सहकारीमा मलाई चिथोर्न खोज्नेहरु जेलमा छन् : केशव बडाल | Khabarhub Khabarhub

सहकारीमा मलाई चिथोर्न खोज्नेहरु जेलमा छन् : केशव बडाल

‘आदर्शमा नचल्ने एक प्रतिशत सहकारीमा मात्रै समस्या आएको हो’



काठमाडौं – पूर्वमन्त्री केशव बडाल नेकपा एमालेका नेता हुन् । तर, उनलाई सबैले ‘सहकारी अभियन्ता’ समेत भनेर चिन्छन् । बडालले सहकारीसम्बन्धी केही किताब पनि लेखेका छन् । सहकारीको विषय आउनासाथ उनी पक्षमा ‘लबिइङ’ गर्न कस्सिइहाल्छन् ।

बडाल लगायतका विज्ञहरुले नेपालमा सहकारी अभियान शुरु गरेको दाबी गरिहँदा केही वर्षयता नेपालको सहकारी क्षेत्र बचत अपचलनकर्ताको शिकार बनेको छ । विशेषगरी सहरी क्षेत्रका सय भन्दा धेरै सहकारीमा लाखौं बचतकर्ताको एक खर्ब बढी रकम जोखिममा पुगेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

हाल नेपालमा ३० हजार बढी सहकारी संस्थाहरू भएको सन्दर्भमा संख्यात्मक रूपमा १ प्रतिशत कम सहकारीमा समस्या देखिएको भए पनि यसले सम्पूर्ण सहकारी क्षेत्र र देशको राजनीतिलाई नै प्रभावित पारेको छ ।

‘आपसी सहकार्य’ र ‘स्वनियम’को आदर्शमा विश्वव्यापी रूपमा विकास भएको सहकारी क्षेत्रमा किन समस्या देखिएको होला ? यसै सन्दर्भमा खबरहबले सहकारी अभियन्ता एवं एमाले नेता बडालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

सहकारीको सैद्धान्तिक अवधारणा के हो ? नेपालमा कसरी यसको विकास भयो ?

बेलायतले विश्वको दुई तिहाई भू–भाग जमिनमा शासन प्रभाव पारिरहेको अवस्थामा स्वयम् बेलायतमा भने आधा भन्दा बढी जनसंख्या आधारभूत गरिबीको स्तरमा थियो । सन् १८१६ मा बेलायतका रबर्ट वेनलाई हाउस अफ कमनले किन यस्तो भयो भन्ने विषयमा अनुसन्धान गर्ने जिम्मेवारी दियो । उनले ४ वर्ष लगाएर सन् १८२० मा अनुसन्धान प्रतिवेदन बुझाए । उनले समस्या समाधानका लागि सहकारी लगायतका अवधारणाको विकास गरेका थिए । तर, राज्यले भने उनको सुझावलाई ग्रहण गरेन । त्यसपछि उनले सिंगो युरोप र अमेरिकाका ६ वटा राज्यमा सहकारीको विषयमा प्रवचन दिएर सहकारीको जन्म र विकास गर्ने काममा लागेको पाइन्छ ।

नेपालको सन्दर्भमा विसं. २०११ सालको बाढीले धेरै ठूलो क्षति गरेको अवस्थामा पीडितलाई सहयोग गर्नका लागि अमेरिकाबाट एउटा स्वयंसेवक टोली आएको थियो । सोही टोलीले सिकाएर चितवनमा विसं. २०१३ साल चैत ३० गते बखान सहकारी भन्ने पहिलो संस्थाको स्थापना भएको पाइन्छ ।

त्यो बेलाको अवधारणा के थियो भने आपत–विपत पर्दादेखि सामाजिक न्यायको आधार निर्माण गर्न, समाजमा विकृति तथा विसंगतिको न्यूनीकरण गर्न, सामाजिक न्यायको आधार बलियो बनाउन र सामाजिक न्याय एवं उत्पादन वृद्धिलाई समानरूपले अगाडि लैजान सहकारी आवश्यक छ भन्ने थियो । सोही अवधारणाअन्तर्गत अमेरिकाबाट आएको भोलेन्टिएर टोलीको योजनाअनुसार बखान सहकारी चितवनमा स्थापना भएको थियो ।

त्यसपछि विसं. २०१६ सालमा तत्कालीन प्रधानमन्त्री वीपी कोइराला संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिएर फर्किँदाखेरि इजरायलमा पसेर आउनुभएको थियो । त्यहाँ उहाँले विकासको मोडेल हेर्नुभयो । उहाँले नेपाल आएर राजनीतिक नेतृत्वदेखि प्रशासन संयन्त्रसमक्ष इजरायली मोडेलको सहकारी अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्नुभयो । उहाँले ऐन पनि बनाउनुभयो तर कार्यान्वयन हुन नपाइकन पञ्चायती शासन व्यवस्थाको सुरुवात हुनपुग्यो । त्यसपछि भने सहकारीले गति लिन सकेन । यद्यपि राज्यनियन्त्रित सहकारी भने बनाइए । तर, ती सहकारीले प्रगति गरेनन् । किनभने, ती सहकारीको सिद्धान्त विपरीत थिए ।

यसै क्रममा ०४६ सालको आन्दोलनपछि राधाकृष्ण मैनालीको अध्यक्षता डा. चैतन्य मिश्र, मदन खतिवडा, भोगेन्द्र चौधरीलगायतको सदस्यतामा सहकारी परामर्श समिति बन्यो । सो समितिले ४० जिल्लामा गएर अध्ययन गरेर सुझाव दिएको थियो । सोही आधारमा ०४८ सालमा सहकारी ऐन बन्यो । फेरि ०७४ सालमा अर्को सहकारी ऐन बनेको छ ।

हामीले ०४८ सालको सहकारी ऐन र ०७४ सालको सहकारी ऐन हाम्रो विवेक प्रयोग गरेर बनाएका हौं । हाम्रो देशको सहकारीको विषयमा संविधान, ऐन र नीतिमा जे कुराको व्यवस्था छ, त्यसलाई पूर्णरूपमा कार्यान्वयन गरेको भए अहिले देखापरेको जस्तो समस्या आउने थिएन ।

तपाईंको विचारमा नेपालका सहकारीहरू सहकारीको आदर्श र स्वनियममा किन सञ्चालन हुन सकेनन् ?

अहिले नेपालमा ३० हजार प्रारम्भिक सहकारी छन् । संघीय संसदको छानबिन समितिले समस्याग्रस्त देखाएका र अन्य समस्या रहेका सहकारी सयको हाराहारीमा छन् । अर्थात् सम्पूर्ण सहकारीको १ प्रतिशत भन्दा पनि कम सहकारीमा समस्या देखिएको छ । ५० वटा जिल्लाका सहकारीमा समस्या नै छैन । बाँकीमा पनि समस्या देखिएको पनि केही सहकारीमा समस्या देखिएको हल्ला चलेपछि बचत झिक्न आउने तर, जम्मा गर्न नआउने भएपछि स्वभाविक रूपमा समस्या बढ्छ । यस्तो अवस्थामा राष्ट्र बैंकले पनि सक्दैन, कसैले पनि सक्दैन ।

सहकारीको दर्शन, सिद्धान्त, मूल्य मान्यता, आचरण, कार्यशैली र कार्यपद्दतिलाई अस्वीकार गर्नेहरूले सञ्चालन गरेका संस्थाहरूमा समस्या आएको हो । सही ढंगले सञ्चालन भएकामा कुनै पनि समस्या आएको छैन ।

कतिपयले ठूलो भएर समस्या आएको भन्छन्, त्यसो होइन । उदाहरणका रूपमा झापाको एनएमसी सहकारी, जसले ११४२ जनालाई स्थायी कर्मचारीका रूपमा रोजगारी दिएको छ । १६/१८ अर्बको कारोबार गर्छ । कुनै समस्या छैन ।

अर्को, मेची सहकारीले ५८ वटा घर बनाएर अघिल्लो सालमात्रै हस्तान्तरण गर्ने काम गरेको छ । त्यस्तै बिको सहकारी जहाँ, ५० पैसा जम्मा गर्ने तहबाट सुरु भएको अहिले १० अर्ब बराबरको कारोबार गर्छ, सो सहकारीमा समस्या छैन ।सुदूरपश्चिमको नवजीवन सहकारीमा कुनै समस्या छैन ।

सहकारीको सदस्य सार्वभौमसत्ता सम्पन्न हुन्छन् तर सदस्य केन्द्रित नभएर र सीमित व्यक्ति केन्द्रित भएको हुनाले समस्या देखिएको हो । साथै, कानून विपरीत एउटा भन्दा धेरै समान प्रकृतिका सहकारीको सदस्य बन्न पाइँदैन भन्ने व्यवस्था ०७४ को ऐनले किटानी गरेको छ । सो व्यवस्थालाई पनि कार्यान्वयन नगर्दा समस्या आएको हो ।

अहिले देखिएको समस्या नै मुख्य विषय होइन । मुख्य विषय सहकारी क्षेत्रले जीडीपीमा ५ प्रतिशत योगदान पुर्‍याएको छ । वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान पुर्‍याएको छ ।

विशेषगरी आजको दिनमा सहरी क्षेत्रमा बैंकिङ (बचत तथा ऋण सम्बन्धी) कारोबार गर्ने सहकारी पनि छन् । त्यहाँ एउटै सदस्य दशौं सहकारीमा आवद्ध हुन्छन् । यस्ता सहकारीलाई कसरी लिने ?

प्रारम्भिक सहकारीमध्ये बचत तथा ऋणको कारोबार गर्ने १४ हजार संख्यामा छन् । ती मध्ये ११ हजारमा कुनै पनि समस्या छैन । बचत तथा ऋण सहकारी संघमा आवद्ध भएर तालिम लिएका सहकारीमा समस्या छैन ।

सहकारीमा लागिसकेपछि सहाकारीको दर्शन विपरीत क्रियाकलाप गर्ने अधिकार कसैलाई छैन । त्यस्ता क्रियाकलाप भनेको देशको संविधान विरोधी हुन्छ । तर, सहरी क्षेत्रका सबै सहकारीमा समस्या छैन । मुख्य कुरा सहकारीमा सदस्यद्वारा संस्था नियन्त्रित हुनुपर्दछ । त्यो संस्थाले ठीकसँग काम गरेको छैन कि भन्ने लाग्यो भने सदस्यहरूले विशेष साधारणसभा डाकेर भएको संस्थापन पक्षलाई विस्थापन गरेर आफू नेतृत्वमा पुग्न सक्छ । तर, सदस्यहरूमा पनि केही समस्या देखियो । अहिले सहकारीमा दुरूपयोग गरे भन्ने व्यक्तिको नाम बाहिर आएको छ । तर, दुरूपयोग गर्न ज–जसले दिए, ती पनि दण्डित हुनुपर्छ ।

सहकारीमा सञ्चालक र व्यवस्थापक भनेको संस्थाको गोठाला हो, त्यसको दुरूपयोग गर्ने अधिकार कसैलाई पनि छैन । तर, मन लागेको ठाउँमा मनपरी ढंगले विनाधितो लगानी गरेको देखियो । उदाहरणका रूपमा कुनै एक संस्थाले ९५ करोडसम्म एउटै मान्छेलाई विनाधितो लगानी गरेकोसम्म देखियो ।

सहकारीका लागि दोस्रो तहको नियामक निकाय बनाउने विषय उठेको छ, साथै कर्जा सुरक्षण कोष स्थापना गर्नका लागि सरकारले बजेट पनि विनियोजन गरेको छ । कर्जा असुली न्यायाधीकरण, सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रको विषय पनि उठेको छ । के यी संस्थाहरूको स्थापना गरेर अहिले देखिएका समस्यालाई हल गर्दै सहकारी क्षेत्रलाई राम्रो बनाउन सकिन्छ ?

सकिन्छ । ०६१ सालमा डा. युवराज खतिवडाको नेतृत्वमा गठन भएको समितिले नै सेकेन्ड टायर इन्स्टिच्युसन सिफारिस गरेको हो । तर, विगतको अनुभवले के बताउँछ भने सहकारी महासंघ सहभागी भएन भने र राज्यको अंग मात्रै भयो भने टेबुलमुनि हात पसार्ने प्रवृत्ति विकास हुन्छ, विगतमा भएको त्यही हो ।

पहिला ७ वटै प्रदेशमा सहकारी प्रशिक्षण केन्द्र थियो । नयाँ संविधान आएसँगै त्यसलाई निस्तेज बनाइयो । तर, सहकारी सञ्चालकहरूलाई बाह्रै महिना सहकारी सम्बन्धी प्रशिक्षण दिने व्यवस्था गर्न आवश्यक छ । अहिले पुराना धेरै गाविस मर्ज भएर वडा बनेका छन् ।

अब ०७४ सालको ऐनलाई अक्षरसः पालना गर्नुपर्छ । सो ऐनले एउटै प्रकृतिका एउटा भन्दा धेरै सहकारीमा सदस्य बन्न पाइँदैन भन्ने व्यवस्था गरेको छ । त्यसलाई लागू गर्नुपर्छ । अहिले जति संस्थामा समस्या आइसकेका छन्, ती संस्थामा राज्य, सञ्चालक र शेयर सदस्य मिलेर समन्वयको माध्यमबाट टुंग्याउनुपर्छ । किनकि त्यहाँ सदस्य बन्ने मान्छे पनि लोभमा फसेका छन् । थोरै ब्याज दिन्छु भन्ने सहकारीको पैसा निकालेर धेरै दिन्छु भन्नेमा राख्ने काम गरेका छन् । त्यसैले सदस्यहरूले पनि सही सहकारी कुन हो र गलत सहकारी कुन हो भन्ने छुट्यानुपर्छ । धेरै ब्याज पाइने भो भनेर त्यहाँ हामफाल्नु हुँदैन ।

तर, यतिले मात्रै पुग्दैन । कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधीकरण र अनुगमनको निम्ति स्थायी निकाय बनाउनुपर्छ । जसमा सरकार र अभियानकर्मी संयुक्त हुनुपर्छ र राष्ट्र बैंकको पनि समन्वय लिएर त्यो बनाउन जरुरी छ । ता कि टेबुलमुनि हात पसार्ने विषय पनि अन्त्य होस् र सहीलाई सही र गलतलाई गलत भन्ने ढंगले नियमित रूपमा अनुगमन गर्नका लागि स्थायी निकायको जरूरत पर्छ । यसलाई ढिलो नगरिकन अगाडि बढाउनुपर्छ ।

सहकारी अभियानका क्रममा पहिले तपाईंहरूले सहकारी क्षेत्रमा आधार ब्याजदर तय गर्ने विषयलाई महत्वपूर्ण हिसाबले उठाउने गर्नुभएको थियो । तर, अहिले सो विषय छायामा पर्दै गएको हो ? यो विषयले सहकारी क्षेत्रमा वित्तीय अनुशासन कायम गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्थ्यो कि ?

०७४ को ऐनमा त्यो व्यवस्था राख्ने काम म आफैँले गरेको हो । तर, सो विषयलाई अगाडि बढाउनुपर्छ भन्दाखेरि सहकारी अभियानभित्रैका म सँगसँगै काम गरेका साथीहरूले मलाई कुट्न त कुट्नुभएन तर, चिथोर्न बाहेक सबैथोक गर्नुभयो । तीमध्ये धेरैजसो जेलमा हुनुहुन्छ अहिले ।

मैले ०६६ सालमा धेरै समस्या आएपछि सो विषयलाई पनि समेटेर किताब लेखेको थिएँ । सो किताब लेखेपछि धेरै साथीहरू मसँग रिसाउनुभयो । टाढा हुनुभयो । कतिपयले केशव बडालको लहैलहैमा लाग्यो भने सहकारीले आकार वृद्धि गर्न सक्दैन, प्रगति गर्न सक्दैन भन्ने प्रचार पनि भयो । त्यही पारित भएको ऐन कार्यान्वयनको निम्ति पनि सरकार र अभियान बीचको सँयुक्त टोलीको अहिले पनि आवश्यकता छ । यो संसारमा प्रचलन पनि छ ।

अहिले सहकारी क्षेत्रका देखिएका ठूला बचतकर्ताको स्रोत खोज्यो भने पनि धेरै समस्या समाधान हुन्छ भन्ने सुनिएको छ, के एउटा अभियन्ताको नजरबाट हेर्दा सहकारीमा राजनीतिक र ब्यूरोक्रेसीमा भ्रष्टाचार भएको पैसा गएको छ ?
दश लाख भन्दा बढी रकम कुनै सदस्यले जम्मा गर्यो भने त्यसको सम्पूर्ण स्रोत खुलाएर अगाडि बढ्नुपर्छ भन्ने पुस्तक त म आफैँले प्रकाशित गरेको छु । सहकारी क्षेत्रमा गैरकानुनी पैसा जम्मा भएको छ भनेदेखि त्यो राज्यको सम्पत्ति शुद्धीकरण विभागले हेर्नुपर्छ । एउटा संस्थाले एउटै व्यक्तिलाई ९५ करोडसम्म विनाधितो लगानी गरेको भेटियो ।

अन्त्यमा, सहकारी अपचलनमा मुछिएका दुई राजनीतिक नेता नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोख्रेललाई राज्यले अनुसन्धानमा ल्याउन नचाहेको विषयमा तपाइँको धारणा के छ ?

प्रश्न उठिसकेपछि शतप्रतिशत निर्दोष भए पनि राज्यले छानविन गर्नुपर्छ । किनकि कुनै पनि व्यक्ति निर्दोष छ भने दोषी करार पनि गर्नुहुँदैन र निर्दोषलाई बाहनामा उम्काउनु पनि हुँदैन । प्रश्न उठिसकेपछि राज्यले प्रष्ट गर्नुपर्छ । दोषीलाई कारबाहीमा लैजानुपर्‍यो तर निर्दोषलाई दोषी भनेर प्रचार भएको छ भने त्यसको रक्षा गर्ने दायित्व राज्यको हो ।

भिडियो-
https://youtu.be/hDY6WgpcGRI?si=Wya7g8K0lFxdBKVl

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : २४ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत