संघीय मन्त्री नै ‘अटेरी ठेकेदार’ : सडक विस्तार थाल्न कर्णाली सरकारको अल्टिमेटम | Khabarhub Khabarhub

संघीय मन्त्री नै ‘अटेरी ठेकेदार’ : सडक विस्तार थाल्न कर्णाली सरकारको अल्टिमेटम


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) एकपछि अर्को विवादमा पर्दै गएका छन् ।

ठेक्कापट्टाकै आडमा राजनीतिक प्रभाव पार्न सफल भएका उनकै नामको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिले देशका कयौँ ठाउँमा विकास आयोजना अलपत्र पारेको पाइएको हो ।

उनले कर्णालीमा समेत ठेक्का लिएर विकास आयोजना अलपत्र पारेको भेटिएको छ। त्यहीकारण कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयले उनलाई समयमै ठेक्का बमोजिमको काम सक्न ताकेता गरेको हो । कान्छारामले लिएको ठेक्काको म्याद यही मंसिर २० गतेसम्म मात्रै रहेको अवस्थामा कामको प्रगति शून्य भएपछि कर्णाली सरकारले ताकेता गरेको हो ।

कान्छाराम नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पनि हुन् । कर्णालीको पूर्वाधार विकास निर्देशनालयले बिहीबार सार्वजनिक सूचना निकालेर ठेक्काको म्यादभित्र काम सम्पन्न गर्न भने पनि त्यस्तो सम्भावना छैन ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सडक विस्तारको काम ठेक्का लागेको तीन वर्ष बिसक्दा पनि कान्छारामले सिन्को भाँचेका छैनन् । बरु उनी संघीय मन्त्री भएर अरुलाई निर्देशन दिँदै हिँड्छन् ।

निर्देशनालयले २०७८ भदौ १७ गते उक्त सडक विस्तार तथा निर्माणको ठेक्का लगाएको थियो । तर, अहिलेसम्म मन्त्रीको ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले अटेरी गरेर काम अलपत्र पारेको छ ।

कान्छाराम यस्ता अनेकौँ आयोजना लिँदै होल्ड गर्ने विवादित पात्र हुन्। तर उनलाई कांग्रेसले मन्त्री पद दिएर पुरस्कृत गरेको छ ।

कान्छारामले रामेछापस्थित आफ्नै निर्वाचन क्षेत्रको ठेक्का पनि अलपत्र पारेका छन् । त्यहीकारण उनलाई मत दिएकै रामेछापबासी पनि उनीविरुद्ध आन्दोलित भएर कालोझन्डा देखाउन बाध्य भएका थिए ।

राज्यमन्त्री कान्छारामको उक्त ठेकेदार कम्पनीले काम नगरेपछि सडक विभागको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वर्ष ६ महिनाका लागि कालो सूचीमा पनि राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै रामेछापबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो ।

गत कात्तिक २३ गते सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कान्छारामको कम्पनीलाई कालो सूचीमा राखिएको हो । कार्यालयले कान्छारामसहितका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने निर्णय गरेको थियो ।

कार्यालयले कान्छारामकोसहित अरू थप दुई कम्पनीलाई दुई वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको थियो ।

जसमा रमिला लामा मुख्य व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति रहेको द कञ्चनजङ्घा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति रहेको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका थियो ।

कान्छाराम कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् । उनले राजनीतिक पहुँच र प्रभावकै भरमा ठेक्का लिँदै अलपत्र पारेपछि कांग्रेसकोसमेत आलोचना भइरहेको छ ।

विवादित ठेकेदारसमेत रहेका उनले अधिकांश ठेक्का अलपत्र पारेपछि सभापति देउवाले बचाउ गरेको भन्दै डा. शेखर कोइराला पक्षले विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ४० बजे

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

एजेन्सी– नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा