काठमाडौं – लुन्ड युनिभर्सिटी स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा एमएस्सी गरेका कृष्ण पौडेललिखित पहिलो पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ विश्वको आर्थिक इतिहास सरलतापूर्वक बुझाउने पुस्तकमध्ये एक हो ।
२८२ पृष्ठको पुस्तकलाई लेखकले सात भागमा विन्यास गरेका छन् । पुस्तकमा लेखकले विश्वको आर्थिक इतिहासलाई नै बढी महत्व दिएका छन् । पहिलो भागमा विश्वको आर्थिक परिणामका केही झलक लेखेका छन् । जसमा आर्थिक उन्नतिसँगै मानिसको औसत आयु कसरी बढ्दै गएको छ भनी उल्लेख छ ।
पुस्तकको दोस्रो भागमा ‘प्राचीन कालमा आर्थिक क्रान्ति’का वृतान्त छ । लेखकले मातृसत्ताबाट पितृसत्तामा विश्व कसरी आयो भनी व्याख्या गरेका छन् । लेखकले ‘शिकार युगबाट कृषितिर’ शीर्षक दिँदै मानिसले ढुङ्गेयुगमा कसरी शिकार गर्ने गरेका थिए भन्ने कुराको बारेमा चर्चा गरेका छन् ।
यो अध्यायमा एउटा रोचक कुरा छ । विश्वमा धेरै लामो सयमदेखि नै पितृसत्तात्मक रहेको छ । तर हजारांै वर्ष पहिले पितृसत्ता नभएर मातृसत्ता रहेको सन्दर्भ लेखकले समेटेका छन् । शिकारी युग अर्थात् ‘हन्टिङ एण्ड ग्यादरिङ एज’ मा मानिसहरू शिकार खेल्न जाने, हप्तौँसम्मलाई पुग्ने आहार एकैपटकमा ल्याउने र त्यही शिकार आहार उपयोग गरी जीवननिर्वाह गर्थे ।
त्यस्तो जीवनशैलीमा शिकार गर्ने दिनबाहेक मानिससँगै धेरै फुर्सद हुने भएकाले उनीहरू निकै सिर्जनात्मक कामहरू पनि गर्ने गर्थे । त्यो समयमा भाषा, कला, संस्कृति लगायत आधुनिक सभ्यता प्रारम्भतर्फ नै धेरै मानिसहरूको समय बित्ने गरेको पुस्तकमा उल्लेख छ ।
कृषि युग सुरु हुनुअघि मानिस सामूहिक रूपमा बस्ने, खाने र शिकार गर्ने गर्थे । त्यसबेला परिवार पनि सामूहिक भएकाले बुढापाकाले समूहमा नै साना बच्चाहरूलाई हेर्ने गरेका थिए । महिलाले पनि चुनौतीपूर्ण भनिएका कामहरू पुरुषसरह नै गर्ने गर्थे । सो समयमा कुनै पनि भेदभाव नभएको लेखक पौडेलले पुस्तकमा उल्लेख गरेका छन् ।
पौडेलले लेखेका छन्, ‘पुरुषलाई बाउको पहिचान थिएन । को कसको बाउ हो थाहा र मतलब हुँदैनथ्यो, सबै सबैका साझा थिए । आमा चिनिने भएकाले समाज मातृसत्तात्मक थियो ।’ त्यस्तो मातृसत्तात्मक परिवार र समाज कसरी पितृसत्तात्मक भयो भन्ने बुझ्न चाहिँ पुस्तक नै अध्ययन गर्नुपर्ने हुन्छ ।
लेखकले भारत र चीनमा भएको आर्थिक विकासको विषयमा पनि व्याख्या गरेका छन् । भारतमा सामुद्रिक जहाज आउने गरेको विषयमा पनि व्याख्या गरेका छन् । विश्वमा तातो बाफबाट चल्ने मेसिन (स्टीम इञ्जिन) पहिले आविष्कार भएको र त्यो कोइला खानीमा हुने पानी निकाल्न प्रयोग हुन्थ्यो । त्यतिबेलाका यन्त्र उपकरण ठूलो हुने र एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन निकै कठिन पर्ने भएकाले फलामको पातामा राखेर तानिन्थ्यो । सोही चर्याबाट पछि रेल निकको आविष्कार भएको कुरा पुस्तकमा उल्लेख छ ।
लेखकले पुस्तकमा हाल विकसित भएका देशहरू कसरी विकसित भए भन्ने पनि उल्लेख गरेका छन् । आदिमकालदेखि आधुनिककालसम्म मानव बेचबिखनबारे पनि लेखेका छन् । भारतीयहरूले हिन्दू धर्म मान्ने भएकाले दास बनाउनु धर्मको खिलाप हुने भन्दै दास दिन छाडेपछि पश्चिमा पूँजीपतिले भारतीय व्यापारीलाई गिज्याउने गरेको पुस्तकमा उल्लेख छ ।
सिलिकन भ्यालीको विकासमा प्रविधिले ठूलो काम गरेको र त्यसले विश्वलाई नै फाइदा पुगेको लेखकले पुस्तकमा उल्लेख गरेका छन् । १९ औँ शताब्दीमा रेडियो, टेलिग्राम र टेलिफोन आविष्कार भए पनि अहिलेजति सूचनाको पहुँच नभएको लेखकले जनाएका छन् । पछि सूचना–प्रविधि क्षेत्रमा भएको क्रान्तिले सूचनामा पहुँच प्राप्त गर्न छिटो भएको सो पुस्तकमा लेखिएको छ ।
सन् १९८० को दशकमा नयाँ डिजिटल प्रविधिको हबका रूपमा चर्चित हुँदा एप्पल, फेस्बुक, ट्वीवटर, नासा र अमेरिकी सुरक्षा एजेन्सीका कार्यालयहरू पनि राखिएकाले सिलिकन भ्यालीको कुल गार्हस्थ उत्पादन (जीडीपी) २७५ मिलियनसम्म पुगेको लेखकले बताएका छन् । सन् फ्रान्सिस्को खाडी क्षेत्र पनि भनिने सिलिकन भ्यालीका जीडीपी हाल ८४० बिलियन अमेरिकी डलर पुगिसकेको छ ।
पुस्तकमा विश्वका धेरै कुरा समेटिए पनि नेपालबारे केही उल्लेख छैन । पौराणिक काल (माइथोलोजिक पिरियड)देखि नै वैदिक उपसभ्यता विकास भएको तथा प्राचीन, मध्य र आधुनिक कालसम्मको अर्थ–सामाजिक इतिहासबारे विश्वका इतिहासविद् र अर्थशास्त्रीहरूले चासो राख्ने गरेको आफ्नै मातृभूमिबारे लेखक पुस्तकमा मौन छन् । नेपालको अर्थतन्त्र विकासबारे पनि लेखकले उल्लेख गरेको भए नेपाली पाठकका लागि पुस्तक थप रोचक बन्न सक्थ्यो ।
लेखकले पुस्तकमा धेरै अङ्ग्रेजी शब्दावलीहरू प्रयोग गरेकाले कुनै–कुनै कुरा बुझ्न अलिक कठिन पर्छ । पाठकले पुस्तक पढ्दा कतिपय ठाउँमा दोहोर्याउनुपर्ने पनि हुन सक्छ ।
विश्वका धेरै ठाउँबारे जानकारी नराखेका पाठकलाई पनि पुस्तक अध्ययनमा केही कठिनाइ हुनसक्छ । लेखकले विषयबस्तु सुरु गर्नुभन्दा पहिले ती ठाउँबारे जानकारी दिएको भए पुस्तक थप बोध्य हुन सक्थ्यो ।
केही पक्षमा लेखकले कमजोरी गरे पनि समग्रमा भने पुस्तक रोचक र पठनीय छ । विश्व अर्थतन्त्र जान्न पुस्तकले निकै मद्दत गर्नेछ । पुस्तकको सबैभन्दा रोचक पक्ष इतिहासकालमा आर्थिक प्रगति कसरी भएको थियो भन्ने हो ।
इतिहास धेरै तरिकाले लेखिने गरे पनि आर्थिक पक्षबाट भने निकै कम लेख्ने गरिन्छ । आर्थिक इतिहासका पक्ष समेटेर लेखिएकाले यो पुस्तक अध्ययन गर्दा ज्ञानको दायरा थप विस्तार हुनेछ ।
पुस्तकको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया