देश/प्रदेश

माओवादी आक्रमण सम्झिँदै लिङ्देनले भने- यो मेरो अतिरिक्त जिन्दगी हो

By खबरहब

August 14, 2024

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेकपा माओवादीले गरेको सशस्त्र विद्रोहका बेला आफूमाथिको आक्रमण स्मरण गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लिङ्देनले विगतको घटना स्मरण गरेका हुन् ।

पूर्व उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनले माओवादीले आफूमाथि गरेको आक्रमण सम्झिँदै बिनाकारण राज्य र विद्रोही पक्षबाट दु:ख पाउने रहेको भन्दै उनीहरूको मुद्दा पनि विधेयकले समेट्नुपर्ने बताए ।

‘मेरो कोही कसैसँग आग्रह पूर्वाग्रह छैन, मैले पहिले पनि भनेको छु त्यो द्वन्द्वमा म सेना बनेको थिइनँ । सरकारको मान्छे पनि होइन । तर, म विद्रोही पक्षको आक्रमणमा परेँ’, उनले भने, ‘आक्रमणमा परेको मात्रै होइन, म आज जसरी यहाँ उभिएको छु, त्यो अतिरिक्त जिन्दगी हो ।’

लिङ्देनले देशले फेरि यस्तो द्वन्द्व भोग्न नसक्ने भन्दै यसतो घटना नदोहोरिनका लागि कामना गरे ।

‘त्यो द्वन्द्व कसका लागि भयो र कसका कारण भयो प्रष्ट पारिनुपर्छ । जसले द्वन्द्वको नेतृत्व गर्यो, उसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने पनि हुन्छ’, उनले भने ‘तर, हामीले यसप्रकारको द्वन्द्व अब कहिल्यै नदोहोरिओस् भन्नुपर्छ । यसमा जो प्रत्यक्ष सामेल थिएनन्, उनीहरू धेरै पीडित भए। उहाँहरूले न्याय पाउनुपर्ने विषयमा आवाज उठाएका छैनौँ ।’