काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
आजै लामो समयदेखि ओरालो यात्रामा रहेको शेयर बजार २ हजार बिन्दुभन्दा माथि उक्लिएको छ । यसैवीच, नेपाल धितोपत्र बोर्डले आजदेखि लागू हुनेगरी धितोपत्र दलालको सेवाशुल्क (कमिसन) घटाएको छ ।
उता, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया केही साताका लागि पछि सरेकाे छ ।
हेर्नुहोस्, आजका मुख्य आर्थिक समाचारहरु :
नेप्सेले पार गर्यो मनोवैज्ञानिक रेखा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ । दुई बिन्दुलाई नेप्सेको मनोवैज्ञानिक रेखा भन्ने गरिएको छ । यस साता लगातार ३ दिनसम्म बढेको शेयर बजारले यस्तो रेखा पार गरेको हो ।
मङ्गलवार एकै दिन नेप्से २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा कायम भएको छ ।
मङ्गलवार ४ अर्ब ८ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ५९ हजार ८५६ पटक किनबेच भएको छ ।
मङ्गलवार ३२० कम्पनीको शेयर कारोबार हुँदा २१९ कम्पनीको शेयर मूल्य बढ्यो भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
धितोपत्र कमिसन घट्यो
नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र दलालको सेवाशुल्क (कमिसन) घटाएको छ ।
यसअघि ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर ०.३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि ५ करोड रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत सेवा शुल्क रहेकोमा त्यसलाई घटाएर ०.३३ प्रतिशत कायम भएको छ ।
५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत सेवा शुल्क लाग्दै आएको त्यसलाई ०.३१ प्रतिशतमा झारिएको छ । २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई ०.२७ प्रतिशतमा झारिएको छ ।
त्यसैगरी, एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा ०.२४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।
यसैबीच, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया जेठ १७ यता अघि नबढ्ने भएको छ । अर्थ मन्त्रालय पूर्णरुपमा बजेटमा केन्द्रित रहेका कारण नियुक्ति प्रक्रिया ढिलो भएको अर्थामन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले खबरहबसँग बताए । बजेटपछि बोर्डको अध्यक्षको प्रक्रिया अगाडि बढ्ने खत्रीले जानकारी दिए ।
धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सरकारले बनाएको सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरिसकेको छ । जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरन्जिवी चापागाईं, नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सन्तोषनारायण श्रेष्ठ छन् ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दा कम्पनीहरूले आइपिओ जारी गर्नेदेखि धेरै कामहरू प्रभावित भएका छन् ।
सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।
१० महिनामा बजेटको लक्ष्यको ६०.३५ प्रतिशत मात्रै खर्च
चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा सरकारले लक्ष्यको ६०.३५ प्रतिशत मात्र खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य भएकोमा १० महिनामा १ खर्ब ११ अर्ब ८८ करोडमात्र खर्च भएको छ ।
वैशाख मसान्तसम्म कुल बजेट खर्च १० खर्ब नाघेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जुन लक्ष्यको ६०.३५ प्रतिशत हो ।
महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार मङ्गलवार दिउँसोसम्म सरकारले पुँजीगत खर्च शीर्षकमा ३७.४ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ बराबर मात्रै खर्च गरेको छ ।
सोही अवधिमा चालु शीर्षकमा भने सरकारले ६५.९१ प्रतिशत अर्थात् ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च गरेको छ । त्यस्तै सरकारले ६२।६ प्रतिशत वित्तीय व्यवस्थापनमा खर्च गरेको छ ।
त्यस्तै सरकारले समीक्षा अवधिसम्म आम्दानीको लक्ष्य पनि हासिल गर्न सकेको छैन ।
प्रतिक्रिया