वीर अस्पतालमै रगत अभाव, प्रशासनलाई छैन चासो | Khabarhub Khabarhub

सन्दर्भ : विश्व रक्तदाता दिवस

वीर अस्पतालमै रगत अभाव, प्रशासनलाई छैन चासो

गलत बुझाइले रक्तदान गर्न हिच्किचाउँदै नागरिक


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमबाट बिरामी आमा ल्याएर वीर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले शल्यक्रियाका लागि रगत पाइनन् ।

विभिन्न संघसंस्थाहरूसँग हारगुहार गर्दा समेत रगत नपाएपछि अस्पतालमै अन्य बिरामीका आफन्तहरूबाट व्यवस्था मिलाएर उनकी आमाको शल्यक्रिया भयो ।

मुलुककै पहिलो र ठूलो वीर अस्पतालमा देशका दूरदराजबाट विपन्न नागरिकहरू उपचार गराउन आउँछन्‌ । त्यसै पनि बिरामीहरूले लामो लाइन छिचोलेर चेकजाँचका लागि पालो पाउँछन्‌ । शल्यक्रिया नै गर्नुपर्ने मामिलामा महिनौं कुर्नुपर्छ ।

एकातिर महिनौं कुरेपछि मात्र पालो आउने र टाढाबाट आएकाहरूलाई काठमाडौंको महँगो बसाइ धान्नै गाह्रो पर्ने अवस्था छ । यत्तिका सकस खेपेर शल्यक्रिया गर्न खोज्दा अस्पतालको ब्लड बैं‌कमा रगत पाउने गरेका छैनन् । उसै त सास्ती खेपेका बिरामीहरूलाई रगत नै नपाउँदा झनै असहज हुने गरेको वीर अस्पताल रगत सङ्कलन सेवा केन्द्रका प्रमुख नागेश्वर कक्षपतिले बताए ।

बिरामीको सहजताका लागि भन्दै वीर अस्पतालले आफ्नै ब्लड बैंक त स्थापना गरेको छ, तर माग अनुसार रगत आपूर्ति भइरहेको छैन । केन्द्र प्रमुख कक्षपतिका अनुसार प्रत्येक हप्ता अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको छ । जसबाट १५ देखि २० पोका रगत संकलन हुन्छ । त्यसरी सङ्कलित रगत एकदिन भन्दा बढी सञ्‍चित रहँदैन ।

वीर अस्पतालमा हप्तामा ३०० जनासम्म बिरामीहरूको शल्यक्रिया गरिन्छ । शल्यक्रियामा रगत आवश्यक हुन्छ । तर, ब्लड बैंकमा चाहिने जति जनशक्ति नभएको र अस्पताल प्रशासनले पनि यसबारे चासो नदिएकाले माग अनुसार रगत उपलब्ध गराउन नसकिएको प्रमुख कक्षपतिले बताए ।

उनले भने, ‘अस्पताल प्रशासनले विभिन्न संघ-संस्थाहरूसँग समन्वयमार्फत रगत सङ्कलन व्यवस्था गरिदिए केही राहत हुने थियो ।’ नेगेटिभ ग्रुपका रगतहरू धेरै अभाव हुने कक्षपति बताउँछन् ।

उनका अनुसार ओ नेगेटिभ, बी नेगेटिभ, ए नेगेटिभ लगायत ग्रुपको रगत अभाव हुने गरेको छ । रगत पाएका बेला सङ्कलन गरेर राख्दा पनि त्यो बिग्रने सम्भावना बढी हुन्छ । अहिले बी पोजेटिभ रगत अलि बढी अभाव रहेको उनले बताए ।

कसले गर्न मिल्छ रक्तदान ?
सामान्यतयाः १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका; साथै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा न्यूनतम ३५० मिलिलिटर रगत भएका जो कोहीले पनि रक्तदान गर्नसक्ने कक्षपति बताउँछन् ।

एउटा व्यक्तिको शरीरमा ६ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ । जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात्‌ ४७० मिलिमिटर रगतमात्र निकाल्ने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशतमात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानी नगर्ने उनले बताए । कम रगत भएकाको शरीरबाट चाहिँ कम परिमाण (३२० मिलिलिटर) सम्म रगत निकाल्न मिल्ने उनले जानकारी दिए ।

एक व्यक्तिको शरीरमा तयार भएको रगत १२० दिनमा स्वतः नष्ट हुने गर्छ । सोही रगत अरूलाई दान गर्दा व्यक्तिको शरीरमा छिटोछिटो रगत उत्पादन हुने गर्दछ । त्यसैले वर्षमा ४ पटक तीन-तीन महिनाको फरकमा रक्तदान गर्न सकिने उनले कक्षपतिले बताए ।

रक्तदान गर्दा हुने फाइदा
यदि हामी स्वस्थ छौंं भने जति पटक रक्तदान गर्दा पनि फरक नपर्नेे स्वयम्‌सेवी रक्तदाता दीपक नेपाल बताउँछन् ।

आफूले १०५ पटकसम्म रक्तदान गरेको अनुभव सुनाउँदै नेपालले खबरहबसँग नेपालले भने, ‘मलाई अहिलेसम्म कुनै किसिमको शारीरिक समस्या भएको छैन । झन मेरो छालादेखि सबै कुराहरू एकदमै राम्रो हुँदै गएको छ । तर वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै धेरैले रक्तदान गर्ने गरेको पाइँदैन ।’

अहिले चितवन, धनगढी लगायतका ठाउँमा रगत अभाव भएको पाइएको उनले बताए । उनलाई दैनिकजसो ५/६ जनाले रगत चाहियो भन्दै फोन गर्ने गर्छन्‌ । रक्तदानबारे सचेतना नभएकाले पनि बेला-बेलामा रगत अभाव हुने गरेको उनले बताए ।

‘यसबारे प्लस टु तहदेखि सचेतना जगाउने खालका कक्षाहरू सञ्चालन गर्ने, लगायतका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा रगतको अभाव अलि कम हुन थियो, यसतर्फ सरकारले खास काम गर्न सकेको छैन,’ उनले भने ।

दैनिक कति रगत आवश्यक ?
हाल चितवनमा १५० पिन्ट बढी रगत माग हुने गरेको छ । धनगढीमा दैनिक ४० देखि ४५ पिन्ट, काठमाडौं उपत्यकामा करिब ५०० पिन्ट र अन्य क्षेत्रमा पनि रगतहरू आवश्यकता परेको खबर आउने गरेका छन्‌ ।

यस हिसाबले नेपालमा दैनिक १२ सय पिन्ट रगत आवश्यक पर्ने तथ्याङ्क रहेको स्वयंसेवी रक्तदाता नेपालले बताए । ‘गर्मी मौसममा विभिन्न खालका सरुवा रेगहरूको प्रकोप बढिरहेकाले रगतको माग ह्वात्तै बढेको छ, तर उपलब्ध हुन सकेको छैन’, उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यता अनुसार रगत अभाव हुन नदिन मुलुकको कुल जनसंख्याको बढीमा दुई प्रतिशतले प्रत्येक वर्ष रक्तदान गर्नुपर्छ  । तर अहिले कुल जनसंख्याको ०.८ प्रतिशतले मात्रै रक्तदान गर्ने गरेको तथ्याङ्क छ ।

त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला छन्‌ । पुरुष ८३ प्रतिशत छन् । रक्तदान गर्दा दूर्बल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरै रक्तदान गर्न योग्य व्यक्तिहरू हिच्किचाउने गरेका सरोकारवालाहरू बताउँछन् । तर पनि विगतको तुलनामा केही मात्रामा भए पनि चेतना बढेकाले दाताहरू पनि बढेका उनीहरूको भनाइ छ ।

रक्तदान गर्न आम समुदायमा थप उत्प्रेरणा जगाउन ‘२० वर्षसम्म रगतदान गर्ने दाताहरूलाई धन्यवाद ज्ञापन गरौं’ भन्ने नाराका साथ आज नेपाल लगायत विश्वभर नै विश्व रक्तदाता दिवस पनि मनाइँदैछ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ४ : २७ बजे

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं – मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको ज्यान

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको

बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

बाजुरा– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आज एक

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई