कर्ण शाक्य सूत्र : पेट पाल्न व्यवसाय, मन पाल्न सेवा  | Khabarhub Khabarhub

कर्ण शाक्य सूत्र : पेट पाल्न व्यवसाय, मन पाल्न सेवा 



काठमाडौं– कर्ण शाक्य उद्यम गर्छन्, उद्यम सिकाउँछन् । त्यसअघि सकारात्मक बन्न जोड दिन्छन् । पटक–पटक लडेर उठ्न सल्लाह दिन्छन् । हरेस नखान उनका पुस्तकले नेपाली समाजमा एन्टीवायोटिकको काम गरेका छन् ।

उनी सधैँ माछा हैन, माछा मार्न सिकाउने विधि बसाउनुपर्नेमा बहस छेड्छन् । घरैभित्र धेरै शोक बेहोर्दा बेहोर्दै पनि आफूलाई स्पात बनाएर कर्ममा जुटेका तिनै व्यवसायी शाक्यले भने– ‘आजसम्म डेबिट–क्रेडिट के हो मलाई थाहा छैन ।’

‘हल्ट प्राइज’ शंकरदेव क्याम्पसद्वारा सञ्चालित कार्यक्रममा शाक्यले विजनेश भनेको आइडिया भएको बताए । हल्ट प्राइज उद्यमशीलता र सामाजिक प्रभावलाई बढावा दिने संस्था हो ।

नेपालका एक मात्र अरबपति विवादित विनोद चौधरी आफ्नो साथी भएर पनि उनी जति ‘स्मार्ट’ हुन नसकेको शाक्य स्विकार्छन् । भन्छन्, ‘यत्तिका होटलको मालिक हुँ तर मलाई आजको दिनसम्म डेबिट–क्रेडिट के हो थाहा छैन । पैसा दिने हो कि लिने हो ।’

व्यवसाय भनेको आइडिया हो, त्यसैले आफूलाई आउँदै नआउने जटिलतामा आफूलाई भुलाउन नहुने उनको राय छ ।

श्रम र परिश्रमले मात्रै मानिस सफल हुँदैन । आफ्नो कमजोरी र खुबी अध्ययन गर्नुपर्छ । उनले व्यवसायी बन्नु अगाडि कसैलाई पनि उत्प्रेरित गर्ने चिजको आवश्यकता पर्ने बताए ।

‘आफूले आफूलाई मुल्याङकन गर्नुस्, आफूलाई चिन्ने उपाय त्यही हो, उनले भने, ‘१४ वर्षसम्म नेपाली बोल्न नजानेको नेवारको छोराको नेपाली भाषामा लेखिएको किताब सबैभन्दा धेरै बिक्यो ।’

तपाईँको दिमागमा एक जना मात्रै मान्छेले सकारात्मक कुरा भरिदियो भने असम्भव लागेको काम पनि सम्पन्न हुने शाक्यको बुझाइ छ ।
शाक्यका अनुसार सहज परिस्थितिमा मान्छे उद्यमी बन्न सक्दैन । सुविधा मन्द विष हो । धनीका छोराछोरी ठूला मान्छे बन्न सक्दैनन् । गाउँबाट आएर संघर्ष गरेकाहरू नै सफल भएका छन् । छोराछोरीलाई संरक्षण गर, तर सुविधामा नराख । धेरै धनीका छोराछोरी अमेरिका, युरोपमा खत्तम जिन्दगी बाँचिरहेका छन् ।

व्यवसायले पेट पाल्न सकिन्छ तर मन पाल्न समाजसेवा गर्नुपर्ने शाक्यको सुझाव छ । व्यवसाय कसरी गर्ने ? व्यवसायको लागि होस्टे हैंसे गर्ने मान्छेहरू साथमा हुनुपर्ने उनी बताउँछन् । होस्टे हैंसे भनेको सरकार हो । यो उद्योग र व्यापार मात्र होइन जागिर पनि हो । तर जागिरे मनस्थितिले मात्रै जागिर खाने हो भने कहिले व्यवसायी बन्न नसकिने उनी दाबी गर्छन् ।

उनी भन्छन्, ‘व्यवसायी बन्ने भनेको सपना र विपनाको तालमेल मिलाउनु हो ।’

सरकारलाई गाली गरेर केही पार लाग्दैन । हामीले सरकारलाई सराप्नु भनेको आकाशमा थुक्नु हो । त्यो आफ्नै मुखमा आउँछ । देश राजनीतिज्ञले मात्रै होइन । हामी सबैले बिगारेको हो । अरूले गर्न पर्ने सबै कुरा थाहा छ, आफूले गर्ने के हो केही पनि थाहा छैन । कर्तव्य पालनामा हामी चुक्यौँ, खाली अधिकार चाहियो भन्न मात्रै जानेका छौ । हामी स–सानो काम नै हेर्दैनौँ ।

शाक्यका अनुसार आफ्नो कर्ममा इमानदार र जिम्मेवारी हुन सक्नुपर्छ । दिमागमा समझदारी लिएर हिँड्नुपर्छ । यो देशमा जनता हल्लाको पछि दौडिन्छन् । तथ्य र सत्य बुझ्नतिर लाग्नुस् र मूल्याङकन गर्नुस् । अहिलेको आधुनिक भनिने मान्छेहरू अर्काको दुःखमा सुख खोजिरहेको पनि शाक्य बताउँछन् ।

‘छुद्र मान्छे अरुलाई गाली गरेर आनन्द लिन्छ । मैले गाली गरेर त्यो चुप बस्यो भनेर अहंमा रमाइरहेका छन् ।’ केही मानिस ‘देश त खतम भो’ भनेर निराशा बेचिरहेका छन् । उद्यमीहरूको लागि महत्त्वपूर्ण कुरा सकारात्मक सोचको वीजारोपण गर्नु हो । नयाँलाई आशा जगाउनु हो ।

अहिले युवाहरू डिभी परे अमेरिका जाउँला भनेर एउटा खुट्टा उचालेर बसिरहेको उनको आरोप छ । उनी भन्छन्, ‘विदेशमा गएका एक प्रतिशत मानिस मात्र सफल भएका छन् ।’ पैसाले मात्र पुग्दैन । मान सम्मान र पहिचानका लागि आफ्नै देशमा बस्नुपर्छ ।

आफ्नो देशको सन्दर्भमा मैले के गर्न सक्छु भनेर सोच्नुपर्ने उनी बताउँछन् । दुखले कथा बोल्छ । सुखको मसीले केही बोल्न सक्दैन । भोकको समयमा टोकेको प्याजको कथा हुन्छ । सुनका डल्लाको के कथा हुन्छ ? चुनौती लिन सक्ने जुनसुकै क्षेत्रमा सफल हुन्छ ।

हामीले विदेशमा भएका सफल कथा मात्रै देखाइरहेका छौ । असफलताको कथा देख्न बाँकी छ । ‘फेसबुकमा फोटो देखिन्छ दुःख देखिदैन । पहिले युवा विदेश जाने लर्को थियो । अब त बुढाबुढीसम्म विदेश जाने चलनले देशको दुर्दशा सुरु भएको उनले बताए ।

‘जरा काटिएको त घाँस हो । वरपीपल बन्न जरा मजबुत हुनुपर्ने शाक्यले बताए । पेट मात्रै पाल्ने लक्ष्य हो भने जहाँ बसेपनि हुन्छ । ‘गरिब–गरिबबीचको खाडल राजनीतिज्ञले बनाइदिएका हुन्, उनले भने, ‘राजनीति गर्नको लागि गरिबको खाडल हुनुपर्छ । अभाव र विभेदको सिर्जना उनीहरूले गर्छन् ।’ मलाइ आफू हुने खाने भएर सकारात्मक कुरा गर्छ भन्छन् । ‘नकारात्मक भोको पेटले होइन, लोभी मनले बन्ने हो । भोको पेटले त काम खोजिरहेको हुन्छ । सम्भावना खोजिरहेको हुन्छ ।’

बहाना बनाउने अल्छीले हो । नेपालमा केही छैन भन्ने पनि अल्छीले हो । मेरो होटलमा काम गर्ने मान्छे छैन । ‘भूकम्पमा होटल भत्क्यो, बनाउने बेला बिहारबाट कामदार मगाउनुपर्‍यो ।’ नेपालीहरू अरबको टावर बनाउन गए, क्रिकेट स्टेडियम बनाउन गए ।

नेपालमा काम गर्ने मान्छे छैन । त्यति नै कामका लागि पैसा खर्च गरेर अरब किन जाने ? उनी प्रश्न गर्छन् । उनी आफ्ना होटेलहरु अहिले ट्रेनिङ क्याम्प जस्तो भएको बताउँछन् । युवाहरू एक वर्ष काम सिक्यो, अर्को वर्ष विदेश टाप कसेका छन् ।

उनी आफ्ना सुरुवाती दिनका अर्थात् संघर्षका कथा सुनाउँदै भन्छन्, ‘होटल खोल्न भनेर ५० वर्ष अगाडि आमाले ३० हजार रुपैयाँ दिनुभएको थियो ।’ त्यो बेला थरथर कामेको उनले सुनाए । ‘आमाले विश्वास गरेर दिएको त्यो पैसाको लाज राख्न सकौँला कि नसकौँला भनेर डराएँ, आमाले मलाई गरेको विश्वास देखेर ढुकढुक भएको थिएँ ।’

१३ वटा कोठाबाट होटल सुरु गरेको उनी बताउँछन् । आठ वर्षदेखि व्यवसायको काम हेरेको छैन । सकारात्मक अभियान भनेर लागेको छु । ‘गाउँ–गाउँ पुगेको छु । युवा, महिलालाई भेटेर देश छोडेर विदेश जान आवश्यक छैन ।’

‘यो देश सम्भावनाहरूले भरिएको ढुकुटी हो भनेर सम्झाइरहेको छु । गाउँको, गरिबको छोराछोरी भनेर कहिले ग्लानी नगर्नुस् । म आफ्नै छोराछोरीलाई पनि पत्याउँदिनँ,’ उनी भन्छन्, ‘एक सरकारी कार्यालयमा मेरी छोरीको काम  १५ दिन रोकियो । तर मैले तिमी आफैं गर भनेँ ।  आफैले नगर्दासम्म सिकिँदैन ।’

‘संसारमा २२० देश छन् । प्राकृतिक, सांस्कृतिक, भौगोलिक दृष्ट्रिकोण हाम्रो देश जति उत्कृष्ट अरु छैन । राष्ट्रिय, सांस्कृति र मानवीय तत्वले हामीले पर्यटक भित्र्याउन सकिन्छ,’ शाक्य भन्छन् ।

यो पहाड र हिमाल मात्रै भएको देश कसरी विकास गर्ने ? बाटो कहिले पुर्याउने भन्ने थियो । ‘पाँच‍‍औँले यार्सागुम्बा, हुटिट्याउ जस्ता वनस्पति हामीसँगै छ’ उनी भन्छन्, ‘अमेरिकीहरूले नेपालको वनस्पति लगेर अबौँ कमाइसके । हामी अध्ययन गर्न पनि सकिरहेका छैनौँ ।

‘नेपाली भोको पेटमा पनि हाँस्न सक्छन् । माग्न बसेका पनि हाँसिरहेका हुन्छन्’, शाक्य भन्छन्, ‘दुई पैसा दिनुस् न भन्दै हाँसिरहेका छन् नेपालमा अध्ययन गर्ने हो भने संसारको कुनै पनि कुनामा फल्ने फल फलाउन सकिन्छ ।’

अब झन् सबै विदेश जाने भनेर लागेका छन् । यो देशको स्रोत पत्ता लगाएर काम कसले गर्ने हो ? भनेर उनी प्रश्न गर्छन् । ‘सगरमाथा शिरमा बोकेको देशका नागरिक अन्य मुलुकमा गरिब भएर हिँड्नुपरेको छ । ’

प्रधानमन्त्री, मन्त्रीलाई विदेश भ्रमण कस्तो भयो भनेर सोध्यो भने फस्टक्लास भन्छन् । तर हाम्रो हिमालका कारण हाम्रा र जंगलका कारण जलवायुमा पुर्‍याएको योगदानको बारेमा केही नबोलेको उनको गुनासो छ ।

उनी भन्छन्, ‘हिमालको कारण ४४ प्रतिशत जंगल बचेको छ । तर हामीले आफ्नो अधिकार पनि माग्न सकेका छैनौँ । कार्बन ट्रेकिङको बारेमा अध्ययन गर्ने कहिले हो ?

तस्बिर : उद्धव बाेगटी 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : १२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि