अर्थसंक्षेप : स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने, असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर | Khabarhub Khabarhub

अर्थसंक्षेप : स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने, असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने पूर्व अर्थमन्त्रीहरूले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । आगामी असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ मार्फत फलामे छड उद्योगहरूले आयात गर्ने स्पन्ज आइरनमा गरेको भन्सार वृद्धि औद्योगिकरणको पक्षमा नभएको पूर्व अर्थमन्त्रीहरूले बताएका छन् । शुक्रबार खबरहबले आयोजना गरेको ‘नीतिगत अस्थिरताले उद्योग व्यवसायमा पारेको प्रभाव’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीहरुले सरकारले आर्थिक ऐनमार्फत गरेको करका दरको हेरफेर गलत भएको बताएका छन् ।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐनमार्फत फलामको कच्चापदार्थको भन्सार दरमा गरेको हेरफेर गलत भएको बताए । मन्त्री शर्माले थप विकास गर्नको लागि नीतिगत परिवर्तन गर्न हुने तर, पछाडि हट्नको लागि नीतिगत परिवर्तन गर्न नपाइने बताए ।

पूर्व अर्थमन्त्री तथा एमाले सचिव सुरेन्द्र पाण्डेले उद्योगीहरूले नीति निर्मातालाई गलत ढंगले व्याख्या गर्दा पनि कहिलेकाहीँ समस्या आउने गरेको बताए । उनले अहिले देखिएको करका दरको हेरफेरको समस्यामा दोषी व्यवसायीहरू भए पनि त्यसलाई मन्त्रिपरिषद्ले हेरफेर गर्न सक्ने बताए ।

पूर्व अर्थमन्त्री प्रकाशशरण महतले अर्थमन्त्री शर्माले लिएको नीतिलाई निरन्तरता दिएका थिए । आज खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले सरकारले लिएको नीतिलाई करेक्सन गर्नुपर्ने बताए ।

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो ।

प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौ वटै जिल्लाका तीन हजार सात सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए ।

उनकाअनुसार चालु आवको सो अवधिमा  छ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर  चार करोड ५० लाख महसुल असुल गरिएको छ । लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटक पटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताए ।

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् ।

ग्याँस इन्सुलेटेड प्रणाली जिआइएस प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन चार्जमा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२०/१३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।

‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूसँग भएको स्रोत, साधन, क्षमता र प्रविधिलाई अधिकतम उपयोग गरेर सेवा प्रदान गरेको बताएका छन् ।

आज अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै उनले देशभरिबाट क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नुपर्छ भने । उनले भने, ‘क्यान्सरका बिरामी यहाँ उपचार गर्न आउनुहुन्छ , अस्पतालमा कुनै प्रकारको विभेद गरियो भन्ने मैले सुनेको छैन ।’

स्वास्थ्यमन्त्री यादवले भने, ‘बिरामी दिनदिनै बढिरहेको छ ।  बिरामी बढेपछि शय्या बढाउनु पर्छ तर जनशक्ति छैन भने त्यो बिरामीलाई हेरचाह कसले गर्ने ?’ मन्त्री यादवले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भएको जनाउँदै यसबारेमा प्रधानमन्त्री पनि सकारात्मक भएको बताए ।

अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य : अर्थ मन्त्रालय

भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याइएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।

पुनले मूल्य अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एचएस) कोड अनिवार्य गरेका छन् । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो ।

मूल्य अभिवृद्धि कर (२६औं संशोधन) नियमावली–०८१ को अनुसूची–५, अनुसूची–५ को (ख) र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एसएस कोड अनिवार्य गरिएको हो । नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ ।

मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख) मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ । जसमा पहिलो कोठामा सि.नं., दोश्रो कोठामा एचएस कोड र तेश्रो कोठामा विवरण उल्लेख छ । यसअघि बिजकको पहिलो कोठामा सि.नं. र दोश्रोमा विवरण उल्लेख गर्ने गरिएको थियो ।

नयाँ ढाँचाअनुसार अबदेखि बिजक जारी गर्दा एसएस कोडको सुरुको चार अंक अनिवार्य खुलाएकै हुनुपर्छ । यस्तै नियमावलीको अनुसूची–६ संशोधन गरी निकासी भन्ने शब्दको सट्टा निर्यात शब्द राखिएको छ ।

असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर

आगामी असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वटामध्ये ११ वटा बैंकले जेठको तुलनामा असार महिनामा ब्याजदर घटाएका हुन् ।

त्यस्तै, ३ बैंकहरूले भने ब्याजदर बढाएका हुन् । अन्य ६ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर स्थिर नै राखेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार, जेठ महिनामा एभरेष्ट बैंकले ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा असारमा ब्याजदर घटाएर ५.७५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट ६.२ प्रतिशत, एसबीआई बैंकले ६.३९ प्रतिशतबाट ६.३० प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशतबाट ६.५ प्रतिशत, ग्लोबल आइएमईले ७.५ प्रतिशतबाट ६.५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट ६.५६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ७ प्रतिशतबाट ६.७५ प्रतिशत, सानिमा बैंकले ६.९ प्रतिशतबाट ६.८ प्रतिशत, सिटिजन्स बैंकले ७ प्रतिशतबाट ६.९ प्रतिशत, एनएमबी बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशत र एनआइसी एसिया बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशतमा झारेका हुन् ।

४ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ४१ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार भने ४ सय रुपैयाँले घटेर १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : ४२ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले