धनराज चलाख रहेछन्, सहकारी ठगेर नाटक गरे | Khabarhub Khabarhub

संवाद

धनराज चलाख रहेछन्, सहकारी ठगेर नाटक गरे

रकम अपचलन गरेको सहकारीले थाहा पाएलगत्तै डिभोर्स गरेका हुन्



सहकारी ठगी प्रकरणमा सत्तापक्षदेखि प्रतिपक्षी दलका एकपछि अर्का नेता मुछिने क्रम जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछाने जोडिएको भनिएको सहकारी ठगी प्रकरणबाट यो क्रम शुरू भएको थियो । संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रतिनिधि सभामा आक्रामकता देखाएका नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङसमेत यतिखेर सहकारी ठगी मामिलामा मुछिएका छन् । उनीमाथि ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट श्रीमती ज्योति गुरुङको नाममा समेत गरी लिएको सावाँब्याज १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

गुरुङले भने श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको, संयुक्त लिएको ऋण आफूले तिरेको, तर आफूलाई सहकारीका अध्यक्ष कुम्भराज गुरुङले फसाएको बताउँदै आएका छन् । कुम्भराजले चाहिँ धनराजविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) देखि संसदीय छानबिन समितिसम्म उजुरी दिएका छन् ।

शुक्रबार खबरहब प्रतिनिधि ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पुगेको थियो । शुक्रबार परेकाले कार्यालय २ बजे नै बन्द भएको रहेछ । संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई फोन गर्दा उनले भर्खरै घर पुगेको जानकारी गराए । तर उनी पुनः अफिस आउने भए । हामीले स्थानीयसँग पनि मितेरी सहकारीबारे केही कुराकानी गर्‍यौँ । कुराकानीका क्रममा त्यहाँका स्थानीयले मितेरी सहकारी संस्था ठीक ढङ्गले चलेको बताए ।

स्थानीय एक व्यवसायीले नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङकी श्रीमतीले रकम अपचलन गरेको बाहेक अन्य कुनै पनि काण्ड सहकारीमा नभएको दाबी गरे । उनी पनि सो सहकारीका शेयर सदस्य रहेछन् । गुरुङले खबरहबको टोलीलाई सो सहकारीको कार्यालयभित्र लगे । कर्मचारीहरूले दिएको जानकारीअनुसार भाडाको एउटा फ्ल्याट (तलो)मा मितेरी सहकारी सञ्चालन भएको रहेछ । काङ्ग्रेस उपसभापति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेकी सो सहकारीकी महाप्रबन्धक ज्योति गुरुङको कार्यकक्षमा भने ताला लगाइएको थियो । ताला खोलेर सिसी क्यामेरा राखिएको स्थान देखाउँदै अध्यक्ष गुरुङले भने, ‘यही कार्यकक्षबाट १२ करोड ५० लाख रुपैयाँ रकम अपचलन भयो । मान्छे कहाँ छन्, हामीलाई जानकारी छैन । पैसा छैन, उनको कोठा चाहिँ सुरक्षित छ ।’

ज्योति गुरुङको कार्यकक्ष

प्रस्तुत छ – उनै गुरुङसँग खबरहब संवाददाता ज्ञानु घिमिरेले गरेकी कुराकानीको सम्पादित अंश :

मितेरी बचत तथा ऋण सहकारी संस्था कसरी खोल्नुभयो ?

वि.सं. २०५८ सालमा मैले यो सहकारी खोलेँ । शुरूमा हामी ६ जना मिलेर खोलेका थियौँ । अहिले सञ्चालक समितिमा ९ जना छौँ ।

बेलायती सेना र विभिन्न जागिरबाट अवकाश पाएका साथीहरू हुनुहुन्छ । म भन्दा सिनियर पनि हुनुहुन्छ ।

यो सहकारीको कार्यक्षेत्र चाहिँ कहाँ–कहाँ हो ?

काठमाडौं उपत्यका हो । तर, अहिले हामी ललितपुरमा मात्र केन्द्रित छौँ । अनुमति चाहिँ उपत्यकाभित्र पाएको छु । बागमती प्रदेशमा दर्ता छ ।
कर्मचारी कति जना हुनुहुन्छ ?

पहिला १२/१३ जना थिए । अहिले त ६ जना छौँ । कोरोना र मान्छेको व्यवहारका कारण सहकारीमा समस्या आयो । ठूलो रकम अपचलन गरेर मान्छे भागे ।

यो सहकारीको दैनिक कारोबार कति छ ? लगानी कति छ ?

१८ करोड रुपैयाँ लगानी छ । व्यवसायिक साथीहरूले विश्वास गर्नुभएको छ ।

१८ करोड रुपैयाँजति सहकारीको खातामा छ । १४ करोड रुपैयाँजति डुबेको छ । अब लगभग १५ करोड रुपैयाँ नै पुग्न लाग्यो होला । दिनमा ५० हजार रुपैयाँजति कारोबार हुन्छ ।

सहकारीमा तपाईं कहिलेदेखि अध्यक्ष हुनुहुन्छ ?

शुरूदेखि म नै अध्यक्ष छु । साधारण सभाबाट पनि मलाई नै अध्यक्ष दिनुहुन्छ । अध्यक्ष बन्न अरू मान्नुहुन्न ।

अनि नियमले यहाँलाई निरन्तर अध्यक्ष हुन दिन्छ त ?

साथीहरूले मान्नुभएन । सर्वसम्मति भएपछि म अध्यक्ष बनिरहन मिल्ने रहेछ ।

सञ्चालक समितिमा मलाई नै जिम्मेवारी दिनुहुन्छ । त्यस्तो अवस्थामा म गर्दिनँ भन्न पनि मिल्दैन ।

सहकारीको झण्डै १४ करोड रुपैयाँ डुबेको भन्नुभयो, कसले डुबायो ?

नेपाली कांग्रेसका नेता धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ यही सहकारीमा थिइन् । उनले संस्थामा डिपोजिट गर्न आएका मान्छेको रकम आफूखुसी झोलामा हाल्ने रहिछन् । पहिला थाहा भएन । सहकारी उनले नै डुबाइन् ।

घर सहकारीबाटै ऋण लिएर बनाएका थिए, तीन वर्षअघि बेचेको हो । उनले मलाई ‘ज्योतिले धोका दिई’ भन्थे । तर उनीहरू च्याटमा बोलेको, फोनमा बोलेको रेकर्ड मलाई उनी नजिकका मान्छेहरूले पठाए

यो सहकारीमा ज्योति कहिले जोडिनुभएको थियो ?

वि.सं. ०५८ सालदेखि नै जोडिएकी हुन् । शुरूमा उनको तलब तीन हजार रुपैयाँ थियो । ०७६ सालमा निस्कँदा ४१ हजार रुपैयाँ पुगेको थियो ।

धनराज गुरुङ पनि २०५८ मै जोडिएका हुन । उनी यो सहकारीका शेयर सदस्य थिए ।

मितेरी बचत तथा ऋण सहकारी स‌ंस्था लिमिटेडको रिसेप्सन । इन्सेटमा ज्योति गुरुङको तस्बिर ।

धनराज गुरुङ र उहाँको परिवार कसरी सहकारीमा जोडिनुभयो ?

हाम्रो घर स्याङ्जामा सँगै हो, वल्लो गाउँ – पल्लो गाउँ ! मैले सहकारी संस्था खोलेको धनराजले पनि थाहा पाएछन् । गाउँले दाजुभाइ भएकाले मलाई ‘श्रीमती ज्योतिलाई जागिर लगाइदिन’ भने । अनि सीभी (वैयक्तिक विवरण) पठाउन लगायौँ ।

त्यसपछि मैले हाम्रो अफिसमा एकाउन्टेन बनाएर ज्योतिलाई जागिरमा राखेँ । शुरूमा उनको पनि काम राम्रो थियो । त्यसपछि म्यानेजर हुँदै प्रबन्ध निर्देशकसम्म बनाइएको थियो । उनले शुरूमा राम्ररी नै काम गरेकी हुन्‌ ।

तर, २०७५ पछि सहकारीमा समस्या आयो । साथीहरूले रकम फिक्स डिपोजिट गरेको छ भन्नुभयो । खातामा पैसाको रेकर्ड छ, सर्भरमा छैन । अनि के भयो भन्दा त प्रबन्ध निर्देशक (ज्योति)ले रकम सर्भरमा इन्ट्री नै गरेकी रहिनछन् ।

हामीले धनराज (हाल काँग्रेस उपसभापति) लाई बोलाएर सोध्यौँ। उनले त्यहाँ पनि स्वीकार गरिन् र ‘बाहिर लगानी गरेको’ भनिन् . धनराजले पनि ‘लगानी गरेको रहेछ, विस्तारै तिर्दै जान्छौँ’ भनेपछि सहमति भयो

कार्यालयबाट प्राप्त अभिलेखको अवस्था अधुरो देखियो । । जे जति कागजपत्र प्राप्त भएको छ – सो अध्ययन गर्दा कार्यालयले स्पष्ट रूपमा राख्नुपर्ने अभिलेख अद्यावधिक राखेको छैन । संस्थाको १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको अभिलेखबाट देखिन्छ ।

१३८ जनाभन्दा बढीको रकम हिनामिना गरेको भेटियो । लगानी गरेको देखाइएको र कर्जा लगानी गरेको भनिएको व्यक्तिले कर्जा नलगेको पाएपछि हामी छक्क पर्‍यौँ ।

अनि, संस्थाको अध्यक्षलाई यत्ति पनि थाहा भएन ?

म सहकारीको प्रचारमा हिँड्ने भनेर बोर्ड बैठक बस्यो । साथीभाइले मलाई राम्रो मान्छे मान्थे । मैले बजार सम्हाल्ने, प्रबन्ध निर्देशक (धनराजकी श्रीमती ज्योति)ले अफिसको सबै कारोबार सबै गर्ने भनी सहमति गरियो ।

त्यसपछि उनलाई ०७३ बाट सबै आर्थिक कारोबार गर्ने अधिकार दिइयो । साथीहरूले ठूलो रकम फिक्स डिपोजिट गर्नुभएको रहेछ । पछि लिन आउँदा त रकम सर्भरमा छैन ! खातामा इन्ट्री छ, तर कम्प्युटरमा हेर्दा देखिँदैन ।

ज्योतिले शुरूमा राम्रो काम गरेकी हुन् । तर पछि उनीबाटै फसियो ।

रकम अपचलन भएको कति बेला थाहा पाउनुभयो ?

बचतकर्ताले पास बुक लिएर रकम लिन आउँदा मात्र थाहा भयो नि ! रेकर्डमा थिएन ।

अडिट गराउनुभएन ?

ऋणमा ठीक छ । तर पासबुकमा पैसा लेखिएको छ । संस्थाको खाता र एकाउन्टमा इन्ट्री छैन । पासबुकमा लेख्यो, पठायो गरेको रहेछ ।

साइन चाहिँ उसकै छ । तर रकम संस्थामा छैन । पासबुकमा छ । पहिला त एक दुईवटा मिस्टेक भएछ भनेर उनले (ज्योतिले) रकम देखाउन खोजिनन् । तर दिनदिनै त्यस्तो हुन थालेपछि हामीलाई शङ्का लाग्यो । बोर्ड बैठक डाक्यौँ । त्यसपछि उनलाई बोलाएर सोध्दा ‘मैले रकम अपचलन गरेकै हो’ भनेर स्वीकार गरिन् ।

त्यसपछि हामीले धनराज (हाल काँग्रेस उपसभापति) लाई बोलाएर सोध्यौँ। उनले त्यहाँ पनि स्वीकार गरिन् र ‘बाहिर लगानी गरेको’ भनिन् . धनराजले पनि ‘लगानी गरेको रहेछ, विस्तारै तिर्दै जान्छौँ’ भनेपछि सहमति भयो ।

यो काण्ड ०७६ साल पुस १६ गतेको हो । त्यसपछि उनीहरू अफिसमै आएनन् । तर, ‘रकम तिर्छौं’ भन्दै दुबैजना सम्पर्कमै थिए । उनीहरूले घर पनि सहकारीको रकम लिएर बनाएका थिए । हामी पनि आशावादी भयौँ । देशको नेता भनेर चिनिएको व्यक्तिले ‘म जसरी रकम मिलाउँछु’ भन्दै झुलाइरहे

मगर समाज सेवा केन्द्र नेपालको कार्यक्रममा सबै राखेर मौखिक सहमति भएको छ । भलाद्मीहरू पनि हुनुहुन्छ । सहकारी सबै नियममा चलेको छ । छैन भने त कारवाही भोग्न तयार छौं नि !

त्यत्रो रकम अपचलन गरेको भए श्रीमती र धनराज सँगै भएको बेला किन कागज नगरेको ?

म पनि एउटै जिल्लाको ! त्यहाँ भएका भलाद्मीले पनि ‘धनराजले बोलेपछि तिर्छन्’ भने । धनराजले पनि ‘जसरी तिर्छु, मैले यति मान्छे राखेर दाइसँग कुरा गरेको छु । किन तिर्दिनँ ?’ भने ।

मैले विश्वास गरेँ । कागज गरिएन । यो काण्ड ०७६ साल पुस १६ गतेको हो । त्यसपछि उनीहरू अफिसमै आएनन् । तर, ‘रकम तिर्छौं’ भन्दै दुबैजना सम्पर्कमै थिए । उनीहरूले घर पनि सहकारीको रकम लिएर बनाएका थिए । हामी पनि आशावादी भयौँ । देशको नेता भनेर चिनिएको व्यक्तिले ‘म जसरी रकम मिलाउँछु’ भन्दै झुलाइरहे ।

पछि २०७७ सालतिर ज्योतिले अर्का व्यक्ति ज्योतिबहादुर भण्डारीलाई सम्पर्क गराएर ‘उनले रकम तिर्छन्’ भनिन् । त्यसपछि ती ज्योतिबहादुर भण्डारी पनि सम्पर्कमा आए, तर भुलाएर बसिरहे । रकम तिरेनन् । मलाई फोनमा कहिले के त कहिले के भन्ने गरिरहे ।

धनराज पनि सम्पर्कमा नै थिए । तिर्छन् होला भन्ने भयो । तर, अहिलेसम्म नतिरेपछि संसदीय छानबिन समितिले सम्पर्क गरेर म बयानका लागि गएको हुँ । अहिले त ज्योतिबहादुर भण्डारी पनि सम्पर्कमा छैनन् । उनी काठमाडौँमा कुनै कम्पनी चलाएर बसेका छन् रे !

अनि धनराजको त सम्बन्धविच्छेद (डिभोर्स) भएको रहेछ, किन उनलाई दोष लगाउनुभएको ?

नाटक ! मलाई डिभोर्स भएको थाहा थिएन । सहकारीलाई तिर्नुपर्ने रकमबारे कुरा गर्दा कताकता ‘मैले चलाएको हो र ?’ भन्दै हिँडेछन् ।

अनि किन यसो भने भनेर अनुसन्धान गर्दा श्रीमतीले रकम अपचलन गरेको सहकारी संस्थाले थाहा पाएको ठीक दुई महिनापछि ०७६ फागुन २० गते उनीहरूबीच सम्बन्धविच्छेद भएको रहेछ ।

०७६ पुस १६ गते सहकारीको रकम अपचलन भएको थाहा हुनु र ठीक दुई महिनापछि डिभोर्स हुनु ! यो कति लाजमर्दो कुरा हो । फेरि, त्यसपछि भएको चुनावमा उम्मेदवार बन्न निर्वाचन आयोगलाई बुझाएको पत्रमा धनराजले श्रीमतीको नाम ज्योति गुरुङ नै लेखेका छन् । कसरी भयो त ?

धनराज चलाख रहेछन् । मैले मेरो समुदायको मान्छे भनेर निकै सहयोग गरेको थिएँ । संस्थाले पनि चुप बसेर सहयोग गरेको थियो । तर टाउकोमा टेके, तनाव दिए । यो सबै नाटक गरेर रकम नतिर्ने खेल हो ।

धनराजले त ‘कुम्भराजले श्रीमती घुमाउन विदेश पठाउनुहुन्थ्यो, उहाँका कारण घरबार बिग्रियो’ भन्नुहुन्छ त !

अफिसबाट कहिल्यै कतै पठाएको छैन । रकम र रेकर्ड हेरे हुन्छ । आफ्नो घर नसपार्ने, अनि अरूलाई दोष दिने ? मेरा तीन छोरा र एक छोरी छन् । म श्रीमतीसहित बस्छु । म ८२ वर्षको बुढो मान्छेलाई यस्तो आरोप लगाउनेलाई पाप पनि लाग्छ ।

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

धनराजले आफैँ नक्कली डिभोर्स गराएर श्रीमती भगाएका हुन् । कुन मितिमा कहाँ पठाएको ? सँगै गएको छ ? रेकर्ड ल्याए हुन्छ त ! म त अभिभावक हो । मैले धनराजलाई दम्पत्तिलाई व्यक्तिगत सहयोग पनि निकै गरेँ । ‘उनी माथि पुगुन् भन्ने चाहन्थेँ’, तर ठग रहेछन् । चलाख रहेछन्

मैले हल्ला सुनेपछि धनराजलाई ‘डिभोर्स भएको हो र ?’ भनेर सोधे । शुरूमा ‘हैन’ भने । पछि स्वीकार गरे । तर ‘रकम मिलाएर जान्छु’ भने ।

उनी र ज्योतिले सरकारीबाट रकम अपचलनमात्र होइन, ऋण समेत लिएका समेत थिए । ‘त्यो पनि तिर्छु’ भने । मलाई ‘घर बेचिदिनु दाइ’ भनेर कल गरे । उनीहरूले लगेको ऋण तिर्छन् भनेर २ करोड ३५ लाख रुपैयाँमा ललितपुर–१४, खसिखेलको घर पनि बेचिदिएँ । त्यसपछि उनले मसँग (व्यक्तिगत) लगेको ऋण तिरे ।

त्यो घर सहकारीबाटै ऋण लिएर बनाएका थिए, तीन वर्षअघि बेचेको हो । उनले मलाई ‘ज्योतिले धोका दिई’ भन्थे । तर उनीहरू च्याटमा बोलेको, फोनमा बोलेको रेकर्ड मलाई उनी नजिकका मान्छेहरूले पठाए । उनले ज्योतिले लगेको ऋण पनि तिरिसके ।

सम्बन्धविच्छेद भएपछि नै धनराजले मलाई घर बेच्न लगाएका हुन् । ९१ लाख रुपैयाँ उनले भर्खरै तिरेका हुन् । अहिले उनको नाममा सहकारीमा कुनै ऋण छैन । तर, श्रीमतीमार्फत जनताको रकम अपचलन गरेर सत्ताको आडमा चोखिन खोज्दैछन् ।

‘श्रीमतीले अपचलन गरेको रकम दुबैले तिर्ने होइन । म कुम्भराज चिन्दिनँ । मितेरी चिन्दिनँ’ भनेर पनि हिँडेछन् । धनराजले नै ज्योतिलाई लुकाएका छन् । उनैलाई खोज्न लगाउनुपर्छ । बेतुकको कुरा गरेर हुँदैन ।

खासमा कति रकम अपचलन भएको हो ?

शुरूमा हामीले ३ करोड रुपैयाँ अपचलन भएको थाहा पायौँ । धनराज नै अगाडि राखेर ०७६ पुस १६ गते ज्योतिलाई सोध्दा १२ करोड २० लाख रुपैयाँ भन्ने कुरा आयो ।

कोरोनामा त गाह्रो भयो नि ! त्यही मौकामा धनराजले आफ्नी श्रीमती पनि भगाएछन् । त्यो बेला १८ महिना त हामी पागल भइसकेका थियौँ

अहिलेसम्म त्यसको सावाँब्याज हिसाब गर्दा १४ करोड ८१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अडिटमा पनि त्यही हिसाब छ

अनि, अस्ति धनराजले गुरुङले तिर्नुभएको ९१ लाख रुपैयाँ चाहिँ के का लागि हो ?

त्यो रकम धनराजले लिएको व्यक्तिगत ऋणको सावाँब्याज तिरेका हुन् । उनको नाममा भएको र ज्योति गुरुङको नामबाट लिएको ऋण तिरिसके । अब अपचलन गरेको रकम कहिले तिर्ने भन्ने मेरो प्रश्न हो ।

सहकारीको यत्रो रकम अपचलन भएको रहेछ, तपाईँ आफैँ ‘मज्जाले काम भएको छ’ भन्नुहुन्छ, सहकारी कसरी चल्दैछ ?

हामी आर्थिक रूपमा दह्रो नभएको भए त अस्ति नै बन्द गर्नुपर्ने थियो । तर, सञ्चालक समितिले पैसा निकालेर ‘उताबाट नआउन्जेल मिलाऊ’ भनेर आ–आफ्नो घरजग्गा बिक्री गरेर बचतकर्ताको रकम तिरिरहेका छौँ ।

कोरोनामा त गाह्रो भयो नि ! त्यही मौकामा धनराजले आफ्नी श्रीमती पनि भगाएछन् । त्यो बेला १८ महिना त हामी पागल भइसकेका थियौँ ।

हामी सबै सञ्चालक समिति दह्रो भएर मात्रै सहकारी जोगिएको हो । हामीले एक पैसा पनि हिनामिना गरेका छैनौँ । बरु जनतामुखी र उत्पादनमुखी कसरी हुने भनेर सोच्दैछौँ

धनराजले अपचलन गरेको रकम नतिर्दा समस्या भयो । हामीले पनि त बचतकर्ताहरूलाई भनेको समयमा भोलि दिन सकिएन भने गाह्रो हुन्छ

अहिले यो सहकारी कसरी चलेको छ ?

विश्वास दिलाउन गाह्रो हुने रहेछ । हाम्रोमा उजुरी छैन । डिपोजिट गरेका मान्छेलाई फिर्ता दिन सञ्चालकले रकम जुटाइरहेका छौँ । ऋण कारोबार गर्ने, बचत गर्ने भइरहेको छ ।

सहकारीमा समस्या छैन । तर, धनराजले अपचलन गरेको रकम नतिर्दा समस्या भयो । हामीले पनि त बचतकर्ताहरूलाई भनेको समयमा भोलि दिन सकिएन भने गाह्रो हुन्छ ।

धनराजले अपचलन गरेको रकम तिर्लान् भनी ०७६ सालदेखि पर्खिएको, कति पर्खिने ? ०७९ सालको निर्वाचनमा पनि हामीले यो विषय नबोली बसेका थियौँ । चुनाव जितेपछि मिलाउँछन् भन्ने आश थियो । तर, श्रीमती भगाएको–भगाएै गरे ।

यति ठगी हुँदा पनि प्रहरीमा उजुरी गर्नुभएन ?

म केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गएको, मुद्दा दायर भएन । बरु, डिएसपी सुवास हमाल र प्रवक्ता भूपेन्द्र बोगटीले सहकारी समितिमा जान भन्नुभयो ।

मैले ०८१ भदौ ६ गते समितिमा गएर बयान दिएको छु । जे भएको छ– त्यो बोलेको छु । यही बिहीबार समिति टोलीले हाम्रो सहकारीमा आएर सबै हेर्नुभएको छ ।

सीआईबीले मुद्दा दायर गरेन भन्नुभयो, किन गरेन होला ?

म पनि अचम्ममा परेको छु । अहिलेसम्म दायर नै भएको छैन । ठूला मान्छे भएर हो कि ! तर यसको दायित्व कसको हो ? मलाई जवाफ चाहिन्छ ।

धनराजसँग अन्तिमपटक कहिले कुरा भएको थियो ?

यो विषय मिडियामा आएपछि ‘म सुनसरीमा थिएँ’ भनेर कल गरेका थिए । त्यसपछि कुनै कुरा भएन । ‘मिडियामा आएछ’ भने । मैले ‘अँ ! आएछ’ भनेँ । ‘श्रीमती ल्याएर रकम तिर्नू’ पनि भनेँ ।

मैले समितिमा दिएको बयानबारे पनि उनीलाई जानकारी थियो । मेरो बयानबारे पनि जानकारी गराएको थिएँ । पैसा दिन्छन् कि भनेर म आफैँले भनेँ । तर, उनलाई लाज नहुने रहेछ ।

म पनि कांग्रेस महासमिति सदस्य हूँ । मलाई ०७९ मा ‘समानुपातिकमा टिकट मिलाइदिन्छु दाइ !’ भनेका थिए । तर, मैले यो रकम मिलाउन खेल्छन् भनेर ‘जनताको पसिना जगेर्ना गर्नलाई म बुढो मान्छे मन्त्री/सांसद् हुन्नँ’ भनेँ

उनी सुनसरी जाने बेलामा पनि भेट भएको हो । त्यो बेला पनि मैले रकम तिर्नेबारे अवगत गराएको थिए । मलाई त सञ्चालक समिति र बचतकर्ताले नै कालोमोेसो लगाउँछन् नि !

धनराजले यसबीच कुनै आश्वासन दिएनन् ?

म पनि कांग्रेस महासमिति सदस्य हूँ । मलाई ०७९ मा ‘समानुपातिकमा टिकट मिलाइदिन्छु दाइ !’ भनेका थिए ।

तर, मैले यो रकम मिलाउन खेल्छन् भनेर ‘जनताको पसिना जगेर्ना गर्नलाई म बुढो मान्छे मन्त्री/सांसद् हुन्नँ’ भनेँ । मलाई कुनै कुराको लोभ छैन ।

यो कुराकानीको अन्तिममा के भन्नुहुन्छ ?

धनराजले श्रीमतीमार्फत सहकारीबाट अपचलन गरेको रकम तिर्नैपर्छ । छोराको बिहेमा पनि श्रीमती थिइन रे ! मलाई बोलाएनन् । कता घुम्न श्रीमतीसँगै जाने, अनि ‘मेरो कुनै सम्बन्ध छैन’ भन्ने !

सबै नाटक हो । नाटक गर्दा १५ करोड रुपैयाँ पचाउन सकिन्छ ? ठूला मान्छे भनेर जनताको १५ करोड रुपैयाँ बचत खान पाइन्छ ?

हाम्रो सहकारी नियमअनुसार चलेको छ । लेखा परीक्षण, अडिट रिपोर्ट सबै क्लियर छ । तर, ठूलो व्यक्तिले ठूलो कुरा गरेर ‘अपचलन गरेको रकम तिर्दिनँ’ भन्न पाइन्न ।

यो पनि-

धनराजको दुखेसो : ९१ लाख तिरें, तैपनि कुम्भराजले दुःख दिए

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ६ : ४८ बजे

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग