क्रिप्टोजस्तो जोखिमपूर्ण क्षेत्रमा उदार नीति लिँदा विदेशी मुद्रा सञ्चितिमा समेत त्यसले ठूलो असर पार्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ४९ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु