बागलुङको बेलढुङ्गा पर्यटकको आकर्षण बन्दै | Khabarhub Khabarhub

बागलुङको बेलढुङ्गा पर्यटकको आकर्षण बन्दै


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बागलुङ– चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुङ्गामा पर्यटक आगमनमा वृद्धि भएको छ ।

समुद्री सतहबाट दुई हजार ६ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ ।

उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धवलागिरिसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् ।

बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला, संस्कृतिसँग रम्न सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समयसमयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवैतर्फबाट गाडी तथा पैदलयात्रा मार्फत यहाँ पुग्न सकिन्छ ।

दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएपछि गत माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताइ ।

माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुङ्गा आएको उनको भनाइ छ । उनले अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको जनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको बताए । आधा दशक अगाडिसम्म सुनसानजस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताए ।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनको भनाइ छ । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ ।

पोहोर साल देउराली डाँडाबाट बेलढुङ्गासम्म जोड्ने दुई सय ६० मिटर पदमार्गमा स्लेटढुङ्गा बिच्छ्याएको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए ।

पछिल्लो समय बिदाको दिन विभिन्न सङ्घसंस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुङ्गा पुग्न सकिन्छ ।

बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपर्थ्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ ।

लामो समय बुटवल बसेर बिदामा जन्मघर पर्वत आउनुभएका विशाल घिमिरेले आफूहरू १२ जनाको टोली मोटरसाइकलमै बेलढुङ्गा घुम्न आएको बताए ।

यसभन्दा अगाडि एकपटक पारिवारिक घुमफिरमा आएको सुनाउँदै त्यस बेलाको घुमाइले धित नमरेपछि यसपटक साथीहरूसँग आएको उनको भनाइ छ ।

घिमिरेले बेलढुङ्गामा घण्टौँ बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाए । बेलढुङ्गालाई रमाइलो गर्ने स्थलका साथै योगाश्रमका रूपमा विकास गर्न सुझाए ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ११ : ५१ बजे

बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

ललितपुर – ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो