आज विश्व मधुमेह दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । सन २००६ देखि १४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसंघले पनि आधिकारिकता दिन थालेको हो ।
नेपालमा के छ मधुमेहको अवस्था ?
अहिले नेपालमा मधुमेहको अवस्था एकदमै भयानक छ । पहिले पहिले बढ्दो उमेर ४०–४५ वर्षको मान्छेहरूलाई मधुमेहको समस्या हुन्थ्यो भने अहिले आएर २०–२५ वर्षकै किशोरावस्था तथा १२–१३ वर्षका बालबालिकाहरूमा समेत देखिन थालेको छ ।
अन्तर्राष्ट्रिय मधुमेह संघ भन्ने एउटा संस्था छ । त्यस संस्थाका अनुसार नेपालको अहिलेको अवस्था ९ प्वाइन्ट ८ देखाएको छ । यसभन्दा अगाडि ३, ४, ५ सम्म हुन्थ्यो भने अहिले ह्वात्तै बढेर ९ प्वाइन्ट ८ मा आएको छ । यो युवा तथा बालबालिकामा देखिन थालेपछि बढेको तथ्याङ्क हो ।
वीर अस्पतालमा मात्रै दैनिक एक जना डाक्टरले ३०–५० जना बिरामी हेर्नुहुन्छ भनेपछि हामी ६–७ जना डाक्टरले २ सय देखि लिएर ३ सय बिरामी हेर्छौँ । ती मध्ये ७० प्रतिशत बिरामी मधुमेहका हुने गर्दछन् । उमेरको कुरा गर्नुपर्दा ४० देखि ६० वर्ष उमेरका धेरै हुन्छन् भने २० देखी ३० वर्ष उमेरका बिरामीको संख्या पनि बढ्दो छ । गर्भवती महिला तथा किशोरावस्थामै मधुमेहको समस्या लिएर आउने गरेका छन् ।
मधुमेहका विषयमा किशोरकिशोरीहरुमा जनचेतना फैलाउन एकदमै आवश्यक छ । जस्तै प्रि डायबिटिज अर्थात् मधुमेह हुनुभन्दा अगाडिको अवस्थाका बिरामीहरूलाई मधुमेह हुन दिनुभएन , मधुमेह भैसकेका बिरामीहरूमा जटिलता आउन दिनुभएन । जटिलताहरू आइसकेपछि हाम्रो जीवनशैली नै प्रभावित हुन्छ ।
अहिले घरदेखि टाढा बस्ने युवा पुस्ता छ उनीहरूको खाने, सुत्ने समय हुँदैन । अझ मोबाइल एकदमै धेरै चलाउने, शारीरिक क्रियाकलापहरू कम गर्ने खानपानमा ध्यान नदिने बाहिरको खानालाई नै प्राथमिकता दिने जस्ता कारणले गर्दा युवा पुस्तामा मधुमेहको समस्या धेरै देखिएको छ ।
किन बढ्छ मधुमेह ?
हाम्रो शरीरमा प्याङक्रियाज भन्ने एउटा ग्रन्थी हुन्छ त्यो ग्रन्थीमा बेटासियल हुन्छ । बेटासियलले इन्सुलिन निकाल्छ । जुनबेला त्यो इन्सुलिनले काम गर्न छोडिदिन्छ, त्यस्तो अवस्थाको मधुमेहलाई टाइप वान भनिन्छ ।
कुनै कुनै बेला इन्सुलिन पनि छ तर पर्याप्त मात्रामा आएन अथवा इन्सुलिनले जहाँ गएर काम गर्नुपर्ने हो, त्यो काम गर्न पाउँदैन । त्यस्तो अवस्थामा टाइप टु डायबिटिज भनिन्छ । यो इन्सुलिनकै गडबडीका कारणले मधुमेह हुने गर्दछ भने कतिपयमा टाइप टु डायबिटिज वंशाणुगत कारणले पनि हुने गर्दछ ।
बाआमालाई छ छोराछोरीलाई पनि हुन्छ नै भन्ने त हुँदैन । तर ३० देखि ४० प्रतिशत सम्भावना हुन्छ । हुन नदिनका लागि आफूले पनि सचेतना अपनाउनु पर्छ । जस्तै मोटोपन छ भने घटाउने, बेलाबेलामा सुगर जाँच गर्ने, नियमित व्यायामहरू गर्ने जस्ता क्रियाकलापहरू गर्नुपर्छ ।
लक्षणहरु
मुख सुक्दै जाने, पानी प्यास लाग्ने, भोक धेरै लाग्ने, पिसाब लाग्ने, दुब्लाउने, कपाल झर्ने, आँखा धमिलो हुँदै जाने, गिजा पाक्ने, कानमा आवाज आउने, खुट्टामा घाउ आउने, पोल्ने, झम्झमाउने, शरीर चिलाउने, यौन इच्छामा कमी आउने जस्ता लक्षणहरू देखिन्छन् ।
मधुमेहका जटिलताहरू
मधुमेहले सवैभन्दा पहिले आँखामा असर गर्छ, जसलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ । त्यस्तै अन्य अङ्गहरु मिर्गौला, खुट्टा, नसा, मुटुमा असर गर्छ । डायबेटिक रेटिनोप्याथीले आँखाको दृष्टि गुम्न सक्छ भने मिर्गौला नै फेल भएर प्रत्यारोपण तथा डाइलासिस गर्नुपर्ने अवस्था समेत आउन सक्छ । कति बिरामीको मृत्यु समेत भएका घटना छन् ।
त्यस्तै छाला, यौनाङ्गमा चिलाउने विभिन्न समस्याहरू आउने जस्ता जटिलताहरू देखिन्छन् । सुगर हुँदाहुँदै पनि समयमा औषधी नखाने, डाक्टरले बोलाएको समयमा फलोअपमा नआउने बिरामीहरूमा यस्ता समस्याहरू देखिने गर्दछन् ।
आफूलाई सुगर भएको थाहा पाउने बित्तिकै डाक्टरको सम्पर्कमा रहने, डाक्टरको सल्लाहअनुसार औषधी खाने बिरामीहरूमा जटिलता अलि कम आउँछ ।
उपचार विधि
यसको पहिलो उपचार भनेको जीवनशैली परिवर्तन गर्नु नै हो । जस्तै : नियमित व्यायामहरू गर्ने, दिनमा ४५ देखि ६० मिनेटको व्यायाम हप्तामा ५ दिन गर्ने, घरमा पाकेको खानेकुरा बाहेक बाहिरको खानेकुरा सकेसम्म नखाने, जेरी, स्वारी मिठाइहरू नखाने, पेय पदार्थहरू नखाने । त्यसपछि बल्ल औषधीको कुरा आउँछ । कसै कसैलाई इन्सुलिन पनि चलाउनुपर्ने हुनसक्छ भने कसैलाई औषधी मात्रै खाए हुन्छ । चिकित्सकको सल्लाह बिना औषधीहरू खाने र औषधी परिवर्तन गर्नुपरे चिकित्सकको सल्लाहमा मात्रै गर्नुपर्छ । जथाभाबी औषधी खाँदा झन् जटिलता निम्तिन सक्ने सम्भावना हुन्छ ।
मधुमेहले मानसिक स्वास्थ्यमा सिधै असर नगरेपनि सुगरसंगै मुटु, कोलेस्ट्रोल, प्रेशर लगायत ५ ६ किसिमका औषधीहरू सँगै खानुपर्ने हुन्छ । यसले मानसिक तनाव हुनसक्छ । त्यसैले आफ्नो शारीरीकसंगै मानसिक स्वास्थ्यको पनि ख्याल राखेर घरपरिवारसँग समय बिताउँदा पनि मधुमेह नियन्त्रणमा आउँछ ।
कस्तो खानपान गर्ने ?
कतिपय मधुमेहका बिरामीहरूले भात नखाने रोटी एकै पटक ४, ५ ओटा खाने गर्दछन् । त्यो गलत हो । कार्बोहाइड्रेट भएको खानेकुरा भात रोटी जे खाए पनि कमै मात्रामा खाने हो । बढाउनुपर्ने सलादहरू हो ।
त्यस्तै झोल तरकारी खाने, माछा मासु सबै कुराको मात्रा मिलाएर खाने हो । आलु मात्रै खानु हुँदैन तर अन्य तरकारीमा आलु मिसाएर खाँदा फरक पर्दैन । खानै नहुने भनेको जाँडरक्सी, चुरोट, सुर्तीजन्य पदार्थहरू हो । त्यस्तै घरदेखि बाहिरको खानेकुरा सकेसम्म कम गर्ने र डाक्टरले दिएको औषधी समयमा खायौँ भने मधुमेहबाट हुनसक्ने जोखिम कम गर्न सकिन्छ ।
बच्ने उपायहरु
आफ्नो परिवारमा बुवा आमा, हजुरबुवा हजुरआमा, मामा लगायत कसैलाई मधुमेह छ भने अनिवार्य जाँच गर्नुपर्छ । मोटोपन भएका, मुटुको औषधी खाइरहेका, युरिक एसिडको औषधी खाइरहेका बिरामीहरूले बेलाबेलामा मधुमेह जाँच गर्न अल्छी गर्नु हुँदैन ।
सैलाई गर्भवती अवस्थामा मधुमेह देखिएको छ भने बच्चा जन्मिसकेको ६ महिना १ वर्ष पछि पनि जाँच गराउनुपर्छ । धुम्रपान तथा मद्यपान नगर्ने, स्वस्थ जीवनशैली अपनाउने, मोबाइलको प्रयोग कम गर्ने खुशी रहने प्रयास गर्यौं भने मधुमेह हुनबाट बच्न सकिन्छ । (खबरहबका लागि पवन मुडभरीले वीर अस्पतालमा कार्यरत सुगर थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लसँग गरेको कुराकानीको सम्पादित अंश)
प्रतिक्रिया