प्रदेश प्रमुखको पँजनी : ओलीलाई खुशी पार्दा जसपा रिसायो | Khabarhub Khabarhub

प्रदेश प्रमुखको पँजनी : ओलीलाई खुशी पार्दा जसपा रिसायो

प्रदेशमा संघको विकृत छाया


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको साथ छाडेर एमालेसँग नयाँ गठबन्धन बनाए । दाहालले विश्वासको मत लिनसम्म भ्याएका थिएनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमककी सुमित्रा सुवेदी भण्डारीलाई राजनीतिक नियुक्ति दिलाउन हतार भयो ।

आफ्नो गृहनगरकी पार्टी कार्यकर्ता सुमित्रालाई ओलीले ‘बम्पर उपहार’ स्वरुप ०७८ सालमै डेनमार्कको राजदूतमा सिफारिस गरेका थिए । तर, उनी राजदूत बन्न पाइनन् ।
संसद विघटन उल्टिएयता सरकारमा जान नपाएका ओलीले सुमित्रालाई लाभको पद दिन सकेका थिएनन्, प्रचण्डले आफूसँग गठबन्धन गर्नासाथ ओलीले पहिलो नियुक्ति सुमित्रालाई दिलाई छाडे ।

केपी ओलीकै चाहना अनुसार प्रधानमन्त्रीले झापाकी सुमित्रालाई मधेस प्रदेशको प्रदेश प्रमुख बनाउने निर्णय लिए । बुधबार उनले राष्ट्रपतिबाट सपथसमेत खाइसकेकी छिन् ।

झापाको दमकमा परिवार नियोजन संघ, खानेपानी र शिक्षा समितिमा काम गरेको सुमित्रासँग अनुभव छ । उनी अनेम संघ झापाकी पूर्वअध्यक्ष र पूर्वशिक्षक पनि हुन् । एमाप्रति बफादार उनी ओली निकट मानिन्छिन् ।

नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका अन्य पार्टनरलाई थाहै नदिई हतार–हतार केपी ओलीलाई खुशी पार्न सुमित्रा लगायत तीन एमाले नेतालाई प्रदेश प्रमुख बनाउँदा जसपा लगायतका दलमा असन्तुष्टि देखा परेको छ । खासगरी मधेसमा मधेसी समुदायको अनुहार नदेखिएको भन्दै जसपाले असन्तुष्टि पोखेको छ ।

यसअघि कांग्रेस र एमालेले मधेसमा मधेसी समदायकै व्यक्तिलाई प्रदेश प्रमुख बनाउँदै आएका थिए । यसपटक भने हरिशंकर मिश्रलाई हटाएर सुमित्रा सुवेदी भण्डारीलाई ल्याउँदा जसपाले मधेसी अनुहार नदेखिएको भन्दै असन्तुष्टि बनाएको हो ।

बुधबार प्रतिनिधिसभामा बोल्दै जसपा सांसद राजकिशोर यादवले प्रधानमन्त्री दाहाललाई भने, ‘सरकार बनेको हप्ता दिन भएको छैन, तपाईले तीनवटा प्रदेश प्रमुख बदल्नुभयो । त्यसमा मधेसीको अनुहार देखिएन । हामी सशक्त घटक हौं, अब तपाईले गरेका प्रतिवद्धताअनुसार हामी आफ्नो भाग खोज्छौं । हाम्रो भाग यदि न्यायसंगत लागेन भने त्यतिबेला हामीले त्यतिकैरुपमा हिसाब माग्नेछौं र त्यो हिसाब अप्रिय पनि हुन सक्छ ।’

एमालेका भागमा तीनजना

अब प्रदेश प्रमुखहरुमा एमालेका तर्फबाट तीनजना, माओवादीका दुईजना, जनता समाजवादीका एकजना र एकीकृत समाजवादीका एकजना छन् । कांग्रेसको भाग खोसिएको छ । प्रदेश संरचनाप्रति विमति राख्दै आएको रास्वपाको कोटाबाट पनि प्रदेश प्रमुख छैनन् ।

एमालेका तर्फबाट मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख बनेका छन् । माओवादीबाट लुम्बिनी र कर्णाली, जसपाबाट कोशी अनि एकीकृत समाजवादीबाट वागमतीमा प्रदेश प्रमुख छन् ।

एमाले–माओवादी गठबन्धन कसिएको ७ दिन नबित्दै एमालेले तीनवटा प्रदेश प्रमुख पाएको हो । मधेसमा सुमित्रा प्रदेश प्रमुख बनेकी छन् भने गण्डकीमा एमाले नेता डिल्लीराज भट्ट र सुदूरपश्चिममा पनि एमालेकै नेता नजिर मियाँ प्रदेश प्रमुख बनेका छन् । उनीहरु तीनैजनाले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् ।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ, वागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार भने गठबन्धन फेरिए पनि यथावत रहेका छन् ।

प्रदेशमा संघको विकृत छाया

प्रदेश सरकारहरु पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकालमा चलिरहेका छन् । राजनीतिक स्थायित्व भएको भए अहिलेसम्म प्रदेश प्रमुखको कुर्सीमा दुई कार्यकाल गरेर १४ जना हुनुपर्ने हो । तर, दोस्रो कार्यकाल पूरा नहुँदै २३ जनाले प्रदेश प्रमुखको सपथ खाइसकेका छन् ।

राजनीतिक स्थायित्व भएको भए अहिलेसम्म प्रदेश प्रमुखको कुर्सीमा दुई कार्यकाल गरेर १४ जना हुनुपर्ने हो । तर, दोस्रो कार्यकाल पूरा नहुँदै २३ जनाले  सपथ खाइसकेका छन् 

संघमा सरकार फेरिएपिच्छे प्रदेश प्रमुखहरु पँजनीमा पर्ने गरेका छन् । प्रदेश प्रमुखहरु जिल्लाका सिडियो भन्दा पनि बढ्दा राजनीतिकरणको शिकार बन्ने गरेका छन्, जुन संघीयताको भद्दा अभ्यास हो ।

कोशीमा अहिलेसम्म तीनजना प्रदेश प्रमुख फेरिए । सुरुमा कांग्रेसका गोविन्द सुब्बा प्रदेश प्रमुख भए भने एमालेबाट सोमनाथ अधिकारी र जसपाबाट पर्शुराम खापुङ प्रदेश प्रमुख बने ।

मधेसमा पहिलो कार्यकालका मुख्यमन्त्री पाँचै वर्ष टिके पनि प्रदेश प्रमुख भने ५ पटक फेरिइसकेका छन् । सुरुमा कांग्रेसका रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख थिए भने त्यसपछि माओवादीका तिलक परियार, एमालेका राजेश झा (अहिराज) र कांग्रेसका हरिशंकर मिश्र प्रदेश प्रमुख बनेका थिए । अहिले मिश्रलाई हटाएर एमाले नेतृ सुमित्रा सुबेदी भण्डारीलाई प्रदेश प्रमुख बनाइएको छ ।

वागमती प्रदेशमा पनि तीनपटक प्रदेश प्रमुख फेरिइसकेका छन् । शुरुमा कांग्रेसका अनुराधा कोइराला, एमालेका विष्णु प्रसाई र अहिले एकीकृत समाजवादीका यादवचन्द्र शर्मा वागमती प्रदेशको प्रमुख बनिसकेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ पटक प्रदेश प्रमुख फेरिएका छन् । शुरुमा यहाँ कांग्रेसका तर्फबाट बाबुराम कुँवर प्रदेश प्रमुख बनेका थिए भने त्यसपछि माओवादीबाट अमिक शेरचन, एमालेबाट सीता कुमारी पौडेल र कांग्रेसबाट पृथ्वीमान गुरुङ प्रदेश प्रमुख बने । सीता पौडेलले ८५ दिन मात्रै प्रदेश प्रमुख चलाइन् ।

गण्डकीमा यसअघि पञ्चायती व्यवस्थाको विरोधमा संघर्ष गरेका शहीद हरिप्रसाद गुरुङका छोरा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए । उनलाई हटाएर डोटीका एमाले नेता डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाइएको छ ।

लुम्बिनीमा तीनपटक प्रदेश प्रमुख परिवर्तन भएका छन् । सुरुमा कांग्रेसका उमाकान्त झा, त्यसपछि एमालेका धर्मनाथ यादव र त्यसपछि माओवादीका अमिक शेरचन लुम्बिनीको प्रदेश प्रमुख बनेका छन् ।

कर्णालीमा पनि तीनपटक प्रदेश प्रमुख परिवर्तन भएका छन् । शुरुमा कांग्रेसका दुर्गाकेशर खनालले प्रदेश प्रमुख चलाएका थिए भने वीचमा एमालेका गोविन्द प्रसाद कलौनी र त्यसपछि माओवादीका तिलक परियार प्रदेश प्रमुख बनेका छन् ।

संघीय सरकार परिवर्तनको बढी मार सुदुरपश्चिम प्रदेशमा पनि पर्ने गरेको छ । यो प्रदेशमा ५ पटक प्रदेश प्रमुख फेरिएका छन् । शुरुमा कांग्रेसका मोहनराज मल्ल प्रदेश प्रमुख बनेका थिए भने त्यसपछि माओवादीकी शर्मिला त्रिपाठी प्रदेश प्रमुख बनिन् ।

नेकपा फुटेपछि केपी ओलीले त्रिपाठीलाई हटाएर एमालेका गंगाप्रसाद यादवलाई प्रमुख बनाए । कांग्रेस–माओवादी गठबन्धनले १९० दिनपछि यादवलाई हटाएर कांग्रेसका देवराज जोशीलाई प्रदेश प्रमुख बनायो । अहिले जोशीलाई हटाएर एमालेका नजिर मियाँलाई सुदुरपश्चिमको प्रदेश प्रमुख बनाइएको छ ।

मिया नेकपा एमालेका केन्द्रीय सल्लाहकार हुन् । उनी अर्घाखाँचीमा जन्मेका हुन् । ०६४ सालमा एमालेबाट संविधानसभाको समानुपातिक सदस्य बनेका उनी हाल बुटवलमा बसोबास गर्दै आएका छन् ।

देउवाले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई केपी ओलीले २०७६ मा हटाएका थिए । देउवा सरकारका पालामा प्रदेश १ देखि क्रमशः गोविन्द तुम्याङ, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्ल प्रदेश प्रमुख बनेका थिए ।

उनीहरुका ठाउँमा नेकपा सरकारले सोमनाथ अधिकारी, तिलक परियार, विष्णु प्रसाईँ, अमिक शेरचन, शर्मिला पाण्डे, धर्मप्रसाद यादव र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाएको थियो ।

नेकपा फुटेपछि ओलीले माओवादी कोटाका प्रदेश प्रमुखहरु तिलक परियार, शर्मिला त्रिपाठी र अमिक शेरचनलाई हटाएर राजेश झा, सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरे ।

ओली सरकारले गरेका नियुक्तिहरु उनको सरकार ढलेपछि फेरि हेरफेर गरियो । गण्डकीबाट बर्खास्त भएका अमिक शेरचनलाई माओवादीको कोटाबाट लुम्बिनीको प्रदेश प्रमुख बनाइयो । कोशीमा जसपाको कोटाबाट पर्शुराम खापुङलाई प्रदेश प्रमुख बनाइयो भने मधेसमा राजेश अहिराजलाई हटाएर कांग्रेसका हरिशंकर मिश्रलाई बनाइयो ।

गण्डकीमा एमालेकी सीता पौडेललाई हटाएर कांग्रेसका पृथ्वीमान गुरुङलाई ल्याइयो । सुदुरपश्चिममा कांग्रेसका देवराज जोशीलाई हटाएर नजिर मियालाई ल्याइयो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ३ : ५८ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन