भ्रष्टाचारको उजुरीबारे कुलमानको जवाफ : विद्युत् महसुलको बक्यौता उठाउन खोज्दा घेराबन्दी गरियो | Khabarhub Khabarhub

भ्रष्टाचारको उजुरीबारे कुलमानको जवाफ : विद्युत् महसुलको बक्यौता उठाउन खोज्दा घेराबन्दी गरियो


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेकोबारे स्पष्टीकरण दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नाविरुद्ध सुनियोजित रूपमा दूषित मनसायका साथ सामाजिक सञ्जालमार्फत् बाँडिएको विवरणका आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आएको भन्दै दुःख जनाएका छन् ।

सार्वजनिक पदका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासो र निगरानीमा हुने भएकाले जनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक राख्ने उनले बताए । तर उजुरी दर्ता गर्नासाथ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पूर्वडीआईजी रमेश खरेलले चर्चामा आउन खोजेको घिसिङले बताएका छन् ।

खरेलले चर्चामा आउन आफूविरुद्ध अफवाह फैलाएको दाबी घिसिङले गरेका छन् ।

‘खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीतस्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो’, उनले भनेका छन्, ‘पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लंघन तथा सञ्चारमाध्यम नै दुरुपयोग गर्दै खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मान प्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले प्रचार भइरहेको थियो र छ ।’

उनले नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनकोसमेत प्रवाह नगरी अहोरात्र खटी सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको पनि बताएका छन् ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बदनाम गराउने दुराशयका साथ लगाइएका आरोपहरूको खण्डन गर्दछु । यस्ता आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, उनले भनेका छन् ।

प्राधिकरणका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले आफूलाई कमजोर बनाउन र मनोबल गिराउन लागेको पनि उनले बताएका छन् ।

‘प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरू, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ’, उनले भनेका छन् ।

वक्तव्यको पूर्णपाठ

नेपाल प्रहरीका पूर्वनाय महानिरीक्षक (डीआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट मिति २०८१ साउन २९ गते मङ्गलवारका दिन सामाजिक सञ्जालमार्फत मेरा विरुद्ध सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

निज खरेलबाट मेरा विरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीतस्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मान प्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ ।

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहे पनि निज खरेलबाट मेरा विरुद्धमा आफैँ न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ । सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरू हुन्छन् र त्यस्ता व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरू जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनविज्ञ छैन ।

उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन् ।

अंशबण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमानदारी पूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रस्ट पार्न चाहन्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन् ।

नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाई समेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बदनाम गराउने दुराशयका साथ लगाइएका आरोपहरूको खण्डन गर्दछु । यस्ता आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।

प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरू, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत्, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रस्ट पार्दछु ।

नेपाल विद्युत् प्राधिकरणका हरेक कामकारबाहीहरू पारदर्शी रूपमा भइरहेका छन् । र, अझै पारदर्शी रूपमा अगाडि बढाइने छ । ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमानदार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु ।

कुलमान घिसिङ

कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरण

दरबारमार्ग, काठमाडौँ ।

२०८१/०४/३० बुधबार ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : २० बजे

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीहरूसहितको बैठक 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको

प्रधानमन्त्रीको स्पष्टीकरण- सरकार ढल्दैन, कांग्रेससँग सल्लाहमै काम हुँदैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यसहित विभिन्न

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सियोल– अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई

कैलालीका ५० हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

धनगढी– कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ– व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि